येशू ख्रीष्ट कहिले जन्मनुभयो ? (भाग २)

हिजो यस साइटमा येशू ख्रीष्ट कहिले जन्मनुभयो ? (भाग १) भन्ने शीर्षकमा एउटा रचना पोस्ट गरिएको थियो । यो आलेख त्यसैको निरन्तरता भएकोले यसलाई भाग २ भनिएको हो । येशू ख्रीष्टको जन्मबारे उपलब्ध बाइबलीयसाथै बाइबलेतर विवरणहरूलाई विश्लेषण गर्दा अधिकांश बाइबल विद्वान्‌हरूको बुझाइअनुसार येशू ख्रीष्ट ६-४ ख्रिस्टपूर्वको बिचमा जन्मनुभएको थियो भनी हिजो हामीले निष्कर्ष निकालेका थियौँ । आज हामी उहाँको जन्मको समयलाई पत्ता लगाउने दोस्रो विधिलाई केलाउने छौँ । यस विधिले येशूले सेवा सुभारम्भ गर्नुभएको उहाँको उमेरबाट पछाडि फर्की उपलब्ध विवरणहरूलाई विश्लेषण गर्छ ।

लूका ३:२३ मा लेखिएको छ, “येशूले आफ्नो सेवाकार्य आरम्भ गर्नुहुँदा उहाँ करीब तीस वर्षका हुनुहुन्थ्यो ।” बप्तिस्मा-दिने यूहन्नाबाट बप्तिस्मा लिनुभएपछि येशूले आफ्नो सेवाकार्यको थालनी गर्नुभयो भनी हामीलाई थाहा छ । “कैसर तिबेरिअसको शासनकालको पन्ध्रौँ वर्षमा” बप्तिस्मा-दिने यूहन्नाले सेवा आरम्भ गरेका थिए भनी लूका अभिलिखित गर्छन् (लूका ३:१-२) । तिबेरिअसको शासनकालको पन्ध्रौँ वर्ष भनेको ख्रिस्टाब्द २८-२९ तिरको कुरो हो । यस मितिलाई आधार मानी हामीले पछाडि फर्केर गणना गर्ने हो भने येशू १ ख्रिस्टपूर्वमा जन्मनुभएको जस्तो देखिन्छ । तथापि पदावली “करीब तीस वर्ष” लाई ३२ वर्ष जति मान्ने हो भने उहाँको जन्म मत्तीले भनेजस्तै हेरोद राजाको शासनकालमा नै भएको थियो भनी निष्कर्ष निकाल्न सकिन्छ । स्मरण रहोस्, हेरोद ४ ख्रिस्टपूर्वमा मरेका थिए ।

यूहन्नाको सुसमाचारमा पनि येशूको जन्मलाई पत्ता लगाउने एउटा सङ्केत पाइन्छ, “तब यहूदीहरूले भने, ‘यस मन्दिरलाई निर्माण गर्न छयालीस वर्ष लाग्यो, र के तपाईं यसलाई तीन दिनमा खडा गर्न सक्नुहुन्छ र’ ?” (यूहन्ना २:२०) । येशूले आफ्नो सेवाकार्य थाल्नुहुँदा यरूशलेमको मन्दिर निर्माण कार्य जारी थियो र यो छयालिसौँ वर्षमा पुगेको थियो । विद्वान्‌हरूको गणनाअनुसार यो भनेको ख्रिस्टाब्द २७-२९ सालतिरको कुरो थियो ।

निष्कर्षमा, येशूको जन्मको समयलाई निर्धारण गर्ने दुवै विधिबाट हामी लगभग उही निष्कर्षमा पुग्छौँ अर्थात् उहाँ ६-४ ख्रिस्टपूर्वको बिचमा जन्मनुभयो ।

Facebook Comments

Powered by Youth Circle