कुनै एउटा मुख्य विश्वविद्यालयमा नीतिशास्त्र पढाउने प्राध्यापकले आफ्ना विद्यार्थीहरूलाई नीतिशास्त्रसम्बन्धी कुनै एउटा विषय रोजेर त्यसबारे शोधपत्र लेख्न अनुरोध गरे । विद्यार्थीहरूले आआफ्नो शोधपत्रलाई कारणसहित उचित प्रकारले समर्थन गर्नुपर्थ्यो । एक नास्तिकवादी विद्यार्थीले नैतिक सापेक्षवादको विषयमा धाराप्रवाह रूपमा लेख्यो । उसको तर्क थियो, “सबै नैतिक नियम सापेक्ष छन् । सच्याइ वा न्यायको कुनै निरपेक्ष मापदण्ड छैन । यो आआफ्नो विचारको कुरो हो । तपाईंलाई चक्लेट मन पर्छ, मलाई फलफुल मन पर्छ ।” कारणहरूले भरिपूर्ण शोधपत्रलाई उसले निलो रङको फाइलमा राखेर आफ्ना प्राध्यापकलाई बुझायो । सम्पूर्ण शोधपत्र पढिसकेपछि प्राध्यापकले मुख पृष्ठमा लेखे, “असफल, मलाई निलो रङको फाइल मन पर्दैन ।”
आफ्नो शोधपत्र फिर्ता पाइसकेपछि त्यस विद्यार्थी बेसरी रिसायो । ऊ प्राध्यापकको कार्यालयमा गयो र गुनासो गर्न थाल्यो, “यो उचित होइन; यो ठिक भएन; यसमा न्याय छैन । शोधपत्रमा लेखिएका कुराहरूको आधारमा तपाईंले अङ्क दिनुभएन ।”
प्राध्यापकले शान्त भएर जवाफ दिए, “मैले धेरै शोधपत्र पढेँ । सच्याइ छैन भनी बताउने शोधपत्र तिम्रो नै होइन र ?”
विद्यार्थीले जवाफ दियो, “हो ।”
प्राध्यापकले फेरि भने, ‘तपाईंले न्याय गर्नुभएन’, ‘ठिक गर्नुभएन’, ‘उचित गर्नुभएन’ भनेर तिमी किन भन्छौँ ?
प्राध्यापकले अझै थपे, “कसैलाई चक्लेट मनपर्छ भने कसैलाई फलफुल मनपर्छ भनी के तिम्रो शोधपत्रले तर्क गर्दैन र ?”
विद्यार्थीले पुनः जवाफ फर्कायो, “हो, त्यही नै मेरो राय हो ।”
त्यसपछि प्राध्यापकले जुन जवाफ दिए, त्यसबाट विद्यार्थी छाँगाबाट खसैझैँ भयो, “मलाई निलो रङ मन पर्दैन, त्यसैले तिमी फेल भयौ ।”
अकस्मात् उसको दिमागमा केही नाच्न थाल्यो । नैतिक मापदण्डहरूमा विश्वास गरेको रहेछ भनी उसले महसुस गर्न थाल्यो । कमसे कम उसले न्यायमाथि विश्वास गर्दोरहेछ । निलो रङकै कारणले प्राध्यापकले उसलाई फेल गराएको हुनाले उसले प्राध्यापकलाई अन्याय भयो भनी आरोप लगाउँदै थियो । एउटा सामान्य सत्यताले सापेक्षवादप्रति उसको पुरै मुद्दालाई पराजित गरिदियो ।
वस्तुगत नैतिकताको अस्तित्वबारे मानिस सचेत छ । मानिसलाई अन्य प्राणीहरूबाट अलग गराउने अर्को तत्त्व हो, नैतिकता । यो रचना मानिसमा भएको परमेश्वरको स्वरूप के हो ? भन्ने शीर्षकको निरन्तरता हो । विगत दुई दिनमा हामीले हेरिसक्यौँ कि मानिसमा भएको परमेश्वरको स्वरूपमा सृजनात्मकता (नयाँ-नयाँ वस्तुहरू उत्पादन गर्ने वा आविष्कार गर्न सक्ने क्षमता) र बौद्धिकता (बुझ्न सक्ने वा तर्क गर्न सक्ने क्षमता) पर्छन् । यो स्वरूपमा पर्ने तेस्रो तत्त्वबारे आज हामी मनन गर्दै छौँ— नैतिकता ।
(३) नैतिकता
ठिक र बेठिकको बोध नै नतिकता हो । केही निश्चित कुराहरू नैतिक रूपमा ठिक छन् र केही निश्चित कुराहरू नैतिक रूपमा बेठिक छन् भनेर मानिसलाई थाहा छ जब कि यो कुरा अन्य प्राणीहरूलाई थाहा हुँदैन । हरेक मानिसको ह्रदयमा ठिक र बेठिकको निरपेक्ष मापदण्ड अभिलिखित छ । रोमी २:१४-१५ मा लेखिएको छ, “किनकि व्यवस्था नहुने अन्यजातिहरू स्वाभावैले व्यवस्थाअनुसारका काम गर्दछन् भने, तिनीहरूको व्यवस्था नभए तापनि तिनीहरू आफ्ना निम्ति आफै व्यवस्था हुन्छन् । व्यवस्थाले चाहेका कुराहरू आफ्ना हृदयमा लेखिएका तिनीहरू देखाउँछन्, र तिनीहरूको आफ्नै विवेकले पनि गवाही दिन्छ, र तिनीहरूका विचारहरूले कहिले तिनीहरूलाई दोष्याउँछन्, र कहिले समर्थन गर्छन् ।”
मानिस नैतिकताको वाहक हो । उसलाई के ठिक हो र के बेठिक हो भनी थाहा छ । अर्कोतिर, अन्य प्राणीहरू नैतिक वाहकहरू होइनन् । तिनीहरूलाई ठिक र बेठिक बिचको भिन्नता थाहा छैन । त्यसकारण तिनीहरूले गरेका कामको आधारमा तिनीहरू कहिल्यै पनि परमेश्वरको न्याय-आसनमा खडा हुनुपर्दैन । तिनीहरू पापको लागि जवाफदेही हुँदैनन् । किन ? किनकि तिनीहरूमा नैतिकता भन्ने कुरो हुँदैन । हाम्रा घरपालुवा जनावरहरूलाई हामी येशूको सुसमचार सुनाउँदैनौँ । तिनीहरू कुनै पनि पापको लागि दोषी नहुने भएकाले तिनीहरूलाई मुक्तिदाताको आवश्यकता पर्दैन । एउटा मान्छेले अर्को निर्दोष मान्छेको हत्या गर्यो भने हत्यारालाई झ्यालखानामा लगिन्छ तर एउटा गोरुले मान्छे मार्यो भने त्यसलाई झ्यालखानामा लगिँदैन । किन ? किनकि अन्य प्राणीहरू नैतिक सवालहरूमा जवाफदेही छैनन् ।
क्रमशः …