परमेश्वरको अस्तित्वका लागि १० ओटा साक्षी

परमेश्‍वरको अस्तित्वको प्रश्न मानव जीवनमा सबैभन्दा आधारभूत खोज हो । ख्रिस्टियनहरूका लागि परमेश्वरमाथिको विश्वास केवल अन्धविश्वासमा आधारित छैन, यो त तर्क, सृष्टि, धर्मशास्त्र बाइबल र व्यक्तिगत अनुभवबाट प्राप्त बाध्यकारी साक्षीहरूमा आधारित छ । यहाँ हामी यस्ता १० ओटा साक्षीबारे मनन गर्ने छौँ ।

१. विश्‍वको साक्षी

यो सम्पूर्ण विश्व कहाँबाट आयो ? पछिल्ला वैज्ञानिक खोजहरूले यो अनन्त नभई एउटा निश्चित बिन्दुमा यसको सुरुआत भएको थियो भनी पुष्टि गरिदिएका छन् । सम्पूर्ण अन्तरिक्ष, समय र पदार्थ सबै एक निश्चित बिन्दुमा अस्तित्वमा आए । सुरु हुने कुराको पछाडि कारण हुनुपर्छ । यो सम्पूर्ण विश्वको सुरुआत भएकाले यसको पछाडि कारण हुनैपर्छ र त्यो कारण बाह्य हुनुपर्छ अर्थात् अनन्त, अमूर्त, शक्तिशाली र व्यक्तिगत हुनुपर्छ । यो कारण परमेश्वरबारे भएको बाइबलीय विवरणसँग मेल खान्छ । बाइबलले भन्छ, “आदिमा परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभयो” (उत्पत्ति १:१) । विख्यात दार्शनिक तथा ख्रिस्टियन रक्षाशास्त्री विलियम लेन क्रेगले बताएका छन्, “विश्वको उत्पत्तिको सबैभन्दा राम्रो व्याख्या भनेको एक उत्कृष्ट सृष्टिकर्ताको अस्तित्व नै हो ।”

२. रचनाको साक्षी

विश्‍वको व्यवस्थित रचनादेखि डिएनएको जटिल संरचनासम्म सृष्टिले रचनाकारको औँठाछाप बोकेको छ । हाम्रो पृथ्वी जीवलाई समर्थन गर्ने गरी अस्तित्वमा छ । भौतिक बनावटमा थोरै मात्र परिवर्तन भएमा पनि जीवको अस्तित्व असम्भव हुने छ । बाइबलले भन्छ, “किनकि उहाँको अदृश्‍य गुण अर्थात्‌ उहाँको अनन्‍त शक्‍ति र ईश्‍वरीय स्‍वभाव संसारको सृष्‍टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्‌ङै देखिएको छ” (रोमी १:२०) । प्रसिद्ध वैज्ञानिक तथा ईश्वरशास्त्री सर आइज्याक न्युटनले भनेका थिए, “सूर्य, ग्रह र पुछ्रेताराहरूको यो ज्यादै सुन्दर प्रणाली बौद्धिक र शक्तिशाली व्यक्तित्वका बुद्धिबाट मात्र आउन सक्छ ।”

३. नैतिकताको साक्षी

यस्तो कुनै ठाउँ छैन जहाँ हत्यालाई सद्गुण मानिन्छ भने कृतज्ञतालाई दुष्कर्म । युद्धमा भागेर जाने मानिसलाई प्रशंसा गरिने राष्ट्र वा आफूप्रति सबैभन्दा दयालु हुने व्यक्तिलाई धोका दिएको कारणले गर्दा गर्व गर्ने ठाउँको हामी कल्पना गर्न सक्दैनौँ । मानवजातिको बिचमा एउटा नैतिक नियम छ । यो वैज्ञानिक साक्षी होइन तर स्वभावमा यो नैतिक छ । तर्कशास्त्र र गणितशास्त्र जस्तै यो नियम अभौतिक हो । तर यस यथार्थतालाई कसैले इन्कार गर्न सक्दैन । हामीले असल गर्नुपर्छ, मानिसहरूलाई सहायता गर्नुपर्छ भन्नुको कारण हाम्रो हृदयमा लेखिएको नैतिक व्यवस्था नै हो । हत्या, चोरी, झुट जस्ता कुरा विश्वव्यापी रूपमा गलत छन् भनी मानिसहरूले मानिलिन्छन् । तर यो विश्वव्यापी नैतिक व्यवस्था कहाँबाट आयो ? यदि कुनै नैतिक व्यवस्था अस्तित्वमा छ भने व्यवस्था दिनेवाला पक्कै हुनैपर्छ । “व्‍यवस्‍थाले चाहेका कुरा आफ्‍नो हृदयमा लेखिएका तिनीहरू देखाउँछन्‌ र तिनीहरूको आफ्‍नै विवेकले पनि गबाही दिन्‍छ र तिनीहरूका विचारले कहिले तिनीहरूलाई दोस्याउँछन्‌ र कहिले समर्थन गर्छन्‌” (रोमी २:१५) ।

४. जीवको साक्षी

वर्तमान जीव विज्ञानको स्थापित नियमले भन्छ कि शून्यताबाट जीवको उदय हुँदैन । तपाईंले बाटामा भेट्ने कुकुर आफ से आफ त्यसै अस्तित्वमा आएको होइन न त हाम्रा नाङ्गा आँखाले देख्न नसक्ने ससाना किटाणुहरूको उदय स्वत: भएका हुन् । जीव विज्ञानमा एउटा चिरपरिचित नियम छ जसलाई जीव जननको नियम भनेर चिनिन्छ । जीवले आफ्नै किसिमको जीवको उदय गराउँछ भनी यस नियमले बताउँछ । पटक पटकको वैज्ञानिक परीक्षणहरूबाट यसको पुष्टि भइसकेको छ । हालसम्म उपलब्ध साक्षीको आधारमा अलौकिक कार्यद्वारा यस धरतीमा प्रथम जीवको उत्पत्ति भएको थियो भन्ने अवधारणा नै सबैभन्दा जायज निष्कर्ष हो ।

५. मस्तिष्कको साक्षी

मानवीय मस्तिष्क पृथ्वीमा मात्र नभई सम्भवत: सम्पूर्ण विश्वमा नै विद्यमान सबैभन्दा जटिल संरचना हो । यो खप्परभित्र भएको भौतिक संरचना हो । यो रासायनिक पदार्थ, एन्जाइम र हर्मोनहरूद्वारा बनेको हुन्छ जसलाई नाप्न र विश्लेषण गर्न सकिन्छ । जम्मा तीन पाउन्ड तौल भएको यो मानवीय दिमाग यति सानो ठाउँ भए तापनि यसमा नै हाम्रा सम्पूर्ण शिक्षा, स्मरण शक्ति, सञ्चारको क्षमता, भावना, मन पर्ने कुरासाथै मन नपर्ने कुराहरू छुट्याउन सक्ने क्षमता अटेको हुन्छ । यसका अतिरिक्त यही तीन पाउन्डको पदार्थले हाम्रो मुटुको ढुकढुकीलाई चालु राख्छ साथै हाम्रो फोक्सोलाई सास फेर्न लगाउँछ । हालसम्म निर्मित कुनै पनि कम्प्युटरभन्दा दिमाग अकल्पनीय रूपमा जटिल भएकाले र यो आफै उत्पन्न हुन नसक्ने भएकाले यसको पछाडि बुद्धिमान् रचनाकारको हात हुनैपर्छ जसलाई परमेश्वर भनिन्छ ।

६. बाइबलको साक्षी

बाइबल एउटा अद्वितीय पुस्तक हो जुन १५०० वर्षभन्दा बढी समयावधिमा ४० भन्दा बढी लेखकद्वारा लेखिएको हो । तरै पनि यसको सन्देशमा एकताबद्ध छ । मानवजातिको छुटकारा यसको मुख्य विषयवस्तु हो । यसका भविष्यवाणी, ऐतिहासिक शुद्धता र रूपान्तरणकारी शक्तिले ईश्वरीय लेखकत्वको गबाही दिन्छन् । बेथलेहेममा येशूको जन्म र उहाँको पुनरुत्थान जस्ता येशू ख्रीष्टको बारेमा पूरा भएका भविष्यवाणीहरूले ईश्वरीय प्रकाशको जोडदार साक्षी पेस गर्दछन् । “सम्‍पूर्ण पवित्र शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई र धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्‍छ” (२ तिमोथी ३:१६) ।

७. ख्रीष्टको साक्षी

येशू ख्रीष्ट इतिहासमा केन्द्रीय व्यक्तित्व हुनुहुन्छ । उहाँले परमेश्वर हुनुभएको दाबी गर्नुभयो (युहन्ना १४:९), पापरहित जीवन बिताउनुभयो, आश्चर्यकर्महरू गर्नुभयो र मरेकाहरूबाट जीवित हुनुभयो (१ कोरिन्थी १५:३-८) । “अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो” (युहन्ना १:१४) । थोमस स्कल्जले लेखेका छन्, “मोसा, पावल, बुद्ध, मुहम्मद, कन्फ्युसियस तथा कुनै पनि परिचित धार्मिक अगुवाले आफू परमेश्वर हुँ भनी कहिल्यै दाबी गरेका छैनन् । येशू ख्रीष्ट यसको अपवाद हुनुहुन्छ । आफू परमेश्वर हुँ भनी दाबी गर्ने ख्रीष्ट मात्रै एक धार्मिक अगुवा हुनुहुन्छ र उहाँ परमेश्वर हुनुहुन्छ भनी संसारको ठुलो हिस्सालाई विश्वास दिलाउने उहाँ मात्रै एक व्यक्तित्व हुनुहुन्छ ।”

८. रूपान्तरित जीवनको साक्षी

इतिहासभरि लाखौँ मानिसले येशू ख्रीष्टमा विश्वासद्वारा आमूल जीवन परिवर्तनको अनुभव गरेका छन् । मानिसहरूले लतबाट मुक्ति पाएका छन्, टुटेको परिवारको पुन:स्थापना भएको छ, उहाँका अनुयायीहरूले आन्तरिक शान्तिको महसुस गरेका छन् र तिनीहरूका जीवनमा नैतिक नवीकरण आएको छ । “यसकारण यदि कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो । पुरानो बितिगएको छ; हेर, नयाँ आएको छ” (२ कोरिन्थी ५:१७) ।

९. इतिहासको साक्षी

बाइबलका परमेश्वर इतिहासबाट अलग हुनुहुन्न । उहाँ यसभित्र रहेर काम गर्नुहुन्छ । अब्राहामको बोलावटदेखि ख्रीष्टको पुनरुत्थानसम्म इतिहासको प्रकटीकरणमा परमेश्वरको हात देख्न सकिन्छ । यहुदी जातिको अस्तित्व, आदि मन्डलीको उदय र सतावटको बाबजुद पनि सुसमाचारको प्रचारप्रसारले ईश्वरीय व्यवस्थालाई झल्काउँछन् । “पहिलेका पुराना कुराहरूलाई सम्‍झ, म परमेश्‍वर हुँ र अरू कोही छैनँ, म परमेश्‍वर हुँ, म जस्‍तै अरू कोही छैन । आदिदेखि अन्‍तसम्‍मको र प्राचीन समयदेखि हुन आउनेसम्‍मको जानकारी म दिन्‍छु” (यसैया ४६:९-१०) ।

१०. दुखमा आशाको साक्षी

टुटेको संसारमा पनि ख्रिस्टियन विश्वदृष्टिले दुखका लागि सुसङ्गत जबाफ प्रदान गर्दछ अर्थात् परमेश्वरले हामीसँग दुख भोगी अन्तिम मुक्ति प्रदान गर्नुहुन्छ । अनीश्वरवादले आशाको कुनै कारण दिन सक्दैन । पीडाको उद्‍देश्य हुन्छ र दुष्टता पराजित हुने छ भनी ख्रिस्टियन आस्थाले घोषणा गर्दछ । “अनि हामी जान्‍दछौँ कि उहाँलाई प्रेम गर्नेहरू र उहाँको अभिप्रायअनुसार बोलाइएकाहरूका निम्‍ति हरेक कुरामा परमेश्‍वरले भलाइ नै गर्नुहुन्‍छ” (रोमी ८:२८) । येशू ख्रीष्टमा हामी एक दुखित मुक्तिदाता देख्छौँ जो पुनरुत्थान हुनुभएका राजा पनि हुनुहुन्छ र उहाँ यस जीवनभन्दा बाहिरका आशा दिनुहुन्छ ।

परमेश्वरमाथि गरिने विश्वास अज्ञानतामा नभई प्रमाणमा आधारित छ । उहाँको अस्तित्वका लागि वैज्ञानिक, दार्शनिक, नैतिक, ऐतिहासिक, बाइबलीय र अनुभवात्मक साक्षी छन् । परमेश्वरमाथिको विश्वास उचित, तर्कसङ्गत र सत्यतामा आधारित छ । परमेश्वरले आफूलाई लुकाउनुभएको छैन । उहाँले सृष्टि, धर्मशास्त्र र सर्वोच्च रूपमा येशू ख्रीष्टमा आफूलाई प्रकट गर्नुभएको छ । उहाँको अस्तित्वका लागि साक्षीको कुनै कमी छैन ।

Facebook Comments

Powered by Youth Circle