९० जना ख्रीष्टियान वैज्ञानिकहरूको जीवनी

पुस्तकको नाम : ९० जना ख्रीष्टियान वैज्ञानिकहरूको जीवनी
सम्पादक : कमल अधिकारी
पृष्‍ठ सङ्ख्या : १९७
मूल्य रु. : २२०
प्रकाशक : सञ्जु ढकाल (बस्नेत)
प्रकाशन मिति : २०२३
ISBN : 978-9937-1-4963-1

 

यो पुस्तक ख्रीष्टियान वैज्ञानिकहरूको जीवनी हो । पुस्तकमा बार्हौं शताब्दीका वैज्ञानिक रोबर्ट ग्रोसोटेस्टेदेखि लिएर वर्तमान समयसम्म जीवित वैज्ञानिक जोन सी. लेनोक्ससम्म गरी ९० जना ख्रीष्टियान वैज्ञानिकहरूको जीवनी समेटिएको छ ।

ख्रीष्टियान वैज्ञानिकहरूले संसारमा अमूल्य योगदान पुर्‍याएका छन् । समाजशास्त्री रोड्नी स्टार्कका अनुसार विज्ञानको उदयको लागि ख्रीष्टियान ईश्वरशास्त्र अपरिहार्य थियो । मध्यकालीन ख्रीष्टियान ईश्वरशास्त्रबाट आधुनिक विज्ञानको विकास भएको थियो भनी विज्ञानका विख्यात दार्शनिक अल्फ्रेड ह्वाइटहेडले उल्लेख गरेका छन् । भौतिकशास्त्री अर्नेस्ट माकले भनेका छन्, “हरेक पूर्वाग्रहरहित चिन्तकले स्वीकार गर्नैपर्छ कि यन्त्रविज्ञानको मुख्य विकास भएको युग ईश्वरशास्त्रीय अवधारणाले आधिपत्य जमाएको युग थियो ।” युरोपमा वास्तविक विज्ञानको उदय भएको थियो भनी आधुनिक विज्ञानका इतिहासकार, दार्शनिक तथा समाजशास्त्रीहरू सहमत छन् । पाश्चात्य संस्कृतिमा भएको ख्रीष्टियान विश्वासको अद्वितीय योगदानलाई यसको श्रेय जान्छ । ख्रीष्टियान विचारकहरूले विज्ञान सम्भव छ भनेर मात्र विश्वास गरेनन् तर यो हुनुपर्छ भनेर पनि मानिलिए । विज्ञानको इतिहासलाई पूर्वाग्रहरहित दृष्टिकोणबाट हेर्ने हो भने छर्लङ्ग हुन्छ कि आधुनिक विज्ञान ख्रिस्टियमतको आविष्कार हो । आज चाहे हामी मोटरसाइकलमा चढौँ वा उपचारको लागि अस्पतालमा जाऔँ, यसको लागि हामी येशूको शिक्षा र उहाँका अनुयायीहरूप्रति ऋणी छौँ ।

पुस्तकमा जम्माजम्मी ६ ओटा भाग छन् । पहिलो भागमा तपाईंले अठारौँ शताब्दी अगिका ख्रीष्टियान वैज्ञानिकहरूको बारेमा पढ्न पाउनुहुने छ । यहाँ रोबर्ट ग्रोसोटेस्टेदेखि सर आइज्याक न्युटनसम्म गरी जम्मा १० जना वैज्ञानिकहरूको बारेमा चर्चा गरिएको छ ।

दोस्रो भाग अठारौँ शताब्दीका ख्रीष्टियान वैज्ञानिकहरूप्रति समर्पित छ । पहिलो भागमा जस्तै गरी यसमा पनि १० जना वैज्ञानिकहरूको बारेमा उल्लेख गरिएको छ । यस भागमा पाठकले जोन रेदेखि थोमास बेइजसम्मको जीवनी पढ्न पाउने छ ।

त्यसपछि भाग ३ मा उन्नाइसौँ शताब्दीका ख्रीष्टियान वैज्ञानिकहरूको बारेमा अभिलिखित गरिएको छ । जोसेफ प्रिस्टलीदेखि लिएर जोसेफ लिस्टरसम्म जम्मा २० जना वैज्ञानिकहरूको बारेमा यस पाठमा चर्चा गरिएको छ ।

भाग ४ बिसौँ शताब्दीका ख्रीष्टियान वैज्ञानिकहरूको बारेमा हो । यस भागमा विलहेल्म रन्टगनदेखि आर्थुर लिओनार्द स्वालोसम्म गरी १५ जना वैज्ञानिकहरूको बारेमा पढ्न पाइन्छ ।

भाग ५ मा एक्काइसौँ शताब्दीका ख्रीष्टियान वैज्ञानिकहरूको विषयमा उल्लेख गरिएको छ । सर रोबर्ट बोएडदेखि जोन बी. गुडइनफ गरी १६ जना वैज्ञानिकहरूको बारेमा यहाँ चर्चा गरिएको छ ।

अन्तिम अर्थात् भाग ६ लेचाहिँ हाल जीवित ख्रीष्टियान वैज्ञानिकहरूको बारेमा वर्णन गर्छ । पुस्तक प्रकाशन हुँदासम्म जीवित रहेका १९ जना वैज्ञानिकहरूको बारेमा यस भागमा चर्चा गरिएको छ ।

यो १८ जना लेखकहरूद्वारा लिखित रचना हो ।

Facebook Comments

Powered by Youth Circle