विश्वासका रक्षकहरू: १२५ जना रक्षाशास्त्रीको जीवनी सङ्ग्रह

पुस्तकको नाम : विश्वासका रक्षकहरू: १२५ जना रक्षाशास्त्रीको जीवनी सङ्ग्रह
सम्पादक : कमल अधिकारी
पृष्‍ठ सङ्ख्या : २४८
मूल्य रु. : २२०
प्रकाशक : कमल अधिकारी
प्रकाशन मिति : २०२२

 

“तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो ह्रदयमा उहाँको श्रद्धा गर । तिमीहरूमा भएका आशाको विषय कसैले सोधपूछ गरे त्यसको जवाफ दिन सधैँ तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धासाथ गर” (१ पत्रुस ३:१५) । आफ्नो विश्वासको पक्षमा वकालत गर्न पत्रुस हरेक विश्वासीलाई आज्ञा दिन्छन् । त्यो काम गर्ने व्यक्ति रक्षाशास्त्री कहलाइन्छ । वास्तवमा ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्ने व्यक्ति नै रक्षाशास्त्री हो । येशूको समयदेखि वर्तमान समयसम्म सयौँ मानिसले बौद्धिक रूपमा आफ्नो ख्रीष्टियान विश्वासको पक्षमा वकालत गर्दै आएका छन् । यो पुस्तक तिनै रक्षाशास्त्रीहरूको जीवनी सङ्ग्रह हो ।

पुस्तकलाई कालानुक्रमअनुसार ७ भागमा विभाजन गरिएको छ । रक्षाशास्त्रीहरूको जीवनी सङ्ग्रह लेख्दा यसरी नै विभाजन गर्नुपर्छ भन्ने छैन तर यस विभाजनलाई तर्कसङ्त मान्न सकिन्छ ।

पहिलो भागमा प्रेरितीय कालका रक्षाशास्त्रीहरूको बारेमा चर्चा गरिएको छ । यहाँ तपाईंले येशू, पावल, पत्रुस, यूहन्ना तथा लूकालाई रक्षाशास्त्रीको रूपमा देख्नुहुन्छ । येशू मानव जातिका सबैभन्दा महान् चिन्तक हुनुहुन्छ र उहाँकै नमुनालाई पछ्याउँदै नयाँ करारका लेखकहरूले पनि ख्रीष्टियान विश्वासको पक्षमा वकालत गरेका छन् ।

दोस्रो भाग प्राचीन कालका रक्षाशास्त्रीहरूमा समर्पित छ । यहाँ दोस्रो शताब्दीका एथेन्सका अरिस्तिदेसदेखि सातौँ शताब्दीका दमस्कसका जोनको बारेमा अभिलिखित गरिएको छ । यस कालका अगिल्ला शताब्दीहरूमा मण्डली रोमी साम्राज्यको सतावटको निसानामा पर्दा ख्रीष्टियान चिन्तकहरूले ती सतावटको सामना गरी ख्रीष्टियानहरूको विरुद्धमा लगाइएका झुटा आरोपहरूको खण्डन गरे । आफ्नो विश्वासको निम्ति रक्षाशास्त्रीहरूको बौद्धिक प्रस्तुतीकरणसाथै ख्रीष्टियानहरूमाथिको निराधार आरोपको खण्डनले अन्ततः चौथो शताब्दीमा रोमी साम्राज्य ढल्न पुग्यो र प्रथम ख्रीष्टियान सम्राट् कन्स्टेन्टाइन महान्‌को सत्तारोहणसँगै युरोप ख्रीष्टियान मूल्य-मान्यतामा बामे सर्दै अगाडि बढ्यो ।

तेस्रो भागमा मध्य कालका रक्षाशास्त्रीहरूको बारेमा उल्लेख गरिएको छ । यहाँ एडेसाका बिशप थियोडोर अबु कुराहदेखि स्कटल्यान्डका ईश्वरशास्त्री डन्स स्कटसको बारेमा पढ्न पाइन्छ । यहाँ नवौँदेखि चौधौँ शताब्दीसम्मका रक्षाशास्त्रीहरू समेटिएका छन् । यस कालका सर्वाधिक मननयोग्य रक्षाशास्त्रीचाहिँ थोमास अक्विनास हुन् । उनलाई ‘मध्यकालका सबैभन्दा प्रभावशाली विचारक’ र ‘सर्वश्रेष्ठ मध्यकालीन दार्शनिक-धर्मशास्त्री’ भनेर चिनिन्छ ।

चौथो भागमा पुनर्जागरण कालका केही रक्षाशास्त्रीको बारेमा चर्चा गरिएको छ । पन्ध्रौँ र सोर्‌हौँ शताब्दीका ख्रीष्टियान चिन्तकहरू यस समयावधिमा राखिएका छन् । यहाँ तपाईंले अखामका विलियम, रमन लुल र ग्रेगोरी पलामस गरी तीन जनाको जीवनी पढ्न पाउनुहुन्छ ।

पाँचौँ भागमा प्रबोधन कालका रक्षाशास्त्रीहरूको बारेमा सम्बोधन गरिएको छ । ह्युगो ग्रोसिएसदेखि विलियम पेलीसम्मका जीवन अभिलिखित गरिएको यस भागले सत्रौँ र अठारौँ शताब्दीका रक्षाशास्त्रीहरूलाई समेटेको छ ।

छैटौँ भाग आधुनिक कालका रक्षाशास्त्रीहरूसित सम्बन्धित छ र यहाँ उन्नाइसौँ र बिसौँ शताब्दीका विश्वासका रक्षकहरूबारे चर्चा परिचर्चा गरिएको छ । यहाँ जोन हेन्री न्युम्यानदेखि नबिल कुरेसीसम्मका जीवनी पढ्न पाइन्छ ।

अन्तिम अर्थात् सातौँ भागचाहिँ वर्तमान समयका रक्षाशास्त्रीहरूप्रति समर्पित छ । बिसौँ शताब्दीमा जन्मेका यी रक्षाशास्त्रीहरू जीवित रक्षकहरू हुन् जसले विविध माध्यमद्वारा ख्रीष्टियान आस्थाको पक्षमा बोल्दै छन् र लेख्दै छन् ।

सातवटै प्रदेशको प्रतिनिधित्व हुने गरी २५ जना लेखकद्वारा तयार पारिएको यो पुस्तक नेपाली पाठकहरूका निम्ति लाभदायक हुने छ भन्ने अपेक्षा गरिएको छ । हरेक लेखकसाथै सबै योगदानकर्तालाई मुरीमुरी धन्यवाद छ । हाम्रा परमेश्वरलाई सदासर्वदा महिमा होस्, “उही एकमात्र परमेश्वर, हाम्रा मुक्तिदातालाई येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा महिमा, प्रभुत्व, पराक्रम र अधिकार युग-युग पहिलेदेखि आज र सदासर्वदा भइरहोस् । आमेन” (यहूदा २४) ।

Facebook Comments

Powered by Youth Circle