१९५८ मा अमेरिकामा जन्मेका जेफ्री विलियम्स नासाका अन्तरिक्ष यात्री हुन् । समर्पित ख्रीष्टियन विलियम्सले अन्तरिक्षमा भजनसंग्रह २४ का वचनहरू पढेका थिए जसको पहिलो पदमा लेखिएको छ, “पृथ्वी र त्यसमा भएका जो-जति छन् सबै परमप्रभुका हुन्, संसार र त्यसमा वास गर्नेहरू सबै उहाँकै हुन् ।” तिनको एक ट्विटअनुसार तिनी सृष्टिकर्ता परमेश्वरको कार्यमा उहाँका शक्ति र सुन्दरता देखेर छक्क परेका थिए ।
विलियम्सले चारवटा अन्तरिक्ष यानमार्फत जम्माजम्मी ५३४ दिन २ घण्टा ४८ मिनेट अन्तरिक्षमा बिताएका छन् । अन्तरिक्षमा यति धेरै समय बिताउने तिनी नै प्रथम अमेरिकी हुन् । एउटा अन्तरिक्ष यात्रामा तिनले २,८०० पटकभन्दा बेसी पृथ्वीलाई फन्को मारेका थिए ।
धेरै वैज्ञानिकहरू ख्रीष्टियन छन् जो परमेश्वरको सृष्टिदेखि तीन छक पर्छन् । हामीले भन्दा तिनीहरूले सृष्टिलाई सुक्ष्म तरिकाले नियाल्न पाएका छन् । विलियम्सका अनुसार बाइबल र विज्ञानको बिचमा द्वन्द्व देख्नहरू ती मानिस हुन् जसले परमेश्वरको अस्तित्वलाई मान्न इन्कार गरेका छन् । तिनले भनेका छन्, “यदि तपार्इंसित परमेश्वरको सम्भाव्यतालाई निषेध गर्ने, अलौकिक कार्यहरूलाई निषेध गर्ने र हरेक कुरो प्राकृतिक प्रक्रियाद्वारा व्याख्या गरिनुपर्छ भन्ने पूर्वाग्रह छ भने विज्ञानको वस्तुगत अवलोकनले के गर्न सक्छ भन्ने सम्बन्धमा तपार्इंले त्यसलाई आधारभूत रूपमा सीमित पार्नुभएको छ ।”
अन्तरिक्ष यात्राबाट फर्केपछि विलियम्सले एउटा किताब लेखे— द वर्क अफ हिज हयान्ड्स: अ भिऊ अफ गड्स क्रिएसन फ्रम स्पेस । यो किताब तिनले अन्तरिक्षमा बटुलेका तिनको अनुभवसित सम्बन्धित छ । अन्तरिक्षमा नै बसेर इतिहासमा अन्य कुनै पनि अन्तरिक्षयात्रीले भन्दा तिनले पृथ्वीका धेरै फोटाहरू खिचेका छन् । तिनले कैयौँ फोटालाई आफ्नो यही कृतिमार्फत सार्वजनिक गरेका छन् । यसमा तिनले ईश्वरीय प्रबन्ध, सृष्टिप्रति परमेश्वरको हेरचाह र विश्वको रचनामा देखिएको उहाँको बुद्धिबारे उल्लेख गरेका छन् ।