१० शीर्ष ख्रिस्टियन वैज्ञानिक र तिनीहरूका योगदान

इतिहासभरि संसारका धेरै प्रभावशाली वैज्ञानिक भक्त ख्रिस्टियनहरू थिए जसले आफ्नो विश्वास र वैज्ञानिक अनुसन्धानबिच कुनै द्वन्द्व देखेनन् । प्राकृतिक संसारको अध्ययन गर्नु सृष्टिकर्ताको रचना बुझ्ने तरिका हो भनी तिनीहरू विश्वास गर्थे । यी ख्रिस्टियन वैज्ञानिकहरूले मानवीय ज्ञानलाई मात्र उन्नत गरेनन् तर विश्वास र तर्क कसरी सहअस्तित्वमा रहन सक्छन् भनेर पनि देखाए । यहाँ हामी त्यस्ता १० शीर्ष ख्रिस्टियन वैज्ञानिकको बारेमा चर्चा गर्ने छौँ ।

१. सर आइज्याक न्युटन (१६४३-१७२७)

सर आइज्याक न्युटनले भौतिक विज्ञान, गणित र खगोल विज्ञानमा आधारभूत योगदान दिए । गति र विश्वव्यापी गुरुत्वाकर्षणका नियमहरूबारे उनको बुझाइले मानवजातिले विश्व (अर्थात् युनिभर्स) लाई बुझ्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्यायो । न्युटनले क्याल्कुलस, प्रकाश र आकाशीय संयन्त्रको अध्ययनमा पनि महत्त्वपूर्ण प्रगति गरे । सापेक्षताको सिद्धान्त र क्वान्टम भौतिकीको आगमन नभएसम्म चुनौतीविहीन सिद्धान्तहरूको स्थापना गर्दै उनको वैज्ञानिक खोजले भावी वैज्ञानिक अनुसन्धानका लागि ढाँचा तयार पार्‍यो । न्युटनको प्रभाव गहिरो छ र उनलाई प्रायः सबै समयका एक महानतम वैज्ञानिक चिन्तक मानिन्छ ।

न्युटन एक गहन धार्मिक विश्वासका मानिस पनि थिए जसले विज्ञानभन्दा बाइबलको अध्ययनमा बढी समय समर्पित गर्थे । उनले विश्वलाई तर्कसङ्‍गत परमेश्वरको सृष्टिको रूपमा हेरे र उनी विज्ञान ईश्वरीय व्यवस्था बुझ्ने माध्यम हो भन्ठान्थे । उनले ईश्वरशास्त्र र बाइबलीय भविष्यवाणीबारे र विशेष गरी प्रकाशको पुस्तकबारे विस्तृत रूपमा लेखे । न्युटनले प्राकृतिक नियमहरूलाई परमेश्वरको इच्छाको अभिव्यक्तिको रूपमा हेरे र उनका वैज्ञानिक खोजहरू सृष्टिकर्ताको महिमा गर्ने माध्यम थिए ।

२. जोहानेस केप्लर (१५७१-१६३०)

जोहानेस केप्लर एक अग्रणी जर्मन खगोलशास्त्री तथा गणितज्ञ थिए जसले ग्रहको गतिका तीनवटा नियम पत्ता लगाए । उनको खोजले सूर्यवरिपरि ग्रहहरूको अण्डाकार कक्षलाई सठिक ढङ्‍गमा वर्णन गर्‍यो । यी नियम आइज्याक न्युटनको गुरुत्वाकर्षणको पछिल्ला सिद्धान्तका लागि महत्त्वपूर्ण बने । निकोलस कोपर्निकसले प्रस्ताव गरेको सूर्यकेन्द्रित सिद्धान्तलाई पुष्टि गरी केप्लरले खगोल विज्ञानमा एउटा नयाँ मोड ल्याए । उनले प्रकाश विज्ञानमा पनि योगदान दिए र टेलिस्कोप रचनामा सुधार गर्न मदत गरे ।

केप्लरको ख्रिस्टियन विश्वासले उनको वैज्ञानिक खोजमा गहिरो प्रभाव पारेको थियो । भक्त ख्रिस्टियनका रूपमा उनले खगोलको अध्ययनलाई ईश्वरीय बोलावटको रूपमा हेरे र सृष्टिलाई बुझ्नाले सृष्टिकर्ताको नजिक पुगिन्छ भनी विश्वास गरे । उनले आफ्नो वैज्ञानिक कार्यलाई अक्सर ईश्वरशास्त्रीय शब्दहरूमा वर्णन गरे र उनी परमेश्वरको विचारको खोजी गर्दै थिए ।

३. ग्रेगर मेन्डेल (१८२२-१८८४)

ग्रेगर मेन्डेल अस्ट्रियाली पादरी, वैज्ञानिक र आधुनिक आनुवंशिकीका पिता थिए । बगैँचामा मटरका बोटबिरुवाहरूका सूक्ष्म अध्ययन गरेपछि उनले उत्तराधिकारको आधारभूत नियमहरू पत्ता लगाए । उनको खोजले आनुवंशिकी क्षेत्रको जग बसाल्दै आमाबाबुबाट सन्तानमा गुणहरू कसरी सर्छन् भनेर व्याख्या गर्‍यो ।

मेन्डेलको ख्रिस्टियन विश्वास उनको पहिचान र पेसाको केन्द्रबिन्दु थियो । ख्रिस्टियन धर्मगुरुको रूपमा उनको जीवनले अनुशासन, प्रार्थना र सेवामा गहिरो गरी जरा गाडेको थियो । उनले आफ्नो वैज्ञानिक अनुसन्धानलाई आफ्नो धार्मिक जीवनबाट अलग नभई सृष्टिको सावधानीपूर्वक अध्ययनमार्फत परमेश्वरलाई सम्मान गर्ने माध्यमको रूपमा हेरे । विज्ञान र विश्वास दुबैप्रति भएको मेन्डेलको समर्पणले वैज्ञानिक खोज र धार्मिक प्रतिबद्धता कसरी सहअस्तित्वमा रहन सक्छन् भन्ने उदाहरण दिन्छ । उनको शान्त भक्ति र सत्यको खोजीले आज पनि विश्वासका वैज्ञानिकहरूलाई प्रेरित गरिरहेको छ ।

४. ब्लेज पास्कल (१६२३-१६६२)

ब्लेज पास्कल फ्रान्सेली गणितज्ञ, भौतिकशास्त्री, आविष्कारक र दार्शनिक थिए । उनले तरल पदार्थ, दबाब र शून्यताको अध्ययनमा प्रमुख योगदान दिए अनि सम्भाव्यता सिद्धान्तमा उनको खोजले आधुनिक तथ्याङ्क र निर्णयसम्बन्धी सिद्धान्तको जग बसालिदियो । पास्कलले प्रारम्भिक क्याल्कुलेटरको आविष्कार गर्नुका साथै ज्यामिति र बीजगणितमा महत्त्वपूर्ण योगदान दिए । उनका वैज्ञानिक खोज सैद्धान्तिक र व्यावहारिक गणित दुबैका लागि आधारभूत थिए ।

ख्रिस्टाब्द १६५४ मा पास्कलले गहिरो धार्मिक परिवर्तनको अनुभव गरे जसले उनको पछिल्लो जीवनमा उल्लेखनीय प्रभाव पार्‍यो । उनी समर्पित ख्रिस्टियन बने अनि आफूलाई ईश्वरशास्त्रीय चिन्तन र रक्षाशास्त्रमा समर्पित गरे । उनको मरणोपरान्त प्रकाशित ‘पेन्सिज’ नामक पुस्तक ख्रिस्टियन दर्शनको एउटा सबैभन्दा शक्तिशाली कृति हो । यसमा उनले ख्रिस्टियन विश्वासको बौद्धिक रूपमा प्रतिरक्षा गरेका छन् । परमेश्वरको अस्तित्वको पक्षमा प्रस्तुत ‘पास्कलको बाजी’ भन्ने तर्कले परमेश्वरमा विश्वास गर्नका लागि तर्कसङ्‍गत धारणा पेस गर्दछ । पास्कलका लागि विज्ञानले परमेश्वरको महानतालाई प्रकाश पार्‍यो भने विश्वासले मानवीय आत्माको गहन आवश्यकतालाई सम्बोधन गर्‍यो ।

५. माइकल फाराडे (१७९१-१८६७)

माइकल फाराडे एक भौतिकशास्त्री र रसायनशास्त्री थिए जसले विद्युतचुम्बकत्व र विद्युत रसायन विज्ञानमा अभूतपूर्व योगदान दिए । विद्युतचुम्बकीय प्रेरणाप्रति उनको खोजले आधुनिक प्रविधिका लागि आवश्यक विद्युतीय मोटर र जेनेरेटरको विकासमा अगुवाइ गर्‍यो । सीमित औपचारिक शिक्षाको बाबजुद पनि उनका प्रयोग र सञ्चारको स्पष्टताले जटिल वैज्ञानिक विचारलाई पहुँचयोग्य र व्यावहारिक बनाइदियो ।

फाराडे एक भक्त ख्रिस्टियन थिए र उनी मन्डलीका सदस्य थिए । उनको नम्रता, निष्ठा र अनुशासन उनको धार्मिक विश्वासमा जरा गाडिएका थिए । उनले आफ्नो विश्वाससँग बाझिने राजनीतिक र सामाजिक सम्मानहरू अस्वीकार गरे । प्रकृतिमा रहेको व्यवस्था र सुन्दरताले परमेश्वरको हस्तकलालाई प्रतिबिम्बित गर्दछ भनी उनी अक्सर भन्ने गर्थे । फाराडेको जीवनले आत्मिक भक्ति र वैज्ञानिक उत्कृष्टता सँगसँगै फस्टाउन सक्छन् भनेर देखाइदियो ।

६. जेम्स क्लर्क म्याक्सवेल (१८३१–१८७९)

जेम्स क्लर्क म्याक्सवेल स्कटल्यान्डका भौतिकशास्त्री थिए । उनी विद्युतचुम्बकीय विकिरणको सिद्धान्तको सूत्रका लागि परिचित थिए । अहिले म्याक्सवेलको समीकरणको रूपमा चिनिने उनका समीकरणहरूले बिजुली, चुम्बकत्व र प्रकाश एउटै घटकका फरक फरक स्वरूप हुन् भनेर देखाए । यी खोजले अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्तसहित आधुनिक भौतिकशास्त्रको अधिकांश भागका लागि आधार तयार पारे ।

म्याक्सवेलको ख्रिस्टियन विश्वास उनको पहिचानको केन्द्रबिन्दु थियो । भक्त ख्रिस्टियनको रूपमा उनी विश्वास गर्थे कि प्रकृतिको अध्ययन भनेको परमेश्वरलाई सम्मान गर्ने तरिका हो । ख्रिस्टियन कवितासमेत लेखेका उनी ईश्वरशास्त्रीय छलफलमा संलग्न भए र वैज्ञानिक खोजलाई भण्डारेको जिम्मेवारीको रूपमा हेरे । तर्कसङ्‍गत सृष्टिकर्तामाथि म्याक्सवेलको विश्वास थियो । आफ्नो व्यक्तिगत जीवन र व्यावसायिक प्रयास दुबैमा उनी आफ्नो विश्वास व्यक्त गर्थे ।

७. फ्रान्सिस कोलिन्स (जन्म १९५०)

फ्रान्सिस कोलिन्स आनुवंशिकीविद् हुन् । सम्पूर्ण मानव डिएनए अनुक्रमलाई सफलतापूर्वक नक्साङ्कन गर्ने मानव जिनोम परियोजनाको नेतृत्वका लागि उनी प्रख्यात छन् । उनको खोजले चिकित्सा, आनुवंशिकी र जैविक प्रविधिमा गहन प्रभाव पारेको छ । राष्ट्रिय स्तरको स्वास्थ्य संस्थानका निर्देशकका रूपमा काम गरेका उनले वैज्ञानिक नेतृत्व र नैतिक निष्ठाका लागि धेरै पुरस्कार हात गरेका छन् ।

कोलिन्स पहिले नास्तिक थिए । प्रभावशाली रक्षाशास्त्री सी.एस. लुइसका लेखहरू पढेपछि उनी ख्रिस्टियन भएका थिए । विश्वास र विज्ञानको अनुकूलताका लागि उनी जोसिला पक्षपोषक बने । ‘द ल्याङ्ग्वेज अफ गड’ नामक आफ्नो पुस्तकमा उनले वैज्ञानिक र विश्वासीको दृष्टिकोणमार्फत विश्वासको प्रमाण प्रस्तुत गरेका छन् । वैज्ञानिक खोजले विश्वासलाई खतरामा पार्नुको साटो यसलाई समृद्ध बनाउँछ भनी उनी जोड दिन्छन् । उनले विज्ञान र ख्रिस्टियन आस्थाबिचको संवादलाई प्रवर्धन गर्न ‘बायोलोगोस फाउन्डेसन’ स्थापना गरेका छन् जसले परमेश्वर र प्रकृतिको सामञ्जस्यपूर्ण दृष्टिकोणलाई बढावा दिन्छ ।

८. रोबर्ट बोयल (१६२७-१६९१)

रोबर्ट बोयल आधुनिक रसायन विज्ञानका अग्रणी थिए र उनी बोयलको नियमका लागि सबैभन्दा बढी परिचित छन् । यस नियमले ग्यासको दबाब र आयतनबिचको उल्टो सम्बन्धको वर्णन गर्दछ । उनको खोजले रसायन विज्ञानलाई आधुनिक वैज्ञानिक विधिमा रूपान्तरण गर्न मदत गर्‍यो । बोयलको जोडले रसायन विज्ञान र भौतिकशास्त्रमा भावी विकासका लागि आधार तयार पार्‍यो ।

भक्त ख्रिस्टियन बोयल वैज्ञानिक अनुसन्धान धार्मिक सेवाको एउटा रूप हो भनी विश्वास गर्थे । उनले बाइबल अनुवाद परियोजना र मिसनरी प्रयासहरूलाई आर्थिक सहयोग गरे अनि सुसमाचार फैलाउनु वैज्ञानिक प्रगति जत्तिकै महत्त्वपूर्ण छ भन्ने उनको विश्वास थियो । प्रकृतिको अध्ययन परमेश्वरको महिमा गर्ने एउटा तरिका हो भनी आफ्नो पुस्तकमा उनले तर्क गरेका छन् । बोयलले विश्वास र विज्ञानले एकअर्कालाई बलियो बनाउने कुरामा जोड दिए ।

९. आर्थुर कम्प्टोन (१८९२-१९६२)

कम्प्टोन प्रभावको खोजका लागि नोबेल पुरस्कार जितेका आर्थुर कम्प्टोन अमेरिकी भौतिकशास्त्री थिए । यस खोजले प्रकाशमा कण जस्तै गुणहरू हुन्छन् भनेर देखाएको थियो । यस खोजले क्वान्टम यान्त्रिकीको विकासमा महत्त्वपूर्ण भूमिका खेल्यो । उनले उन्नत एक्सरे प्रविधिमा पनि योगदान पुर्‍याएका थिए ।

कम्प्टोन समर्पित ख्रिस्टियन थिए । उनी अक्सर विज्ञान र विश्वासबिचको सामञ्जस्यको बारेमा कुरा गर्थे । वैज्ञानिक अनुसन्धानले परमेश्वरको सृष्टिमा अन्तर्दृष्टि प्रदान गर्दछ भनी उनी विश्वास गर्थे । प्राध्यापक र प्रशासकको रूपमा उनले विद्यार्थीहरूलाई बौद्धिक खोजी र नैतिक मूल्यमान्यता दुबैलाई पछ्याउन प्रोत्साहित गरे । कम्प्टोनले आफ्नो ख्रिस्टियन विश्वदृष्टि र आफ्नो वैज्ञानिक खोजबिच कुनै विरोधाभास देखेनन् ।

१०. वेर्नर हाइजनबर्ग (१९०१-१९७६)

वेर्नर हाइजनबर्ग जर्मन भौतिकशास्त्री थिए जसले क्वान्टम यान्त्रिकीको विकास गरे । उनको खोजले विद्यमान भौतिकशास्त्रलाई चुनौती दियो । हाइजनबर्गले भौतिकशास्त्रमा नोबेल पुरस्कार प्राप्त गरे र उनी बिसौँ शताब्दीका एक सर्वाधिक प्रभावशाली वैज्ञानिक थिए ।

हाइजनबर्गका धार्मिक विचार सैद्धान्तिकभन्दा बढी दार्शनिक थिए । उनले निरन्तर रूपमा सृष्टिकर्तामाथिको विश्वासको पुष्टि गरे । विश्वको रहस्य र सुन्दरताका लागि ईश्वरीय स्रोत नै प्रमाण हो भन्ने उनको ठम्याइ थियो । हाइजनबर्गले विज्ञान र धर्मले अस्तित्वका विभिन्न आयामलाई सम्बोधन गर्छन् भनी वकालत गरे । उनका अनुसार विज्ञानले ‘कसरी’ भनेर व्याख्या गर्छ भने धर्मले ‘किन’ किन भनेर व्याख्या गर्छ । पराभौतिकशास्त्र र अध्यात्ममा उनको प्रतिबिम्बले विज्ञान र विश्वासबिचको स्थायी संवादलाई जोड दिन्छ ।

कसरी परमेश्वरमाथिको विश्वास अभूतपूर्व वैज्ञानिक उपलब्धिहरूसँग सहअस्तित्वमा रहन सक्छ भनी यी दश वैज्ञानिकका जीवनीले उदाहरण दिन्छन् । उनीहरूका लागि वैज्ञानिक खोज विश्वासको अस्वीकार थिएन तर परमेश्वरको सृष्टिको गहन अन्वेषण थियो । ख्रिस्टियन आस्था र विज्ञान परस्पर विरोधी होइनन् तर सत्य र समझका लागि मानवीय खोजको यात्रामा साझेदार हुन् भनी उनीहरूका जीवनी र विरासतले शक्तिशाली साक्षी दिन्छन् ।

Facebook Comments

Powered by Youth Circle