आधुनिक समयमा बाइबलसित सम्बन्धित कैयौँ पुरातात्त्विक खोजहरू पत्ता लागेका छन् । यी खोजहरूले बाइबलको ऐतिहासिकतालाई विस्मयकारी ढङ्गमा पुष्टि गरिदिएका छन् । यहाँ ७ ओटा त्यस्ता खोजबारे चर्चा गरिएको छ ।
(१) मृत सागरका मुट्ठाहरू— बिसौँ शताब्दीकै सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक खोज
ख्रिस्टाब्द १९४७-१९५६ सम्ममा मृत सागरको उत्तर-पश्चिमपट्टि अवस्थित एघार ओटा गुफामा पत्ता लगाइएका झन्डै ९८१ ओटा पाण्डुलिपिका टुक्राको सङ्ग्रहलाई मृत सागरका मुट्ठाहरू भनेर चिनिन्छ । कुमरान भनेर चिनिने यो क्षेत्र यरूशलेमदेखि १३ माइल पूर्वमा र समुद्री सतहदेखि १,३०० फिट तल पर्छ ।
धेरैले यसलाई बिसौँ शताब्दीकै सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक खोज भनेका छन् । यी पाण्डुलिपिहरूको ऐतिहासिक, धार्मिक र भाषिक महत्त्व रहेका छन् । यहूदी धर्म र ख्रिस्टियमतबारे भएको हाम्रो ज्ञानलाई यस आविष्कारले औधी वृद्धि गरेको छ । एस्तरको पुस्तकबाहेक पुरानो करारको प्रत्येक पुस्तकको टुक्रा फेला पारिएको छ । गुफा नम्बर १ मा त यशैयाको पूरै पुस्तक फेला पारिएको थियो । मृत सागरका मुट्ठाहरूको खोजसँगै हामीसँग भएका पाण्डुलिपिहरूभन्दा झन्डै एक हजार वर्षअगि पुग्न सफल भएका छौँ हामी ।
पत्ता लगाइएका अधिकांश पाण्डुलिपिहरू हिब्रू भाषामा लेखिएका छन् भने ग्रिक र आरमेइक भाषामा लेखिएका केही प्रतिलिपिहरू पनि फेला पारिएका छन् ।
यी सामग्रीहरू तेस्रो शताब्दी ख्रिस्टपूर्वको आरम्भ र ख्रिस्टाब्द पहिलो शताब्दीको उत्तरार्द्धको बिचमा तयार पारिएका थिए भनी विद्वान्हरू सहमत छन् । यसको अर्थ हुन्छ कि यी पाण्डुलिपिहरू झन्डै २००० वर्षसम्म ती गुफाहरूमा सुरक्षित रहे । एसिएनहरू भनेर चिनिने यहूदी सम्प्रदायले यी मुट्ठाहरूलाई तयार पारेर त्यहाँ राखेका थिए । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/331/
(२) एब्ला आलेखहरू— बाइबलसित सम्बन्धित ४,५०० वर्ष पुराना साक्षीहरू
बाइबलीय पुरातत्त्वविद्याको क्षेत्रमा एब्ला आलेखहरूको उल्लेखनीय महत्त्व रहेको छ । यस खोजले बाइबलीय ज्ञानमा थप प्रकाश छर्ने काम गरेको छ ।
माटोले बनेका १,८०० ओटा पत्रहरू, ४,७०० टुक्राहरू र अन्य हजारौँ ससाना चोइटाहरूको सङ्ग्रहलाई दिइएको नाउँ हो, एब्ला आलेखहरू । सिरियाको एब्ला नाउँ गरेको प्राचीन सहरमा यो खोज पत्ता लागेको थियो । उत्खननको क्रममा इटालीका पुरातत्त्वविद् पावलो मत्तिया र उनको दलले ख्रिस्टाब्द १९७४-१९७५ मा यी शिलालखेहरू फेला पारेका हुन् । यी सबै माटोका पत्रहरू २,५००-२,२५० ख्रिस्टपूर्वको बिचमा रचना गरिएका थिए । यी शिलालेखहरूलाई हाल सिरियाका विभिन्न सङ्ग्रहालयहरूमा राखिएका छन् ।
बाइबलसित यस महत्त्वपूर्ण खोजको के सम्बन्ध रहेको छ त ? दस्तावेजी सिद्धान्तका प्रतिपादकहरूले विगतमा सिकाउँदै आएका थिए कि मोशाको समय (१,४०० ख्रिस्टपूर्व) मा लेख्ने चलनको विकास भइसकेको थिएन । त्यसैले बाइबलका ती अगिल्ला पाँचवटा पुस्तक १,४०० ख्रिस्टपूर्वतिर मोशाले नभई धेरै शताब्दीपछि अरूहरूले तयार पारेका हुन् भनी तिनीहरूले दाबी गर्दै आएका थिए । तर एब्ला आविष्कारले छर्लङ्ग पारेको छ कि मोशाभन्दा हजार वर्षअगि नै व्यवस्था, रीतिरिवाज र घटनाहरूलाई लेखेर राखिँदोरहेछ ।
इतिहाससित जोडिएका बाइबलका कतिपय विवरणहरूलाई बाइबलका आलोचकहरूले विश्वसनीय ऐतिहासिक अभिलेखको रूपमा इन्कार गर्दै आएको भए तापनि एकातिर पुरातात्त्विक खोज बाइबलीय विवरणसित मेल खाएको छ भने अर्कोतिर यसले बाइबलका ती विवरणहरूलाई ऐतिहासिक अभिलेखको रूपमा पुष्टि गरिदिएको छ । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/334/)
(३) “येशूको डुङ्गा”— बाइबलीय विवरणको पुष्टि गर्ने अर्को प्रमाण
ख्रिस्टाब्द १९८६ को जनवरी महिनामा इस्राएल देशको गालील समुद्रको उत्तरी तटमा माटोमुनि गडेर रहेको अवस्थामा एउटा डुङ्गा फेला पारियो । दुई हप्ताभित्रै यो खबर वनको डडेलोझैँ फैलियो । स्थानीय अखबारहरूले “येशूको डुङ्गा” फेला पारियो भनी लेख्न थाले । गालीलको समुद्रमा पत्ता लगाइएको “पहिलो प्राचीन पानी जहाज” भनी पुरातत्त्वविद्हरूले घोषणा गरे । यो ख्रीष्टियानसाथै यहूदीहरूका लागि एउटा महत्त्वपूर्ण ऐतिहासिक खोज थियो ।
मोसे र युबाल नाउँ गरेका दाजुभाइले यो प्राचीन डुङ्गा पत्ता लगाएका थिए । खडेरीको कारणले गर्दा तालको पानीको सतह घटेको बेलामा तिनीहरू तटको जाँच गर्न गएका थिए । डुङ्गामा क्षति नहोस् भन्ने हेतुले १२ दिन १२ रात लगाएर निकै होसियारीसँग पुरातात्त्विक दलद्वारा त्यसको उत्खनन गरिएको थियो । डुङ्गालाई इस्राएलस्थित यिगाल अल्लोन सङ्ग्राहलयमा राख्नुअगि ७ वर्षसम्म रासायानिक पदार्थमा डुबाएर राखिएको थियो ।
येशू र उहाँका चेलाहरूले यस डुङ्गालाई प्रयोग गरेका हुन सक्छन् भनी केहीले निष्कर्ष निकाल्ने प्रयास गरेका भए तापनि यकिनसाथ भन्न मुस्किल छ । तर योचाहिँ निश्चयतासाथ भन्न सकिन्छ कि बिसौँ शताब्दीको अन्त्यमा पत्ता लगाइएको यस डुङ्गाले येशूको समयको डुङ्गाको प्रतिनिधित्व भने अवश्य गर्दछ । सुसमाचारीय विवरणहरूलाई काल्पनिक कथाको दर्जा दिन खोज्नेहरूलाई यस आविष्कारले गतिलै झट्का दिएको छ । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/337/)
(४) याकूबको अस्थि-बाकस— नयाँ करारको पुरातात्त्विक इतिहासमा सर्वाधिक महत्त्वपूर्ण खोज
ख्रिस्टाब्द २००२ मा संसारलाई तीन छक पार्ने चुन ढुङ्गाबाट निर्मित एउटा अस्थि-बाकस फेला पारिएको उद्घोष गरियो । इस्राएलको यरूशलेममा फेला पारिएको उक्त अस्थि-बाकसमा प्राचीन आरमेइक भाषामा प्रस्ट रूपमा लेखिएको थियो— “याकूब, योसेफका पुत्र, येशूका भाइ ।” यो यति महत्त्वपूर्ण खोज थियो कि अङ्ग्रेजी पत्रिका टाइमले यसलाई “नयाँ करारको पुरातात्त्विक इतिहासमा सर्वाधिक महत्त्वपूर्ण खोज” भनेको छ । पुरातत्त्वविद्हरू विश्वास गर्छन् कि यो खोज “ख्रिस्टियमतको इतिहासमा तीन जना महत्त्वपूर्ण पात्र अर्थात् येशू, याकूब र योसेफको विषयमा बताउने सबैभन्दा अगिल्लो पुरातात्त्विक प्रमाण” हो । यो अस्थि-बाकसमा कुनै समयमा येशूका भाइ याकूबका हड्डीहरू हुन सक्ने अनुमान तर्कसङ्गत नै छ ।
चुन ढुङ्गाबाट निर्मित यो अस्थि-बाकसको लमाइ २० इन्च छ भने उचाइ लगभग १२ इन्च । मासु सडेपछि हड्डीहरू जम्मा गर्न यो आकारको बाकस पर्याप्त थियो । यहूदीहरूले लाशलाई गुफामा गाड्ने गर्थे अनि एक वर्ष बितेपछि हड्डीहरूलाई यस्तै किसिमको चुन ढुङ्गाबाट बनेको बाकसभित्र राख्थे । बाकसको बाहिरपट्टि मृतक र उसको बुबाको नाउँ लेख्ने चलन थियो । तर यो बाकसमा किन दाजु (येशू) को नाउँ पनि लेखिएको छ त ? किनकि येशू पहिलो शताब्दीको प्रसिद्ध व्यक्ति हुनुहुन्थ्यो । २० ख्रिस्टपूर्वदेखि ख्रिस्टाब्द ७० सम्म यहूदीहरूले यस्ता अस्थि-बाकसहरूको प्रयोग गरेका थिए । स्मरण रहोस्, ख्रिस्टाब्द ७० मा रोमीहरूले यरूशलेमको मन्दिरलाई नष्ट पारेका थिए । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/340/)
(५) नाबोनिदसका सिलिन्डरहरू— बाइबलीय विवरणसित सम्बन्धित २,५०० वर्ष पुरानो प्रमाण
नाबोनिदस नवबेबिलोनी साम्राज्यका राजा थिए जसले ५५६-५३९ ख्रिस्टपूर्वसम्म शासन गरे । ५३९ ख्रिस्टपूर्वमा फारसका राजा कोरेसद्वारा तिनको पराजयसँगै नवबेबिलोनी साम्राज्य ढल्न पुग्यो । तसर्थ ख्रिस्टियानेतर इतिहासले तिनलाई नै नवबेबिलोनी साम्राज्यका अन्तिम राजाको रूपमा उल्लेख गर्दै आएको थियो । तर दानिएलको विवरणअनुसार बेलसजर अन्तिम राजा भएको जस्तो देखिन्छ, “बेलसजर राजाले आफ्ना एक हजार जना भारदारहरूलाई एक ठूलो भोज दिए र उनीहरूसित उनले दाखमद्य पिए” (दानिएल ५:१) ।
केही इतिहासकारहरूले बाइबलमा उल्लिखित राजा बेलसजरलाई काल्पनिक पात्र ठानेका थिए । बाइबलभन्दा बाहिरको कुनै पनि स्रोतले बेलसजरलाई बेबिलोनी राजाहरूको सूचीमा समावेश नगरेकोले र ख्रिस्टियानेतर इतिहासअनुसार नाबोनिदस नै नवबेबिलोनी साम्राज्यका आखिरी राजाको रूपमा देखिएकोले दानिएलको विवरणमा त्रुटि छ भनी बाइबलका आलोचकहरूले निष्कर्ष निकाल्दै आएका थिए ।
तर ख्रिस्टाब्द १८५४ को पुरातात्त्विक खोजले बाइबलका आलोचकहरूको त्यस निष्कर्षलाई गतिलो जवाफ दिएको छ । जे. ई. टेलरले ऊर भनिने बाइबलीय सहर (आधुनिक इराकमा पर्ने) को निरीक्षण गर्दा तिनले माटोले बनेका चारवटा सिलिन्डर फेला पारे । छैटौँ शताब्दी ख्रिस्टपूर्वमा नाबोनिदसद्वारा यी सिलिन्डरहरूमा लिखित कीलाक्षरी लेखनले भवनहरूको पुनर्निर्माणसाथै इतिहासबारे चर्चा गर्छन् । इतिहासकारहरूका लागि सबैभन्दा चकित पार्ने कुरो नाबोनिदसका जेठा छोरा बेलसजरको उल्लेख हो । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/343/)
(६) टेल दान शिलालेख— दाऊदको नाउँ उल्लेख गर्ने ३,००० वर्ष पुरानो शिलालेख
इस्राएलका महान्तम राजाको रूपमा आदर गरिएका दाऊद बाइबल धर्मशास्त्रमुताबिक परमेश्वरले औधी रुचाउनुभएका मानिस थिए । इस्राएलको इतिहासमा तिनले उल्लेखनीय भूमिका निर्वाह गरेका भए तापनि बाइबलभन्दा बाहिर तिनको बारेमा केही जानकारी नभएकोले बाइबलका आलोचकहरूले तिनको ऐतिहासिकतामाथि नै प्रश्न उठाउँदै आएका थिए । तर बिसौँ शताब्दीको अन्त्यतिर पत्ता लागेको पुरातात्त्विक खोजले आलोचकहरूको आशङ्कालाई एक प्रकाश वर्ष टाढा पुर्याइदिएको छ ।
आधुनिक इस्राएलको उत्तरपट्टि अवस्थित टेल दान भन्ने ठाउँमा पुरातत्त्वविद् अब्राहाम बिराम र तिनको दलले उत्खनन गर्ने क्रममा ख्रिस्टाब्द १९९३-१९९४ मा केही शिलालेखहरू फेला पारे जसलाई समग्रमा टेल दान शिलालेख भनिन्छ । यो ठाउँ पुरानो करारको दानको भूमि हो भनी साक्षीले पुष्टि गर्छ । नवौँ शताब्दी ख्रिस्टपूर्वमा रचना गरिएको यस शिलालेखमा प्रस्ट रूपमा “दाऊदको परिवार” र “इस्राएलका राजा” भनी उल्लेख गरिएको छ । दाऊदको नाउँ उल्लिखित बाइबलभन्दा बाहिर फेला पारिएको यो नै पहिलो प्राचीन शिलालेख हो ।
यस विस्मयकारी आविष्कारसँगै थुप्रै सत्यताहरू उदाङ्गो भएका छन् । सर्वप्रथम, “दाऊदको परिवार” भन्ने पदावलीको प्रयोगले इस्राएलमाथि शासन गर्ने दाऊदीय वंश अस्तित्वमा थियो भनी अङ्कित गर्छ । यसबाट ऐतिहासिक राजा दाऊद यस धरतीमा बाँचेका थिए भनी हामी निर्धक्कसँग निष्कर्ष निकाल्न सक्छौँ । दोस्रोमा, बाइबलले बयान गरेजस्तै इस्राएल र यहूदाका राज्यहरू प्रमुख राजनीतिक राज्यहरू थिए जब कि आलोचकहरूले लामो समयसम्म यी राज्यहरूलाई नगण्य ठानेका थिए । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/346/)
(७) अश्शूरी राजा सर्गान— बाइबलका आलोचकहरूलाई स्तब्ध पार्ने खोज
पूरै बाइबलमा अश्शूरी राजा सर्गानको नाउँ मात्र एक पटक उल्लेख गरिएको छ । (यशैया २०:१-२) । २ राजा १७:६ मा तिनलाई “अश्शूरका राजा” भनिएको छ । अन्य कुनै प्राचीन साहित्यमा सर्गानको नाउँ उल्लेख भएको पाईंदैन । अश्शूरी साम्राज्यबाट मनग्गे शिलालेखहरू र पुरातात्त्विक खोजहरू फेला पारिएका छन् तर ती खोजमा पनि यी राजाको नाउँ कतै पाइएको थिएन । त्यसैले विद्वान्हरूले निष्कर्ष निकाले कि सर्गानको नाउँ उल्लेख गरेकाले कि लेखक यशैया भुलमा हुनुपर्छ कि भने सर्गान अश्शूरी राजाको अर्को नाउँ हुनुपर्छ । बाइबलमा नै गल्ती छ भनी बाइबलका आलोचकहरूले निर्धक्कसँग निष्कर्ष निकालेका थिए ।
तर ख्रिस्टाब्द १८४३ को पुरातात्त्विक खोजले बाइबलका आलोचकहरूमाथि वज्रपात प्रहार गर्यो । पावल इमाइल बोट्टाले इराकको आधुनिक खोर्साबाद भन्ने ठाउँमा राजा सर्गानको दरबार नै फेला पारे । यस खोजसँगै एक पटक काल्पनिक ठानिएका राजा सर्गान आलोचकहरूको दृष्टिकोणमा पनि ऐतिहासिक भएको पुष्टि भएको छ । सर्गानले ७२२-७०५ ख्रिस्टपूर्वसम्म शासन गरेका थिए । अश्शूरको प्राचीन राजधानी निनवेमा तिनको बारेमा कुनै सङ्केत फेला नपारिनुको कारणचाहिँ यही हो कि तिनले आफ्नो महल निनवेमा नभई दुर सरुकिन (इराकको आधुनिक खोर्साबाद) मा ठड्याएका थिए । पुरातात्त्विक खोजले तिनको ऐतिहासिकलाई मात्र पुष्टि गरिदिएको छैन तर यशैया २०:१-२ मा उल्लेख भएझैँ अश्दोदमाथि तिनको कब्जालाई तिनले आफ्नो महलका भित्ताहरूमा कुँदेका पनि प्रमाणित गरिदिएको छ । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/349/)