पवित्र बिहिबार पवित्र हप्ताको पाँचौँ दिन हो । अगिल्ला चार दिनलाई क्रमश: खजुरे आइतबार, पवित्र सोमबार, पवित्र मंगलबार र जासुसी बुधबार भनेर चिनिन्छ । यो इस्टर अगिको बिहिबार हो र यसको भोलिपल्ट गुड फ्राइडे मनाइन्छ ।
यो बिहिबारलाई अङ्ग्रेजीमा ‘मउन्डी थर्सडे’ वा ‘होली थर्सडे’ भनिन्छ । मउन्डी (Maundy) ल्याटिन शब्द ‘मन्डाटम’ बाट व्युत्पन्न भएको जसको अर्थ ‘आज्ञा’ हुन्छ । यही दिन येशूले आफ्ना चेलाहरूलाई प्रेमसम्बन्धी नयाँ आज्ञा दिनुभएको थियो, “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एकअर्कालाई प्रेम गर । तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एकअर्कालाई त्यस्तै प्रेम गर” (युहन्ना १३:३४) । येशूले दिनुभएको यही आज्ञाको आधारमा यो दिनलाई ‘मउन्डी थर्सडे’ भनिएको हो ।
यो संसारभरिका ख्रीष्टियनहरूले मनाउने पवित्र दिन हो । ख्रीष्टियन पात्रोमा यस दिनको निकै ठुलो महत्त्व रहेको छ । उक्त दिन येशूले खास गरी दुई ओटा कार्यहरू अर्थात् चेलाहरूको पाउ धुने र प्रभुभोजको स्थापना गर्नुभएको थियो ।
पवित्र बिहिबारमा भएका दुई ओटा महत्त्वपूर्ण कार्यहरूमध्ये एउटा हो: येशूले आफ्ना चेलाहरूको गोडा धुनुभयो । “यदि तिमीहरूका प्रभु र गुरु भइकन मैले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एकअर्काका गोडा धुनुपर्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर । साँच्चै म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन अनि खबर लाने खबर पठाउनेभन्दा ठुलो हुँदैन । यदि तिमीहरूले यी कुरा जान्यौ र ती गर्यौ भने तिमीहरू धन्य हुने छौ” (युहन्ना १३:१४-१७) ।
इङ्गलिकन, आर्मेनियन, लुथरन, मेथोडिस्ट, ब्याप्टिस्ट, ब्रदरन, मेनोनाइट, प्रेसबिटेरियन, पेन्टिकोस्टल, क्याथोलिक, इस्टर्न अर्थोडक्सलगायत सम्प्रदायहरूमा धेरै चर्चहरूले येशूले चेलाहरूका पाउ धुनुभएको कार्यको अभ्यास गर्छन् । ती चर्चहरूमा पास्टर तथा अगुवाहरूले विश्वासीहरूका पाउ धोई यस दिनको सम्झना गर्छन् । अर्कोतिर, कतिपय सम्प्रदायहरूले यसलाई उदाहरणको नमुनाको रूपमा लिन्छन् । तिनीहरूले यसलाई आत्मिक शुद्देइँ र ख्रीष्टियन विनम्रताको नमुनाको रूपमा बुझ्छन् । आफ्ना चेलाहरूको पाउ धोएर येशूले निस्वार्थ सेवाको पाठ सिकाउनुभयो जसलाई क्रुसमा भएको उहाँको मृत्युमा प्रस्ट रूपमा देखिन्छ ।
पवित्र बिहिबारको दिन भएको अर्को महत्त्वपूर्ण कार्य प्रभुभोजको स्थापना हो । येशूले आफ्ना चेलाहरूसँगै अन्तिम भोज खाई प्रभुभोजको स्थापना गर्नुभयो (मत्ती २६:१७-३०; मर्कुस १४:१२-२५; लुका २२:७-२०; युहन्ना १३:१-१७) । आफ्नो क्रुसारोहणभन्दा अगिल्लो रात प्रभु येशूले यसको स्थापना गर्नुभएको थियो । “अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, ‘तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।’ यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, ‘यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो’ (लुका २२:१९-२०) । येशूको मृत्युको सम्झना गर्दै चर्चहरूलाई अक्सर प्रभुभोज खान आज्ञा दिइएको छ (१ कोरिन्थी ११:२५) । ख्रीष्टियन आस्थामा प्रभुभोजलाई निकै महत्त्वपूर्ण विधि मानिन्छ । धेरै सम्प्रदायहरूले मान्ने दुई ओटा विधिमध्ये यो एउटा हो भने अर्कोचाहिँ पानीको बप्तिस्मा हो ।
वर्तमान चर्चहरू प्रभुभोजको सेवामा सहभागी हुने भए तापनि पाउ धुने कार्यमा भने तिनीहरूको मतैक्य छैन । यस विषयमा चर्चहरूका आआफ्ना संस्कारहरू रहेका छन् । येशूको आखिरी भोजको सम्झना गर्दै पवित्र बिहिबारको दिन प्रभुभोजको विशेष सेवा सञ्चालन गर्नु राम्रो काम हो । येशूले चेलाहरूको पाउ धोई उहाँ कसरी होच्चिनुभयो (फिलिप्पी २:१-११) भन्ने बोधले हामीलाई विनम्रतासहित ख्रीष्टियन जीवन जिउनुपर्छ भनी स्मरण दिलाउँछ । येशूको कार्यले हामीलाई विनम्रता, निस्वार्थ र अरूप्रति गरिने सेवाको महत्त्व याद दिलाउँछ ।