पवित्र मंगलबारको विषयमा तपाईंले जान्नुपर्ने ९ ओटा कुराहरू

१. पवित्र मंगलबार पवित्र हप्ताको तेस्रो दिन हो । यस हप्ताको पहिलो दिनलाई खजुरे आइतबार भनिन्छ भने दोस्रो दिनलाई पवित्र सोमबार । महान् मंगलबार पनि भनेर चिनिने यो इस्टर अगिको मंगलबार हो । कतिपय चर्चहरूले यस दिनमा सेवा सञ्चालन गरी उक्त दिनको स्मरण गर्ने गर्छन् ।

२. मंगलबारको दिनमा ठ्याक्कै के के घटनाहरू भएका थिए भनेर पत्ता लगाउन त्यति सजिलो छैन । एकातिर सुसमाचारीय पुस्तकहरू पूर्णत: घटनाक्रमअनुसार लेखिएका छैनन् भने अर्कोतिर रोमीहरू र यहुदीहरूको दिनको सुरुआतको समय बेग्लाबेग्लै थियो । रोमीहरूको दिन सूर्योदयमा सुरु हुन्थ्यो भने यहुदीहरूको दिन सुर्योस्तमा । त्यसैले तल लेखिएका घटनाहरू सबै नै मंगलबार नै घटेका थिए भनेर जिद्दी गर्नु बुद्धिमानी हुँदैन ।

३. सामान्य अर्थ खोलाइअनुसार मंगलबार बिहान येशू आफ्ना चेलाहरूसँगै यरुसलेम फर्कनुभयो । उहाँहरूले अञ्जीरको रुखलाई सुकेको देख्नुभयो र येशूले आफ्ना सहयात्रीहरूलाई विश्वासको महत्त्वबारे सिकाउनुभयो, “तिमीहरूले प्रार्थनामा जेसुकै माग्‍छौ सो पाएका छौ भन्‍ने विश्‍वास राख र त्‍यो तिमीहरूको हुने छ” (मर्कुस ११:२०-२६) ।

४. येशूलाई फसाएर अधिकारीहरूका हातमा सुम्पिदिने दाउ खोजेका फरिसी र सदुकीहरूले येशूलाई प्रश्न गरे, “हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन ?” उहाँले जबाफ दिनुभयो, “जे कैसरका हुन्‌ कैसरलाई देओ र जे परमेश्‍वरका हुन्‌ परमेश्‍वरलाई देओ” (लुका २०:२०-२६) ।

५. मरेकाहरूको पुनरुत्थानमाथि विश्वास नगर्ने सदुकीहरूले स्वर्गमा विवाह हुन्छ कि हुँदैन भनेर प्रश्न गर्दा येशूले उत्तर दिनुभयो, “यस युगका मानिसहरू विवाह गर्छन्‌ र विवाह गरिदिन्‍छन्‌ । तर त्‍यस युगसम्‍म पुग्‍न योग्‍य ठहरिनेहरूले र मृतकबाट जीवित भई उठ्‌न योग्‍य हुनेहरूले न विवाह गर्छन्‌, न विवाह गरिदिन्‍छन्‌” (लुका २०:२७-४०) ।

६. यो त्यही दिन थियो जुन दिनमा येशूले एकल महिलाको भेटीको प्रशंसा गर्नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु यस गरिब एकल महिलाले अरू सबैले भन्‍दा बढी चढाएकी छे” (लुका २१:१-४) ।

७. परमेश्वरको भय मान्ने ग्रिकहरूलाई शिक्षा दिँदै उहाँले भन्नुभयो, “मानिसको पुत्रको महिमित हुने समय आइपुगकेको छ” (युहन्ना १२:२०-३६) ।

८. सोही दिनमा येशूले फरिसी र शास्त्रीहरूको भर्त्सना गर्नुभयो (मत्ती २३) । यस अध्यायमा येशूका सात ओटा ‘धिक्कारहरू’ अभिलिखित गरिएका छन् । येशूले धार्मिक अगुवाहरूको विधिवाद, स्वधार्मिकतावाद र पाखण्डवादको आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, “तिनीहरू आफ्‍ना सारा काम मानिसहरूलाई देखाउनलाई गर्दछन्‌ । किनभने तिनीहरू आफ्‍ना निधार र नाडीमा व्‍यवस्‍थापत्री ठुला बनाउँछन्‌ र आफ्‍ना वस्‍त्रका झुम्‍काहरू लम्‍म्‍याउँछन्‌” (मत्ती २३:५) ।

९. पवित्र मंगलबारकै दिन येशूले लामो उपदेश दिनुभयो जसलाई जैतुने उपदेश भनेर चिनिन्छ (मत्ती २४-२५; मर्कुस २३ र लुका २१) । स्मरण रहोस्, मत्तीको सुसमाचार अभिलिखित पाँच ओटा उपदेशमध्ये जैतुने उपदेश अन्तिम हो । अन्य चार ओटामा डाँडाको उपदेश (५-७), मिसनसम्बन्धी उपदेश (१०), दृष्टान्तसम्बन्धी उपदेश (१३) र चर्चसम्बन्धी उपदेश (१८) पर्छन् । जैतुने प्रवचनमा येशूले अन्तशास्त्रबारे बताउनुभयो, “त्‍यस बेला यस्‍तो महासङ्कष्‍ट हुने छ जुन जगत्‌को सुरुदेखि अहिलेसम्‍म भएको छैन, न त फेरि कहिल्‍यै हुने छ” (मत्ती २४:२१) ।

Facebook Comments

Powered by Youth Circle