पास्टर गोपाल रेग्मीको जीवनी

पुस्तकको नाम   : पास्टर गोपाल रेग्मीको जीवनी
लेखक/सम्पादक : कमल अधिकारी
पृष्‍ठ सङ्ख्या    : १६०
मूल्य रु.        : १२५
प्रकाशक        : इम्मानुएल बाइबल मिसनरी चर्च नेपाल
प्रकाशन मिति   : २०२३
ISBN           : 978-9937-1-4898-6

गोपाल रेग्मी पास्टर,  सुसमाचार प्रचारक तथा समाजसेवी हुन् । उनी इम्मानुएल बाइबल मिसनरी चर्च नेपालका वरिष्ठ पास्टर हुन् । विगत ३६ वर्षदेखि उनी यस चर्चमा पास्टरीय सेवा गर्दै आएका छन् । उनी इम्मानुएल चर्चका संस्थापक अध्यक्ष हुन् । यो संस्थाबाट हजारौँ मानिसहरूले प्रभु येशूलाई पाइसकेका छन् । यो संस्थाअन्तर्गत बाइबल स्कुल, विशेष स्कुल, चर्च स्थापना, छात्रवृत्ति कार्यक्रम, सहकारी, बालाश्रम, वृद्धाश्रम, सिलाई तालिम आदिजस्ता विभिन्न परियोजनाहरू सञ्चालनमा आए र कतिपय सेवाहरू अझै पनि जारी छन् । पा. गोपालद्वारा नेतृत्व गरिएको इम्मानुएल चर्चको पहलमा सयभन्दा बेसी मण्डलीहरू स्थापना भए र ६ दर्जनभन्दा बेसी मण्डलीहरू अहिले पनि संस्थामा आबद्ध छन् । १९८७ मा पा. गोपालद्वारा राजधानीमा स्थापित इम्मानुएल चर्च नेपालको झन्डै एक तिहाइ भूभागमा फैलिएको छ ।

पा. गोपाल सुसमाचार प्रचारका लागि जोसिला छन् । उनले सुसमाचार प्रचार अभियान नामक सुसमाचार सुनाउने विधिलाई नेपालमा भित्र्याएका थिए । छोटकरीमा ईई भनेर चिनिने यस अभियानद्वारा नेपालमा ६,००० भन्दा बढी मानिसले तालिम लिइसकेका छन् ।

इम्मानुएल बाइबल इन्स्टिच्युट यस संस्थाको अर्को महत्त्वपूणर्ण अङ्ग हो जसबाट हालसम्म ५५० भन्दा बेसी विद्यार्थीहरूले बाइबलसम्बन्धी ज्ञान लिने मौका पाइसकेका छन् । संस्थाको मण्डली वृद्धिमा यस स्कुलले ठुलो टेवा पुर्‍याएको छ । यस इन्स्टिच्युटको स्थापना पास्टर गोपालको एउटा उल्लेखनीय काम साबित भयो किनकि यस तालिम केन्द्रले यस्ता यस्ता व्यक्तिहरू जन्मायो जसले नेपाली ख्रीष्टियान जगत्‌मा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन् ।

पा. गोपाल समाजसेवी हुन् । उनीद्वारा स्थापित बालाश्रम, वृद्धाश्रम, विशेष स्कुल, छात्रवृत्ति कार्यक्रम, सिलाई तालिम आदिजस्ता परियोजनाहरूमार्फत सयौँ मानिस लाभान्वित भएका छन् । बालाश्रममा ४०० भन्दा बढी बालबालिकाहरूले पढ्ने, लेख्ने, खानेबस्ने सुविधा पाइसकेका छन् । त्यस्तै अन्य परियोजनाअन्तर्गत सयौँ मानिस सुसज्जित भएका छन् ।

कुनै समय ड्रग्सको कुलतमा फसेका गोपालले येशू ख्रीष्टलाई आफ्ना प्रभु र मुक्तिदाता भनी ग्रहण गरेपछि उनको जीवन नाटकीय ढङ्गमा परिवर्तन भएको थियो । पा. गोपाल नेपालका पुराना र परिचित अगुवाहरूको सूचीमा पर्छन् । खास गरी मण्डली स्थापनाको क्षेत्रमा उनले तारिफयोग्य काम गरेका छन् । नेपाली ख्रीष्टियान जगत्‌मा उनको उल्लेखनीय योगदान रहेको छ ।

Facebook Comments

Powered by Youth Circle