परमेश्‍वरको अस्तित्वको लागि ४ ओटा साक्षी

के परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ ? हुनुहुन्छ भन्‍नाका लागि मनग्गे साक्षीहरू छन् जसमध्ये यहाँ ४ ओटा प्रस्तुत गरिएका छन् ।

१. विश्‍वको साक्षी
यो सम्पूर्ण विश्‍व (अर्थात् युनिभर्स) कहाँबाट आयो ? यसको लागि केवल तीनवटा विकल्प अगि सार्न सकिन्छन् ।

(१) यो विश्‍व अनन्त छ ।
(२) यो विश्‍व आफै अस्तित्वमा आयो ।
(३) यो विश्‍वको सृजना गरियो ।

विश्‍व अनन्त छ भन्‍ने पहिलो विकल्पलाई वैज्ञानिक समुदायले पूर्णत: खारेज गरिदिएको छ । महाविस्फोटमा यो सम्पूर्ण विश्‍वको थालनी भएको थियो भनी वैज्ञानिकहरू साधारयणतया सहमत छन् । बिसौँ शताब्दीको पूर्वार्द्धमा आइन्स्टाइनका समीकरणहरूले सम्पूर्ण समय, सम्पूर्ण पदार्थ र सम्पूर्ण अन्तरिक्षको एउटा निश्‍चित आरम्भ भएको तथ्य प्रकट गरे ।

दोस्रो विकल्पले भन्छ कि यो सम्पूर्ण विश्‍व आफै अस्तित्वमा आयो । दार्शनिक दृष्‍टिकोणबाट यो असम्भव छ । शून्यताले कहिल्यै पनि कुनै वस्तुलाई आफै अस्तित्वमा ल्याउन सक्दैन । विश्‍व अस्तित्वमा आउनुअगि केवल शून्यता थियो जससित यो विश्‍वलाई अस्तित्वमा ल्याउने शक्ति थिएन । हामी सबैलाई थाहा भएकै कुरो हो कि शून्यताले कहिल्यै कुनै पनि वस्तुलाई रचना गर्न सक्दैन । शून्यतामा हेर्ने, सुँघ्‍ने, काम गर्ने, सोच्ने वा रचना गर्ने क्षमता हुँदैन । तसर्थ वैज्ञानिक र दार्शनिक आधारमा पहिलो र दोस्रो विकल्प दुवै नै रद्दीको टोकरीमा जान्छन् ।

तेस्रो विकल्पअनुसार यो सम्पूर्ण विश्‍वको लागि कोही जिम्मेवार छ । यो सम्पूर्ण विश्‍वभन्दा परको अस्तित्वले यसलाई सृजना गरेको हो भन्‍ने यो तेस्रो विकल्प तर्कसङ्गत देखिन्छ । यो विश्‍वको आरम्भ भएको थियो भन्‍नाका लागि यहाँ तीनवटा वैज्ञानिक साक्षी पेस गरिएका छन्:

क. अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षवादको सिद्धान्तः ख्रिस्टाब्द १९१५ मा प्रतिपादित आइन्स्टाइनको यस सिद्धान्तअनुसार सम्पूर्ण समय, सम्पूर्ण अन्तरिक्ष र सम्पूर्ण पदार्थ निश्‍चित बिन्दुमा आरम्भ भए ।

ख. विश्‍वको फैलावटः क्यालिफोर्नियाको पासाडेनास्थित माउन्ट विलसन वेधशालाबाट विश्‍वको फैलावटलाई वास्तवमै अवलोकन गर्न सकिन्छ । विश्‍व चारैतिर भकुण्डोझैँ फैलिरहेको छ । यदि यो अहिले फैलिरहेको छ भने तर्कशास्‍त्र र गणितअनुसार हामी जति विगततर्फ जान्छौँ त्यति नै यसको खुम्चाइतर्फ अगाडि बढ्छौँ अनि यसको प्रारम्भिक चरण अर्थात् शून्यतामा पुग्छौँ ।

ग. महाविस्फोटको विकिरणः यदि महाविस्फोट घटेको थियो भने त्यसको विकिरण फेला पारिनुपर्छ भनी वैज्ञानिकहरूले अपेक्षा गरेका थिए । ख्रिस्टाब्द १९६५ मा वैज्ञानिकद्वय अर्नो पेन्जिस र रोबर्ट विलसनले उक्त विकिरणलाई अनपेक्षित रूपमा पत्ता लगाए ।

यो विश्‍व अनन्त नभई यसको आरम्भ भएकोले र यो आफै आरम्भ हुन नसक्‍ने भएकोले यसको पछाडि एक जना आरम्भकर्ता हुनैपर्छ जसलाई हामी परमेश्‍वर भन्छौँ ।

२. रचनाको साक्षी
यो सारा विश्‍व अस्तित्वमा मात्र छैन तर अकल्पनीय रूपमा जटिल, सुन्दर, व्यवस्थित र उद्देश्यपूर्ण छ । तपाईंले जुन उपकरण प्रयोग गरेर यस आलेखलाई पढ्दै हुनुहुन्छ त्यसलाई एक बुद्धिमान् इन्जिनियर वा प्राविधिज्ञले निर्माण गरेको हो । किन यस पङ्‌क्तिकारले त्यसो भनेको ? किनकि कुनै पनि समयमा हामीले जटिल रचना देख्यौँ भने हाम्रो पहिलेको अनुभवले यही बताउँछ कि यसको पछाडि रचनाकार हुनैपर्छ ।

व्यवस्थित रचना कहिल्यै स्वतः उत्पन्‍न हुँदैन । घडीले घडी बनाउनेलाई अङ्‌कित गर्छ; भवनले कालिगडलाई अङ्‌कित गर्छ; चित्रले चित्रकारलाई अङ्‌कित गर्छ । हजारौँ बाँदरहरू कम्प्युटरको अगाडि बसेर लाखौँ वर्षसम्म किबोर्डमा थिच्दा पनि तिनीहरूले कहिल्यै मुनामदनको उत्पादन गर्न सक्दैनन् । तर लक्ष्मी प्रसाद देवकोटाले सजिलैसित यसको रचना गरे । गाईको गोठमा गई हातमा एक थुप्रो गोबर लिएर भित्तामा हान्‍नुभयो भने नेपालको नक्सा बन्दैन । यसलाई बनाउन तपाईंले चेतनाको प्रयोग गर्नुपर्छ । रचना जति जटिल हुन्छ त्यति नै रचनाकार बुद्धिमान् हुनुपर्छ ।

हाम्रो विश्‍व सुनिश्‍चित वैज्ञानिक नियमहरूद्वारा सञ्‍चालित छ । यी नियमहरूको कारणले वैज्ञानिकहरू चन्द्रमामा रकेट पठाउन सक्षम भएका छन् भने खगोलविद्हरू चन्द्र ग्रहण र सूर्य ग्रहणको मिति अगावै तोक्‍न सफल भएका छन् । विश्‍वमा अचुकपना, जटिलता र सुव्यवस्था पाइन्छ भन्‍ने कुरामा कुनै विवाद छैन ।

यो सम्पूर्ण विश्‍व व्यवस्थित भएकोले र व्यवस्थित वस्तु कहिल्यै आफसे आफ उत्पन्‍न नहुने भएकोले यसको पछाडि एक जना बुद्धिमान् रचनाकार हुनुपर्छ जसलाई हामी परमेश्‍वर भन्छौँ ।

३. नैतिकताको साक्षी
मानव-जातिको बिचमा एउटा नैतिक नियम छ । यो वैज्ञानिक साक्षी होइन, तर स्वभावमा यो नैतिक छ । तर्कशास्‍त्र र गणितशास्‍त्रजस्तै यो नियम अभौतिक हो । तर यो यथार्थतालाई कसैले इन्कार गर्न सक्दैन । हामीले असल गर्नुपर्छ, मानिसहरूलाई सहायता गर्नुपर्छ भन्‍नुको कारण हाम्रो हृदयमा लेखिएको नैतिक व्यवस्था नै हो ।

असल गर्नुपर्छ भन्‍ने एउटा यस्तो निर्देशन छ जुन सबै मानव-जातिको हृदयमा लिखित छ । कसैले यसलाई “विवेक” भन्छ भने कसैले “प्राकृतिक नियम” त कसैले “नैतिक नियम ।” यस नियमलाई जुन नाम दिए तापनि सारा मानव-जातिको हृदयमा लिखित नैतिक मापदण्डको सत्यताले त्यस नैतिक मापदण्ड हालिदिने व्यक्तित्वलाई अङ्‌कित गर्छ । प्रत्येक निर्देशनको पछाडि निर्देशन हुनैपर्छ । नैतिक नियममा पनि यही कुरो लागु हुन्छ । यी नैतिक उत्तरदायित्वहरू कसैले हाम्रो जीवनमा हालिदिएकै हुनुपर्छ ।

नैतिक नियम स्वयमसिद्ध छ । यसलाई पत्ता लगाउनको लागि तपाईंले कारणको प्रयोग गर्नुहुन्‍न । तपाईंलाई त्यसै थाहा छ । अर्थ र नैतिकताको वस्तुगत मापदण्ड छैन भने जीवन व्यर्थ छ र निरपेक्ष साँचो र झुटो भन्‍ने कुरो नै हुँदैन । नैतिक नियम अस्तित्वमा छ भन्‍नुको अर्थ ठिक र बेठिकको आधारभूत अर्थद्वारा सबै मानिस प्रभावित छ भन्‍नु हो । उदाहरणको लागि हरेकलाई थाहा छ कि प्रेम घृणाभन्दा श्रेष्‍ठतर हुन्छ र डरछेरुवापनभन्दा उत्साह राम्रो हो ।

मानव-जातिको बिचमा नैतिक नियम अस्तित्वमा छ भन्‍ने कुरा प्रस्ट छ । प्रश्‍न यो होः कहाँबाट यो नियम आयो ? सबैभन्दा तर्कसङ्गत जवाफ भनेको परमेश्‍वरले नै यो नियम मानव हृदयमा हालिदिनुभएको हो ।

४. जीवको साक्षी

वर्तमान जीव विज्ञानको स्थापित नियमले भन्छ कि शून्यताबाट जीवको उदय हुँदैन । तपाईंले बाटोमा भेट्ने कुकुर आफसे आफ त्यसै अस्तित्वमा आएको होइन, न त हाम्रा नाङ्गा आँखाले देख्‍न नसक्‍ने ससाना किटाणुहरूको उदय स्वतः भएका हुन् ।

जीव विज्ञानमा एउटा चिरपरिचित नियम छ जसलाई जीव जननको नियम भनेर चिनिन्छ । यो अङ्ग्रेजी law of biogenesis को अनुवाद हो । biogenesis दुई ओटा अङ्ग्रेजी शब्द bio र genesis (अर्थ क्रमशः जीव र उत्पत्ति) मिलेर बनेको छ । यसको नामबाटै प्रस्ट छ कि यो नियम जीवको उत्पत्तिसित सम्बन्धित छ । जीवले आफ्नै किसिमको जीवको उदय गराउँछ भनी यस नियमले बताउँछ । पटक-पटकको वैज्ञानिक परीक्षणहरूबाट यसको पुष्‍टि भइसकेको छ । फ्रान्सका लुई पास्चर (१८२२-१८९५) यस नियमका सर्वाधिक प्रसिद्ध वैज्ञानिक हुन् ।

पास्चरले उन्‍नाइसौँ शताब्दीमा प्रयोगात्मक रूपमा सिद्ध गरिदिएको जीव जननको नियम बिसौँ र एक्‍काइसौँ शताब्दीको पूर्वार्द्धसम्म पनि उत्तिकै अटल छ ।

तब अर्थपूर्ण प्रश्‍न यो होः पहिलो जीव कसरी अस्तित्वमा आयो त ? यसको केवल दुईवटा तर्कसङ्गत उत्तर हुन सक्छ— स्वतः जनन वा अलौकिक सृष्‍टि । स्वतः जननले निर्जीव रसायनहरू मिलेर आफै नै जीव बन्‍न पुग्यो भन्‍ने अवधारणालाई जाहेर गर्दछ भने अलौकिक सृष्‍टिले चेतनशील परमेश्‍वरले पहिलो जीवको सृष्‍टि गर्नुभयो भन्‍ने विचारलाई । एकातिर स्वतः जननको अवधारणा हाल अप्रमाणित भइसकेको छ भने अर्कोतिर सृष्‍टिको अवधारणाको लागि दरिला वैज्ञानिक साक्षीहरू छन् ।

अजैविक पदार्थबाट जीवको उदय हुँदैन भनी जीव विज्ञानले प्रमाणित गरिसकेको छ । प्रथम जीवको उदयको विषयमा जीवशास्‍त्रसित कुनै वैज्ञानिक व्याख्या छैन । तसर्थ अलौकिक व्याख्याको अपेक्षा नै न्यायसङ्गत हुन्छ ।

माथिका चारवटा साक्षीलाई यसरी निष्कर्षमा ल्याउन सकिन्छः
१. विश्‍वको साक्षीः यो विश्‍व अनन्त नभई यसको आरम्भ भएकोले र यो आफै आरम्भ हुन नसक्‍ने भएकोले यसको पछाडि आरम्भकर्ता हुनैपर्छ ।
२. रचनाको साक्षीः यो सारा विश्‍व व्यवस्थित रचना भएकोले यसको पछाडि रचनाकार हुनैपर्छ ।
३. नैतिकताको साक्षीः संसारमा नैतिकता अस्तित्वमा भएकोले यसको पछाडि नैतिकदाता हुनैपर्छ ।
४. जीवको साक्षीः जीव स्वतः उत्पत्ति नहुने भएकोले यसको पछाडि जीवनदाता हुनैपर्छ ।

Facebook Comments

Powered by Youth Circle