२०५८ असार ११ गते मैले नागरिकता लिएँ । मेरो नागरिकतामा जन्म मिति विक्रम संवत् पद्धतिमा मात्र उल्लेख गरिएको छ, ग्रेगोरी पात्रोको प्रणालीअनुसार छैन । त्यसको ८ वर्षपछि मेरी पत्नी जानकीले नागरिकता लिइन् । उनको नागरिकतामा उनको जन्म मिति नेपाली पात्रोअनुसार मात्र नभएर ग्रेगोरी पात्रोअनुसार पनि उल्लेख गरिएको छ जसअनुसार उनी २४ सेप्टेम्बर १९८० जन्मिन् । मेरो नागरिकतामा दुवै प्रणालीअनुसार जन्म मिति लेखिएन जब कि उनको नागरिकतामा चाहिँ लेखियो । किन ? किनकि यो अन्तर्राष्ट्रिय पात्रो हो । ढिलै भए पनि नेपाल सरकारले ग्रेगोरी पात्रोको महत्त्व र आवश्यकतालाई बुझ्यो र नागरिकतामा यस प्रणालीलाई लागु गर्यो । नागरिकतामा मात्र नभएर अन्य विविध सरकारी दस्ताबेजहरूमा यस पात्रोले ठाउँ पाइसकेको छ र यसको दायरा बढ्दै जाने छ भन्ने कुरामा कुनै शङ्का छैन । किनकि हाम्रो विश्व एउटा सानो गाउँमा परिणत भइसकेको छ ।
संसारमा विभिन्न किसिमका पात्रोहरू छन्: अश्शुरी पात्रो, हिब्रू पात्रो, बहाई पात्रो, बौद्ध पात्रो, मुस्लिम पात्रो, चिनियाँ पात्रो, जापानी पात्रो आदि । अश्शूरी पात्रोअनुसार अहिले हामी ६७७१ सालमा छौँ भने हिब्रू पात्रोअनुसार ५७८२ सालमा । बौद्ध पात्रोमुताबिक २५६५ सालमा छौँ भने मुस्लिम पात्रोमुताबिक १४४३ सालमा ।[i] यी पात्रोहरूका बेग्लाबेग्लै प्रारम्भिक साल भएकाले यस्तो भिन्नता देखिएको हो ।
तर संसारमा सबैभन्दा व्यापक रूपमा प्रयोग गरिएको पात्रोको नाउँचाहिँ ग्रेगोरी पात्रो हो ।[ii] यो पात्रोअनुसार अहिले हामी २०२१ मा छौँ । पोप ग्रेगोरी तेर्हौँ (ख्रिस्टाब्द १५०२-१५८५) को नाउँमा राखिएको यस पात्रोलाई औपचारिक रूपमा २४ फेब्रुअरी १५८२ मा परिचित गराइएको थियो । तर औपचारिक परिवर्तन भने त्यही सालको अक्टोबर महिनामा भएको थियो जसमा ४ अक्टोबर (बिहिबार) पछि १५ अक्टोबर (शुक्रबार) आएको थियो । यो पात्रोको परिचयकर्ताको रूपमा ग्रेगोरी दुनियाँमा प्रसिद्ध छन् । यो पात्रोका प्रथम प्रस्तावकचाहिँ अलोसिस लिलिअस थिए जो सोर्हौँ शताब्दीका खगोलविद्साथै दार्शनिक थिए ।
केही राज्यहरूले १५८२ देखि नै यस नयाँ पात्रोलाई प्रयोमा ल्याए तापनि केहीलाई भने शताब्दीऔँ नै कुर्नुपर्यो । स्पेन, पोर्चुगलसाथै इटालीजस्ता मुलुकहरूले यसलाई तत्काल अवलम्बन गरे । ब्रिटिस साम्राज्यले १७५२ मा आएर यसको प्रयोग गर्न थालेको थियो भने जापानले १८७३ मा ।[iii] अमेरिकाले १७५२ मा अवलम्बन गरेको थियो भने भारतले १७५७ मा । चीनले १९११ मा र रुसले १९१८ मा यसलाई प्रयोगमा ल्यायो ।[iv] केही पूर्वीय अर्थोडक्स मण्डलीहरूले १९२३ मा यसलाई स्वीकार गर्यो ।
यसरी सुरु-सुरुमा कतिपय मुलुकहरूले यो नयाँ पात्रोलाई स्वीकार गर्न आनाकानी गरे तापनि यो अहिले विश्वव्यापी पात्रो बनेको छ । संसारको प्रायः भूभागमा प्रयोग गरिने यो पात्रो विशुद्ध सौर्य पात्रो हो । यो संसारमा सबैभन्दा व्यापक रूपमा प्रयोगमा आएको पात्रो हो । ख्रीष्टियानहरूको बाहुल्यता रहेका मुलुकहरूमा मात्र नभई गैरख्रिस्टियानहरूको बाहुल्यता रहेका देशहरूमा पनि यसको प्रयोग गरिन्छ । कसरी यो विश्वव्यापी पात्रो बन्न पुग्यो ? कम्तीमा दुईवटा कारण हुनुपर्छ । पहिलो, उपनिवेशीकरणसँगै यो पात्रो पनि विश्वको चारैतिर पुग्यो । दोस्रो, अन्तर्राष्ट्रिय कामकाज बढ्दै गएपछि सबैलाई उही पात्रोको प्रयोग गर्नु सुविधाजनक हुन आयो ।
ग्रेगोरी पात्रोले जुलिएन पात्रोलाई विस्थापित गरिदियो किनकि जुलिएन पात्रोमा भुल थियो । जुलिएन पात्रोलाई राजनीतिज्ञ जुलिएस कैसरले ४६ ख्रिस्टपूर्वमा प्रस्ताव गरेका थिए । त्यसको एक वर्षपछि अर्थात् ४५ ख्रिस्टपूर्वमा चलनमा आएको यो पात्रोलाई रोमी साम्राज्यसाथै युरोपका अधिकांश भूभागमा प्रयोग गरिन्थ्यो । जुलिएन पात्रोमा एक वर्षको अवधि ठिक ३६५ दिन ६ घण्टा हुन्थ्यो जब कि पृथ्वीले सूर्यलाई एक फन्को मार्न ठ्याक्कै ३६५ दिन ५ घण्टा ४९ मिनेट लगाउँछ । हरेक वर्ष करिब ११ मिनेटको भिन्नता देखा पर्यो । वर्षैपिच्छे ११ मिनेटको भिन्नताले अन्ततः कामकाजमा ठुलै प्रभाव पारेको देखियो । त्यसैले नयाँ पात्रोको आवश्यकता परेको थियो । फलस्वरूप ग्रेगोरी पात्रोको उदय भयो ।
ग्रेगोरी पात्रोअनुसार एक वर्षको वास्तविक अवधि ३६५.२४२२ दिन अर्थात् ३६५ दिन ५ घण्टा ४९ मिनेटको हुन्छ । यस पात्रोमा एक वर्षलाई १२ महिनामा विभाजन गरिएको छ । फेब्रुअरी महिना २८ दिनको हुन्छ, तर अधिक वर्षमा भने २९ दिनको हुन्छ । अप्रिल, जुन, सेप्टेम्बर र नोभेम्बरमा ३०/३० दिन हुन्छ । बाँकी सातवटा महिना अर्थात् जनवरी, मार्च, मे, जुलाई, अगस्त, अक्टोबर र डिसेम्बरमा चाहिँ ३१/३१ दिन हुन्छ । यसरी यो पात्रोका महिनाहरू २८-३१ दिनका हुन्छन् । यस पात्रोमा १ जनवरीमा नयाँ वर्षको सुरु हुन्छ ।
नेपालको औपचारिक पात्रोचाहिँ विक्रम संवत् हो । यो पात्रो ग्रेगोरी पात्रोभन्दा करिब ५६ वर्ष ८ महिना अगाडि छ । नेपाली पात्रो पनि भनेर चिनिने यो पात्रो चन्द्र पात्रो हो । यसमा १२ महिना हुन्छ र नयाँ वर्ष वैशाख १ (अप्रिलको बिचतिर) बाट सुरु हुन्छ । ग्रेगोरी पात्रोमा जस्तै कुन-कुन महिनामा कति-कति दिन हुन्छ भनेर यसमा पहिले नै भन्न सकिँदैन । महिनाहरूको अवधि वर्षैपिच्छे फरक हुन्छ । यो पात्रोका महिनाहरू २९-३२ दिनका हुन्छन् । यसलाई मूलतः नेपाल र भारतमा प्रयोग गरिन्छ ।
ग्रेगोरी पात्रोलाई कहिलेकाहीँ ख्रीष्टियान पात्रो पनि भनिन्छ ।[v] किनकि ग्रेगोरी पात्रोले वर्षको गणनाको लागि जुन पद्धतिलाई अपनाउँछ, त्योचाहिँ ख्रिस्टियमतका संस्थापक येशूसित जोडिएको छ । यसका अतिरिक्त, ख्रिस्टमस, पाम सन्डे, गुड फ्राइडे, इस्टरजस्ता ख्रीष्टियान जगत्का महत्त्वपूर्ण उत्सवहरूका लागि यही पात्रोको प्रयोग गरिन्छ ।
येशूको जन्मभन्दा अगिको समयलाई ख्रिस्टपूर्व भनिन्छ भने उहाँको आगमनपछिको समयलाई ख्रिस्टाब्द भनिन्छ । ख्रिस्टपूर्व अङ्ग्रेजी Before Christ को अनुवाद हो जसलाई छोटकरीमा B. C. भनिन्छ । उहाँको जन्मपछिको समयलाई उल्लेख गर्न ल्याटिन पदावली Anno Domini (छोटकरीमा A. D.) को प्रयोग गरिन्छ जसलाई प्रायश: “हाम्रा प्रभुको वर्षमा” भनेर अनुवाद गरिन्छ । उहाँको आगमानपछिको समयलाई उल्लेख गर्न नेपालीमा प्रयोग गरिने एउटा शब्द हो, ख्रिस्टाब्द । छैटौँ शताब्दीका ख्रीष्टियान भिक्षु डाएनेसिअस एग्जिगुसले अन्नो डोमिनीको आविष्कार गरेका थिए जसको लागि तिनी प्रसिद्ध छन् ।[vi] उपलब्ध अभिलेखहरूबाट तिनले ख्रीष्ट जन्मनुभएको साल पत्ता लगाउने जमर्को गरे र उहाँ ख्रिस्टाब्द १ मा जन्मनुभएको थियो भनी प्रस्ताव गरे जसबाट ख्रीष्टियान कालको थालनी हुन्छ । तिनको गणनामा थोरै त्रुटि देखिन्छ किनकि येशू ६-४ ख्रिस्टपूर्वमा जन्मनुभएको थियो भनी हाल विद्वान्हरूका बिचमा साधारण सहमति छ ।[vii]
ग्रेगोरी पात्रोले ख्रीष्टको जन्मलाई लगभग प्रारम्भिक बिन्दु मान्ने भएकोले उहाँलाई दृश्यबाट हटाउन इतिहासमा विविध प्रयासहरू भए । ख्रिस्टाब्द १७८९ मा फ्रान्सले फ्रान्सेली क्रान्तिबाट गणना मात्र सुरु गरेन तर सात दिनको हप्तालाई त्यागी दश-दश दिन पर्ने गरी महिनालाई तीन भागमा विभाजन गर्यो । तर फ्रान्सेली सम्राट् नेपोलियन बोनापार्टले १८०६ मा त्यस प्रणालीलाई खारेज गरिदिए र देश ग्रेगोरी पात्रोमा नै फर्क्यो । १९६६ मा श्रीलङ्काले स्वतन्त्रता पाएपछि मुलुकले बौद्ध पात्रो अवलम्बन गर्यो तर अन्तर्राष्ट्रिय कामकाजमा कठिनाइ झेलेपछि १९७१ मा राज्य फेरि ग्रेगोरी पात्रोमा नै फर्क्यो ।[viii]
येशू यति प्रभावशाली व्यक्तित्व हुनुहुन्छ कि उहाँका जीवनी र शिक्षाले नीतिशास्त्र, स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, विज्ञान, कानुन, कला, साहित्य, सङ्गीत, सरकार, पात्रो आदिजस्ता क्षेत्रहरूमा व्यापक प्रभाव पारेका छन् । येशू मानव-जातिलाई प्रशस्तताको जीवन दिन आउनुभएको थियो भनी उहाँले व्यक्त गर्नुभयो, “म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ” (यूहन्ना १०:१०) । ती मानिसहरू जसले येशूबाट प्रशस्तताको जीवनको अनुभूति गरे तिनीहरूले मानव-जातिको प्राय: हरेको पाटोमा प्रभाव पारेका छन् जसमध्ये पात्रो एउटा हो ।
ख्रीष्टियान इतिहासका विशेषज्ञ जारोस्लाम पेलिकानले पात्रोसाथै विविध क्षेत्रमा येशूको प्रभावको बारेमा टिप्पणी गरेका छन्, “व्यक्तिगत रूपमा नासरतको येशूको बारेमा मानिसहरूले जस्तो सोचाइ र विश्वास राखे तापनि झन्डै बिस शताब्दीसम्म उहाँ पाश्चात्य संस्कृतिको इतिहासमा प्रबल व्यक्तित्व हुनुभएको छ । … उहाँको जन्मबाट नै प्रायजसो मानव-जातिले पात्रोको आरम्भ गर्छ ।”[ix]
येशूको जन्म अर्थात् देहधारणले समयलाई रूपान्तरण गरिदियो । मितिको गणनाको लागि सारा संसारले यही पद्धतिलाई पछ्याइरहेको छ । यो अहिले अन्तर्राष्ट्रिय मानक बनेको छ । हाम्रो देश नेपालमा पनि यस पात्रोको प्रयोग गर्ने मानिसहरूको सङ्ख्या उल्लेखनीय छ । येशू ख्रीष्ट यति प्रभावशाली हुनुहुन्छ कि उहाँको आगमनले पात्रोलाई दुई भागमा विभाजन गरिदियो ।
सन्दर्भ स्रोतहरू
[i] https://en.wikipedia.org/wiki/Gregorian_calendar (Accessed 24 June 2021)
[ii] https://en.wikipedia.org/wiki/Gregorian_calendar (Accessed 24 June 2021)
[iii] https://kids.kiddle.co/Gregorian_calendar (Accessed 24 June 2021)
[iv] https://www.churchofjesuschrist.org/study/ensign/1993/04/i-have-a-question/why-does-the-world-reckon-years-from-the-birth-of-jesus-christ?lang=eng (Accessed 24 June 2021)
[v] http://www.webexhibits.org/calendars/year-definitions.html (Accessed 24 June 2021)
[vi] https://en.wikipedia.org/wiki/Anno_Domini (Accessed 24 June 2021)
[vii] https://en.wikipedia.org/wiki/Jesus (Accessed 24 June 2021)
[viii] https://www.churchofjesuschrist.org/study/ensign/1993/04/i-have-a-question/why-does-the-world-reckon-years-from-the-birth-of-jesus-christ?lang=eng (Accessed 24 June 2021)
[ix] Jaraslov Pelikan, quoted by Kenneth D. Boa & Robert M. Bowman Jr., (20 Compelling Evidences That God Exists: Discover Why Believing in God Makes So Much Sense Colorado Springs: Cook Communications Ministries, 2005), p. 118