जर्ज बर्नाड साले लेखे, “ग्यालिलियो एक सहिद थिए र तिनलाई सतावट गर्नेहरू नसुध्रने अज्ञानी मानिसहरू ।”[i] ग्यालिलियोको मुद्दासित बाइबललाई मुछी लेखक प्याट्रिक मुरेले बताए, “बाइबलका केही खण्डहरू [सूर्य–केन्द्रित] सिद्धान्तसित मेल नखाएकाले रोमन क्याथोलिक मण्डली ग्यालिलियोमाथि खनियो । परिणामस्वरूप गरिब ग्यालिलियोले प्रायजसो आफ्नो जीवन मण्डलीसितको खुला सङ्घर्षमा बिताए ।”[ii] बाइबल र ग्यालिलियोको विचार बाझेकोले मण्डलीले ग्यालिलियोलाई सताएको थियो भन्ने अवधारणा नेपाली कलमसम्म आइपुगेको छ । चर्चद्वारा औधी सताइएका वैज्ञानिक ग्यालिलियो ग्यालिली शीर्षकअन्तर्गत तुल्सीदास महर्जनले आरम्भमा नै व्यङ्ग्य गरेका छन्, “के ईश्वरले गल्ती गर्छन् र ? ‘अहँ, गर्दैनन् ।’ ‘बाइबलले झुठ बोल्छ ?’ ‘ओहो! त्यस्तो पनि हुन्छ र ? बाइबलले झुठ बोल्नै सक्दैन ।’ ‘अनि, बाइबलले स्वीकारेको झुठ सत्य हुन्छ र ?’”[iii]
ग्यालिलियो र मण्डलीबिच भएको द्वन्द्वलाई धर्म र विज्ञानबिचको कलहको रूपमा प्रायः अपव्याख्या गरिएको छ । बाइबलले पृथ्वी–केन्द्रित सिद्धान्तलाई सिकाउँथ्यो र ग्यालिलियोले यसको विपरीत सूर्य–केन्द्रित सिद्धान्तलाई सिकाएकाले ग्यालिलियोमाथि मण्डलीले अत्याचार गरेको थियो भन्ने भ्रम फैलिएको छ । पृथ्वी केन्द्रमा छ र सूर्यलगायत अन्य ग्रहसाथै उपग्रहहरूले पृथ्वीको परिक्रमा गर्छन् भन्ने सिद्धान्तलाई पृथ्वी–केन्द्रित सिद्धान्त भनिन्छ । सूर्य केन्द्रमा छ र पृथ्वीलगायत अन्य ग्रहसाथै उपग्रहहरूले सूर्यको परिक्रमा गर्छन् भन्ने सिद्धान्तलाई सूर्य–केन्द्रित सिद्धान्त भनिन्छ ।
ग्यालिलियोको मुद्दालाई बुझ्न हामी धेरै पुरानो इतिहासमा फर्कनुपर्ने हुन्छ । प्राचीन ग्रिसका एक असाधारण वैज्ञानिक अरस्तु (३८४–३२२ ख्रिस्टपूर्व) ले पृथ्वी–केन्द्रित सिद्धान्तलाई सिकाएका थिए । मान्छेहरूले यसलाई एउटा स्थापित सत्यताको रूपमा हेर्न थाले । तिनको यस अवधारणालाई क्लेमेन्ट र ओरिगेनजस्ता प्रारम्भिक चर्चित ख्रीष्टियान लेखकहरूले बाइबलसँग मिलाउने प्रयत्न गरे । यी लेखकद्वय जत्तिकै परसम्म नगए तापनि प्रारम्भिक मण्डलीका एक महत्त्वपूर्ण स्रष्टा अगस्टिन (ख्रिस्टाब्द ३५४–४३०) ले पनि यस नयाँ पद्धतिलाई अङ्गीकार गरे । अगस्टिनको कलमले दर्शन, संस्कृति र ईश्वरशास्त्रलाई एक आपसमा छुट्ट्याउनै नसकिने गरी गाँसिदियो । क्याथोलिक मण्डलीले परम्परालाई पनि लिखित धर्मशास्त्रसरह नै आधिकारिक ठान्ने भएकोले त्यस अवधारणाको परिवर्तन असम्भव भयो । अन्ततोगत्वा, अगस्टिनमा रोपिएको जरा तेर्हौँ शताब्दीका प्रभावशाली ईश्वरशास्त्री थोमस अक्विनासमा पूर्ण कोपिलाको रूपमा देखा पर्यो ।
तर सोर्हौँ शताब्दीमा पोल्यान्डका वैज्ञानिक निकोलस कोपरनिकसले ठिक विपरीत अवधारणा अगि सारे । तिनको विचारमा पृथ्वी नभई सूर्य सौर्य प्रणालीको केन्द्रमा छ र अन्य ग्रहसाथै उपग्रहहरूले सूर्यको परिक्रमा गर्छन् । तिनले पृथ्वी–केन्द्रित शिक्षाको विपरीत सूर्य–केन्द्रित शिक्षाको वकालत गरे । ख्रिस्टाब्द १६१० मा इटालीका विश्वविख्यात वैज्ञानिक ग्यालिलियो ग्यालिलीले ४६ वर्षको उमेरमा पहिलो पटक दूरदर्शक यन्त्रको आविष्कार गरे । तिनले पत्ता लगाएका तथ्यहरूले अरस्तुले बुझेका सौर्य प्रणालीका जगहरू हल्लाइदिए । कोपरनिकसले अगाडि सारेका सूर्य–केन्द्रित सिद्धान्तलाई ग्यालिलियोले गणितीयसाथै व्यावाहारिक तथ्यहरूद्वारा पुष्टि गरिदिए । यसरी सत्रौँ शताब्दीमा आइपुग्दा क्याथोलिक मण्डलीले अङ्गीकार गरेको अरस्तुको पृथ्वी–केन्द्रित सिद्धान्त र ग्यालिलियोले तथ्यहरूद्वारा प्रमाणित गरेका सूर्य–केन्द्रित सिद्धान्तमा स्पष्ट बेमेलता देखियो ।
क्याथोलिक मण्डलीले ग्यालिलियोको क्रान्तिकारी अवधारणालाई पचाउन सकेन र उसले ७० वर्षको वृद्ध ग्यालिलियोलाई रोमको धार्मिक अदालतमा खडा गरायो र पृथ्वीले सूर्यलाई घुम्छ भन्ने विश्वासलाई त्याग गर्न लगायो । यस विषयमा प्रचारप्रसार नगर्न कबुल गराइयो । तत्कालीन पादरीहरूले तिनका पुस्तकहरू पढ्न र पढाउन प्रतिबन्ध लगाए । तिनलाई अनिश्चतकालसम्म नजरबन्दमा राखियो । वैज्ञानिक खोज र पुस्तक लेखनमा कडा रोक लगाइयो । पछि ७७ वर्षको उमेरमा ख्रिस्टाब्द १६४२ मा ग्यालिलियो यस धरतीबाट बिदा भए ।
यसरी क्याथोलिक धर्मान्धहरूको डरलाग्दो त्रुटिको कारण एउटा सच्चा अन्वेषक सताइनुपर्यो । पछिल्ला नयाँ–नयाँ आविष्कारहरूले पनि कोपरनिकसको सूर्य–केन्द्रित सिद्धान्तलाई निरन्तर रूपमा पुष्टि गर्दै गए । अन्तत: क्याथोलिक मण्डली पराजित भयो र १९८१ मा उसले पहिलो पटक ग्यालिलियोमाथि आफूले गरेको अत्याचारको सार्वजनिक रूपमा माफी माग्यो ।
क्याथोलिक मण्डलीसित भएको ग्यालिलियोको झगडालाई धर्ममाथि भएको विज्ञानको महान् विजयको रूपमा आज गलत व्याख्या गरिन्छ । प्रकृतिवादीहरूका लागि आज विज्ञान राजा भएको छ; प्रकृति यसको सृष्टिकर्ता र यदि परमेश्वर अस्तित्वमा हुनुहुन्छ भने उहाँ अप्रासङ्गिक हुनुभएको छ । तर ग्यालिलियो स्वयम्ले भने त्यसरी बुझेका थिएनन् किनकि परमेश्वरको वचन बाइबलमाथि तिनको दृढ विश्वास थियो । परमेश्वर राजा हुनुहुन्छ र उहाँ यस विश्वको सृष्टिकर्ता हुनुहुन्छ; प्रकृति होइन भनी तिनले राम्ररी बुझेका थिए । ग्यालिलियोले प्रस्टसँग बताएका छन्, “प्रकृतिको पुस्तक स्पष्टतः बुझिने गणितको भाषामा लेखिएको छ ।”[iv] तिनले थपेका छन्, “स्वर्ग कसरी जाने भनी हामीलाई देखाउन बाइबल लेखियो, स्वर्गहरू कस्ता छन् भनी बताउन बाइबल लेखिएको होइन ।”[v]
ग्यालिलियो बाइबलको विश्वसनीयतामाथि भरोसा गर्ने एक वैज्ञानिक थिए । सूर्य–केन्द्रित सिद्धान्त बाइबलीय शिक्षासित मेल खान्छ भनी तिनले देखाउने प्रयास गरे । अरस्तुको दर्शनद्वारा अन्धो तुल्याइएको बाइबलको अर्थ खोलाइको तत्कालीन सिद्धान्तहरूसित तिनी सङ्घर्ष गर्दै थिए । बाइबलमाथि आलोचना गरेकाले तिनीमाथि दोष लागेको होइन, तर क्याथोलिक आज्ञाहरू नमानेकाले । बाइबलमाथि तिनले कति विश्वास गर्थे भनी बुझ्न तिनी आफैले लेखेका पत्रको अंश पढे पुग्छ, “सर्वप्रथम, मेरो विचारमा बाइबलको सही अर्थ बुझिएमा पवित्र बाइबलले कहिल्यै असत्य बोल्न सक्दैन भन्नु ज्यादै धर्मपरायण हो भने यसको पुष्टि गर्नु ज्यादै बुद्धिमान् ।”[vi]
निष्कर्षमा, ग्यालिलियोको मुद्दाको विषयमा चर्चा गर्दा हरेकले बुझ्नुपर्छ कि मण्डली र ग्यालिलियोबिचको कलह विज्ञान र धर्मबिचको झगडा थिएन । यो त अरस्तुले बुझेका विज्ञान र ग्यालिलियोले देखेका विज्ञानबिचको द्वन्द्व थियो । ग्यालिलियो एक सच्चा बाइबल विश्वासी थिए ।
सन्दर्भ स्रोतहरू:
[i] http://www.probe.org/site/c.fdKEIMNsEoG/b.4226523/k.9989/Modern_Myths.htm
[ii] Ibid
[iii] तुल्सीदास महर्जन (२०५९), अल्बर्ट आइन्स्टाइन र अन्य वैज्ञानिकहरू (काठमाण्डौः इन्द्रेणी अफसेट प्रेस), पृष्ठ सङ्ख्या ५३ ।
[iv] http://christiananswers.net/q-eden/galileo.html
[v] Ibid
[vi] Ibid