ब्रिटिस सभ्यता निर्माण गर्ने, प्रजातन्त्रको स्थापना गर्ने, अधिकार र न्यायबारे वर्तमान धारणाहरू विकास गर्ने, दासप्रथाको उन्मूलन गर्ने, विश्वव्यापी शिक्षालाई स्थापित गर्ने अनि अग्रपङ्क्तिमा बसी गरिबी, भेदभाव र अज्ञानताको विरुद्धमा लड्ने मानिसहरू ख्रीष्टियानहरू नै थिए ।
माथिको अनुच्छेद Britain, a Christian Country नामक पुस्तकबाट साभार गरिएको हो । पुस्तक पठन यात्रामा यो मेरो ५१ औँ पुस्तक हो । ३८१ पृष्ठको यस रचनालाई पढेर सक्न मलाई १६ दिन (अक्टोबर १४-२९) लाग्यो । १६ दिनको मतलब हुन्छ कि यस पुस्तकलाई सक्न मैले १६ दिनमा १६ घण्टा बिताएँ । ख्रिस्टाब्द २०१५ मा प्रकाशित यस कृतिका रचनाकार हुन्, पावल ब्याकहोलर । ByFaith Media का सहसंस्थापक तिनी इभान्जलिकल लेखक, अन्वेषकसाथै मिसनरी हुन् । यसअगि मैले तिनको How Christianity Made The Modern World नामक कृति निकै रुचि लिएर पढेको थिएँ ।
Britain, a Christian Country नामक पुस्तक येशूको सुसमाचार पुग्नुअगि ब्रिटेन कस्तो थियो; सुसमाचारले यस मुलुकलाई कसरी परिवर्तन गर्यो र अहिले यो मुलुक कतातिर लम्कँदै छ भन्ने विषयमा लिखित कृति हो । पुस्तकमा जम्माजम्मी ३७ ओटा पाठ छन् ।
ब्रिटेन अर्थात् युनाइटेड किङ्गडम (युके) युरोपको पश्चिममा अवस्थित सार्वभौम मुलुक हो । इङ्गल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आएरल्यान्ड मिलेर ब्रिटेन बनेको छ । यसको राष्ट्रिय गानको पहिलो शब्द हो, ‘परमेश्वर ।’ यहाँका झन्डै ६०% जनसङ्ख्या ख्रीष्टियान छन् । २,४२,४९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो मुलुक भूगोलको हिसाबले संसारमा ७८ औँ ठुलो देश हो । यहाँ हाल ६ करोड ७८ लाख जनसङ्ख्या छन् भनी अनुमान गरिएको छ ।
येशूको सुसमाचार पुग्नुअगि ब्रिटेनका मानिसहरू मूर्तिपूजक थिए । तिनीहरूका बिचमा विविध खालका अन्धविश्वास व्याप्त थिए । झैझगडा, लुटमार, हत्याजस्ता कुकर्महरू तिनीहरूका दैनिक गतिविधि थिए । कुसंस्कार, कुरीति, भेदभाव सामान्य कुराहरू थिए । बहुविवाह कुनै नौलो कुरो थिएन । त्यहाँका मानिसहरूले विभिन्न तत्त्वहरूलाई पूजा गर्थे । तिनीहरूले रुख र ढुङ्गाहरूमा दुष्टात्माहरूलाई देख्थे । तिनीहरू जादुमा संलग्न हुन्थे र यहाँसम्म कि तिनीहरूले मानव बलिदानको अभ्याससमेत गर्थे । यस्तो दलदलमा फसेको मुलुकमा सुसमाचारले प्रवेश पाएसँगै रूपान्तरणले ठाउँ पायो ।
ब्रिटेनमा कहिले सुसमाचार पुग्यो भनी यकिनसाथ भन्न सकिँदैन । अङ्ग्रेजी इतिहासका पिता भनी चिनिएका बेडे (६७३-७३५) ब्रिटेनका प्रथम मण्डली इतिहासकार पनि हुन् । अङ्ग्रेज मण्डली इतिहासबारे लिखित आफ्नो कृतिमा तिनले दोस्रो शताब्दीमा नै ब्रिटिसवासीहरूले सुसमाचार पाइसकेका थिए भनी अभिलिखित गरेका छन् । पुरातात्त्विक साक्षी र भरपर्दा अभिलेखहरूमुताबिक ख्रिस्टाब्द तेस्रो शताब्दीमा ब्रिटेनमा ख्रीष्टियान समुदाय स्थापित भइसकेको थियो ।
ख्रीष्टियान विश्वासलाई अङ्गाल्ने प्रथम राजाको रूपमा इथेलबर्थ (५५०-६१६) लाई चिनिन्छ । द टेक्स्टस रोफेन्सिस नामक तिनको पुस्तक अङ्ग्रेजी भाषामा लिखित प्राचीनतम कानुन हो जसले ब्रिटेनलाई ख्रीष्टियान मुलुकको रूपमा उभ्याएको थियो । राजाले बाइबलबाट कानुनका कुराहरू लिई तिनलाई आफ्नो भूमिमा लागु गरेका थिए । नवौँ शताब्दीका राजा अल्फ्रेड महान्ले आफ्नो देशलाई भाइकिङ्गजस्ता क्रुर आक्रमणकारीहरूको हातबाट बचाएपछि तिनको मुलुकको लागि अमनचैनको खाँचो थियो । यसको लागि तिनले बाइबलबाट नै प्रेरणा पाए र प्रभावशाली कानुन निर्माणको लागि तिनले बाइबलीय पात्र मोशाको नमुनाको अनुसरण गरे । उक्त कानुन दश आज्ञाबाट सुरु भएको थियो ।
१२१५ मा जारी म्याग्ना कार्टा (स्वतन्त्रताको महान् परिपत्र) ब्रिटिस संविधानको प्रथम दस्ताबेज हो जसमा ख्रीष्टियान स्वतन्त्रतालाई वैद्य मान्नुका अतिरिक्त मण्डलीहरू सरकारी हस्तक्षेपबाट अलग हुनुपर्छ भनी उल्लेख गरिएको छ । यस परिपत्रले यस्ता जगहरू पनि बसालेको थियो जसले प्रजातन्त्रको उदय गराउन संसदलाई सक्षम तुल्याए ।
अङ्ग्रेजी भाषामा अनूदित किङ्ग जेम्स भर्सनको बाइबल (१६११) यति प्रभावशाली ठहरियो कि अन्य कुनै पनि पुस्तकले भन्दा यसले अङ्ग्रेजी भाषा र यसको साहित्यलाई मात्र सबैभन्दा बढी प्रभाव पारेन तर यसले पाश्चात्य प्रजातन्त्रको ब्याड (बिउ उमार्ने ठाउँ) को रूपमा पनि काम गर्यो ।
बाइबलद्वारा रूपान्तरणको अनुभूति गरेको ब्रिटेनले उक्त रूपान्तरण अफ्रिका, एसिया र प्रशान्त महासागर वरिपरिका ससाना टापुहरूमा आओस् भन्ने अपेक्षा गर्यो । ब्रिटेनले ख्रिस्टियमत, वाणिज्य र सभ्यतालाई संसारको कुनाकाप्चामा पुर्याउने दर्शन देख्यो । फलत: संसारका विविध भूगोलमा असभ्य जीवन बिताइरहेका मानिसहरूका समाजमा ज्योति चम्कन पुग्यो र तिनीहरूले विस्तारै-विस्तारै सभ्यताको सिँढी चढ्न थाले ।
ब्रिटेनमा दासप्रथाको उन्मूलन गर्ने विलियम विल्बरफोर्सदेखि मानवअधिकार स्थापना गर्ने लर्ड साफ्ट्सबेरीसम्म अनि नर्सिङलाई आदरणीय पेसाको रूपमा स्थापित गर्ने फ्लोरेन्स नाइटिङ्गेलदेखि अफ्रिकाको कुनाकाप्चा पत्ता लगाउने डेभिड लिभिङ्गस्टोनसम्मका बाइबलका अनुयायीहरूले मानवीय जीवनको उत्थानमा संसारलाई अनमोल योगदान दिएका छन् ।
ख्रिस्टब्द १८१५-१९१४ सम्म अर्थात् १०० वर्षसम्म ब्रिटेनले संसारमा आधिपत्य जमाएको थियो । त्यसपछि पहिलो र दोस्रो विश्वयुद्धले मानव-जातिले अकल्पनीय क्षति बेहोर्नुपर्यो । १९४३-१९९० सम्म अमेरिका दुई विश्वशक्ति (अर्को रुस) मध्ये एउटा बन्यो र १९९१-२००३ सम्म अमेरिकाले आफूलाई एक मात्र विश्वशक्तिको रूपमा स्थापित गर्यो ।
एक थरी धर्मले नेपाल र भारतजस्तो मुलुक जन्मायो भने अर्को थरी धर्मले साउदी अरब, इरान र पाकिस्तानजस्ता मुलुकहरू स्थापित गर्यो जब कि अझै अर्को थरी आस्थाले ब्रिटेन, अमेरिका र अस्ट्रिलियाजस्तो मुलुक जन्मायो । तपाईं कहाँ बस्न रुचाउनुहुन्छ— भारतमा वा इरानमा वा ब्रिटेनमा ? लोकतान्त्रिक समाजमा विधिको शासन, वाक्स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, सबै मानिसको सम्मान, लैङ्गिक समानतासाथै जवाफदेही सरकारजस्ता अवयवहरू हुनुपर्छ अनि यी धारणा बाइबलसित मेल खान्छन् । हामीले कस्तो मुलुकको सपना देख्दै छौँ ?
ख्रिस्टाब्द १९५६ मा इङ्गल्यान्डमा जन्मेका कान्टरबेरीका १०५ औँ बिशपसाथै चर्च अफ इङ्गल्यान्डका वरिष्ठ बिशप जस्टिन वेल्बीले आफ्नो मुलुकमाथि बाइबलले पारेको दिगो प्रभावबारे शानदार ढङ्गमा व्यक्त गरेका छन्, “यो ऐतिहासिक सत्यता हो (सायद कतिलाई स्वागतयोग्य छैन, तर यो साँचो हो) कि हामीले जसरी न्याय र कानुन, सामाजिक मूल्य-मान्यताको कुरा गर्छौं, के ठिक हो भनी निर्णय गर्छौं अनि गरिबहरूको सुरक्षासाथै हामीले समाजलाई हेर्ने अधिकांश तरिका … सबैलाई नै ख्रिस्टियमतले आकार दिएको छ र स्थापित गरेको छ । यसमा मनग्गे अस्पतालहरूको स्थापना, विश्वव्यापी शैक्षिक प्रणाली, बन्दीगृहहरूमा ख्रीष्टियान अगुवाहरूको उपस्थितिलाई पनि जोड्नुहोस् । यो सूची लामै हुन सक्छ । यसका अतिरिक्ति साहित्य, दृश्यवान् कला, सङ्गीत, संस्कृति पनि छन् जसले एङ्ग्लो-स्याक्सोनको समयदेखि सौन्दर्य र मूल्यबारे हाम्रो बुझाइको रचना गरेका छन् ।”
७० वर्षीय ब्रिटिस राजनीतिज्ञ सर एडवार्ड लेफ भन्छन्, “सत्यता यही हो कि वास्तविक ब्रिटिस मूल्य-मान्यताहरू ख्रीष्टियान मूल्य-मान्यताहरू हुन् । ख्रिस्टियमतको प्रभावले नै हामीलाई पृथ्वीमा एक सर्वाधिक सहिष्णु र सफल मुलुक बनायो ।”
फ्रान्सेली लेखकहरूका बिचमा भिक्टोर ह्युगोलाई एक महान्तमसाथै सर्वाधिक परिचित लेखकको रूपमा आदर गरिन्छ । उन्नाइसौँ शताब्दीका लेखकसाथै राजनीतिज्ञ ह्युगोले यसो भन्दा बढाइचढाइ गरेका थिएनन्, “इङ्गल्यान्डमा दुईवटा पुस्तक छनः बाइबल र सेक्सपिएर । इङ्गल्यान्डले सेक्सपिएरलाई निर्माण गर्यो तर बाइबलले इङ्गल्यान्डलाई ।”
महारानी भिक्टोरियाको शासनकालमा ब्रिटेनले औद्योगिक, सांस्कृतिक, राजनीतिक, वैज्ञानिक र सैनिक क्षेत्रमा व्यापक परिवर्तन ल्याएको थियो । एक वाक्यमा भन्नुपर्दा, इङ्गल्यान्डले उनको शासनकालमा जति उन्नति गर्यो त्यति कहिल्यै गरेको थिएन । उनले उन्नाइसौँ शताब्दीभरि नै आफ्नो नाउँ चम्काइन् । “संसारभरि नै तपाईंको राष्ट्रको शक्ति र सफलताको रहस्य के हो ?” भनी एक जना राजदूतले उनलाई सोद्धा उनको जवाफ थियो, “ङ्गल्यान्डको सफलताको रहस्य यही पुस्तक हो भनी तपाईंको राजकुमारलाई बताइदिनू ।” उनले हातमा उठाएकी पुस्तक अरू कुनै नभएर पवित्र बाइबल नै थियो ।