ढुङ्गाहरू बोल्न थालेपछि: बाइबलसित सम्बन्धित १०१ ओटा पुरातात्त्विक खोजहरूको सङ्ग्रह

पुस्तकको नाम : ढुङ्गाहरू बोल्न थालेपछि: बाइबलसित सम्बन्धित १०१ ओटा पुरातात्त्विक खोजहरूको सङ्ग्रह
लेखक/सम्पादक : कमल अधिकारी
पृष्‍ठ सङ्ख्या : २४०
मूल्य रु. : २५०
प्रकाशक : सामदान प्रकाशन
प्रकाशन मिति : २०२३
ISBN : 9789937-9612-4-0

यो पुस्तक बाइबलसित सम्बन्धित पुरातात्त्विक खोजहरूको बारेमा हो । पुरातत्त्वविद्या भनेको “प्राचीन समयमा निर्माण भएका वा उपयोग गरिएका ऐतिहासिक तथा महत्त्वपूर्ण वस्तुको अध्ययन गर्ने विद्या” हो । पुरातत्त्वविद्यालाई अङ्ग्रेजीमा archaeology भनिन्छ । यो दुई ओटा ग्रिक शब्द archaios र logos मिलेर बनेको छ । पहिलो शब्दको अर्थ ‘प्राचीन’ वा ‘पुरानो’ हुन्छ भने दोस्रोको अर्थ ‘वचन’ वा ‘अध्ययन’ हुन्छ । तसर्थ पुरातत्त्वविद्याको अक्षरशः परिभाषा हुन्छ, “प्राचीनकालबारे गरिने अध्ययन ।” पुरातत्त्वविद्याले प्राचीन समयका शिल्पकृति, वास्तुकला, सिक्का, स्मारक, प्रलेखसाथै अन्य वस्तुहरू पत्ता लगाई ती वस्तुको अध्ययन गर्ने काम गर्दछ । विशेषज्ञहरूले ती पत्ता लगाइएका थोकहरूको अध्ययन गरी बाइबलका खण्डहरूको आर्थिक, सांस्कृतिक, सामाजिक र राजनीतिक पृष्ठभूमिहरूबारे हाम्रो ज्ञानलाई वृद्धि गराउन मदत पुर्‍याएका छन् । पुरातात्त्विक खोजहरूले बाइबलका घटना, इतिहास, चालचलन, ठाउँ, व्यक्तिहरूको बारेमा थप प्रकाश छर्ने काम मात्रै गरेका छैनन् तर कतिपय अवस्थामा प्रमाणितसमेत गरिदिएका छन् ।

उन्नाइसौँ शताब्दीमा बाइबल आलोचकहरू जायज कारणहरूसहित भन्ने गर्थे कि सर्गान अस्तित्वमा थिएनन्; हित्ती भनिने जाति अस्तित्वमा थिएन र थियो भने पनि महत्त्वहीन थियो; पूर्वजहरूका विवरणहरू पछिल्लो समयका उत्पादन हुन्; पवित्र वासस्थानको सात हाँगा भएको सामदान पछिल्लो समयको धारणा हो; दाऊदीय राज्य बाइबलले अङ्कित गरे जत्तिकै बृहत् थिएन; बेलसजर अस्तित्वमा थिएनन् । साथै, अन्य थुप्रै त्रुटि र असम्भाव्यता बाइबलका विवरणमा थिए भनी आलोचकहरू सोच्ने गर्थे । तर तिनीहरूको सोचको विपरीत, पुरातात्त्विक खोजले देखायो कि सर्गान अस्तित्वमा रहेछन्; हित्तीहरू अस्तित्वमा मात्र रहेनछन् तर तिनीहरू महत्त्वपूर्ण जाति पनि रहेछन्; पूर्वजहरूका विवरणहरू बाइबलले अङ्कित गरेको समयसित मेल खाँदोरहेछ; सात हाँगा भएको सामदान मोशाको समयमा अस्तित्वमा आइसकेको रहेछ; बाइबलले वर्णन गरेजस्तै दाऊदको राज्य बृहत् रहेछ; बेलसजर अस्तित्वमा रहेछन् र तिनले बेबिलोनमाथि शासन गरेका रहेछन् । साथै, आलोचकहरूले त्रुटि भनी सोचेका ती कथित त्रुटिहरू यथार्थतः त्रुटि रहेनछन् ।

बाइबलसित सम्बन्धित सयौँ पुरातात्त्विक खोजहरू फेला पारिएका छन् जसमध्ये यस पुस्तकमा १०१ ओटा त्यस्ता खोजहरूको बारेमा वर्णन गरिएको छ । ती खोज ६ ओटा भागमा विभाजित छन् । पहिलो भागमा १६ ओटा खोजको विषयमा लेखिएका छन् जुन पञ्चग्रन्थ अर्थात् उत्पत्तिदेखि व्यवस्थासम्मका पुस्तकहरूसित सम्बन्धित छन् । दोस्रो भागमा तपाईंले ४१ ओटा खोज पाउनुहुने छ जसले ऐतिहासिक पुस्तकहरू (यहोशू-एस्तर) बारे हाम्रो ज्ञानलाई वृद्धि गरिदिएका छन् । तेस्रो भागले ठुलासाना अगमवक्ताका पुस्तकहरू (यशैया-मलाकी) बारे थप प्रकाश छर्ने काम गर्छन् र यहाँ १४ ओटा खोजको बारेमा उल्लेख गरिएको छ । चौथो भाग चार ओटा सुसमाचारीय पुस्तकहरूसित सम्बन्धित छ र यहाँ तपाईंले येशूको जीवनीसित जोडिएका २० ओटा खोजहरूबारे पढ्न पाउनुहुने छ । पाँचौँ भागमा ७ ओटा खोजहरूको बारेमा चर्चा गरिएका छन् जुन प्रेरितको पुस्तकसित सम्बन्धित छन् । छैटौँ अर्थात् अन्तिम भागमा बाँकी ३ ओटा खोजहरूबारे बयान गरिएको छ ।

 

Facebook Comments

Powered by Youth Circle