नेपाली ख्रिस्टियनहरूलाई लाग्ने १० ओटा आरोप र तिनको खण्डन

कहिलेकाहीँ अज्ञानतावश त कहिलेकाहीँ पूर्वाग्रहका कारण नेपाली समाजमा ख्रिस्टियनहरूका विरुद्धमा विभिन्न प्रकारका आरोप लाग्ने गरिन्छ । यी आरोपले ख्रिस्टियन समुदायको छविलाई असर पुर्‍याउनुका साथै सहअस्तित्व र धार्मिक सहिष्णुतामा पनि चुनौती दिन्छन् । सत्यताको प्रतिरक्षा गरी समझदारीको पुल निर्माण गर्नु नै आलेखको उद्‍देश्य हो । यस लेखमा नेपाली ख्रिस्टियनहरूलाई प्रायः लाग्ने १० प्रमुख आरोपको चर्चा गरी तिनको बाइबलीय, ऐतिहासिक र तार्किक खण्डन प्रस्तुत गरिएको छ ।

१. पहिलो आरोप : ख्रिस्टियनहरूले पैसा वा भौतिक प्रलोभनद्वारा मानिसहरूलाई धर्म परिवर्तन गराइरहेका छन् ।

ख्रिस्टियनहरूलाई मानिसहरूलाई ख्रिस्टियन धर्ममा लोभ्याउन आर्थिक सहयोग, शिक्षा वा औषधिको प्रयोग गरेको आरोप लगाइन्छ । यो किसिमको आरोप बारम्बार लगाइने गरिन्छ । विशेष गरी ख्रिस्टियन गैरसरकारी संस्थाहरूले प्रायः सामाजिक सेवाहरू प्रदान गर्ने भएकाले पनि यस्तो आरोप लाग्ने गर्छ ।

तर, वास्तविक ख्रिस्टियन मिसन प्रलोभनमा होइन, प्रेममा आधारित हुन्छ । अरूलाई मदत गर्नु बाइबलीय आदेश हो, धर्म परिवर्तनको रणनीति होइन । येशूले भोकाहरूलाई खुवाउनुभयो (युहन्ना ६), बिरामीहरूलाई निको पार्नुभयो (मत्ती ९:३५) र गरिबहरूको हेरचाह गर्नुभयो । येशूले यी सबै सेवा धर्म परिवर्तनका लागि होइन तर प्रेम देखाउनलाई गर्नुभयो । उहाँले दश जना कुष्ठरोगीलाई पनि निको पार्नुभयो यद्यपि एक जना मात्र उहाँलाई धन्यवाद दिन फर्केको प्रसङ्ग बाइबलमा पाइन्छ (लुका १७:११-१९) ।

मदर टेरेसाले भारतमा हजारौँको सेवा गरिन् तर धर्म परिवर्तनको माग गरिनन् । त्यसै गरी नेपालका ख्रिस्टियन अस्पताल र स्कुलहरूले धर्मको पर्वाह नगरी सबैलाई सेवा दिने गर्छन् । येशू भन्नुहुन्छ, “यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस‌्‌ र तिनीहरूले तिमीहरूका सुकर्म देखुन्‌ अनि स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरुन्” (मत्ती ५:१६) ।

२. दोस्रो आरोप : ख्रिस्टियन धर्म विदेशी धर्म हो र यो नेपाली संस्कृतिका लागि उपयुक्त छैन ।

ख्रिस्टियन आस्थालाई पश्चिमबाट भित्रिएको धर्मको रूपमा हेरिन्छ र यो नेपाली माटोमा असङ्गत छ भन्ने गरिन्छ ।

ख्रिस्टियन आस्था पश्चिमी धर्म होइन भन्ने कुरो इतिहासको सामान्य ज्ञान भएको मान्छेलाई पनि थाहा छ । यो मध्यपूर्वको इजरायलमा सुरु भएको थियो । यो एसियाली धर्म हो । यसबाहेक, यसको मूल सन्देश संस्कृतिभन्दा बाहिरसम्म पुगी यसले सबै मानिसलाई परमेश्वरसँगको सम्बन्धमा आउन आह्वान गर्दछ । सुसमाचार सबै जातिका लागि हो (मत्ती २८:१९) । चाहे हामी युरोपमा बसौँ वा अमेरिकामा वा नेपालमा, सुसमाचार सबै भूगोलका सबै मानिसका लागि हो ।

पापिष्ठ कुरालाई रूपान्तरण गर्दै ख्रिस्टियन आस्था हरेक संस्कृतिमा अनुकूलन हुन्छ । नेपाली ख्रिस्टियनहरूले आआफ्नै भाषामा आराधना गर्छन्, आफ्नै स्थानीय पोशाक लगाउँछन् अनि स्वदेशी भजन लेख्छन् र गाउँछन् । यस्तो अभ्यासले संस्कृति मास्दैन बरु जगेर्ना गर्न टेवा दिन्छ । “अब न यहुदी छ न ग्रिक, न दास न फुक्‍का, न पुरुष न स्‍त्री छ किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ” (गलाती ३:२८) ।

३. तेस्रो आरोप : ख्रिस्टियन धर्मले परिवार र सामाजिक सद्‍भाव तोड्छ ।

जब कोही ख्रिस्टियन बन्छ उसलाई प्रायः बहिष्कार गरिन्छ र यसले गर्दा सामाजिक तनाव उत्पन्न हुन्छ भन्ने गरिन्छ ।

येशूमा विश्वास गर्दा यसले विभाजन निम्त्याउन सक्छ भनी उहाँले स्वीकार गर्नुभयो (मत्ती १०:३४-३६) । तर, उहाँले कहिल्यै द्वन्द्वलाई बढावा दिनुभएन । बरु सुसमाचारले साँचो मेलमिलाप र शान्ति ल्याउँछ । प्रेरितको पुस्तकमा आदि मन्डली (प्रेरित २:४२-४७) विश्वासीहरूको समुदायका आवश्यकताहरू एकअर्कासँग बाँडचुँड गर्दै सद्‍भावमा बसेको देखिन्छ । ख्रिस्टमा आएका धेरैले पारिवारिक अस्वीकृतिको सामना गरे तापनि ख्रीष्टमा नयाँ परिवार भेट्‍टाएका छन् ।

पारिवारिक विच्छेद अक्सर सतावट दिने व्यक्तिबाट आउँछ, विश्वासीबाट होइन । ख्रिस्टियन आस्थाले परिवारभित्र हुनुपर्ने प्रेम, सम्मान र आज्ञाकारिताको बारेमा सिकाउँछ (एफिसी ६:१-४) । विभाजन विश्वासीको अस्वीकृतिको कारणले आउँछ, विश्वासीले अरूलाई अस्वीकार गरेको कारणले गर्दा होइन । “हुन सक्‍छ भने तिमीहरूबाट जहाँसम्‍म हुन सक्‍छ सबैसँग शान्‍तिमा बस” (रोमी १२:१८) ।

४. चौथो आरोप : ख्रिस्टियनहरूले हिन्दु देवीदेवताको अपमान गरी घृणालाई बढावा दिन्छन् ।

ख्रिस्टियनहरूले अन्य धर्महरूको र विशेष गरी हिन्दु धर्मको अनादर गर्छन् भन्ने कतिपयको आरोप छ ।

बाइबलीय सुसमाचार प्रचारअनुसार हामीले प्रेममा सत्यताको बाँडचुँड गर्नुपर्छ, अरूलाई खिसी वा अपमान गर्नु हुँदैन । प्रेरित १७ अध्यायमा पावलले एथेन्समा प्रचार गर्दा मूर्तिपूजालाई सम्मानपूर्वक सम्बोधन गरेका छन् । उनले तिनीहरूका देवीदेवताहरूको अपमान गरेका छैनन् ।

साँचा ख्रिस्टियनहरू अरूका देवीदेवताको अपमान गर्दैनन् बरु संवादमा संलग्न हुन्छन् । एक साँचो परमेश्वरमा विश्वास गर्ने भएकाले तिनीहरूलाई नम्रता र सम्मानका साथ सत्य बोल्न आह्वान गरिएको छ (१ पत्रुस ३:१५) । घृणालाई बढावा दिने कुनै पनि ख्रिस्टियनले ख्रीष्टका अनुसार काम गरिरहेको हुँदैन । “जे गर्छौ ती सबै प्रेममा गरिएका होउन्” (१ कोरिन्थी १६:१४) ।

५. पाँचौँ आरोप : ख्रिस्टियन मिसनरीहरू राजनीतिक उद्‍देश्य लिएर आएका हुन्छन् ।

ख्रिस्टियन मिसनरीहरू पश्चिमी सरकारका जासुस वा एजेन्ट हुन् भन्ने कतिपयको विश्वास रहेको छ ।

ख्रिस्टियन आस्था आत्मिक हो, राजनीतिक होइन । इतिहासले हामीलाई देखाएको छ कि मिसनरीहरू शिक्षा, स्वास्थ्य र साक्षरता लिएर आउँछन्, राजनीतिक एजेन्डा लिएर होइन । येशूले भन्नुभयो, “मेरो राज्‍य यस संसारको होइन” (युहन्ना १८:३६) । उहाँका अनुयायीहरू शासन गर्न होइन, सेवा गर्न बोलाइएका छन् ।

डा. कार्ल र बेट्‍टी फ्रेडरिक्स जस्ता मिसनरीहरूले नेपालमा दसकौँसम्म कुनै राजनीतिक एजेन्डाबिना सेवा गरे । उनीहरूको विरासत प्रेम हो, राजनीति होइन । यद्यपि राजनीतिका लागि बोलावट पाएकाहरूले राजनीतिबाटै परमेश्वर, देश र जनताको सेवा गर्न सक्छन् । “किनभने मानिसको पुत्र सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैका निम्‍ति छुटकाराको मोलस्‍वरूप आफ्‍नो प्राण दिन आएको हो” (मर्कुस १०:४५) ।

६. छैटौँ आरोप : ख्रिस्टियन धर्म द्रुत गतिमा फैलिरहेकाले यसले राष्ट्रिय धर्मलाई खतरामा पार्छ ।

ख्रिस्टियन आस्थालाई बढ्दो शक्तिको रूपमा हेरिन्छ र यसले परम्परागत धर्महरूलाई ओझेलमा पार्ने छ भन्ने डर छ ।

सत्य कहिल्यै अनुसन्धान वा प्रतिस्पर्धाबाट डराउनु हुँदैन । विश्वास व्यक्तिगत निर्णयको विषय हो । ख्रिस्टियन आस्था करबाट होइन तर विश्वासबाट आउँछ । प्रेरित ४-५ मा मन्डलीले धम्कीको सामना गरे तापनि सुसमाचार फैलियो किनभने मानिसहरूले जबरजस्ती होइन तर परिवर्तित जीवनको शक्ति देखे ।

ख्रिस्टियन आस्थाले कसैलाई पनि धर्म परिवर्तन गर्न बाध्य पार्दैन । मानिसहरू स्वत: ख्रीष्टतिर आउँछन् किनभने तिनीहरूले उहाँमा आशा र भविष्य देख्छन्, उहाँमा पापको उपचार र जीवनको अर्थ पाउँछन् । साँच्चै भन्ने हो भने स्वतन्त्र समाजमा विश्वासको हकमा कानुन बनाउन सकिँदैन, यो त छनोटको विषय हो । “तिमीहरूले सत्‍यलाई जान्‍ने छौ र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउने छ” (युहन्ना ८:३२) ।

७. सातौँ आरोप : ख्रिस्टियनहरूले परम्परागत मूल्यमान्यता र चाडपर्वलाई नष्ट गर्छन् ।

येशूमा आउनेहरूलाई राष्ट्रिय चाडपर्व र संस्कृतिलाई अस्वीकार गरेको आरोप लगाइन्छ ।

ख्रिस्टियन आस्थाले संस्कृतिको विरोध गर्दैन बरु यसले यसलाई शुद्ध पारी परमेश्वरतिर निर्देशित गर्छ । मूर्तिपूजा जस्ता केही परम्परा धर्मशास्त्रको विपरीत हुन सक्छन् तर पारिवारिक एकता, पाकाहरूको सम्मान अनि सामुदायिक र राष्ट्रिय उत्सवहरू सबैका साझा विषय हुन् । येशूले विवाहमा भाग लिनुभयो (युहन्ना २), चाडपर्वहरू (युहन्ना ७) र सामाजिक रीतिरिवाजको सम्मान गर्नुभयो । त्यसो गरिरहँदा उहाँले परमेश्वरको सत्यताको विपरीत अभ्यासहरूलाई पनि चुनौती दिनुभएको पाइन्छ ।

ख्रिस्टियनहरू अझै पनि जन्म, विवाह, मृत्युसंस्कार र राष्ट्रिय दिवसहरू मनाउँछन् तर परमेश्वरको सम्मान गर्ने तरिकाले तिनीहरू त्यसो गर्छन् । धेरै मन्डलीले सांस्कृतिक कार्यक्रम आयोजना गर्छन्, नेपाली भजन गाउँछन् र परम्परागत लुगा लगाउँछन् जसले देखाउँछ कि संस्कृतिलाई ख्रीष्टमा संरक्षित र नवीकरण गर्न सकिन्छ । “सबै कुराको जाँच गर । जुन कुरो असल छ त्‍यसैमा दृढ रहो” (१ थेसलोनिकी ५:२१) ।

८. आठौँ आरोप : ख्रिस्टियन धर्म राष्ट्रिय एकताका लागि खतरा छ ।

ख्रिस्टियन धर्मको उदयलाई राष्ट्रलाई विभाजित गर्ने वा यसको पहिचानलाई कमजोर पार्ने शक्तिको रूपमा चित्रण गरिएको पाइन्छ ।

ख्रिस्टियन आस्थाले सरकारप्रति समर्पित हुन (रोमी १३:१), देशका नेताहरूका लागि प्रार्थना गर्न (१ तिमोथी २:१-२) र सबैसँग शान्ति रहेर बस्न सिकाउँछ । दानिएलले आफ्नो विश्वासमा सम्झौता नगरी मूर्तिपूजा गर्ने सरकारमा विश्वासयोग्य भएर सेवा गरे । योसेफ फारोपछि दोस्रा भए र उनले मिस्रमा आशिष्‌को झरी ल्याए ।

नेपालका ख्रिस्टियनहरूले शिक्षा, स्वास्थ्य, राहत कार्य र नैतिकतामा उल्लेखनीय योगदान पुर्‍याएका छन् । तिनीहरू आफ्नो देशका लागि प्रार्थना गर्ने र न्यायलाई प्रवर्धन गर्ने नागरिक हुन् । सुसमाचारले नैतिक जग र राष्ट्रिय एकतालाई बलियो बनाउँछ । “सहरको [अर्थात् देशको] भलो चिताओ र त्‍यसका निम्‍ति परमप्रभुसित प्रार्थना गर किनकि त्‍यसको भलो भएकामा नै तिमीहरूको भलो हुने छ” (यर्मिया २९:७) ।

९. नवौँ आरोप : ख्रिस्टियनहरूले गरिब र अशिक्षितहरूको फाइदा उठाउँछन् ।

गरिब र अशिक्षितहरूले मात्र धर्म परिवर्तन गर्छन् किनभने तिनीहरू सजिलै परिवर्तन हुने अवस्थाम हुन्छन् भनी दाबी गरिन्छ ।

बाइबलअनुसार सुसमाचारले गरिबहरूलाई शुभ खबर ल्याउँछ (लुका ४:१८) र ख्रिस्टियन आस्था सबै वर्गका लागि हो । इतिहासभरि गरिब र धनी अनि शिक्षित र अशिक्षित सबै वर्गका मानिसले विश्वास गरेका अनगिन्ती उदाहरण छन् । प्रेरित पावल एक विद्वान थिए (प्रेरित २२:३) । यहूदी शिक्षक निकोदेमसले येशूलाई खोजे (युहन्ना ३) । तैपनि येशूले माछा मार्ने, कुष्ठ प्रभावित र बहिष्कृतहरूलाई पनि स्वागत गर्नुभयो ।

धेरै नेपाली ख्रिस्टियन शिक्षित, विद्वान् र अगुवा छन् । ख्रिस्टियन आस्थाले साक्षरता, मर्यादा र नैतिक मूल्यमान्यतामार्फत मानिसहरूलाई सशक्त बनाउने काम गर्छ । “तर बुद्धिमान्‌हरूलाई सर्ममा पार्न परमेश्‍वरले संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो र शक्‍तिशालीलाई सर्ममा पार्नलाई परमेश्‍वरले संसारका निर्बल कुराहरूलाई छान्‍नुभयो” (१ कोरिन्थी १:२७) ।

१०. दसौँ आरोप : मानिसहरू आफ्नै धर्मसँग असन्तुष्ट भएकाले ख्रिस्टियन धर्म बढेको हो ।

धर्म परिवर्तन गर्नेहरू केवल भावनात्मक रूपमा प्रतिक्रिया जनाउँछन् वा जातीय भेदभावबाट बच्नलाई तिनीहरूले त्यसो गरेका हुन् भनी आलोचकहरू दाबी गर्छन् ।

मानिसहरू दुखको कारणले ख्रीष्टमा आए तापनि सुसमाचारले भावनात्मक राहत मात्र होइन तर सत्यता पनि प्रदान गर्दछ । यसले नयाँ पहिचान, क्षमा र मेलमिलाप ल्याउँछ । सामरी स्त्री (युहन्ना ४) सीमान्तकृत र नैतिक रूपमा बहिष्कृत थिइन् तर येशूले उनलाई जीवनको पानी प्रदान गर्नुभयो । उनी भावनात्मक रूपमा धर्म परिवर्तन नगरी साक्षी बनिन् ।

ख्रिस्टियन आस्थाले मानिसहरूलाई उद्‍देश्य, शान्ति र रूपान्तरण प्रदान गर्छ । साविक अपराधी, दुर्व्यसनी र टुटेका परिवारहरूले ख्रीष्टद्वारा निको भएको पाएका छन् । असन्तुष्टिको कारणले होइन तर सत्यताको कारणले तिनीहरूले येशूमा नयाँ जीवन पाएका हुन् । “यसकारण यदि कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो । पुरानो बितिगएको छ; हेर, नयाँ आएको छ” (२ कोरिन्थी ५:१७) ।

नेपालमा ख्रिस्टियनहरूको विरुद्धमा लगाइएका आरोपहरू गलतफहमी, डर वा गलत व्याख्याबाट उत्पन्न भएका छन् । तर येशू ख्रीष्टको व्यक्तित्वमा जरा गाडेको ख्रिस्टियन आस्थाले सबै मानिसका लागि सत्य, प्रेम र आशा प्रदान गर्दछ । पत्रुसको आग्रहलाई पालन गर्नुहोस्, “तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपुछ गरे त्‍यसको जबाफ दिन सधैँ तत्‍पर बस तर त्‍यो काम नम्रता र श्रद्धासाथ गर” (१ पत्रुस ३:१५) । नेपालका ख्रिस्टियनहरूलाई विश्वास गर्न मात्र होइन तर साक्षीको रूपमा बाँच्न, हरेक आरोपको सत्यता र प्रेमका साथ जबाफ दिन बोलाइएको छ । यसो गरेर तिनीहरूले संसारको अन्धकारमा ज्योति र नुन बनी ख्रीष्टको आज्ञा पूरा गर्छन् (मत्ती ५:१३-१६) ।

Facebook Comments

Powered by Youth Circle