“विज्ञानको उदयको लागि ख्रिस्टियमत अपरिहार्य थियो । त्यसकारण विज्ञान विशुद्ध रूपमा पाश्चात्य चमत्कार थियो ।” यो How the West Won: The Neglected Story of the Triumph of Modernity नामक पुस्तकबाट साभार गरिएको अंश हो । यस भनाइबाट विज्ञानको उदयमा ख्रीष्टियान शिक्षाको भूमिका छर्लङ्ग हुन्छ । तर्कसङ्गत परमेश्वर अस्तित्वमा हुनुहुन्छ जसले निश्चित नियमहरूद्वारा यस विश्वलाई सञ्चालन गर्नुभएको छ भन्ने बुझाइमा विज्ञानको जन्म हुन्छ र यही नै ख्रीष्टियान बुझाइ हो । त्यसैले ख्रीष्टियान धारणाले ओतप्रोत संसार अर्थात् पश्चिमा जगत्मा विज्ञानको उदय भयो ।
पुस्तकका लेखक हुन्, रोड्नी स्टार्क । ८७ वर्षीय स्टार्क धर्मसम्बन्धी कलम चलाउने समाजशास्त्री हुन् । ३० ओटाभन्दा बेसी कृतिका लेखक तिनले १४० ओटाभन्दा बेसी रचना प्रकाशित गरिसकेका छन् ।
पुस्तक पठन यात्रामा यो मेरो १२२ औँ पुस्तक हो । ५६१ पृष्ठको यस बडेमाको पुस्तकलाई पढेर सिद्ध्याउन मलाई १७ दिन (२५ जुलाई-१० अगस्ट) मा २१ घण्टा लाग्यो । यो ख्रिस्टाब्द २०१४ मा प्रकाशित रचना हो । शीर्षकबाटै छर्लङ्ग हुन्छ कि यो पाश्चात्य जगत्को विजयबारे लिखित कृति हो । ख्रीष्टियान शिक्षाबाट प्रभावित पाश्चात्य जगत्ले आफ्ना विचारहरूलाई सारा संसारमा पुर्याई मानिसहरूलाई सभ्यताको बाटोमा हिँड्न कसरी भूमिका खेले भनी पुस्तकमा प्रस्ट पारिएको छ ।
पहिलो शताब्दीमा पेन्तिकोसको दिनमा पवित्र आत्माको अवतरण भएसँगै मण्डलीको जन्म भयो (प्रेरित २) । एकै दिनमा झन्डै तीन हजारले नयाँ जन्म पाएपछि विश्वासीहरूको सङ्ख्या द्रुत गतिमा बढ्न थाल्यो । अगिल्ला तीन शताब्दी (पहिलो-तेस्रो) मण्डली सतावटको निसानामा परेको थियो । अधिकारीहरूले मात्र नभई रोमी सम्राट्हरूले नै ख्रीष्टियानहरूलाई सताउने गर्थे । ख्रीष्टियान भएकै कारण दसौँ हजार मात्र नभई लाखौँ मारिएका थिए भनी अनुमान गरिएको छ ।
तर ३१३ मण्डली इतिहास र युरोपको इतिहासमा सम्झनलायक साल साबित भयो । उक्त साल जारी मिलानको घोषणाले ख्रीष्टियान धर्मलाई वैधानिकता दियो र ३८० मा ख्रिस्टियमत साम्राज्यकै धर्म बन्यो । ख्रीष्टियान अवधारणा हावी भएसँगै चौथो शताब्दीको उत्तरार्द्धदेखि रोमी साम्राज्यको अवनति सुरु भयो र पाँचौँ शताब्दीको अन्त्यमा रोमी साम्राज्यको पतन भयो अनि युरोप ख्रिस्टियानीकरणतर्फ उन्मुख भयो । वास्तवमा रोमको पतन पाश्चात्य सभ्यताको उदयमा सर्वाधिक फाइदाजनक घटना थियो किनकि यसले मनग्गे परिवर्तन र प्रगतिको निम्ति मार्ग प्रशस्त गरिदियो । पाश्चात्य जगत् आधुनिकतातर्फ लम्क्यो जुन ख्रीष्टियान आदर्शहरूमा स्थापित भएको थियो ।
मध्यकालमा (खास गरी आठौँ-एघारौ शताब्दी) भाइकिङ्गहरू भनेर चिनिने लुटेराहरूले मण्डलीहरूको विनाश गरी ख्रीष्टियानहरूलाई मारकाट गर्दै विध्वंस मच्चाएका भए तापनि बार्हौँ शताब्दीको उत्तरार्द्धसम्म यी भूभागका अधिकांश बासिन्दाहरू ख्रीष्टियान बने ।
पाश्चात्य जगत्को उदयमा भूमिका खेल्ने एउटा महत्त्वपूर्ण अवधारणा हो, स्वतन्त्र इच्छा । अधिकांश प्राचीन समाजहरूले भाग्यवादमा विश्वास गर्थे जब कि पश्चिमेलीहरूले मान्छेमा भएको स्वतन्त्र इच्छामाथि विश्वास गरे । यो यस्तो बुझाइ थियो जसले उल्लेखनीय नतिजाहरू लिएर आयो । स्वतन्त्र इच्छा एउटा महत्त्वपूर्ण ख्रीष्टियान अवधारणा हो ।
शासकहरू जनताप्रति उत्तरदायी हुनुपर्छ भन्नाका लागि नैतिक आधार उपलब्ध गर्ने काम ख्रीष्टियान ईश्वरशास्त्रले गरेको थियो । यही नै लोकतन्त्रको स्वरूप हो ।
खुला बजार, सम्पत्तिको हक र स्वतन्त्र श्रमजस्ता अवधारणामा पुँजीवाद आश्रित छ । नवौँ शताब्दीसम्म आइपुग्दा मण्डली गहन रूपमा पुँजीवादका प्रारम्भिक स्वरूपहरूमा संलग्न भइसकेको थियो । म्याक्स वेबरले पुँजीवादलाई प्रोटेस्टेन्ट नीतिशास्त्र भने ।
पाश्चात्य जगत्को उदयमा कुनै एक जिम्मेवार पक्ष छानिनुपर्ने हो भने त्यो हो, स्वतन्त्रता । आशाको स्वतन्त्रता, कामको स्वतन्त्रता, लगानीको स्वतन्त्रतासाथै दर्शन र श्रमका नतिजाहरूको उपभोग गर्न पाउनुपर्ने स्वतन्त्रता ।
ज्ञानको खोजी पाश्चात्य सभ्यताको अर्को सुत्र हो र यसको आधार ईश्वरशास्त्रप्रति ख्रीष्टियान प्रतिबद्धता हो । मध्यकालीन ख्रीष्टियान अगुवाहरू यस्ता विद्वान्हरू थिए जसले युरोपका महान् विश्वविद्यालहरू स्थापना गरी सिकाउने र परीक्षण गर्ने कामहरू गरे जसले विज्ञानको उदय गराए । ज्ञानको खोजी ईश्वरशास्त्रमा अन्तर्निहित रूपमा गाँसिएको थियो । ईश्वरशास्त्रलाई पहिले प्राकृतिक दर्शनशास्त्र भनेरि चिनिन्थ्यो जुन प्रकृति र प्राकृतिक चमत्कारहरूबारे गरिने अध्ययन थियो ।
यस्ता मनग्गे अवधारणाहरू छन् जसले हामीलाई आधुनिकतामा ल्याए जसको उपभोग हामीले हालसम्म गरिरहेका छौँ र हाम्रा छोरा-नातिहरूले पनि गरिरहने छन् । ती पश्चिमा जगत्मा उदय भए जुन ख्रीष्टियान शिक्षामा ओतप्रोत थिए ।