येशूको मृत्यु भएको दिनलाई किन ‘गुड फ्राइडे’ भनिएको हो ?

येशूको मृत्युको सम्झनामा वर्षको एक पटक मनाइने उत्सव नै गुड फ्राइडे हो । यो इस्टर अगिको शुक्रबार र पवित्र हप्ताको छैटौँ दिन हो । यो येशूले प्राण त्याग गर्नुभएको दिन हो । यो येशूले दर्दनाक दु:खकष्ट भोग्नुभएको दिन हो । तरै पनि मृत्युको दिनलाई किन ‘गुड’ भनियो त ? यस दिनलाई किन असल वा शुभ वा पवित्र भनियो ? किन ‘गुड फ्राइडे’ भनियो ?

१. किनकि येशू मानवजातिका लागि मर्नुभयो

“परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ कि हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो” (रोमी ५:८) । येशूको मृत्यु प्रतिस्थापकीय थियो अर्थात् उहाँ पापीहरूको सट्टामा मर्नुभयो । निष्पाप हुनुभएर पनि उहाँ मानवजातिका पापको लागि क्रुसमा टाँगिनुभयो ।

२. किनकि येशूले छुटकारा दिनुभयो

“तिमीहरू मोल तिरेर किनिएका हौ । यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर” (१ कोरिन्थी ६:२०) । छुटकाराको लागि प्रयोग गरिएको ग्रिक शब्द ‘अगोराजो’ हो जसको अर्थ हुन्छ, ‘बजारमा किन्नु ।’ आफ्नो मृत्युद्वारा येशूले विश्वासीलाई पापको बजारबाट किनी छुटकारा दिलाउनुभयो ।

३. किनकि येशूले मिलाप ल्याउनुभयो

“अर्थात्‌ स्‍वयम्‌ ख्रीष्‍टमा हुनुभएर परमेश्‍वरले संसारलाई आफूसँग मिलापमा ल्‍याउँदै हुनुहुन्‍थ्‍यो । तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्‍देश उहाँले हामीलाई सुम्‍पिदिनुभएको छ” (२ कोरिन्थी ५:१९) । परमेश्वरबाट टाढा भएकाहरू उहाँसितको सङ्गतिमा पुनर्स्थापित भए । पापले परमेश्वर र मानिसको बिचमा दरार सृजना गरेको थियो तर येशूको मृत्युले मिलाप सृजना गरिदियो ।

४. किनकि हामीलाई क्षमा मिल्यो  

“तिमीहरू आफ्‍ना अपराध र शरीरअनुसार बेखतनामा मरेका थियौ, तर परमेश्‍वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो” (कलस्सी २:१३) । क्षमा परमेश्वरको कानुनी कार्य हो जसमा पापीको विरुद्धमा लागेका अभियोगहरू हटाइन्छन् । किनकि येशूको मृत्युद्वारा पिता परमेश्वरलाई पापको उचित हर्जाना तिरिएको छ ।

५. किनकि हामी धर्मी ठहरियौँ

“परमेश्‍वरका अनुग्रहको वरदानले ख्रीष्‍ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्‌” (रोमी ३:२४) । धर्मीकरण परमेश्वरको कार्य हो जसद्वारा उहाँले येशूको रगतको आधारमा विश्वास गर्ने पापीलाई धर्मी घोषणा गर्नुहुन्छ ।

६. किनकि परमेश्वर सन्तुष्ट हुनुभयो

“परमेश्‍वरले ख्रीष्‍टलाई उहाँको रगतद्वारा प्रायश्‍चित्तको बलिदान स्‍वरूप प्रस्‍तुत गर्नुभयो, जुन प्रायश्‍चित्त विश्‍वासद्वारा ग्रहण गर्नुपर्दछ । यो काम परमेश्‍वरले आफ्‍नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्‍वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्‍ता गर्नुभएको थिएन” (रोमी ३:२५) । ख्रीष्टको मृत्युले परमेश्वरका सबै धार्मिक मागहरूलाई सन्तुष्ट पारिदियो । परमेश्वर पवित्र र धर्मी हुनुभएकोले उहाँले पापलाई बेवास्ता गर्न सक्नुहुन्न । येशूको मृत्युद्वारा उहाँ पूर्ण रूपमा सन्तुष्ट हुनुभयो ।

७. किनकि येशूले पापको शक्तिलाई नष्ट गरिदिनुभयो

“हाम्रा परमेश्‍वर र पिताको इच्‍छाअनुसार उहाँले यस वर्तमान दुष्‍ट युगबाट हामीलाई छुटकारा दिनलाई हाम्रा पापका निम्‍ति आफैलाई अर्पण गर्नुभयो” (गलाती १:४) । अब उहाँमाथि विश्वास गर्नेहरू परमेश्वरबाट अलग हुनुपर्दैन । तिनीहरूका लागि स्वर्गीय स्थान तयार छ ।

Facebook Comments

Powered by Youth Circle