बाइबलका ४ ओटा अद्वितीय पक्ष

संसारमा विभिन्‍न धर्महरू र तिनीहरूका आआफ्नै धर्मशास्‍त्रहरू छन् । तर ख्रीष्‍टियानहरूको धर्मशास्‍त्र बाइबल अन्य सबै धर्मशास्‍त्रमध्ये विभिन्‍न क्षेत्रमा अद्वितीय छ । अद्वितीय शब्दको अर्थ हुन्छ, “अरू कुनै पनि यसको दाँजोमा नआउने ।” उचाइको दृष्‍टिकोणबाट सगरमाथा अद्वितीय छ भन्दा सगरमाथाजत्तिको अग्लो शिखर कुनै छैन भन्‍ने अर्थ लाग्छ । यस आलेखमा तपाईंले बाइबलका ४ ओटा अद्वितीय पक्षलाई पढ्नुहुने छ ।

१. बाइबलको प्रचार-प्रसार
बाइबलको प्रचार-प्रसारको विषयमा गिनिज वर्ल्ड रिकर्डसमा यसरी लेखिएको छ, “वास्तविक तथ्याङ्क प्राप्‍त गर्न असम्भव भए तापनि बाइबल संसारमा सबैभन्दा बेसी बिक्री भएको र सबैभन्दा व्यापक रूपमा वितरण भएको पुस्तक हो भन्‍ने कुरामा थोरै मात्र आशङ्का छ । बाइबल सोसाइटीले गरेको सर्वेक्षणले निष्कर्ष निकालेको थियो, कि ख्रिस्टाब्द १८१५-१९७५ सम्ममा साढे दुई अरब प्रति बाइबल छापिएको थियो, तर हालैको अनुमानले त्यो सङ्ख्यालाई ५ अरब पुर्‍याएको छ ।”
संसारमा सबैभन्दा बढी प्रचार-प्रसार हुने पुस्तकको नाम हो, बाइबल । बिक्री वितरण र प्रचार-प्रसारमा बाइबल साँच्‍चै नै अद्वितीय छ । मानव इतिहासको अनुवाद, प्रतिलिपि, छपाइसाथै वितरणमा अन्य कुनै पुस्तक बाइबलको तुलनामा आएको छैन ।
युनाइटेड बाइबल सोसाइटीले ख्रिस्टाब्द १९९८ सम्ममा धर्मशास्‍त्रको अंशसाथै छनोटलाई जोड्दा ५ अरब ८५ करोड बाइबलका प्रतिहरूलाई वितरण गरेको थियो । गिदोन इन्टरनेसनल नामक संस्थाले मात्रै हालसम्म झन्डै २ अरब बाइबल वितरण गरिसकेको छ । हालसम्म पूरै बाइबल, नयाँ करार वा बाइबलका अंशहरू लगभग ७ अरबभन्दा बेसी बिक्री–वितरण भएको छ भनी अनुमान गरिएको छ ।

२. बाइबलको अनुवाद
कुनै विषयलाई एक भाषाबाट अर्को भाषामा गरिने रूपान्तरलाई नै अनुवाद भनिन्छ । हिब्रू, आरमेइक र ग्रिक गरी बाइबललाई तीनवटा मूल भाषामा लेखिएको थियो, तर आज हजारौँ भाषामा बाइबलको वचन उपलब्ध छ ।
संसारमा सबैभन्दा बेसी भाषाहरूमा अनुवाद गरिएको पुस्तक हो— बाइबल । संसारमा बोलिने लगभग ७,००० ओटा भाषामध्ये अक्टोबर २०१७ सम्ममा पूरै बाइबललाई ६७० ओटा भाषामा, नयाँ करारलाई १,५२१ ओटा भाषामा र यसका अंशहरूलाई थप १,१२१ ओटा भाषामा अनुवाद गरिएको छ । यसरी, बाइबलको कुनै न कुनै अंशलाई कम्तीमा पनि ३,३१२ ओटा भाषामा अनुवाद गरिएको छ । यो भनेको लगभग ४७% भए तापनि संसारका ९०% भन्दा बढी जनसङ्ख्याले पूरै बाइबल या यसका अंशहरूलाई आफ्नै भाषामा पढ्न पाएका छन् ।
मानिसहरूले आफ्नै भाषामा धर्मशास्‍त्रलाई पढ्न पाउनुपर्छ भन्‍ने चौधौँ शताब्दीका बाइबल अनुवादक जोन विक्लिफको सपना परमेश्‍वरले केही दशकभित्र पूरा गर्दै हुनुहुन्छ भनी अपेक्षा गर्न सकिन्छ ।

३. बाइबलको अविनाशिता
संसारमा सबैभन्दा बेसी सतावट भोग्‍ने पुस्तक हो— बाइबल । मानव इतिहासमा यसको निर्मूलनको लागि हर सम्भाव्य प्रयास गरिएको थियो । सबै ओहोदाका मानिसहरू यसको विरुद्धमा खनिएका थिए: तानाशाह, सम्राट्, पोप, राजा, राजकुमार, पुजारी, शासक, लेखक, व्यङ्ग्यकार आदि । तथापि ती सबै पृथ्वीको धुलोमा मिसिएर गए, तर बाइबल अविनाशी छ । यसको उन्मूलनको लागि मानिसको हरेक युक्तिका बाबजुत पनि हाम्रो भूगोल र हाम्रो समयमा यसको उपलब्धता यसको अर्को एउटा अद्वितीय पक्ष हो ।

बाइबलले जतिसुकै खेदो सहनुपरे पनि बाइबलप्रति भएको मानिसहरूको प्रेमलाई बर्नाड र्‍याम लेख्छन्, कि बाइबललाई जस्तै “अरू कुनै पुस्तकलाई टुक्रा-टुक्रा पारिएको छैन, चक्कु रोपिएको छैन, छानिएको छैन, जाँच-पडताल गरिएको छैन, निन्दा गरिएको छैन । … [तथापि] बाइबललाई अझै पनि दसौँ लाखले प्रेम गर्छन्, दसौँ लाखले पढ्छन् र दसौँ लाखले अध्ययन गर्छन् ।”

ख्रीष्‍टियान धर्मलाई निमिट्ट्यान्‍न पार्ने चुनौती दिने भोल्टेयर, बाइबलको विश्‍वसनीयतालाई नष्‍ट गर्न खोज्ने प्रोफाइरी, बाइबललाई उपहासमा उडाउने लुसियन, बाइबललाई निर्मूल पार्न खोज्ने डायोक्लिसन, पन्ध्र वर्षमा बाइबललाई मुर्दा घरमा पुर्‍याइदिन्छु भनी हाँक दिने रोबर्ट इङ्गरसोल सबै नै इतिहासमा मरेर गए, तर बाइबल यसका आशिष्‌हरूलाई लिएर संसारको चारैतिर परिक्रमा गर्दै छ ।

४. बाइबलको भविष्यवाणी
बाइबलमा हामी अचूक रूपमा पूरा भएका कैयौँ भविष्यवाणीहरू पाउँछौँ । बाइबलका भविष्यवाणीहरू एउटै पनि त्रुटिपूर्ण छैन । बाइबल परमेश्‍वरको वचन हो भन्‍नाका लागि पूरा भएका भविष्यवाणीहरू एउटा दृढ साक्षी हो । अन्य पुस्तकको विपरीत बाइबलमा सैयौँ वर्ष अगाडि बताइएका विशिष्‍ट भविष्यवाणीहरू पाइन्छन् । भविष्यवाणी उल्लिखित मात्रै छैनन्, तर समय आइपुगेपछि अचूक रूपमा पूरा पनि भएका छन् ।

बाइबलमा १८१७ ओटा अगमवाणी पाइन्छन् जसमध्ये पुरानो करारमा १२३९ र नयाँ करारमा ५७८ ओटा छन् । पूरै बाइबलको २७ प्रतिशत भागले अगमवाणीलाई ओगटेको छ । यो भनेको बाइबलको एक-चौथाईभन्दा बढी खण्ड भविष्यवाणीसँग सम्बन्धित हुनु हो । संसारको अन्य कुनै पुस्तक यस्तो छैन ।
बाइबलका कैयौँ भविष्यवाणीहरू जस्ताको तस्तै पूरा भइसकेका छन्, केही पूरा हुँदै छन् भने कैयौँ पूरा हुन बाँकी नै छन् ।

निष्कर्षमा बाइबल संसारका अन्य सबै धर्मशास्‍त्रसाथै पुस्तकहरूभन्दा निम्‍न लिखितसाथै अन्य मनग्गे क्षेत्रहरूमा अद्वितीय छः
१. प्रचार-प्रसारमा बाइबल अद्वितीय छ ।
२. अनुवादमा बाइबल अद्वितीय छ ।
३. अविनाशितामा बाइबल अद्वितीय छ ।
४. भविष्यवाणीमा बाइबल अद्वितीय छ ।

Facebook Comments

Powered by Youth Circle