१. शुक्रबार दिउँसो तीन बजे क्रुसमा येशूको मृत्युपश्चात् उहाँको मृत शरीरलाई चिहानमा गाडियो जसलाई येशूको दफन भनिन्छ । येशूका चारै जना जीवनीकारले उहाँको दफनबारे लेखेका छन् (मत्ती २७:५७-६१; मर्कुस १५:४२-४७; लुका २३:५०-५६; युहन्ना १९:३८-४२) । शबाथदिनको थालनी हुनुअगि नै उहाँको दफन गरिएको थियो । अरिमाथियाका योसेफले पिलातसकहाँ गई येशूको मृत शरीर मागेर चिहानमा राखेका थिए ।
२. येशूको दफनबारे सबैभन्दा पहिले लेखिएको सन्दर्भचाहिँ पावलको पत्रमा पाइन्छ । करिब ५४ मा कोरिन्थीहरूलाई लिखित आफ्नो पत्रमा तिनी बताउँछन्, “किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो । उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो” (१ कोरिन्थी १५:३-४) ।
३. साधारणतया रोमीहरूले क्रुसमा टाँगिएका अपराधीहरूको लाशलाई दफन नगरिकनै त्यहीँ कुहियोस् भनेर त्यसै छाडिदिन्थे । तर यहुदीहरूले लाशलाई रात कट्न दिँदैनथ्ये । “कुनै मानिसले प्राणदण्ड पाउने पाप गर्दा तिमीहरूले त्यसलाई मारेर त्यसको शरीर रूखमा झुण्ड्यायौ भने त्यसको लाश रातभरि रूखमा झुण्ड्याएर नराख्नू तर त्यही दिन त्यसलाई गाडिहाल्नू” (व्यवस्था २१:२२-२३) ।
४. येशूको दफन गर्ने योसेफ धनी मानिस थिए जो येशूका गोप्य चेला थिए । तिनी येशूमाथि विश्वास गर्ने अनुयायी थिए । तिनी प्रभावशाली थिए । तिनी योप्पाको पूर्वमा पर्ने अरिमाथिया सहरका बासिन्दा थिए । तिनी परमेश्वरको राज्यको प्रतीक्षा गर्ने असल र धार्मिक मानिस थिए । येशूलाई क्रुसमा टाँग्नुपर्छ भन्ने महासभाको निर्णयमा योसेफको सहमति थिएन यद्यपि तिनी उही महासभाका सदस्य थिए । लुका लेख्छन्, “उनले तिनीहरूका सल्लाह र कार्यमा सम्मति दिएका थिएनन्” (२३:५१) ।
५. येशूको दफन कार्यमा योसेफलाई सहयोग गर्ने व्यक्ति थिए, निकोदेमस । “अनि अघि उहाँकहाँ राती आउने निकोदेमस पनि प्राय: तेत्तिस किलो मूर्र र एलवा मिश्रित द्रव्य लिएर त्यहाँ आए” (युहन्ना १९:३९; युहन्ना ३:१-२१ पनि हेर्नुहोस्) । निकोदेमस धनी मानिस थिए र येशूप्रति तिनको निकै आदर थियो भनी अङ्कित गर्न तिनले यति धेरै मुर्र लिएर आएका हुन सक्छ । योसेफजस्तै तिनी पनि महासभाका सदस्य थिए । तिनी यहुदीहरूका अगुवा थिए । योसेफ र निकोदेमस दुवै धनी मानिसहरू भएकाले येशूको दफन कार्यमा तिनीहरूलाई अरूले मदत गरे भनी हामी सजिलैसित अनुमान गर्न सक्छौँ ।
६. यहुदी संस्कारअनुसार येशूको दफन गरिएको थियो । युहन्ना लेख्छन्, “यसरी तिनीहरूले येशूको शरीर यहूदीहरूको दफन-कार्यको रीतिअनुसार सुगन्धित द्रव्यसँग सूती कपडामा बाँधे” (१९:४०) । यहुदी संस्कारअनुसार मृत शरीरलाई धोइन्थ्यो अनि सुति कपडाले बेरिन्थ्यो । साधारणतया यो काम मृतकका आफ्न पर्ने स्त्रीहरूले गर्थे । त्यस बेला भजनसंग्रहबाट पढ्नुका साथै प्रार्थना गरिन्थ्यो । त्यसपछि मृत शरीरलाई चिहानभित्रको ढुङ्गामाथि राखिन्थ्यो ।
७. सुसमाचारीय विवरणहरूअनुसार येशूको दफनको लागि कुनै तयारी गरिएको देखिँदैन । स्मरण रहोस्, हाम्रो वर्तमान चलनको विपरीत यहुदी चलनअनुसार बेलुका ६ बजे नयाँ दिनको थालनी हुन्थ्यो । येशूले शुक्रबार ३ बजे प्राण त्याग गर्नुभयो र बेलुका ६ बजे शबाथदिन आरम्भ हुन्थ्यो । शबाथदिनमा लाश गाड्न मिल्दैनथ्यो । त्यसैले हतार हतारसित उहाँको दफन गरियो । योसेफले आफ्नै निम्ति खोपेर बनाएका चिहानमा उहाँलाई गाडियो । उहाँको शव चोरी नहोस् भनेर पहरेदारहरू खटाइएका थिए ।