बाइबल नै इङ्गल्यान्डको सफलताको रहस्य हो— महारानी भिक्टोरिया

एक पटक अफ्रिकाका राजकुमारका राजदूत महारानी भिक्टोरियालाई भेट्न आए । महारानीको सामु तिनले एउटा प्रश्न राखे जुन सोध्नू भनी तिनलाई आज्ञा गरिएको थियो, “संसारभरि नै तपाईंको राष्ट्रको शक्ति र सफलताको रहस्य के हो ?” आफ्नो टेबुलमाथि भएको एउटा पुस्तकलाई उठाउँदै महारानीले जवाफ दिइन्, “इङ्गल्यान्डको सफलताको रहस्य यही पुस्तक हो भनी तपाईंको राजकुमारलाई बताइदिनू ।” उनले हातमा उठाएकी पुस्तक अरू कुनै नभएर पवित्र बाइबल थियो । लन्डनस्थित नेसनल ग्यालरी सङ्ग्रहालयमा यस दृश्यको एउटा प्रसिद्ध चित्र पनि छ । करिब ख्रिस्टाब्द १८६३ मा ब्रिटिस चित्रकार थोमस जे. बार्करद्वारा बनाइएको यस चित्रमा महारानीले हातमा बाइबल लिएकी छन् ।

ख्रिस्टाब्द १८१९ मा इङ्गल्यान्डमा जन्मेकी भिक्टोरिया १८ वर्षको उमेरमा ब्रिटिस साम्राज्यकी महारानी बनेकी थिइन् । उनले ब्रिटिस साम्राज्यमाथि ६३ वर्ष ७ महिना राज्य गरिन् । एकातिर उनले इङ्गल्यान्डमा कुनै पनि राजाले भन्दा बेसी शासन गरिन् भने अर्कोतिर उनी नै सारा इतिहासमा सबैभन्दा बेसी राज्य गर्ने महिला रानी बनिन् । महारानी भिक्टोरियाको शासनकालमा बेलायतले औद्योगिक, सांस्कृतिक, राजनीतिक, वैज्ञानिक र सैनिक क्षेत्रमा व्यापक परिवर्तन ल्याएको थियो । एक वाक्यमा भन्नुपर्दा, इङ्गल्यान्डले उनको शासनकालमा जति उन्नति गर्‍यो त्यति कहिल्यै गरेको थिएन । उनले उन्नाइसौँ शताब्दीभरि नै आफ्नो नाउँ चम्काइन् । उन्नाइसौँ शताब्दीमा नै मिसनरी गतिविधि विश्वभर विस्फोट भएको थियो ।

आफ्नो प्रौढावस्थामा महारानी भिक्टोरियाले हरेक दिन सरदर २,५०० शब्द लेख्थिन् । १८३२ देखि उनको मृत्यु हुनुभन्दा केही समय अगिसम्म उनले जर्नल लेख्ने गर्थिन् । उनका यी सबै लेखलाई जम्मा गर्दा १२२ ठेलीको सङ्ग्रह तयार भएको छ ।

८१ वर्षको दीर्घायुमा महारानी भिक्टोरिया यस धरतीबाट बिदा भएकी थिइन् । उनको निधनपश्चात् उनका जेठा छोरा एडवार्ड सातौँ ब्रिटिस साम्राज्यका राजा बने ।

महारानी भिक्टोरिया आफै अति नै धार्मिक स्त्री नभए तापनि संसारमा इङ्गल्यान्ड सर्वश्रेष्ठ मुलुक हुनुको पछाडि बाइबलको उल्लेखनीय भूमिका थियो भन्ने तथ्यमा भने उनी सचेत थिइन् ।

Facebook Comments

Powered by Youth Circle