पवित्र सोमबारमा के कस्ता घटनाहरू घटेका थिए ?

पवित्र सोमबार पवित्र हप्ताको दोस्रो दिन हो । यो इस्टर अर्थात् पुनरुत्थान दिवस अगिको सोमबार हो । पहिलो दिन पाम सन्डे (अथवा खजुरे आइतबार) हो जुन दिनमा यरुसलेममा उहाँको विजयी प्रवेशको सम्झना गरिन्छ । दोस्रो दिन अर्थात् सोमबार येशूले अञ्जीरको रुखलाई सराप दिनुभयो (मत्ती २१:१८-२२; मर्कुस ११:२०-२६); मन्दिर शुद्ध पार्नुभयो (मत्ती २१:१२-१७; मर्कुस ११:१५-१९; लुका १९:४५-४८) र उहाँको अधिकारीमाथि गरिएको प्रश्नको जबाफ दिनुभयो (मत्ती २१:२३-३७) । यसका अतिरिक्त, उहाँले केही दृष्टान्तहरू पनि भन्नुभयो ।

आइतबार येशू बेथानियाम गएर वास बस्नुभयो । सोमबार बिहान आफ्ना चेलाहरूसँगै यरुसलेम सहरतिर फर्कनुहुँदा प्रशस्त पात भएको तर कुनै फल नलागेको अञ्जीरको बोट देख्नुभयो । उहाँ भोकाउनुभएको थियो । वास्तवमा अञ्जीरको बोटमा पहिले फल लाग्छ अनि मात्र पातहरू देखा पर्छन् अथवा दुवै सँगसँगै देखा पर्छन् । येशूले देख्नुभएको अञ्जीरको बोटमा पातहरू भएकोले फल पनि अवश्य हुनुपर्थ्यो, तर यसमा थिएन । येशूले सराप दिनुभयो र यो सुक्यो । फलत: चेलाहरू छक्क परे ।

अञ्जीरको रुखलाई दिइएको सराप साङ्केतिक थियो । येशूले चेलाहरूलाई महत्त्वपूर्ण पाठ सिकाउन अञ्जीरको रुखको प्रयोग गर्नुभयो । रुखले फल नफलाएकोले येशूले यसलाई सराप दिनुभएको होइन तर तिनीहरूलाई पाठ सिकाउनलाई सराप दिनुभएको हो । येशूले यहाँ विश्वासको बारेमा मात्र सिकाउनुभएको छैन तर धेरै बाइबल विद्वान्‌डहरूको बुझाइअनुसार उहाँले यहाँ अञ्जीरको रुखलाई इस्राएको प्रतीकको रूपमा पनि प्रयोग गर्नुभएको छ । इस्राएलीहरूले आफूलाई फलदायी ठाने तर सुक्ष्म मूल्याङ्कनमा तिनीहरू फलविहीन थिए ।

पवित्र सोमबारमा घटेको अर्को घटना हो, मन्दिरको शुद्धेइँ । तीर्थयात्रीहरूलाई शुल्क तिरेर पैसा साट्न बाध्य गरिनुका अतिरिक्त महङ्गो मूल्यमा बलिदानहरू किन्न लगाइन्थ्यो । मन्दिर प्रार्थनालय हुनुपर्थ्यो तर यसलाई भ्रष्ट व्यापारिक स्थानमा परिणत गरिएको थियो । मन्दिरको नेतृत्व भ्रष्ट भएको थियो । यस्तो किसिमको धुत्ने कार्य पूर्णत: मन्दिरको उद्देश्यको विपरीत भएकोले येशूले मन्दिरमा किनबेच गर्नेहरूलाई धपाइदिनुभयो । येशूले यसैया ५६:७ र यर्मिया ७:११ बाट उद्धृत गर्दै भन्नुभयो, “मेरो घर प्रार्थनाको घर कहलाइने छ । तर तिमीहरूले यसलाई डाँकुहरूको अड्डा बनाएका छौ” (मत्ती २१:१३) । आफ्नो सेवाको आरम्भमा पनि येशूले मन्दिर शुद्ध पार्नुभएको थियो (युहन्ना २:१४-१६) ।

येशूले मन्दिर शुद्ध पार्नुभएपछि धार्मिक अगुवाहरूले उहाँको यस अधिकारबारे प्रश्न गरे, “कुन अधिकारले तिमी यी कामहरू गर्छौ” (मत्ती २१:२३) ? “यी कामहरू” ले सम्भवत: विविध कुराहरूलाई जनाउन सक्छन्: यरुसलेममा उहाँको विजयी प्रवेश, मानिसहरूले दिएका प्रशंसाको स्वीकार, मन्दिरको शुद्देइँ, चङ्गाइको घटना र उहाँको शिक्षा । येशूले मसिहको दाबी गर्दै हुनुहुन्थ्यो भनी धार्मिक अगुवाहरूले बुझेका थिए । सिधै जबाफ दिनुको साटो येशूले तिनीहरूलाई नै प्रश्न गर्नुभयो, “युहन्नाको बप्तिस्मा कहाँबाट भयो ?” तिनीहरूले जबाफ नदिएकाले उहाँले पनि जबाफ दिनुभएन बरु उहाँले दुई छोरा,  मोहीहरू र विवाह भोजका दृष्टान्तहरू भन्नुभयो ।

Facebook Comments

Powered by Youth Circle