गुड फ्राइडेबारे तपाईंले जान्नुपर्ने ७ ओटा सत्यता

१. येशूको मृत्युको सम्झनामा वर्षको एक पटक मनाइने उत्सवलाई नै गुड फ्राइडे भनिन्छ । येशू निर्दोष र पापरहित हुनुभए तापनि उहाँ आजभन्दा लगभग दुई हजार वर्षअगि मानव–जातिको पापको लागि क्रूसमा टाँगिनुभएको थियो । गुड फ्राइडे अङ्ग्रेजी Good Friday को लिप्यन्तरण हो । गुड फ्राइडेलाई अङ्ग्रेजीमा होली फ्राइडे वा ग्रेट फ्राइडे पनि भनिन्छ । यसलाई नेपालीमा “असल शुक्रबार” वा “शुभ शुक्रबार” भनी अनुवाद गरिएको पाइए तापनि “पवित्र शुक्रबार” भन्नु पनि मुनासिब नै हुन्छ ।

२. येशूको क्रूसारोहणको वास्तविक मिति अज्ञात रहे तापनि क्रूसारोहणको समयमा देखा परेको अन्धकारको आधारमा खगोल विज्ञानअनुसार येशू ३ अप्रिल ३३ मा मर्नुभएको थियो भनी अनुमान गरिएको छ । नयाँ करारका अगिल्ला चारवटा सुसमाचार येशूको जीवनीबारे बताउने सबैभन्दा भरपर्दा र प्रारम्भिक स्रोतहरू हुन् । ती चारवटै सुसमाचारले उहाँको मृत्युबारे सबिस्तार वर्णन गरेका छन्— मत्ती २७:१–६६; मर्कूस १५:१–४७; लूका २३:१–५६ र यूहन्ना १८:२८–१९:४२ ।

३. शुक्रबार बिहान ३ बजेतिर आफ्ना चेलाहरूसँगै येशू गेतसमनीको बगैँचामा प्रार्थना गरिरहनुहुँदा उहाँ गिरफ्तार हुनुभयो । बिहान ९ बजे क्रूसमा टाँगिनुअगि उहाँले ६ ओटा जाँचको सामना गर्नुभयो । ६ घण्टा क्रूसमा बिताउनुभई दिउँसो ३ बजे उहाँले आफ्नो प्राण त्याग गर्नुभयो ।

४. “पाम सन्डे” पछि र “इस्टर सन्डे” अगिको शुक्रबार नै गुड फ्राइडे हो । प्रसिद्ध सौर्य पात्रोलाई आधार नमानी चन्द्र पात्रोलाई आधार मानिएकोले गुड फ्राइडेको मिति सालिन्दा फरक–फरक हुन्छ ।

५. अधिकांश पाश्चात्य राष्ट्रहरूसहित संसारका विभिन्न मुलुकहरूमा गुड फ्राइडेको दिन सार्वजनिक बिदा दिइन्छ । मानव–जातिको इतिहासमा यो एउटा अति नै गम्भीर दिन भएकोले यस दिनमा धेरै व्यापार, स्कुल र विश्वविद्यालयहरू पनि बन्द गरिन्छन् । भविष्यमा नेपाल सरकारले पनि यस दिनलाई सार्वजनिक बिदाको दिन घोषणा गरेको खण्डमा नेपाली ख्रीष्टियानहरू पनि धर्मनिरपेक्ष राष्ट्र नेपालका नागरिकहरू हुन् भन्ने अभ्यासको दायरा फराकिलो हुने छ ।

६. येशू क्रूसमा मर्नुहुँदा पुरानो करारमा सैयौँ वर्ष पहिले भनिएका भविष्यवाणीहरू मात्र पूरा भएनन्, तर येशू स्वयम्‌ले आफ्नो मृत्युको विषयमा गर्नुभएका भविष्यवाणीहरू पनि पूरा भएका थिए । पुरानो करारको यशैया ५३ अध्यायमा उहाँको मृत्युबारे सबिस्तार भविष्यवाणी पाइन्छ ।

७. गुड फ्राइडेको दिनमा ख्रीष्टियानहरू उपवास बस्छन्; प्रभातफेरीमा सहभागी हुन्छन्; मण्डलीहरूमा विशेष सेवा सञ्चालन गरिन्छ जसमा येशूको मृत्युको वर्णन गर्ने भजनहरू, लघु नाटकसाथै वचन प्रस्तुत गरिन्छन् ।

Facebook Comments

Powered by Youth Circle