धर्मले हजारौँ वर्षदेखि मानव इतिहास, संस्कृति, नैतिकता र विश्वदृष्टिलाई प्रभावित तुल्याएको छ । विश्वभरि अरबौँ मानिसले आफ्ना विश्वास र व्यवहारलाई निर्देशित गर्न आत्मिक मार्गहरू पछ्याउँछन् । यहाँ संसारका १० प्रमुख धर्मको बारेमा चर्चा गरिएको छ ।
१. ख्रिस्टियन धर्म
ख्रिस्टियन धर्म संसारको सबैभन्दा ठुलो धर्म हो । १५७ ओटा देश र अधीनस्थ क्षेत्रहरूमा ख्रिस्टियन आस्थाको बाहुल्यता रहेको छ । ३१ प्रतिशत जनसङ्ख्या रहेको यो धर्म संसारका प्राय: सबै महादेशमा अग्रस्थानमा छ । युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका जस्ता महादेशहरू अनि ओसिनियाका १६ ओटै देशमा ख्रिस्टियनहरूको बाहुल्यता रहेको छ । एसिया मात्र यस्तो महादेश जहाँ ख्रिस्टियान जनसङ्ख्या न्युन छ यद्यपि हाल यहाँ व्यापक रूपमा यसका अनुयायीहरू बढिरहेका छन् । यो प्रभु येशू ख्रीष्टको जीवन, मृत्यु र पुनरुत्थानमा केन्द्रित छ जो परमेश्वरका पुत्र र मुक्तिदाता हुनुहुन्छ । यो ख्रिस्टाब्द पहिलो शताब्दीमा मध्यपूर्वको प्राचीन प्यालेस्टाइनमा सुरु भएको थियो । यो एसियाली धर्म हो । ख्रिस्टियनहरू त्रिएक परमेश्वर अर्थात् पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वरमा विश्वास गर्छन् । तीन व्यक्तित्व तर एक परमेश्वरमाथिको विश्वास ख्रिस्टियनहरूको मुख्य विश्वास हो । यस आस्थाको धर्मशास्त्र पवित्र बाइबल हो । प्रेम, अनुग्रह, क्षमा र ख्रीष्टमाथिको विश्वासद्वारा प्राप्त हुने अनन्त जीवन यसका मुख्य शिक्षाहरूमा पर्छन् । यो विश्वव्यापी रूपमा फैलिएको छ । क्याथोलिक, ग्रिक अर्थोडक्स र प्रोटेस्टेन्ट गरी यसका तीन प्रमुख शाखा हुन् । यस आस्थानुसार येशूमा विश्वास गरेपछि अनुग्रहद्वारा मुक्ति पाइन्छ (एफिसी २:८-९) ।
२. इस्लाम धर्म
ख्रिस्टाब्द सातौँ शताब्दीमा इस्लाम धर्मको स्थापना भएको थियो । साउदी अरबमा पैगम्बर मुहम्मदले यसको थालनी गरेका थिए । मुस्लिमहरू एक ईश्वर अल्लाहमा विश्वास गर्छन् र मुहम्मदलाई आफ्ना अन्तिम अगमवक्ताको रूपमा हेर्छन् । कुरान इस्लामको पवित्र पुस्तक हो जसलाई ईश्वरको शाब्दिक वचन मानिन्छ । विश्वासको घोषणा, प्रार्थना, उपवास, दान र मक्कातर्फको तीर्थयात्रा इस्लामका पाँच स्तम्भ हुन् । इस्लामले न्यायको दिनमा परमेश्वरको इच्छा, नैतिक जीवन र जबाफदेहिताप्रतिको समर्पणलाई जोड दिन्छ । यसले मोसा र येशू जस्ता पहिलेका अगमवक्ताहरूलाई सम्मान गर्छ तर मुहम्मदलाई आखिरी अगमवक्ता मान्छ । सुन्नी र सिया गरी यसका दुईवटा मुख्य शाखा छन् ।
३. हिन्दु धर्म
हिन्दु धर्म संसारका पुराना धर्महरूमध्ये एक हो । करिब ३,५०० वर्षअगि भारतीय उपमहाद्वीपमा यसको विकास भएको थियो भनी मानिन्छ । यसको कुनै एकल संस्थापक छैन र यसले विश्वासको विशाल दायरालाई अँगालेको छ । हिन्दुहरू ब्रह्मा, विष्णु, महेश जस्ता धेरै देवीदेवतामा विश्वास गर्छन् । यस धर्ममा ब्रह्मालाई सर्वोच्च वास्तविकता मानिन्छ । यसको धर्मशास्त्रको नाम वेद हो भने श्रीभद्भागत, रामायण, महाभारत, उपनिषद् र पुराणहरू पवित्र पुस्तकअन्तर्गत पर्छन् । कर्म, धर्म, पुनर्जन्म यसका केन्द्रीय अवधारणा हुन् र पुनर्जन्मबाटको छुटकारालाई मोक्ष (अर्थात् मुक्ति) को रूपमा लिइन्छ । पूजा, ध्यान र अनुष्ठानहरू महत्त्वपूर्ण अभ्यास हुन् । यस धर्ममा मुक्ति अर्थात् मोक्ष प्राप्त गर्नका लागि मूलत: भक्ति मार्ग, ज्ञान मार्ग र कर्म मार्ग गरी तीनवटा मार्ग छन् । हिन्दु धर्ममा अनेक सम्प्रदाय भए तापनि तिनलाई मूलत: वैष्णव, शैव, शक्ति र स्मार्ट गरी चारवटामा विभाजन गर्न सकिन्छ ।
४. बौद्ध धर्म
छैटौँ शताब्दी ख्रिस्टपूर्वमा बौद्ध धर्मको स्थापना भएको थियो । यो सिद्धार्थ गौतमद्वारा नेपालमा सुरु भएको धर्म हो । यसका मुख्य शिक्षाहरूलाई चारवटा सत्यतामा सारांशमा ल्याउन सकिन्छ : (१) जीवन दुःखकष्टले भरिएको छ । (२) अज्ञानताको कारण दुःखकष्ट आउँछ । (३) अज्ञानतामाथिको विजयद्वारा दुःखकष्टमाथि जित हासिल गर्न सकिन्छ । (४) अज्ञानतामाथि विजय प्राप्त गर्न यी आठवटा कदम पछ्याइनुपर्छ : ठिक दृष्टि, ठिक मनसाय, ठिक बोली वचन, ठिक जीवनयापन, ठिक प्रयास, ठिक मन, ठिक कार्य र ठिक ध्यान । बुद्धिस्टहरूले सृष्टिकर्ताको पूजा गर्दैनन् तर आन्तरिक शान्ति, दया र सजगतामा ध्यान केन्द्रित गर्छन् । यसको धर्मशास्त्रलाई त्रिपिटक भनिन्छ जसमा विनय पिटक, सुत्र पिटक र अभिधर्म पिटक पर्छन् । बौद्ध धर्मले दुखलाई पार गर्न र ज्ञान प्राप्त गर्न नैतिक जीवन, ध्यान र मानसिक अनुशासनमा जोड दिन्छ । महायाना, थेरावादा, वज्रयाना बौद्ध धर्मका तीनवटा मुख्य विभाजन हुन् ।
५. सिख धर्म
सिख धर्म पन्धौँ शताब्दीमा भारतको पञ्जाबबाट सुरु भएको थियो । गुरु नानक यसका संस्थापक हुन् । यो एकेश्वरवादी धर्म हो अर्थात् सिखहरू एक ईश्वरमा विश्वास गर्छन् जो निराकार, पूर्णत: दयालु र सबैका लागि पहुँचयोग्य छन् । यसको धर्मशास्त्रको नाम गुरु ग्रन्थ साहिब हो । यस पवित्र धर्मग्रन्थमा गुरुहरू र अन्य सन्तहरूको शिक्षा समावेश छ । सिख धर्मले समानता, इमानदारी, सेवा र ईश्वरप्रतिको भक्तिलाई जोड दिन्छ । मुख्य अभ्यासहरूमा दैनिक प्रार्थना, सामुदायिक सेवा र विश्वासका ५ प्रतीक पर्दछन् । सिखहरू मूर्तिपूजा र अनुष्ठानहरूलाई अस्वीकार गर्छन् । तिनीहरू सत्यवादी, अनुशासित जीवन, आत्मिक भक्तिलाई सक्रिय, इमानदार जीवनसँग मिसाउने लक्ष्य राख्छन् ।
६. यहुदी धर्म
यहुदी धर्मले परमेश्वर र अब्राहामबिचको करारमा जरा गाडेको छ । अब्राहामलाई यसको संस्थापक मानिन्छ । यो लगभग २००० ख्रिस्टपूर्वमा सुरु भएको थियो । परमेश्वरले मोसाद्वारा लिखित वचन दिनुभएपछि यस धर्मले आकार लिएको थियो । यहूदी धर्मको उत्पत्ति मध्यपूर्वको कनानमा भएको थियो जुन भूभाग हाल आधुनिक इजरायल र प्यालेस्टिनी क्षेत्रहरूले ओगटेका छन् । यसको धर्मशास्त्रलाई तानाक भनिन्छ । ख्रिस्टियन धर्मशास्त्र बाइबलको पुरानो करार र तानाक सामीप्य रूपमा सम्बन्धित भए तापनि ठ्याक्कै उस्तै भने होइनन् । यहुदीहरूले एक सार्वभौम परमेश्वरमा विश्वास गर्छन् र तानाकमा दिइएको उहाँको व्यवस्था पालना गर्न खोज्छन् । यहुदी धर्मले आराधना, नैतिक आचरण र परमेश्वरका कामहरूको सम्झनालाई जोड दिन्छ । प्रमुख अभ्यासहरूमा सबाथ, भोजनसम्बन्धी व्यवस्था, निस्तार चाड र योम किप्पुर (अर्थात् प्रायश्चित्तको दिनको चाड) जस्ता चाडपर्वहरू समावेश छन् । यहुदी धर्म मसिहाको आगमन र इजरायलको पुनर्स्थापनाको पर्खाइमा छ ।
७. बहाई धर्म
बहाई धर्म १८४४ मा फारस (हाल इरान) मा सुरु भएको थियो । यसका संस्थापक बहाउल्लाह हुन् । यसले सबै धर्मको एकतालाई जोड दिन्छ । परमेश्वरले अब्राहाम, कृष्ण, मोसा, बुद्ध, येशू, मुहम्मद र बहाउल्लाह जस्ता सन्देशवाहकहरूद्वारा क्रमशः आफ्नो इच्छा प्रकट गर्नुहुन्छ भनी यस धर्मले विश्वास गर्छ । बहाउल्लाहद्वारा लिखित ‘सर्वाधिक पवित्र पुस्तक’ नामक रचना यसको धर्मशास्त्र हो । बहाईहरू एक ईश्वर, मानवताको एकता र विश्वव्यापी शान्तिमा विश्वास गर्छन् । तिनीहरू पुरुष र महिलाको समानता, विज्ञान र धर्मको सद्भाव र पूर्वाग्रहको उन्मूलनलाई बढावा दिन्छन् । बहाईहरूको कुनै पादरी हुँदैनन् अनि पूजा, अध्ययन र सामुदायिक सेवाका लागि आत्मिक सभाहरूमा भेला हुन्छन् ।
८. जैन धर्म
छैटौँ शताब्दी ख्रिस्टपूर्वमा प्राचीन भारतमा जैन धर्मको सुरुआत भएको थियो । यसका संस्थापक महावीर हुन् । यसले सबै जीवित प्राणीमा अहिंसा, सत्य, ब्रह्मचार्य र अलगावलाई जोड दिन्छ । जैनहरू कर्म र पुनर्जन्ममा विश्वास गर्छन् अनि मोक्षको लक्ष्य राख्छन् । कुनै सृष्टिकर्ता देवता छैन, विश्व शाश्वत र आत्म नियमनकारी छ । आगम जैन धर्मको धर्मशास्त्र हो । यसका अनुयायीहरू प्रायः कडा शाकाहार र तपस्वीको अभ्यास गर्छन् । जैन भिक्षु र भिक्षुणीहरू चरम अनुशासनका साथ बाँच्छन् जबकि सामान्य अनुयायीहरू भने नैतिक रूपमा बाँच्न खोज्छन् । करुणा, संयम र आत्मिक आत्मसंयम जैन धर्मको मुटुमा छन् ।
९. सिन्टो धर्म
सिन्टो जापानको आदिवासी धर्म हो र यसको कुनै एकल संस्थापक छैन । यो प्रकृति, पुर्खाहरू र पवित्र स्थानहरूमा पाइने आत्माहरूको पूजामा केन्द्रित छ । सिन्टोले शुद्धता, अनुष्ठान र प्राकृतिक संसारसँगको सद्भावलाई जोड दिन्छ । अन्य धर्महरूमा जस्तै सिन्टोमा कुनै एकीकृत धर्मशास्त्र छैन यद्यपि कोजिकी (प्राचीन मामिलाहरूको अभिलेख) र निहोन सोकी (जापानको इतिहास) जस्ता ग्रन्थलाई आधारभूत मानिन्छ । तीर्थस्थल सिन्टो पूजाको केन्द्रबिन्दुमा पर्छ जहाँ अनुष्ठान, भेटी र चाडपर्वहरूले ईश्वरीय शक्तिहरूको सम्मान गर्छन् । जापानी संस्कृतिमा सिन्टो प्रायः बौद्ध धर्मसँग सहअस्तित्वमा रहेको पाइन्छ । अब्राहामीय धर्महरूमा जस्तै पाप र मुक्तिको अवधारणाको अभाव भए पनि यो सन्तुलन र सम्मानमा बाँच्नमा केन्द्रित छ ।
१०. ताओ धर्म
ताओ धर्म छैटौँ शताब्दी ख्रिस्टपूर्वमा चीनमा सुरु भएको थियो । यसका संस्थापक लाओत्सु हुन् । यसको धर्मशास्त्रको नाम ताओ ते चिङ्ग हो । ताओ धर्मले सरलता, नम्रता, दया र प्रकृतिसँग सन्तुलनमा बाँच्नलाई बढावा दिन्छ । यसले जबरजस्ती नियन्त्रणलाई अस्वीकार गर्दछ र सहजतालाई प्रोत्साहित गर्दछ । ताओ धर्मावलम्बीहरूले देवताहरूको पूजा गर्न सक्छन् । यसको लक्ष्य आत्मिक सद्भाव हो, पापबाट मुक्ति होइन । ताओ धर्मले चिनियाँ संस्कृति, चिकित्सा, कला र राजनीतिमा गहिरो प्रभाव पारेको छ अनि रहस्यवाद, दर्शन र लोक विश्वासलाई व्यावहारिक जीवन शैलीमा मिसाएको छ ।
यी १० ओटै धर्म एसियमा सुरु भए तापनि यी सिद्धान्त, अभ्यास र सैद्धान्तिक प्रणालीमा फरक फरक छन् । तथापि यी सबैले जीवनका गहन विषयहरू अर्थात् उद्देश्य, नैतिकता, मृत्युपछिको जीवन र परमेश्वरको बारेमा सम्बोधन गर्ने प्रयास गर्छन् । तिनीहरूलाई बुझ्नाले पारस्परिक सम्मानलाई बढावा दिन्छ, शान्तिपूर्ण सहअस्तित्वलाई प्रोत्साहन गर्छ र सत्यमा विचारशील चिन्तनलाई आमन्त्रित गर्छ ।
ख्रिस्टियन दृष्टिकोणबाट हेर्दा यस किसिमको विविधताले संवाद, तुलना र अन्ततः येशू ख्रीष्टको सुसमाचारको प्रस्तुतीकरणका लागि ढोका खोल्न सक्छ जसले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ । मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन” (युहन्ना १४:६) ।
क्र.सं. | धर्म | संस्थापक | स्थापना समय | उत्पत्ति भएको देश | धर्मशास्त्र | जनसङ्ख्या (करिब) | विश्व जनसंख्याको प्रतिशत | बाहुल्यता रहेका देश र अधीनस्थ क्षेत्रहरूको सङ्ख्या | मुख्य शिक्षाहरू |
१ | ख्रिस्टियन धर्म | येशू ख्रीष्ट | ख्रिस्टाब्द पहिलो शताब्दी | प्राचीन प्यालेस्टाइन (हाल इजरायल) | बाइबल | २ अरब ४० करोड | ३१% | १५७ | त्रिएकता, येशूद्वारा उद्धार, प्रेम, अनुग्रह, अनन्त जीवन |
२ | इस्लाम धर्म | पैगम्बर मुहम्मद | ख्रिस्टाब्द सातौँ शताब्दी | साउदी अरब | क़ुरान | १ अरब ९० करोड | २४% | ४९ | अल्लाह, पाँच स्तम्भ, समर्पण, स्वर्ग, न्याय |
३ | हिन्दु धर्म | कुनै एकल संस्थापक छैन | २०००–१५०० ख्रिस्टपूर्व | भारतीय उपमहाद्वीप | वेद | १ अरब २० करोड | १५% | ३ (भारत, नेपाल र मौरिसस) | कर्म, धर्म, पुनर्जन्म, मोक्ष, बहुदेव उपासना |
४ | बौद्ध धर्म | सिद्धार्थ गौतम (बुद्ध) | पाँचौँ शताब्दी ख्रिस्टपूर्व | नेपाल | त्रिपिटक | ५० करोड | ६% | १० | चारसत्य, आठ मार्ग, निर्वाण, करुणा, अहिंसा |
५ | सिख धर्म | गुरु नानक | ख्रिस्टाब्द पन्ध्रौँ शताब्दी | भारतको पन्जाब | गुरु ग्रन्थ साहिब | साढे २ करोड | ०.३% | छैन | एक परमेश्वर, समानता, सेवा, इमानदारी, आत्मानुशासन |
६ | यहुदी धर्म | अब्राहाम | २००० ख्रिस्टपूर्व | कनान | तानाक | साढे १ करोड | ०.२% | १ (इजरायल) | एक परमेश्वर, करार, व्यवस्था, न्याय, मसिहाको अपेक्षा |
७ | बहाई धर्म | बहाउल्लाह | ख्रिस्टाब्द उन्नाइसौँ शताब्दी | फारस (हाल इरान) | सर्वाधिक पवित्र पुस्तक | ९० लाख | ०.१% | छैन | मानव एकता, शान्ति, समानता, प्रगतिशील प्रकाशन |
८ | जैन धर्म | महावीर | छैटौँ शताब्दी ख्रिस्टपूर्व | भारत | आगम | ४५ लाख | <०.१% | छैन | अहिंसा, सत्य, कर्म, वैराग्य, आत्मसंयम |
९ | सिन्टो धर्म | कुनै एकल संस्थापक छैन | ५०० ख्रिस्टपूर्वभन्दा पहिले | जापान | कोजिकी र निहोन सोकी | ३५ लाख | <०.१% | १ (जापान) | आत्मा पूजा, अनुष्ठान, शुद्धता, प्रकृति, पूर्वजको सम्मान |
१० | ताओ धर्म | लाओत्सु | छैटौँ शताब्दी ख्रिस्टपूर्व | चीन | ताओ ते चिङ्ग | ३० लाख | <०.१% | छैन | ताओसँग सन्तुलन, सरलता, प्रकृतिअनुसार जीवन, हस्तक्षेप नगर्ने नीति |