यो ख्रिस्टाब्द १७९९ सालको घटना हो । एक साँझ कलकत्ताबाट फर्कंदै गर्दा विलियम केरीले नदीको तटमा धेरै मानिस जम्मा भएका देखे । तिनीहरू केका लागि भेला भएका थिए भनी सोध्दा मरेको मानिस जलाउन भन्ने जवाफ पाए तिनले । तर त्यहाँ तिनीहरूले मृत पुरुषकी जिउँदी पत्नीलाई पनि जलाउन लाग्दै थिए भन्ने केरीले अर्को त्रसित तुल्याउने जवाफ पनि पाए । यो केरीका लागि निकै दर्दनाक जवाफ थियो किनकि मानिसहरूले एकल महिलालाई जिउँदै जलाउन लाग्दै थिए । तिनले लेखेका छन्, “तर्क अर्थहीन नहुञ्जेलसम्म मैले कुराकानी गरिरहेँ अनि तिनीहरूले जे गर्दै थिए त्यसको विरुद्धमा मेरा सारा शक्ति लगाएर चिच्च्याएँ । यो त छक्क पार्ने हत्या थियो भनी मैले तिनीहरूलाई भनेँ । यो त पवित्रताको महान् काम थियो भनी तिनीहरूले मलाई बताए ।” ‘आधुनिक मिसनका पिता’ को रूपमा आदर गरिएका विलियम केरी ख्रिस्टाब्द १७९३ मा भारतका मानिसहरूलाई येशूको सुसमाचार सुनाउन इङ्गल्यान्डबाट भारतको कलकत्तामा आएका थिए । झन्डै ६ वर्षपश्चात् कलकत्ताभन्दा तिस माइल पर नदीको तटमा एक साँझ एकल महिलालाई यसरी जलाइएको दृश्य देखेपछि केरी निकै अशान्त भए र यस क्रूर प्रथाको विरुद्धमा लाग्ने निधो गरे ।
विवाहित पति मरेपछि पत्नीलाई पतिको लाससँगै जिउँदै जलाउने प्रथालाई सती प्रथा भनिन्छ । यो मूलतः हिन्दुहरूका बिचमा अभ्यास गरिन्थ्यो । पत्नी ऐच्छिक रूपमा जल्न तयार हुनुपर्थ्यो र आनाकानी गरिएको खण्डमा उसलाई जबरजस्ती चितामा राखिन्थ्यो । हिन्दु धर्मअनुसार ‘सती’ एक देवीको नाउँ हो । पिता दक्ष प्रजापतिले आफ्ना पति शिवको अपमान गरेका कारण सतीले आगोमा हाम्फालेर आफ्नो ज्यान दिएकी थिइन् । संस्कृत शब्द ‘सती’ को शाब्दिक अर्थ हुन्छ, ‘असल पत्नी ।’
पतिको मृत्युपश्चात् पत्नीलाई पनि जिउँदै जलाइनुपर्ने कारणचाहिँ के थियो ? विविध कारणहरू छन् । सती प्रथा धार्मिक विश्वासमा आधारित अभ्यास थियो जसमा पतिसँगै जलेर मरेको खण्डमा मात्र एकल महिलाले अनन्त खुसी पाउन सक्थी र आफ्नो परिवारमा आशिष्हरू ल्याउन सक्थी । तत्कालीन पित्तृसत्तात्मक समाजमा पुरुषलाई ‘भगवान्’ मानिन्थ्यो र उसलाई शक्तिशाली ठानिन्थ्यो । पतिको मृत्युपश्चात् पत्नीको कुनै औचित्य हुँदैनथ्यो । त्यसैले ऊ मर्नुपर्थ्यो । मृत्युपश्चात् पनि पतिलाई पछ्याउने पत्नीलाई कर्तव्यनिष्ठ मानिन्थ्यो ।
संस्कृतमा सती प्रथाको पहिलो प्रस्ट सन्दर्भ महाभारतमा पाइन्छ । गुप्ता साम्राज्य (करिब ख्रिस्टाब्द ४००) को समयअगि यसको अभ्यास गरिएको थियो भन्नाका लागि थोरै मात्र विश्वसनीय अभिलेखहरू विद्यमान छन् । प्राचीन हिन्दु समाजमा खास गरी राजा महाराजाहरूका बिचमा यो चलन थियो । त्यस बेला मृत पतिसँगै जल्ने स्त्रीलाई ‘सती’ मानिन्थ्यो र यस किसिमको प्रथालाई ‘सती प्रथा’ भनिन्थ्यो । पछि यो प्रथा तल्लो जाति भनिएकाहरूकहाँ पुग्यो र अन्त्यमा सबै वर्गका मानिसहरूका बिचमा व्यापक रूपमा फैलियो । पन्धौँदेखि अठारौँ शताब्दीको बिचमा यो पराकाष्ठामा पुगेको थियो र त्यस अवधिमा भारत र नेपालमा वर्षेनी १,००० जनासम्म स्त्रीलाई जलाइएको थियो भनी दाबी गरन्छ ।
भारतमा मात्र नभएर जाभा, सुमात्रा र बालीजस्ता एसियाका दक्षिण-पूर्वमा पर्ने हिन्दु प्रभावित टापुहरूमा पनि सती प्रथाको अभ्यास गरिन्थ्यो । रुस, फिजी र भियतनाममा पनि यो परिचित थियो । क्याम्बोडियासाथै म्यान्मारमा पनि यसले ठाउँ पाएको थियो ।
उन्नाइसौँ शताब्दीमा भारतका अधिकांश ठाउँमा आफ्नो शासनलाई फैलाउने नियत लिएको ब्रिटिस इस्ट इन्डिया कम्पनीले सुरु-सुरुमा सती प्रथालाई सहेको थियो । तर ख्रीष्टियान मिसनरीहरू यो सवालमा ब्रिटिस सरकारको विरुद्धमा उत्रे । तिनीहरूले यस प्रथाबारे तथ्याङ्क सङ्कलन गरे; यसको विरुद्धमा प्रचार गरे; पर्चासाथै पुस्तकहरू लेखे । यसरी तिनीहरूले यस क्रूर प्रथाको विरुद्धमा जनमत बटुलेका थिए । केरी कलकत्तामा यस प्रथा उन्मूलन अभियानको लागि अगुवाइ गर्ने प्रथम व्यक्ति बने । तिनको अभियानको नतिजास्वरूप ब्रिटिस सरकारले कलकत्तामा यस पाशविक प्रथालाई निषेध गर्यो यद्यपि वरिपरिका ठाउँहरूमा भने यसले निरन्तरता पाइरहेको थियो । अथक प्रयत्नपश्चात् अन्ततः ख्रिस्टाब्द १८२९ मा भारतमा सती प्रथालाई कानुनी रूपमा निर्मूलन गरियो । भारतमा सती प्रथालाई उन्मूलन गर्नको लागि ख्रीष्टियान मिसनरीहरूले उल्लेखनीय भूमिका खेले ।
भारतमा सती प्रथाको उन्मूलन गर्दा विलियम बेन्टिङ्क गभर्नर थिए जो ख्रिस्टाब्द १८२८ मा उक्त पदमा नियुक्त गरिएका थिए । तिनी सक्रिय ख्रीष्टियान थिए । तिनी सती प्रथा हटाउने वा नहटाउने भन्ने विवादबाट प्रभावित थिए । यस्तो निकृष्ट प्रथा पूर्णत: र तुरुन्तै हटाइनुपर्छ भन्ने कुरामा तिनी दृढ थिए । फलस्वरूप ४ डिसेम्बर १८२९ आइतबारका दिन तिनले सती प्रथालाई गैरकानुनी र दण्डनीय अपराध घोषणा गरे । मिसनरी विलियम केरीलाई दस्ताबेजको अनुवाद गर्न दिइँदा तिनको प्रतिक्रिया थियो, “आज म मण्डली जान्नँ । … मैले यसलाई अनुवाद गरी प्रकाशन गर्न एक घण्टा मात्र विलम्ब गरेँ भने पनि धेरै एकल महिलाका जीवन बलि चढाइन सक्छ ।” साँझसम्ममा तिनले काम फत्ते गरे ।
कानुन कार्यान्वयनमा आएपछि धर्मका ठेकेदारहरू “विधवाहरूलाई जिउँदै जलाइएन भने हिन्दु समाजका जगहरू हल्लिने छन् भन्दै चिच्च्याए ।” सती प्रथाको उन्मूलनले मानिसहरूलाई धार्मिक स्वतन्त्रता दिने भारतीय संविधानको धारा २५ उल्लङ्घन गर्यो भनी कतिपयले तर्क गरे । तर ब्रिटिस सरकार डगेन र ख्रिस्टाब्द १८५६ मा भारतीय एकल महिलाहरूलाई अर्को मानव अधिकार अर्थात् पुनर्विवाह गर्न पाउने हक दियो ।
भारतमा सती प्रथाको उन्मूलनमा विलिय केरी अग्रपङ्क्तिमा रहे तापनि विलियम विल्बरफोर्स, विलियम वार्डसाथै हिन्दु सुधारवादी राम मोहन रोयको नाउँलाई पनि कदापि भुल्नुहुँदैन । सती प्रथाजस्ता अमानवीय अन्धविश्वासहरूको निर्मूलनको लागि मिसनरी जोन स्कुडरले पनि चेतना फैलाउने प्रयत्न गरेका थिए ।
जर्मनीका प्राध्यापक एक्सेल मिखाएल्सका अनुसार नेपालमा ख्रिस्टाब्द ४६४ मा सती प्रथाको अभ्यास गरिएको थियो भन्ने प्रथम शिलालेखसम्बन्धी साक्षी पाइन्छ । यो प्रथाले नेपाली इतिहासमा कालो धब्बा लगाएको छ । भक्तपुरका राजा रुद्रमल्ल मर्दा (ख्रिस्टाब्द १३२६) ४ जना रानी, काठमाडौँका राजा प्रताप मल्लका कान्छा छोरा पार्थिवेन्द्र मल्ल मर्दा (ख्रिस्टाब्द १६८७) २४ जना रानी र ललितपुरका राजा योग नरेन्द्र मल्ल मर्दा (ख्रिस्टाब्द १७०५) ३१ जना रानी सती गएका थिए । नेपालको इतिहासमा मल्लकालीन समयमा सती गएका यी केही मात्र उदाहरणहरू हुन् । ख्रिस्टाब्द १७७५ मा पृथ्वी नारायण शाहको निधन हुँदा तिनकी कान्छी रानी नरेन्द्रलक्ष्मी, २ जना भित्रिनी (उपरानी) र ६ जना सुसारे केटी पनि जिउँदै पोलिएका थिए । यस क्रूर प्रथाको कारण अन्य कैयौँ नेपाली नारीले ज्यान गुमाउनुपरेको थियो ।
जङ्ग बहादुर राणा बेलायतबाट फर्केपछि तिनले यस प्रथालाई रोक्ने कानुन बनाए । प्रधानमन्त्री बीर शमशेर राणाको शासनकालमा यस कानुनमा संशोधन गरियो । ब्रिटिस-शासित भारत सरकारबाट नेपालमा दबाब पर्यो र अन्तत: धर्मको नाउँमा अभ्यास गरिएको यस्तो क्रूर पाशविक प्रथालाई ८ जुलाई १९२० (अर्थात् वि. सं. १९७७ असार २५ गते) चन्द्र शमशेरले कानुनी रूपमा रोक लगाउने काम गरे । आफ्नो अन्ठाउन्नौँ जन्मदिनको अवसरमा यसलाई अवैधानिक ठहर्याई तिनले नेपाली समाजलाई र खास गरी स्त्रीहरूलाई अमूल्य उपहार दिए ।
प्राचीन हिन्दु समाजमा धर्मको नाउँमा एकल महिलाहरू जिउँदै जलाइन्थे जब कि बाइबलले प्राचीन समयमा र अहिले पनि तिनीहरूको आदर गर्न सिकाउँछ । नाइन सहरकी एकल महिलाको छोरोको मृत्यु हुँदा येशूले उसलाई बिउँताई ती महिलाप्रति दया देखाउनुभयो (लूका ७:११-१५) । एकल महिलाहरूबाट आर्थिक लाभ उठाउने धार्मिक अगुवाहरूको उहाँले भर्त्सना गर्नुभयो (मर्कूस १२:४०) । मन्दिरको दानपात्रमा दुई पैसा चढाउने गरिब एकल महिलाको उहाँले तारिफ गर्नुभयो (लूका २१:१-३) । एकल महिलाहरूको आदर गर्न पावलले तिमोथीलाई आज्ञा दिए (१ तिमोथी ५:३-४) । याकूब ख्रीष्टियानहरूलाई स्मरण दिलाउँछन्, “परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्कलङ्क राख्नु” (याकूब १:२७) ।
ख्रीष्टियान मिसनरीहरू संसारको कुनाकाप्चामा येशूको सुसमाचार लिएर गए र तिनीहरूले बाइबलीय नीतिशास्त्रको दृष्टिकोणबाट स्थानीयहरूका चालचलनहरूलाई नियाल्दा कैयौँ चालचलन अमानवीय र भर्त्सनायोग्य देखे जसमध्ये एक थियो, सती प्रथा । तिनीहरूले यस्तो कुसंस्कारको विरुद्धमा आवाज मात्र उठाएनन् तर यसको निर्मूलनको लागि कानुन बनाउन पनि मदत पुर्याए । सभ्यता निर्माणमा सती प्रथाको उन्मूलन मिसनरीहरूको अर्को प्रशंसनीय कदम हो ।
लेखक परिचय: कमल अधिकारी बाइबल शिक्षक, लेखक तथा अनुवादक हुन् । ९ ओटा पुस्तकका लेखक तिनले ७७ ओटा पुस्तक-पुस्तिका अनुवाद गर्नुका अतिरिक्त १७५ ओटाभन्दा बढी पुस्तक-पुस्तिका सम्पादन गरिसकेका छन् । ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्ने तिनी आफूलाई रक्षाशास्त्री भन्न रुचाउँछन् ।