पास्टर फूल बहादुर तामाङको जीवनी

पुस्तकको नाम   : पास्टर फूल बहादुर तामाङको जीवनी
लेखक/सम्पादक : कमल अधिकारी
पृष्‍ठ सङ्ख्या    : १२०
मूल्य रु.        : १५०
प्रकाशक        : धन माया तामाङ
प्रकाशन मिति   : सेप्टेम्बर २०२३

संस्करण        : दोस्रो (पहिलो संस्करण जुन २०२३)
ISBN           : 9789937-1-4635-7

पुस्तकको नामैबाट प्रस्ट छ कि यो कृति पास्टर फूल बहादुरको जीवनी हो । धादिङमा जन्मेर नवलपुरमा उल्लेखनीय सेवा पुर्‍याएका उनको यस जीवन कहानीमा प्रेरणादायीसाथै सङ्घर्षका कथाहरू पढ्न पाउनुहुन्छ ।

पुस्तकमा अभिलिखित अधिकांश जानकारी फूल बहादुरबाटै आएका हुन् । जीवनीकारले केही दिन उनीसितै बिताई सयौँ प्रश्न सोधेर सत्यतथ्य केलाई तिनको चिरफार गरेका छन् । यसका अतिरिक्त, पुस्तक निर्माणमा नागरिकता, राष्ट्रिय परिचयपत्र, प्रमाणपत्रसाथै सम्मानपत्रजस्ता लिखित कागजातहरू पनि उल्लेखनीय स्रोतहरू बनेका छन् । जाति तथा भूगोलको परिचयका अधिकांश जानकारी भने अनलाइन विश्वकोश विकिपिडियाबाट लिइएका हुन् ।

फूल बहादुर तामाङ पास्टर, सुसमाचार प्रचारक तथा समाजसेवी हुन् । एउटा सामान्य मानिसलाई पनि परमेश्वरले कसरी असाधारण रूपमा चलाउनुहुँदोरहेछ भन्नाका लागि फूल बहादुर ज्वलन्त उदाहरण हुन् ।

धादिङको दुर्गम गाउँ झार्लाङमा जन्मेका उनले नवलपुरलाई आफ्नो सेवास्थल बनाए । बिमारी छोरोको चङ्गाइको कारण येशूलाई मुक्तिदाताको रूपमा स्वीकार गरेका उनले भारतीय सेनामा जागिर खाए । अवकाशपश्चात् उनले नवलपुरमा परमेश्वरको राज्य बिस्तार गर्ने काम गरे । जसरी परमेश्वरले अब्राहामलाई ऊरबाट कनान देशको लागि डाक्नुभएको थियो, त्यसै गरी परमेश्वरले फूल बहादुरलाई धादिङबाट नवलपुरका लागि डाक्नुभएको थियो भनी उनी विश्वास गर्छन् ।

पञ्चायतकाल छँदा नै २०४२ सालमा येशूलाई ग्रहण गरी सोही साल नवलपुरको गोछडामा मण्डली स्थापना गरेका फूल बहादुर परमेश्वरको राज्य बिस्तारको लागि अटुट रूपमा खट्ने सेवक हुन् । उनले जिल्लाका विभिन्न ठाउँमा मण्डलीहरू स्थापना गर्नुका अतिरिक्त मण्डली भवनहरू बनाउनसमेत पहल गरे ।

फूल बहादुर सुसमाचारका लागि जोसिला सेवक हुन् । चाहे घाम होस् या पानी, कुनै कठिनाइको वास्ता नगरी उनले सुसमाचारका खातिर विभिन्न ठाउँमा यात्रा गरे । कैयौँ मानिसलाई प्रभुमा जिती सयौँलाई बप्तिस्मा दिएका उनी सम्झनलायक पात्र हुन् र नेपाली ख्रीष्टियान जगत्‌मा उनको योगदान सराहनीय छ ।

पास्टरीय सेवा गर्नुका अतिरिक्त फूल बहादुरले समाजसेवा पनि गरेका छन् । स्कुलमा चन्दा दिएर हुन्छ कि छात्रवृत्ति उपलब्ध गराएर हुन्छ, अपाङ्गता भएकाहरूलाई सहयोग गरेर हुन्छ कि चर्चमा सिलाई तालिम भित्र्याएर हुन्छ, उनी समाजसेवामा पनि संलग्न भए ।

पास्टर फूल बहादुर नेपाल ख्रीष्टियान जगत्‌का सम्पत्ति हुन् । उनी प्रभुको सेवामा लागिरहने असल सेवक हुन् । सुसमाचार प्रचारका योद्धा उनी मिसनरी हुन् । निस्सन्देह, नेपाली ख्रीष्टियानहरूले उनको योगदानको कदर गर्दछन् । नेपाली मण्डली इतिहासमा ‘विश्वासका हिरोहरू’ को सूचीमा फूल बहादुरले आफ्नो नाउँ लेखाएका छन् ।

 

Facebook Comments

Powered by Youth Circle