कोरोना भाइरसको विरुद्धमा जुधिरहेका नास्तिक डाक्टरले परमेश्वरलाई पाए

डाक्टरको नाउँ हो, जुलिएन उर्बान । तिनी ३८ वर्षका छन् । तिनी कोरोना सङ्क्रमित देश इटालीका नास्तिक थिए । इटालीको अत्यधिक प्रभाविक क्षेत्र लोम्बार्डीको अस्पतालमा तिनी सक्रिय छन् । अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) को विरुद्धमा लडिरहँदा कसरी परमेश्वरलाई पाए भनी तिनले गवाही दिएका छन् ।

कोरोना सङ्क्रमितहरूको सङ्ख्या एक्कासि बढेपछि डाक्टर उर्बानले भनेका छन्, “अब हामी डाक्टर रहेनौँ, तर छनोटकर्ताहरू भयौँ । को-को बाँच्ने र कस-कसलाई मर्नको लागि घरमा पठाउने भनी निर्णय गर्नुपर्ने भयो, यद्यपि यी सबै बिरामीले जीवनभरि स्वास्थसम्बन्धी कर तिरेका थिए ।”

डाक्टर उर्बानले वर्णन गरे, “दुई हप्ताअगिसम्म म र मेरा सहकर्मीहरू नास्तिक थियौँ । हामी डाक्टर भएकाले यो सामान्य कुरो थियो । विज्ञानले परमेश्वरको उपस्थितिलाई निष्कासन गर्छ भनी हामीले सिकेका थियौँ ।”

विगतमा मण्डली जाने आफ्ना बुबाआमालाई उर्बानले उपहास गर्थे भनी तिनले गवाही दिए । तर अस्पतालमा भर्ना भएका एक जना पास्टरलाई भेटेपछि तिनको धारणामा परिवर्तन आयो ।

“नौ दिनअगि ७५ वर्षका पास्टर अस्पतालमा भर्ना भए । तिनी दयालु मानिस थिए । तिनको श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको थियो,” डाक्टर उर्बानले वर्णन गरे, “तिनले आफूसित बाइबल ल्याएका थिए र मर्न लागेकाहरूका हात समाती बाइबल पढ्दा हामी प्रभावित भयौँ । हामी सबै डाक्टर मनोवैज्ञानिक र शारीरिक रूपमा थाकेका थियौँ र निरुत्साही भएका थियौँ । समय मिल्दा हामीले तिनको कुरा सुन्थ्यौँ । हामीले सकेजति गरेका थियौँ, अब गर्न सक्ने अवस्थामा थिएनौँ । दिनप्रति दिन मानिसहरू मरिरहेका थिए । हामी लखतरान भएका थियौँ । हाम्रा दुई जना सहकर्मी मरिसकेका थिए भने अरूहरूलाई सङ्क्रमित भएको थियो ।”

त्यसपछि डाक्टर उर्बान र तिनका सहकर्मीहरूले मदतको लागि परमेश्वरलाई पुकारा गर्नुपर्दोरहेछ भनी महसुस गरे ।

तिनले भने, “एक पटक हामी घोर नास्तिक थियौँ, तर अहिले मदतको लागि परमप्रभुलाई पुकारा गर्दै दिनदिनै शान्तिको खोजी गर्छौं । एक-अर्कासित हामीले यस्तो कुरा गर्दा हामीलाई पत्याउन गार्‍हो भएको छ ।” बिरामीहरूको हेरचाह गर्न सकियोस् भनी तिनीहरूले परमेश्वरलाई बिन्ती चढाउन थाले ।

डाक्टर उर्बानले जारी राखे, “यहाँ तीन हप्तामा १२० जनाभन्दा बढीको मृत्यु भए तापनि हामी नष्ट भएनौँ । आफ्नो अवस्था र हाम्रा कठिनाहरूको बाबजुद पनि ती पास्टरले हामीमा शान्ति ल्याउने बन्दोवस्त गरे जसको हामीले कहिल्यै अपेक्षा गरेका थिएनौँ । पास्टर प्रभुको घरमा गए र यो अवस्थामा सुधार आएन भने हामी पनि चाँडै तिनीसँगै हुने छौँ ।”

भयावह अवस्थाको बाबजुद पनि आफूले परमेश्वरलाई पाएकोमा डाक्टर उर्बानले आभार व्यक्त गरे, “म घर नगएको छ दिन भइसक्यो । पछिल्लो पटक मैले कहिले खाएँ, मलाई थाहा छैन ।” तथापि अन्तिम सास रहेसम्म तिनी अरूहरूको मदत गर्न चाहन्छन् ।[i]

 

स्रोत:

[i] https://godtv.com/atheist-doctor-italy-found-god-covid-19/ Accessed on 27 March 2020

Facebook Comments

Powered by Youth Circle