इङ्गल्यान्डको अक्सफोर्ड सहरमा अक्सफोर्ड युनिएन नामक एउटा समाज छ जुन वादविवादको लागि प्रख्यात छ । अक्सफोर्ड विश्वविद्यालयले विचारलाई अगाडि बढाउने माध्यमको रूपमा वादविवादलाई सधैँ इनाम दिँदै आएको छ । ख्रिस्टाब्द २००० मा यसै समाजमा अलिस्टर म्याकग्रेथले नास्तिकवादबारे ऐतिहासिक विवाद प्रस्तुत गरे । त्यही प्रस्तुतीकरणलाई काँटछाँट गरी तिनले २००४ मा The Twilight Of Atheism: The Rise and Fall of Disbelief in the Modern World नामक कृति प्रकाशित गरे ।
पुस्तक पठन यात्रामा यो मेरो ११४ औँ पुस्तक हो । ३३२ पृष्ठको यस उत्कृष्ट कृतिलाई पढेर सक्न मलाई १३ दिन (अप्रिल २३-मे ५) मा साढे तेर्ह घण्टा लाग्यो । मैले भने २००८ मा प्रकाशित संस्करण पढेँ । नास्तिकबाट ख्रीष्टियान बनेका यस कृतिका लेखक म्याकग्रेथ ईश्वरशास्त्री, वैज्ञानिकसाथै ख्रीष्टियान रक्षाशास्त्री हुन् । तीन दर्जनभन्दा बेसी कृतिका रचनाकार म्याकग्रेथ २०१० मा “२० सर्वाधिक प्रतिभाशाली ख्रीष्टियान प्राध्यापकहरू” को सूचीमा परेका थिए ।
यो पुस्तक मूलत: आधुनिक नास्तिकवादको उत्थान र पतनको उल्लेखनीय कथा हो । ज्वारभाटाका छालले समुद्रतटीय स्थानका बस्तीहरूलाई भताभुङ्ग पारेझैँ नास्तिकवादले पश्चिमा जगत्मा आफ्ना विचारले यसका प्रतिद्वन्दीहरूलाई बगाउने कोसिस गरे तापनि यसको क्षमता आफै क्रमश: ह्रास हुँदै गयो । गत दुई शताब्दीमा नास्तिकवादको प्रभाव गहन देखियो ।
प्राचीन समयमा “एथेन्सको स्थापित परम्परागत धर्मलाई इन्कार गर्ने व्यक्ति” लाई नास्तिक भनेर बुझिन्थ्यो । ग्रिक समाजमा देवी-देवताको अस्तित्वलाई इन्कार गर्नु दण्डनीय अपराध मानिन्थ्यो । स्मरण रहोस्, गैरख्रिस्टियान देवी-देवताहरूमाथि विश्वास नगर्ने भएकाले सुरु-सुरुमा ख्रीष्टियानहरूलाई पनि नास्तिकको रूपमा हेरिन्थ्यो । तर “अलौकिक प्राणीको अस्तित्वलाई इन्कार गर्ने व्यक्ति” लाई हाल नास्तिक भनेर बुझिन्छ भनी हामीलाई थाहा छ । यस अर्थमा ख्रीष्टियानहरू नास्तिक हुन सक्दैनन् किनकि तिनीहरू परमेश्वरको अस्तित्वमाथि विश्वास मात्रै गर्दैनन् तर उहाँको अस्तित्वको पक्षमा वकालतसमेत गर्छन् ।
सोर्हौँ शताब्दीको प्रोटेस्टेन्ट सुधारवादले धार्मिक वृत्तका विविध क्षेत्रमा उथलपुथल ल्याए तापनि परमेश्वरमाथिको विश्वास जस्ताको तस्तै रह्यो । सत्रौँ शताब्दसम्म आइपुग्दा पश्चिमी युरोपेली संस्कृतिमा परमेश्वरमाथिको विश्वासले गहन रूपमा जरा गाडिसकेको थियो । क्याथोलिक र प्रोटेस्टेन्टको बिचमा धेरै विषयमा मत भिन्नता भए तापनि परमेश्वरमाथिको आधारभूत विश्वासमा भने तिनीहरू एक थिए ।
अठारौँ शताब्दीलाई क्रान्तिकारीको युग मान्न सकिन्छ । इतिहासकारहरू यसलाई इतिहासकै सर्वाधिक गतिशील र उत्साहजनक कालको रूपमा हेर्छन् । यो आशाको युग थियो । लाग्थ्यो, बिलकुल नयाँ संसार आउँदै थियो । १७८९ को फ्रान्सेली क्रान्तिसँगै पश्चिमी जगत्मा नास्तिकवादको स्वर्णीम युगको किरण चम्क्यो । कारण र अनुभवलाई सत्यता प्राप्त गर्ने सामग्रीको रूपमा लिइयो । फ्रान्सेली क्रान्तिसँगै आधुनिक इतिहासमा पहिलो पटक नास्तिक राज्यको सम्भावनाको परिकल्पना गरियो । उन्नाइसौँ शताब्दीमा जन्मेका लडविग फाएरबाग, कार्ल मार्क्स र सिग्मन्ड फ्राएड नास्तिकवादको सुनौलो युगका महान् तीन खम्बा हुन् जसका विचारहरूले आधुनिक नास्तिकवादलाई आकार दिए ।
विज्ञान र धर्मलाई प्रतिद्वन्द्वीको रूपमा चित्रण गरियो यद्यपि विज्ञानका इतिहासकहरू यसलाई मान्न तयार छैनन् । विज्ञान र धर्म एक-अर्काका शत्रु नभई परिपुरक हुन् र यी दुवैले आआफ्नो क्षेत्रमा उल्लेखनीय योगदान मात्र पुर्याएका छैनन् तर यी दुवै नै आवश्यक छन् भनी तिनीहरू दाबी गर्छन् ।
दार्शनिक फ्रेडरिक नित्सेको “ईश्वरको मृत्यु” नामक अवधारणाले नास्तिकवादको हुर्काइमा मलजल गर्यो । १९१७ को रुसी क्रान्ति संसारको इतिहासमा अर्को एउटा सर्वाधिक महत्त्वपूर्ण घटना थियो । यसको प्रभाव व्यापक रह्यो । नास्तिकवाद रुसी राज्यको आस्था बन्यो । विभिन्न देशहरूमा नास्तिकवादी अवधारणा मौलाए तापनि अन्तत: त्यो दिगो हुन सकेन भनी इतिहासले हामीलाई छर्लङ्गै देखाइदियो ।
ख्रिस्टाब्द १९७० सम्म आइपुग्दा धर्मले फेरि आफ्नो ठाउँ लियो । औपचारिक रूपमा नास्तिक ठानिएका राज्यहरू धर्मतर्फ फर्के । पूर्वी युरोपमा विश्वदृष्टिको रूपमा नास्तिकवाद ढल्यो र फेरि धर्मको पुनरागमन भयो ।
जसरी परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने धारणा एउटा विश्वास हो त्यसै गरी उहाँ अस्तित्वमा हुनुहुन्न भन्ने धारणा पनि विश्वास नै हो । नास्तिकवादले आफूलाई वैज्ञानिक भनी दाबी गरे तापनि त्यो पनि विश्वासमा आधारित विश्वदृष्टि नै हो । प्रश्न यो हो: नास्तिकवाद र आस्तिकवादमध्ये कुनचाहिँ बढी वैज्ञानिक छ ? बिसौँ शताब्दीका वैज्ञानिक खोजहरूले यो विश्वलाई सुव्यवस्थित मात्र देखाएका छैनन् तर यसको उत्पत्तिको कारक पनि हुनैपर्छ भनी ठम्याएका छन् जुन नास्तिकवादी धारणाभन्दा पनि आस्तिकवादी धारणासित बढी मेल खान्छ ।