नेपालको मन्डली इतिहासमा तपाईंले जान्नुपर्ने १० ओटा महत्त्वपूर्ण मिति

नेपालको मन्डली इतिहास विश्वास, सहनशीलता र रूपान्तरणको उल्लेखनीय यात्रा हो । विदेशी मिसनरीहरूले रोपेको प्रारम्भिक बिउदेखि स्वदेशी ख्रिस्टियन नेतृत्वसम्म आइपुग्दा नेपालको मन्डलीले सतावट र पुनरुत्थान दुबै अवस्था पार गरेको छ । यहाँ हामी नेपालको मन्डली इतिहासका १० ओटा महत्त्वपूर्ण मितिको बारेमा अध्ययन गर्ने छौँ ।

१. १६२८ : नेपालमा ख्रिस्टियन गतिविधिको शुभारम्भ

हालसम्मको ज्ञात अभिलेखानुसार ख्रिस्टाब्द १६२८ बाट नेपालमा ख्रिस्टियन गतिविधिको शुभारम्भ भएको देखिन्छ । उक्त साल पोर्चुगलका फादर जुआन कब्राल र फादर एस्टेभाओ कासेलाले काठमाडौँ उपत्यकाको भ्रमण गरेका थिए । तिनीहरूको मिसन तिब्बतमा बढी केन्द्रित भए तापनि छोटो समयका लागि तिनीहरू नेपालमा बसोबास गरे र स्थानीय शासकहरूसँग तिनीहरूको भेटघाट भएको थियो भन्ने अभिलेख पाइन्छ ।

तत्काल धर्मान्तरण वा स्थायी ख्रिस्टियन उपस्थितिको परिणाम नल्याए पनि उनीहरूको भ्रमणले नेपाली भूमिमा ख्रिस्टियन पाइलाको सुरुआत गरिदिएको थियो । शताब्दीऔँदेखि आत्मिक रूपमा हिन्दु र बौद्ध धर्मको प्रभुत्व रहेको यस भूमिमा यी जेसुइटहरूले ख्रिस्टियन आस्थाको विचारको ढोका खोलिदिए ।

२. १७०७ : काठमाडौँमा क्यापुचिन मिसनरीहरूको आगमन

१७०७ मा इटालेली क्यापुचिन मिसनरीहरू काठमाडौँ उपत्यकामा आइपुगे । राजा जयप्रकाश मल्लले उनीहरूलाई स्वागत गरे र उनीहरूले स्थानीय मानिसहरूलाई सेवा र शिक्षा दिन थाले । काठमाडौँमा एउटा सानो मन्डली र मिसन स्टेसन स्थापना भयो । केही नेपालीले ख्रिस्टियन आस्थालाई अङ्गाले । यसरी नेपालमा पहिलो सङ्‍गठित ख्रिस्टियन समुदाय देखा पर्‍यो यद्यपि यो मिसन अल्पकालीन रह्यो । विदेशीहरूलाई निष्कासन गर्ने राजा पृथ्वी नारायण शाहको निर्णयसँगै मिसनरीहरू त्यहाँबाट जान बाध्य भए । केही नेपाली ख्रिस्टियन भारतमा निर्वासित भए ।

३. १९१४ : नेपाली भाषामा पहिलो पूर्ण बाइबल प्रकाशित

ख्रिस्टाब्द १९१४ मा पहिलो पूर्ण नेपाली बाइबल प्रकाशित भएको थियो । ब्रिटिस एन्ड फोरेन बाइबल सोसाइटीद्वारा प्रकाशित यो बाइबल मूलत: नेपाली पास्टर गङ्गाप्रसाद प्रधानले अनुवाद गरेका थिए । झन्डै १०० वर्षअगि नै विलियम केरीद्वारा नयाँ करारको अनुवादले पूर्णता पाए तापनि १९१४ को प्रकाशन नेपाली ख्रिस्टियनहरूका लागि एक ऐतिहासिक उपलब्धि बन्यो । यस प्रकाशनले विश्वासीहरूलाई उनीहरूको आफ्नै मातृभाषामा सम्पूर्ण धर्मशास्त्र उपलब्ध गराउनुका साथै भावी मन्डली विकासका लागि जग बसाल्यो । नेपाली बाइबलले विश्वासीहरूलाई आफ्नै भाषामा आफ्नो विश्वास बुझ्न र त्यसअनुसार बाँच्न सशक्त बनायो । यसले नेपाल र विदेशमा रहेका नेपाली भाषीहरूमाझ सुसमाचार प्रचार, चेलापन र मन्डलीको वृद्धिलाई बढावा दियो । यसले ख्रिस्टियन शिक्षालाई लिखित रूपमा पनि संरक्षित गर्‍यो जसले गर्दा सुसमाचार अझ पहुँचयोग्य हुनुका साथै यसले स्थानीय संस्कृतिमा जरा गाड्‍यो ।

४. १९५१ : राणा शासनको अन्त्य

झन्डै २०० वर्षसम्म नेपाल बन्द मुलुक रह्‍यो । तर, १९५१ मा राणा शासनको पतन र प्रजातन्त्रको स्थापनाले नेपालमा ऐतिहासिक राजनीतिक परिवर्तनको सङ्‍केत देखा पर्‍यो । ख्रिस्टियनहरूका लागि यो महत्त्वपूर्ण थियो किनभने यसले नेपालको बाह्य संसारबाट चरम अलगावको अन्त्य गरिदियो । प्रजातन्त्रको आगमनसँगै विदेशी मिसनरी र सहयोगकर्ताहरू पुन: नेपाली भूमिमा प्रवेश गर्न पाउने ढोका खुल्यो ।

संवैधानिक रूपमा नेपाल हिन्दु राज्य र धर्मान्तरण गैरकानुनी भए तापनि स्वास्थ्य, शिक्षा जस्ता मानव सेवाका लागि अवसर खुला भयो । युनाइटेड मिसन टु नेपाल र इन्टरनेसनल नेपाल फेलोसिप जस्ता मिसनहरूले सरकारी अनुमति लिएर काम गर्न थाले । नेपालीहरूको सेवा गरेर यी संस्थाले ख्रिस्टियन प्रेम प्रदर्शन गरी सार्वजनिक विश्वास कमाए ।

५. १९५२ : पोखरामा रामघाट मन्डलीको स्थापना

१९५२ मा पोखरामा स्थापित रामघाट मन्डलीलाई आधुनिक नेपालको पहिलो मन्डलीको रूपमा लिइन्छ । औपचारिक रूपमा नेपाल ख्रिस्टीय रामघाट मन्डलीको नामले चिनिने यो मन्डली डेभिड मुखिया र उनकी श्रीमती प्रेमीद्वारा स्थापना भएको थियो जो भारतबाट आएका नेपाली ख्रिस्टियन थिए । छिमेकी मुलुक भारतका ख्रिस्टियन मिसनबाट प्रभावित केही प्रारम्भिक नेपाली ख्रिस्टियन पोखराको सेती नदी नजिकैको सानो बाँसको कटेजमा आराधनका लागि भेला हुन थालेपछि यस मन्डलीको सुरुआत भएको थियो । विरोधको सामना गर्नु पर्दा पनि यो सङ्गति निरन्तर बढ्दै गयो । मन्डली आराधना, चेलापन र पहुँचका लागि एक केन्द्रीय स्थान बन्यो र आजसम्म जारी छ ।

६. १९५४ : युनाइटेड मिसन टु नेपालको स्थापना

स्वास्थ्य, शिक्षा र विकासका कार्यमार्फत नेपालको सेवा गर्न विभिन्न ख्रिस्टियन सम्प्रदायको सहयोगस्वरूप १९५४ मा युनाइटेड मिसन टु नेपालको स्थापना भएको थियो । सेवालाई ख्रिस्टियन विश्वासको प्रमाणको रूपमा केन्द्रित गर्दै नेपालमा आधुनिक मिसन कार्यको जग बसाल्नमा युएमएनले महत्त्वपूर्ण भूमिका खेलेको थियो । । तानसेन मिसन अस्पताल र ओखलढुङ्गा सामुदायिक अस्पताल जस्ता अस्पतालहरू ख्रिस्टियन दया र उत्कृष्टताका प्रतीक बने ।

सरकारसितको सम्झौताको कारण युएमएन मन्डली स्थापनामा संलग्न हुन मिल्दैनथ्यो । यसको बिरासतले स्थानीय ख्रिस्टियन अगुवाहरूको उदयलाई धेरै नै प्रभाव पार्‍यो जसले पछि नेपालको स्थानीय मन्डली अभियानमा प्रमुख भूमिका खेले ।

७. १९६० : नेपाल राष्ट्रिय मन्डली सङ्गतिको स्थापना

ख्रिस्टाब्द १९६० मा स्थापना भएको नेपाल राष्ट्रिय मन्डली सङ्गतिलाई सुरुमा नेपाल ख्रिस्टियन सङ्गति नामले चिनिन्थ्यो । लामो समयसम्म अनौपचारिक रूपमा सेवा गर्दै आएको यस संस्थालाई पछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा औपचारिक रूपमा दर्ता गरियो । नेपालभर रहेका मन्डलीहरूको आपसी सहकार्य, एकता, प्रार्थना र सेवामा जोड दिनका लागि यो संस्था गठन गरिएको हो ।

एनसिएफएन नेपालमा ख्रिस्टियन समुदायको विकास र एकताको आधारशिलाको रूपमा खडा छ । यो देशमा प्रोटेस्टेन्ट मन्डलीहरूको पहिलो छाता सङ्गठनको रूपमा देखा पर्‍यो । यसले आत्मिक एकतालाई बढावा दिने, साझा सङ्गति प्रदान गर्ने अनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नेपाली मन्डलीहरूको प्रतिनिधित्व गर्ने लक्ष्य राखेको थियो । दशकौँदेखि एनसिएफएनले नेपालमा मन्डली स्थापना, चेलापन, नेतृत्व विकास र धार्मिक स्वतन्त्रताको वकालतमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

८. १९९० : बहुदलीय प्रजातन्त्र र नयाँ धार्मिक स्वतन्त्रताको पुन:स्थापना

१९९० को जनआन्दोलनले पञ्चायत व्यवस्थालाई ध्वस्त पारी नेपालमा बहुदलीय व्यवस्थाको पुन:स्थापित गर्‍यो । ख्रिस्टियन समुदायका लागि यस क्रान्तिले धार्मिक सहिष्णुता, सार्वजनिक आराधना र मन्डली स्थापनाका लागि मार्ग प्रशस्त गरिदियो ।

नयाँ संविधानले अझै पनि धर्मान्तरणलाई निषेध गरेको भए तापनि यसले केही हदसम्म धार्मिक स्वतन्त्रताको भने ग्यारेन्टी गरिदियो । मन्डलीहरू द्रुतगतिमा बढ्न थाले । बहुदलीय प्रजातन्त्रपछि मन्डली, ख्रिस्टियन साहित्य र खुला ख्रिस्टियन भेलाहरू व्यापक रूपमा देखिए । १९९० को दशक नेपाली मन्डलीका लागि पुनरुत्थान र बिस्तारको दशक बन्यो ।

९. २००८ : राजतन्त्रको अन्त्य र धर्मनिरपेक्ष राज्यको उदय

२००८ मा राजतन्त्रको अन्त्य भई अन्तरिम संविधानमा देशलाई धर्मनिरपेक्ष राज्य भनी घोषणा गरियो । यो उपलब्धि धार्मिक अल्पसङ्ख्यकहरूका लागि एक महत्वपूर्ण क्षण थियो । पहिलो पटक राज्यले अब आधिकारिक रूपमा हिन्दु धर्मलाई प्रवर्धन गरेन र ख्रिस्टियन आस्थालाई नेपालको एक धार्मिक परम्पराको रूपमा कानुनी मान्यता मिल्यो ।

यस परिवर्तनले ख्रिस्टियनहरूलाई राष्ट्रिय संवाद, मिडिया र शिक्षामा अझ खुला रूपमा भाग लिन प्रोत्साहित गर्‍यो । यसले ख्रिस्टमस र इस्टर जस्ता ख्रिस्टियन पर्वहरूलाई सार्वजनिक उत्सवको रूपमा मनाउन ढोका खोलिदियो । यस्ता पर्वमा कहिलेकाहीँ सरकारी मान्यता र केही क्षेत्रमा सार्वजनिक बिदासमेत दिइएको इतिहास ताजै छ ।

१०. २०१५ : नयाँ संविधान र धर्मान्तरण विरोधी कानुन

२०१५ मा नेपालको नयाँ संविधानको घोषणा ख्रिस्टियन समुदायका लागि आशा र चिन्ताको विषय बन्न पुग्यो । संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्यको रूपमा कायम राखे पनि धर्मान्तरणलाई प्रोत्साहन गर्ने कुनै पनि कार्यलाई अपराधीकरण गर्दै यसमा धर्मान्तरण विरोधी कडा धाराहरू समावेश भएका छन् ।

यसले विशेष गरी ग्रामीण क्षेत्रका पास्टर र विश्वासीहरूलाई गिरफ्तारी र उत्पीडन निम्त्यायो । यी चुनौतीका बाबजुद पनि नेपाली मन्डली प्रेम, सेवा र सामुदायिक संलग्नतामार्फत आफ्नो विश्वास बाँड्न लचिलो र रचनात्मक बनेको छ । २०१५ को महाभूकम्पपछिका राहत प्रयासमा ख्रिस्टियन समुदायको उल्लेखनीय नेतृत्व देखिएको थियो जसले गर्दा उनीहरूको सार्वजनिक छवि अझै राम्रो हुन पुगेको छ ।

१७ औँ शताब्दीको विनम्र सुरुवातदेखि एक्काइसौँ शताब्दीको लाखौँ अनुयायी भएको नेपाली मन्डलीसम्म आइपुग्दा नेपालमा ख्रिस्टियन आस्थाले लामो यात्रा तय गरिसकेको छ । अबको तीन वर्षपछि त नेपालको ख्रिस्टियन इतिहासले पनि पाँचौँ शताब्दीको आरम्भको टाकुरो चुम्ने छ र उक्त साललाई नेपाली ख्रिस्टियनहरूले महोत्सवको रूपमा मनाउन सक्छन् । नेपालको ख्रिस्टियन समुदायका लाखौँ विश्वासी र सबै जिल्लामा भएका हजारौँ मन्डली आज शिक्षा, स्वास्थ्य र सामाजिक रूपान्तरणमा सक्रिय भई लागिपरेका छन् । विशेष गरी धार्मिक स्वतन्त्रताको सन्दर्भमा अगाडिको बाटामा अझै पनि चुनौती हुन सक्छन् तर विगतका पुस्ताहरूको गबाहीले भविष्यका लागि साहस र विश्वासलाई प्रेरित गरिरहेको छ । परमेश्वरले साँच्चै आश्चर्यजनक र शक्तिशाली ढङ्गमा नेपालमा आफ्नो मन्डली निर्माण गर्नुभएको छ । यी मिति ऐतिहासिक तथ्य मात्र नभई सुसमाचारसँगै जीवन्त हुँदै गइरहेको राष्ट्रमा परमेश्वरको विश्वासयोग्यताको कोसेढुङ्गा हुन् । “म मेरो मन्‍डली यस चट्‌टानमाथि स्‍थापना गर्ने छु र नरकका ढोकाहरू त्यसमाथि विजयी हुने छैनन्‌” (मत्ती १६:१८) ।

Facebook Comments

Powered by Youth Circle