रोमको रङ्गशालामा मानिसहरू सदाझैँ खेल हेर्न झुम्मिएका थिए । टेलेमाखस नाम गरेका पूर्वबाट आएका ख्रीष्टियानले पनि आफ्नो उपस्थिति जनाएका थिए । खेल सुरु हुनै लाग्दै मैदानमा ओर्लिएर तिनले ती लडाकाहरूलाई छुट्ट्याउने कोसिस गरे । “ख्रीष्टको नाउँमा रोक!” भन्दै तिनी चिच्च्याए । तर दर्शकगण यति क्रूद्ध भए कि तिनीहरूले तिनीमाथि ढुङ्गा बर्साए र तिनी मारिए । टेलेमाखसको साहस र सहादतबाट ख्रीष्टियान सम्राट् होनोरिअस अति प्रभावित भए र ख्रिस्टाब्द ४०४ मा तिनले यस हिंसात्मक खेललाई निषेध गरे ।
यहाँ उल्लेख भएको खेलको नाउँ हो, ग्ल्याडिएटर खेल । यस्तो खेलमा सहभागी हुने खेलाडीलाई ग्ल्याडिएटर भनिन्थ्यो । ग्ल्याडिएटर भनेको तरवार चलाउन निपुण व्यक्ति हो । प्राचीन रोममा खेलिने यो एउटा यस्तो डरलाग्दो खेल थियो जसमा मान्छेले मान्छेको ज्यान लिन्थ्यो । इतिहासमा मान्छे मार्ने खेलको पनि अभ्यास गरिन्थ्यो भन्दा तपाईं छक्क पर्नुहोला । तर यो साँचो हो । यस्तो अमानवीय खेलको सिकार भई दसौँ हजार मानिसले आफ्ना जीवन गुमाए । रोमीहरूको बुझाइमा मानवीय जीवन कति सस्तो रहेछ भनी यस खेलले छर्लङ्ग पार्छ । यो खेल मान्छेको अवमूल्यन गरी मानव इतिहासमा अभ्यास गरिएका अन्य मनग्गे कुसंस्कारहरूमध्ये एक थियो ।
कहिलेदेखि यो खेलको सुरुआत भयो भन्ने विषयमा प्रारम्भिक साहित्यिक स्रोतहरूका बिचमा मतैक्य छैन । रोमी लेखक उसोनियसका अनुसार रोममा २६४ ख्रिस्टपूर्वमा यो खेलको आरम्भ भएको थियो । झन्डै एक हजार वर्षसम्म लम्बिएको यो खेल पहिलो शताब्दी ख्रिस्पूर्वदेखि ख्रिस्टाब्द दोस्रो शताब्दीको बिचमा उचाइमा पुगेको थियो ।
यस खेलमा भाग लिनेहरू साधारणतया दास, दण्डाज्ञा पाएका अपराधी वा युद्धका बन्दीहरू हुन्थे । हरेक खेलाडी अप्रिय, घिनलाग्दो र विनाशतिर उन्मुख देखिन्थ्यो । लाग्थ्यो, ऊ मानव नै होइन । पैसा कमाउन वा दर्शकगणको तालिमा रमाउन कहिलेकाहीँ फुक्काहरू पनि खेलमा सहभागी हुन्थे । स्त्री खेलाडीहरूले विरलै भाग लिन्थे । कर्मठ खेल प्रस्तुत गर्न खेलाडीहरू शारीरिक रूपमा पहिले नै तालिम प्राप्त हुन्थे । प्रतिद्वन्द्वीलाई मारेर दर्शकगणलाई खुसी पार्नु र कहिलेकाहीँ पुरस्कार जित्नु तिनीहरूको लक्ष्य हुन्थ्यो । सम्राट्, राजनीतिज्ञ, पुजारीसाथै जनमानसहरू दर्शक बनी खेल हेर्न आउँथे ।
ग्ल्याडिएटरहरूले भिर्ने शस्त्र वा तिनीहरूको युद्ध कौशलको आधारमा तिनीहरू विभिन्न किसिमका हुन्थे । कसैले ढाल, टोप र सानो तरवार भिरेर लड्ने गर्थ्यो भने कसैले सानो चक्कुजस्तो हतियार लिन्थ्यो । कसैले कुनै हतियारै लिँदैनथ्यो ।
अनियमित रूपमा र सम्राट्को उर्दीद्वारा मात्र खेल सञ्चालनमा आउँथ्यो । सर्वसाधारणको रुचिलाई तीव्र पार्ने उद्देश्यले साधारणतः अनेपिक्षत रूपमा खेलको घोषणा गरिन्थ्यो । खेल कहिलेकाहीँ महिनौँसम्म लम्बिन्थ्यो । कहिले त एकै दिनमा सयभन्दा बेसी खेलाडी मैदानमा उत्रन्थे । रङ्गशालामा प्रवेश गरेपछि हरेक खेलाडी सम्राट्कहाँ फर्कन्थ्यो र आफ्नो दाहिने हात पसारी ठुलो सोरमा यसो भन्थ्यो, “मर्नै लागेकाहरूले तपाईंलाई सलाम गर्दछन् ।”
प्रतिद्न्वद्वन्दीलाई तरवारले मार्नु खेलाडीको लक्ष्य हुन्थ्यो । पाशविक क्रूरता, पीडितहरूको दर्दनाक चिच्च्याहट, रगतको धारोको दृश्यले दर्शकहरूमा दयाको भावना ल्याउँदैनथ्यो । यसको विपरीत, निर्मम हत्या गर्न नसक्ने खेलाडीको क्षमताप्रति दर्शकगण क्रोधित हुन्थे । “त्यसलाई मार्! त्यसलाई जोडले हिर्का! त्यसलाई खतम गरिदे!” भन्दै खेल हेर्नेहरू चिच्च्याउँथे । एउटा योद्धाले अर्कोलाई तरवार प्रहार गरी टुक्राटुक्रा पार्दा दर्शकगणले त्यसलाई मनोरञ्जनको पराकाष्ठा ठान्थे ।
मान्छे मार्ने यो खेल रोममा मात्र सीमित थिएन । साम्राज्यका अन्य भूभागहरूमा पनि यसले ठाउँ पाएको थियो । एसिया माइनर, सिरिया र ग्रिसमा पनि यसलाई निकै लोकप्रिय खेल मानिन्थ्यो ।
यस निकृष्ट खेलको नाउँमा इतिहासमा कति जनाले ज्यान गुमाए भन्ने कुनै यकिन तथ्याङ्क नभए तापनि लाखौँ मानिस मारिएका थिए भन्नाका लागि ऐतिहासिक साक्षी उपलब्ध छ । डासिया भन्ने ठाउँमा विजय हासिल गरेपछि दोस्रो शताब्दीको सुरुतिर सम्राट् ट्राजनले ग्ल्याडिएटर खेल सञ्चालन गरी उत्सव मनाए जुन चार महिनासम्म लम्बिएको थियो । उक्त खेलमा १० हजार खेलाडीले भाग लिएका थिए भने ११ हजारभन्दा बेसी जनावर मारिए । ती १० हजार योद्धामध्ये आधाजसो रङ्गशालामा मरे भने चोटको कारण अरू कतिले पछि ज्यान गुमाउनुपरेको थियो । रोममा ५० हजारभन्दा बेसी दर्शक अटाउने विशालतम रङ्गशाला निर्माण गरिएको थियो । ख्रिस्टाब्द ८० मा रोमी सम्राट् तीतसले उक्त रङ्गशालाको समुद्घाटन गर्दा एकै दिनमा पाँच हजार जनावर मार्नुका साथै अन्य कैयौँ ग्ल्याडिएटरको रगत बगाइएको थियो । रोमको सर्वाधिक ठुलो रङ्गशाला (कोलोसियम) मा मात्र कम्तीमा २ लाख मानिस मारिए भनी अनुमान गरिएको छ । यसका अतिरिक्त, अन्य २५१ ओटा रङ्गशालामा सरदर १० हजार मानिस मरे भनी अनुमान गर्नु मुनासिब नै हुन्छ जसको अर्थ थप २५ लाखले खेलको नाउँमा ज्यान गुमाए ।
ख्रिस्टियमत रोमसम्म आइपुग्दा मान्छेले मान्छेलाई मारेर मनोरञ्जन लिने यस खेलको नतिजास्वरूप हजारौँले ज्यान गुमाइसकेका थिए । आदि ख्रीष्टियानहरू यस्तो खेलदेखि डराउँथे किनकि यो कुनै खेल नभई हत्या थियो । मानिस परमेश्वरको स्वरूप सृष्टि गरिएकोले उहाँले रक्तपातलाई पहिले देखि नै निषेध गर्नुभएको थियो, “जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्यसको रक्तपात हुनेछ, किनभने परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको हो” (उत्पत्ति ९:६) । “हत्या नगर्नू” (प्रस्थान २०:१३) भन्ने परमेश्वरको आज्ञाबारे तिनीहरू सचेत थिए । यस्तो रक्तपात प्रतिस्पर्धालाई तिनीहरूको कुनै अनुमोदन थिएन । त्यसैले ख्रीष्टियानहरूले यस्तो खेलको निन्दा गर्थे । यस्तो खेलमा भाग लिने मान्छेले आफ्नो पेसा नबद्लेसम्म मण्डलीले उसलाई बप्तिस्मा दिँदैनथ्यो ।
दोस्रो शताब्दीका रक्षाशास्त्री थियोफिलसले यस खेललाई हत्या भने, “ग्ल्याडिएटरहरूको खेल हेर्न पनि हामीलाई निषेध गरिन्छ । यसरी हामी हत्याका सहभागी र दुष्प्रेरकहरू हुँदैनौँ ।”
तेस्रो शताब्दीमा मण्डली पिता तर्तुलियनले आफ्नो एउटा पुस्तकमा यस्ता खेलहरूमा भाग नलिन अर्ती दिँदै पूरै अध्याय समर्पित गरेका छन् । तिनका अनुसार खेलको नाउँमा मान्छे मार्ने खेलाडीहरू हत्याराहरू थिए र तिनीहरू मूर्तिपूजक मानव बलिदाका माध्यम बनेका थिए जुन नैतिक रूपमा हानिकारक थियो । आफ्ना मित्र यस खेलप्रति आकर्षित भएकोमा ईश्वरशास्त्री अगस्टिनले दु:ख व्यक्त गरे ।
मानवीय जीवनबारे ख्रिस्टियमतको उच्च दृष्टिकोण, कमजोर र थिचोमिचोमा परेकाहरूप्रति यसको चिन्ता अनि यसको जारी वृद्धिसाथै प्रभावको नतिजास्वरूप ख्रीष्टियान सम्राट्हरूले यस अमानवीय खेलको निषेध गरे । इतिहासकार कार्कोपिनो लेख्छन्, “रङ्गभूमिमा हुने निर्मम हत्याहरू ख्रीष्टियान सम्राट्हरूको आज्ञामा रोकिए ।” अर्का इतिहासकार विलियम लेकीका अनुसार ग्ल्याडिएटर खेलको निर्मूलन मानव-जातिको नैतिक इतिहासमा अति नै महत्त्वपूर्ण सुधार थियो जसको श्रेय मूलत: ख्रीष्टियान मण्डलीलाई जान्छ । प्रतिष्ठित मण्डली इतिहासकार केनेथ स्कट लाटुरेट लेख्छन्, “आफ्नो नयाँ विश्वासको प्रभावमा परेर सम्राट् कन्स्टेन्टाइनले ग्ल्याडिएटर खेललाई निषेध गरी अपराधीहरू ग्ल्याडिएटर बन्नुपर्ने वैधानिक दण्ड निर्मूलन गरे ।”
मानव-जातिको नैतिक इतिहासमा मान्छेले मान्छेको ज्यान लिने यस क्रूर खेलको निषेध एउटा उल्लेखनीय सुधार थियो । चौथो शताब्दीमा रोमी सम्राट् कन्स्टेन्टाइनले यस खेलको निषेध गरे तर जनमानस यसमा लागिरहे । अन्तत: ख्रीष्टियान सम्राट् थियोडिसियस प्रथमले चौथो शताब्दीको उत्तरार्द्धमा पूर्वमा यस खेललाई निषेध गरे र ख्रिस्टाब्द ४०४ मा तिनका छोरा होनोरिअसले पश्चिममा पनि यसलाई कानुनी रूपमा अन्त्य गरे । मान्छे मार्ने यस्तो क्रूर खेललाई अवैधानिक ठहराउनुमा ख्रीष्टियान शिक्षा र टेलेमाखसको सहादतले भूमिका खेलेका थिए ।
खेलको नाउँमा मान्छेले मान्छेको ज्यान लिन्थ्यो र यस्तो खेल हेरी दर्शकहरूले मज्जा लिन्थे भन्ने बोधले पनि हामीलाई त्रसित तुल्याउँछ । किन ? किनकि मान्छे अनमोल प्राणी हो र त्यस्तो खेल कुनै खेल नभई हत्या हो । यसको निर्मूलन मानव-जातिलाई ख्रिस्टियमतले दिएको अर्को सुन्दर उपहार हो । मानव सभ्यता निर्माणमा ख्रीष्टियानहरूले उल्लेखनीय भूमिका निभाएका छन् जसमध्ये यस खेलको उन्मूलन एउटा ज्वलन्त उदाहरण हो । खेलको नाउँमा हजारौँ मानिसले ज्यान गुमाएको रङ्गशालामा आज एउटा विशाल क्रूस खडा छ । यो प्राचीन संसारको क्रूरतामाथि ख्रिस्टियमतको विजयको मौन साक्षी हो ।