पाम सन्डेबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुराहरू

१. इस्टर सन्डेअगिको आइतबारलाई पाम सन्डे (अर्थात् खजुरे आइतबार) भनिन्छ । यरुसलेममा ख्रीष्टको विजयी प्रवेशको सम्झना गर्दै यो पर्व मनाइन्छ । उक्त दिन येशू मुक्तिदाता र राजाको रूपमा यरुसलेम प्रवेश गर्नुभयो । प्रभु येशू ख्रीष्ट गधामाथि चढेर यरुसलेम सहरभित्र प्रवेश गर्नुहुँदा भिडले खजुरका हाँगाहरू लिएर उहाँको स्वागत गरेकोले उक्त दिनलाई खजुरे आइतबार भनिएको हो । चार ओटै सुसमाचारमा यस घटनाको बारेमा वर्णन गरिएको छ (मत्ती २१:१-११; मर्कुस ११:१-११; लुका १९:२८-४०; युहन्ना १२:१२-१६) ।

२. यरुसलेम चर्चमा तेस्रो शताब्दीको उत्तरार्द्धदेखि खजुरे आइतबार मनाउन थालिएको इतिहास पाइन्छ । सहरभित्रका विभिन्न पवित्र स्थलहरू हुँदै जाँदा विश्वासीहरूले भजन गाउने, प्रार्थना गर्ने र बाइबल पाठ गर्ने गर्थे । अन्तत: साँझ पर्नै लाग्दा “धन्‍य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्‍छ!” (मत्ती २१:९) भन्दै तिनीहरू सहरमा फर्कन्थे । छैटौँ र सातौँ शताब्दीसम्म यही परम्परा कायम रह्यो । पछि यसमा केही परम्पराहरू थपघट हुँदै आए ।

३. बाइबलीय विवरणअनुसार येशू आफ्ना चेलाहरूसँगै यरुसलेम नजिकै बेथफागेमा आइपुग्नुभएपछि उहाँले आफ्ना दुई जना चेलालाई एउटा गधा र त्यसको बच्चा अर्थात् पाजी लिन पठाउनुभयो । (गधाको बच्चालाई बछेडो नभई पाजी भनिन्छ । बाइबलमा ‘बछेडो’ भनी अनुवाद गर्नु भुल हो) चार ओटै सुसमाचारमा येशूको विजयी प्रवेशको वर्णन गरिए तापनि मत्ती मात्र गधा र त्यसको बच्चाको उल्लेख गर्छन् । अन्तर्विरोधजस्तो देखिए तापनि येशू पाजीमाथि चढ्नुहुँदा त्यसको आमा पनि सँगै गएको थियो भनी अर्थ खोल्दा स्वाभाविक देखिन्छ । येशूलाई राजकीय सम्मानसाथ स्वागत गर्दै मानिसहरूले भने, “दाऊदका पुत्रलाई होसन्‍ना! धन्‍य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्‍छ! परमधाममा होसन्‍ना!” (मत्ती २१:९) । यो वचन भजन ११८:२५-२६ को अंश हो । ‘होसन्ना’ हिब्रु भाषाबाट आएको शब्द हो जसको अर्थ हुन्छ, ‘हामीलाई बचाउनुहोस् ।’ ती अधिकांश मानिसहरू गालिलबाट यरुसलेममा निस्तारचाड मनाउन आएका तीर्थयात्रीहरू थिए । तिनीहरू येशूसित परिचित थिए किनकि उहाँले गालिलमा धेरै आश्चर्यकर्महरू गर्नुभएको थियो ।

४. येशू गधामाथि सवार भएर यरुसलेम प्रवेश गर्नुभयो । चेलाहरूले “गधा र त्‍यसको बच्‍चा ल्‍याए र तीमाथि आफ्‍ना लुगाफाटा ओछ्याए र उहाँ त्‍यसमाथि बस्‍नुभयो” (मत्ती २१:१) । येशू घोडामाथि नभई किन गधामाथि सवार भएर आउनुभयो ? गधा शान्तिको प्रतीक हो भने घोडा युद्धको प्रतीक । येशू युद्धका लागि यरुसलेम प्रवेश गर्नुभएको थिएन । गधामाथि सवार भएर उहाँले शान्तिको सङ्केत दिँदै हुनुहुन्थ्यो । उहाँ युद्ध गर्ने राजाको रूपमा नभई शान्तिका राजकुमारको प्रतीक बन्दै गधामाथि सवार हुनुभयो ।

५. भिडले खजुरका हाँगाहरूले येशूलाई स्वागत गर्‍यो, “भोलिपल्‍ट चाडमा आउने ठुलो भिडले येशू यरुसलेममा आउँदै हुनुहुन्‍छ भन्‍ने सुन्‍यो र मानिसहरू खजुरका हाँगाहरू लिएर उहाँलाई स्‍वागत गर्न” निस्के (युहन्ना १२:१२-१३) । किन मानिसहरूले येशूलाई खजुरका हाँगाहरूले स्वागत गरे ? येशू बाँच्नुभएको संसारमा ग्रिक-रोमी संस्कृतिको औधी प्रभाव परेको थियो जहाँ खजुरको हाँगालाई विजय र उल्लासको प्रतीकको रूपमा लिइन्थ्यो । सिक्का र महत्त्वपूर्ण भवनहरूमा अक्सर खजुरका हाँगाहरूलाई देख्न सकिन्थ्यो । पुरानो करारमा राजा सोलोमनले मन्दिरका भित्ता र द्वारहरूमा खजुरका हाँगाहरू कुँदेका थिए (१ राजा ६:२९) । भविष्यमा हरेक जातिबाट आएका मानिसहरूले “हातमा खजुरका हाँगा लिई” येशूको आदर गर्ने छन् (प्रकाश ७:९) ।

६. येशू गधामाथि चढेर यरुसलेम प्रवेश गर्नुहुँदा झन्डै ४५० वर्षअगि अगमवक्ता जकरियाले भनेका भविष्यवाणी पूरा भयो, “हे सियोनकी छोरी, खूब रमाऊ। हे यरूशलेमकी छोरी, जोरसित कराऊ! हेर, तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्‍छ । उहाँ धर्मात्‍मा र मुक्तिदाता हुनुहुन्‍छ । उहाँ भला हुनुहुन्‍छ र गधामाथि अर्थात्‌ गधाको बच्‍चा एउटा पाजीमाथि सवार भएर आउँदै हुनुहुन्‍छ” (जकरिया ९:९) ।

७. खजुरे आइतबारसँगै पवित्र हप्ताको शुभारम्भ हुन्छ । वर्षैपिच्छे यसको मिति फरक पर्ने भएकोले यसलाई ‘अस्थिर पर्व’ को रूपमा लिइन्छ । ख्रीष्टियन जगत्‌का तीन ओटै विशालतम सम्प्रदाय अर्थात् क्याथोलिक, पूर्वीय अर्थोडक्स र प्रोटेस्टेन्टका अधिकांश मूलधार सम्प्रदायहरूले खजुरे आइतबार मनाउने गर्छन् । उक्त दिन विश्वासीहरूलाई खजुरका हाँगाहरू (वा यसको प्रतिनिधित्व गर्ने स्थानीय रुखका हाँगाहरू) दिइन्छ । हातमा ती हाँगाहरू लिई तिनीहरू चर्चभित्र वरिपरि परिक्रमा गर्छन् । विश्वासीहरूले अगुवाहरूको आशीर्वाद लिएपछि तिनलाई आआफ्नो घरमा लिएर जाने गर्छन् ।

Facebook Comments

Powered by Youth Circle