सतीत्व प्रथा उन्मूलनमा ख्रीष्टियान मिसनरीहरूको उल्लेखनीय भूमिका

भारतका मानिसहरूलाई येशूको सुसमाचार सुनाउन ‘आधुनिक मिसनका पिता’ को रूपमा आदर गरिएका विलियम केरी ख्रिस्टाब्द १७९३ मा इङ्गल्यान्डबाट भारतको कलकत्ता आएका थिए । झन्डै ६ वर्षपश्चात् १७९९ मा कलकत्ताभन्दा तिस माइल पर पर्ने एउटा ठाउँमा एक साँझ तिनले विधवालाई जलाएको देखे । तिनले विधवासाथै पुजारीहरूसित तर्कवितर्क गरी त्यस गतिविधिलाई रोक्ने प्रयास गरे । तिनले लेखेका छन्, “तर्क अर्थहीन नहुञ्जेलसम्म मैले कुराकानी गरिरहेँ अनि तिनीहरूले जे गर्दै थिए त्यसको विरुद्धमा मेरो सारा शक्ति लगाएर चिच्च्याएँ । यो त छक्क पार्ने हत्या थियो भनी मैले तिनीहरूलाई भनेँ । यो त पवित्रताको महान् काम थियो भनी तिनीहरूले मलाई बताए ।” केरी निकै अशान्त भए र यस क्रूर सतीत्व प्रथाको विरुद्धमा लाग्ने निधो गरे ।[1]

उन्नाइसौँ शताब्दीमा भारतका अधिकांश ठाउँमा आफ्नो शासनलाई फैलाउने नियत लिएको ब्रिटिस इस्ट इन्डिया कम्पनीले सुरु-सुरुमा सतीत्व प्रथालाई सहेको थियो । तर ख्रीष्टियान मिसनरीहरू यो सवालमा ब्रिटिस सरकारको विरुद्धमा उत्रे । तिनीहरूले यस प्रथाबारे तथ्याङ्क सङ्कलन गरे; यसको विरुद्धमा प्रचार गरे; पर्चासाथै पुस्तकहरू लेखे । यसरी तिनीहरूले यस क्रूर प्रथाको विरुद्धमा जनमत बटुलेका थिए । केरी कलकत्तामा यस प्रथा उन्मूलन अभियानको लागि अगुवाइ गर्ने प्रथम व्यक्ति बने । तिनको अभियानको नतिजास्वरूप ब्रिटिस सरकारले कलकत्तामा यस पाशविक प्रथालाई निषेध गर्‍यो यद्यपि वरिपरिका ठाउँहरूमा भने यसले निरन्तरता पाइरहेको थियो । अथक प्रयत्नपश्चात् अन्ततः ख्रिस्टाब्द १८२९ मा भारतमा सतीत्व प्रथालाई कानुनी रूपमा निर्मूलन गरियो । भारतमा सतीत्व प्रथालाई उन्मूलन गर्नको लागि ख्रीष्टियान मिसनरीहरूले उल्लेखनीय भूमिका खेले ।[2]

भारतमा सतीत्व प्रथाको उन्मूलनमा विलिय केरी अग्रपङ्क्तिमा रहे तापनि विलियम विल्बरफोर्स, विलियम वार्डसाथै हिन्दु सुधारवादी राम मोहन रोयको नाउँलाई पनि कदापि भुल्नुहुँदैन । सतीत्व प्रथाजस्ता अमानवीय अन्धविश्वासहरूको निर्मूलनको लागि मिसनरी जोन स्कुडरले पनि चेतना फैलाउने प्रयत्न गरेका थिए ।[3]

विवाहित पति मरेपछि पत्नीलाई पतिको लाससँगै जिउँदै जलाउने प्रथालाई सतीत्व प्रथा भनिन्छ । यो मूलतः हिन्दुहरूका बिचमा अभ्यास गरिएको प्रथा थियो । ब्रिटानिका विश्वकोशअनुसार संस्कृतमा सतीत्व प्रथाको पहिलो प्रस्ट सन्दर्भ महाभारतमा पाइन्छ जुन महाकाव्यको वर्तमान स्वरूपलाई करिब ख्रिस्टाब्द ४०० मा सङ्कलन गरिएको थियो ।[4] विकिपिडियाअनुसार गुप्ता साम्राज्य (करिब ख्रिस्टाब्द ४००) को समयअगि यसको अभ्यास गरिएको थियो भन्नाका लागि थोरै मात्र विश्वसनीय अभिलेखहरू विद्यमान छन् ।[5]

भारतमा मात्र नभएर जाभा, सुमात्रा र बालीजस्ता एसियाका दक्षिण-पूर्वमा पर्ने हिन्दु प्रभावित टापुहरूमा पनि सतीत्व प्रथाको अभ्यास गरिन्थ्यो । क्याम्बोडियासाथै म्यान्मारमा पनि यसले ठाउँ पाएको थियो ।[6]

जर्मनीका प्राध्यापक एक्सेल मिखाएल्सका अनुसार नेपालमा ख्रिस्टाब्द ४६४ मा सतीत्व प्रथाको अभ्यास गरिएको थियो भन्ने प्रथम शिलालेखसम्बन्धी साक्षी पाइन्छ ।[7] यो प्रथाले नेपाली इतिहासमा कालो धब्बा लगाएको छ । भक्तपुरका राजा रुद्रमल्ल मर्दा (ख्रिस्टाब्द १३२६) ४ जना रानी, काठमाडौँका राजा प्रताप मल्लका कान्छा छोरा पार्थिवेन्द्र मल्ल मर्दा (ख्रिस्टाब्द १६८७) २४ जना रानी र ललितपुरका राजा योग नरेन्द्र मल्ल मर्दा (ख्रिस्टाब्द १७०५) ३१ जना रानी सती गएका थिए ।[8] नेपालको इतिहासमा मल्लकालीन समयमा सती गएका यी केही मात्र उदाहरणहरू हुन् । मल्लकालीन समयावधिमा मात्र नभएर ख्रिस्टाब्द १७७५ मा पृथ्वी नारायण शाहको निधन हुँदा तिनकी कान्छी रानी नरेन्द्रलक्ष्मी, दुई जना भित्रिनी (उपरानी) र छ जना सुसारे केटी पनि जिउँदै पोलिएका थिए ।[9]

जङ्ग बहादुर राणा बेलायतबाट फर्केपछि तिनले यस प्रथालाई रोक्ने कानुन बनाए । धर्मको नाउँमा अभ्यास गरिएको यस्तो क्रूर पाशविक प्रथालाई नेपालमा ख्रिस्टाब्द १९२० मा चन्द्र शमशेरले कानुनी रूपमा रोक लगाएका थिए ।

 

सन्दर्भ स्रोतहरूः

[1]      Ameeta Singh, The Role of Missionaries in abolition of sati custom in India with special reference to Serampore Missionary, p. 1.

[2]   Ibid.

[3]     कमल अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (काठमाडौँ: सामदान प्रकाशन, ख्रिस्टाब्द २०१९), पृ. सं. २३ ।

[4]     https://www.britannica.com/topic/suttee

[5]     https://en.wikipedia.org/wiki/Sati_(practice)#Origins,_models_and_comparisons

[6]     Ibid.

[7]    Ibid.

[8]    मोदनाथ प्रश्रित, संकलित रचनाहरू, खण्ड-पाँच, (काठमाडौँ: पैरवी बुक्स एण्ड स्टेशनरी सेन्टर, ख्रिस्टाब्द २००१), पृ. ३२६ ।

[9]     मोदनाथ प्रश्रित, संकलित रचनाहरू, खण्ड-पाँच, पृ. ३२७ ।

Facebook Comments

Powered by Youth Circle