जासुसी बुधबार पवित्र हप्ताको चौथो दिन हो । अगिल्ला तीन दिनलाई क्रमस: खजुरे आइतबार, पवित्र सोमबार र पवित्र मंगलबार भनिन्छ । यो इस्टर अगिको बुधबार हो । यहुदा इस्करियोत जासुस थियो र यही बुधबारको दिन त्यसले येशूलाई धोका दिने छनोट गरेकोले यसलाई जासुसी बुधबार भनिएको हो । यसलाई पवित्र बुधबार वा असल बुधबार पनि भन्ने गरिन्छ ।
खजुरे आइतबारपछि धार्मिक अगुवाहरूले येशूलाई मार्ने षड्यन्त्र रचे । परम्परागत अर्थ खोलाइअनुसार बुधबारको दिन येशू यरुसलेमको पूर्वपट्टि पर्ने बेथानियास्थित सिमोन कुष्ठरोगीको घरमा हुनुहुन्थ्यो । आफ्ना चेलाहरूसँगै उहाँ खान बस्नुहुँदा मरियम नाम गरेकी “स्त्री सिङ्गमरमरको एउटा सिसीमा बहुमूल्य अत्तर लिएर उहाँकहाँ” आइन् (मत्ती २५:७) र “आधा लिटर जति किमती जटामसीको सुगन्धित अत्तर ल्याएर येशूका पाउमा मलिन् अनि उहाँका पाउ आफ्ना केशले पुछिन् र अत्तरको बास्नाले घर भरियो” (युहन्ना १२:३) । त्यो तीन सय चाँदीका सिक्का बराबरको मूल्य पर्ने अथवा एउटा कामदारको झन्डै एक वर्षको ज्याला बराबर महङ्गो अत्तर थियो । त्यस कार्यको विरोध जनाउँदै यहुदा इस्करियोतले भन्यो, “त्यो रकम गरीबहरूलाई दिए हुँदैनथ्यो ?” गरिबहरूको फिक्री गरेर त्यसले त्यसो भनेको थिएन किनकि त्यो चोर थियो र पैसाको थैलोबाट त्यसले चोर्ने गर्थ्यो ।
येशूको भनाइअनुसार मरियमले येशूलाई दफनका लागि तयार पारेकी थिइन्, “तिनले त्यो अत्तर मेरो शरीरमा खन्याएर दफनको निम्ति मलाई तयार गरेकी हुन्” (मत्ती २६:१२) । येशूले आफ्नो आसन्न मृत्युको बारेमा अगावै भविष्यवाणी गर्नुभएको थियो (मत्ती १६:२१; १७:२२; २०:१८) । तर चेलाहरूले उहाँका यस वचनमा विश्वास गरेका जस्तो देखिँदैन । मरियमले विश्वास गरिन् र उहाँप्रति आफ्नो भक्ति झल्काउने कार्य गरिन् । फलस्वरूप येशूले भन्नुभयो, “सारा संसारमा जहाँ यो सुसमाचार प्रचार गरिन्छ, यस नारीले जे गरिन् त्यसको चर्चा तिनको सम्झनाको लागि गरिने छ” (मत्ती २६:१३) ।
त्यसपछि यहुदा इस्करियोतले येशूलाई धार्मिक अगुवाहरूको हातमा बेचिदिने मौका खोज्यो (मत्ती २६:१४-१६; मर्कुस १४:१०-११; लुका २२:१-६) । सम्भवत: धार्मिक अगुवाहरूले इस्करियोतलाई आफ्नो प्रार्थनाको जबाफ ठाने । त्यसले भन्यो, “यदि मैले उहाँलाई तपाईंहरूका हातमा पक्राइदिएँ भने मलाई के दिनुहुन्छ” (मत्ती २६:१५) ? त्यसलाई चाँदीका तिस सिक्का दिने सहमति भयो । पुरानो करारअनुसार यो एउटा दासको छुटकाराको मूल्य थियो (२१:३२) ।