बाइबलले दशांशको विषयमा के सिकाउँछ ?

दशांश भनेको कुनै पनि थोकको दसौँ भाग हो । मोशाको व्यवस्थाअगि नै यसको आरम्भ भएको थियो । उत्पत्ति १४:२० मा दशांशको पहिलो पटक उल्लेख भएको छ जहाँ अब्राहामले “सबै कुराको दशांश दिए ।” बाइबलअनुसार दशांश चढाउनेमा अब्राहाम प्रथम व्यक्ति थिए । यो दशांश तिनले सालेमका राजा मल्किसेदेकलाई दिएका थिए । त्यसपछि अब्राहामका नाति याकुबको प्रतिज्ञामा दशांशको दोस्रो उल्लेख पाइन्छ । तिनले परमेश्वरसित प्रतिज्ञा गरे, “तपाईंले मलाई दिनुभए जति सबैको दशांश म तपाईंलाई अवश्‍य चढाउने छु” (उत्पत्ति २८:१८) ।

मोसामार्फत इस्राएलीहरूलाई व्यवस्था दिनुहुँदा परमेश्वरले दशांशको बारेमा प्रस्ट पार्नुभयो, “रुखहरूका फल वा जमिनका बिउको होस्‌, भूमिका उब्‍जनीको दशांश परमप्रभुकै हो र ती परमप्रभुको निम्‍ति पवित्र हुन्‌” (लेवी २७:३०) । अर्को खण्डमा लेखिएको छ, “लेवीहरूलाई भन्‌: ‘मैले तिमीहरूका अंश-अधिकारको निम्‍ति दिएका इस्राएलीहरूका दशांश जब तिमीहरू लिने छौ, तब त्‍यसबाट तिमीहरूले परमप्रभुलाई त्‍यसको पनि दशांश भेटी लिएर बलि चढाउनू'” (गन्ती १८:२६) ।

पुरानो करारका विविध खण्डहरूमुताबिक इस्राएलीहरूका बिचमा तीन किसिमका बेग्लाबेग्लै दशांशहरू थिएजस्तो देखिन्छ । इस्राएलीहरूले आफ्नो आम्दानीको जम्माजम्मी २०-३०% हिस्सा परमेश्वरको कामको लागि दिनुपर्थ्यो । ती लेवीहरू, मन्दिरको सञ्चालन, चाडपर्वहरू तथा गरिबहरूका लागि दिइन्थे । पहिलो दशांश मन्दिरमा सेवा गर्ने पुजारी र लेवीहरूका निम्ति दिइन्थ्यो किनकि तिनीहरूको कुनै पैतृक सम्पत्ति हुँदैनथ्यो (लेवी २७:३०-३३ र गन्ती १८:२१-२४) । दोस्रो दशांश चाडपर्वहरूको उद्देश्यको निम्ति सङ्कलन गरिन्थ्यो (व्यवस्था १४:२२-२७) । तेस्रो दशांश गरिब र खाँचोमा परेकाहरूका निम्ति दिइन्थ्यो (व्यवस्था १४:२८-२९) । इस्राएलीहरूको समुदायमा दशांशहरूका अतिरिक्त विभिन्न भेटीहरू पनि सङ्कलन गरिन्थे ।

पुरानो करारमा दशांश र भेटीसम्बन्धी विविध नियमहरू थिए भन्ने कुरामा कसैले वादविवाद गर्दैन । तर दशांशको बारेमा नयाँ करारले चाहिँ के भन्छ ? येशूको मृत्युसँगै मोशाको “व्यवस्थाको अन्त्य” भयो (रोमी १०:४) । नयाँ करारमा कतै पनि दशांश दिनुपर्छ भनी आज्ञा गरिएको छैन । तरै पनि दशांश मूलत: “न्याय, दया र विश्वास” सित जोडिएर आएको हुनुपर्छ भनी येशूले सिकाउनुभयो (मत्ती २३:२३) भनी धेरै ख्रीष्टियन सम्प्रदायहरू बुझ्छन् । आदि मण्डली परिषद्हरूमा दशांश दिइनुपर्छ भनी सिकाइएको थियो । अहिले पनि धेरै ख्रीष्टियन सम्प्रदायहरूमा दशांश एउटा महत्त्वपूर्ण सिद्धान्तको रूपमा खडा छ ।

दशांश सधैँ रुपियाँपैसासित सम्बन्धित विषय हो । यो समय वा अन्य थोकहरूसित सम्बन्धित विषय होइन । बाइबलको समयमा इस्राएलीहरूले तिनीहरूका उब्जनी र गाईवस्तुको दशांश दिनुपर्थ्यो किनकि त्यस बेला आधुनिक नोट वा चेकको चलन थिएन । तिनीहरूले मूलत: ‘विनिमय प्रणाली’ को प्रयोग गर्थे जसमा तिनीहरूका उब्जनी, गाईवस्तु र भेडाबाख्रा नै रुपियाँपैसा थिए । संसार अगाडि बढ्दै जाने क्रममा रुपियाँपैसाको स्वरूप बद्लँदै गयो र दशांशको प्रणालीमा पनि परिवर्तन आयो । त्यसैले वर्तमान समयमा दशांशको अभ्यास गर्नेहरूले रुपियाँपैसा दिने गर्छन् ।

के अहिले दशांश दिनु बाइबलीय हो त ? बाइबल विद्वान्‌हरूका बिचमा फरक फरक जबाफहरू पाइन्छन् । कतिको बुझाइअनुसार हामीले अहिले पनि दशांशको अभ्यास गर्नुपर्छ । अर्को थरीकाहरू भन्छन् कि हामी दशांश दिने व्यवस्थाबाट मुक्त भइसकेका छौँ यद्यपि हामीले उदारचित्तले दिने अभ्यासचाहिँ गर्नैपर्छ । दशांश दिने वा नदिने बारेमा ख्रीष्टका अनुयायीहरूका बिचमा मतैक्य नभए तापनि पृथ्वीमा भएका सबै थोक परमेश्वरकै हुन् भन्ने कुरामा कुनै आशङ्का छैन । हामीले पाएका आर्थिकी, भौतिकीलगायत हरेक आशिष् परमेश्वरबाट नै आएका हुन् । तसर्थ आफ्नो आयको दशांशको अभ्यास गर्दा त्यो केवल ‘स्वाभाविक’ र ‘प्रारम्भिक’ कदम हो भन्दा फरक नपर्ला । नयाँ करारमा दशांशको अभ्यास पुरानो करारमा जस्तै ‘नियम’ भन्दा पनि ह्रदयसित सम्बन्धित विषय हो । दिने विषयमा नयाँ करार प्रस्ट छ, “तर कुरा यही हो कि थोरै छर्नेले थोरै नै कटनी गर्छ र प्रशस्‍तसँग छर्नेले प्रशस्‍तसँग कटनी गर्छ । अनि हरेक मानिसले आफ्‍नो मनमा सङ्कल्‍प गरेबमोजिम देओस्‌, इच्‍छा नभई होइन, न त करकापमा परेर । किनभने खुसीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्‍छ” (२ कोरिन्थी ९:६-७) ।

Facebook Comments

Powered by Youth Circle