वैज्ञानिक आइन्स्टाइनको सबैभन्दा ठुलो भुल के थियो ?

उन्नाइसौँ शताब्दीको अन्त्यसम्ममा यो सम्पूर्ण विश्व (युनिभर्स) अनन्त थियो भन्ने आम विश्वास रहेको थियो । जनसाधारणहरूले मात्र नभएर वैज्ञानिकहरूले पनि यही अवधारणालाई अङ्गाल्थे । तर बिसौँ शताब्दीको पूर्वार्द्धमा यो दृष्टिकोणमा झट्का लाग्यो ।

सामान्य सापेक्षताको सिद्धान्तक्वान्टम यान्त्रिकी आधुनिक भौतिकशास्त्रका दुईवटा खम्बा हुन् ।[i] अगिल्लोलाई अल्बर्ट आइन्स्टाइनले विकास गरे । भौतिकशास्त्रमा नोबेल पुरस्कार जितेका तिनले समय, गुरुत्वाकर्षण र पदार्थको शक्तिमा रूपान्तरण (E=mc2) जस्ता विषयमा क्रान्ति नै ल्याइदिए । अतुलनीय वैज्ञानिक आइन्स्टाइनले ख्रिस्टाब्द १९१५ मा सामान्य सापेक्षताको सिद्धान्त प्रतिपादित गरेका थिए । तिनका समीकरणहरूले तिनलाई जता डोर्‍याउँदै थिए त्यो तिनी आफैलाई मन परिरहेको थिएन । सम्पूर्ण समय, सम्पूर्ण पदार्थ र सम्पूर्ण अन्तरिक्षको एउटा निश्चित बिन्दुमा आरम्भ भएको तथ्यलाई आइन्स्टाइनका समीकरणहरूले प्रकट गरे । सम्पूर्ण विश्व अनन्त थियो भन्ने तिनको विश्वासमा यो नयाँ विचार वैज्ञानिक जगत्‌मा देखिएको थियो ।[ii]

विश्व स्वअस्तित्ववान् होस् र यो कुनै बाह्य कारणमा भर नपरोस् भन्ने आइन्स्टाइनको चाहना थियो । तर आफ्नै खोज तिनको चाहनाको विरुद्धमा खडा थियो । यो विश्वको सुरुआत भएको खण्डमा यसको लागि कारणको खाँचो पर्छ भन्ने कुरो चिन्तक आइन्स्टाइनलाई थाहा नहुने कुरै भएन! आफ्नो खोजको नतिजालाई मन नपराएका तिनले विश्वको आरम्भलाई हटाउन विश्वविज्ञानगत अचरको काल्पनिक अवधारणालाई अगि सारे । पछि यसैलाई तिनले आफ्नो जीवनको सबैभन्दा ठुलो भुल भने ।

आर्थुर एडिङ्गटोन ब्रिटिस खगोलविद्, भौतिकशास्त्रीसाथै गणितज्ञ थिए ।[iii] विज्ञानका दार्शनिकसमेत रहेका तिनले १९१९ मा सूर्यग्रहणको बेलामा एउटा परीक्षण गर्दा आइन्स्टाइनको सामेन्य सापेक्षताको सिद्धान्त वास्तवमै साँचो साबित भयो अर्थात् यस अवलोकनले विश्वको आरम्भ भएको तथ्य प्रकट गरिदियो । आइन्स्टाइनझैँ तिनी पनि यसको आशयबाट खुसी भएनन् । पछि आर्थुरले लेखे, “दार्शनिक दृष्टिकोणबाट भन्नुपर्दा प्रकृतिको वर्तमान क्रमको आरम्भको सङ्केत मेरो लागि विरोधासपूर्ण छ । … म साँचो छिद्र खोज्न मन पराउँछु ।”[iv]

अलेक्ज्यान्डर फ्रिडम्यान रुसका भौतिकशास्त्रीसाथै गणितज्ञ थिए । विश्वको फैलावटको सिद्धान्तको लागि तिनी कहलिएका छन् ।[v] १९२२ सम्म आइपुग्दा तिनले आइन्स्टाइनको अचरमा ज्यामितीय त्रुटि थियो भनी औपचारिक रूपमा पर्दाफास गरिदिए ।

विलियम डे सिट्टेर नेदरल्यान्डका गणितज्ञ, भौतिकशास्त्रीसाथै खगोलविद् थिए ।[vi] तिनले सामान्य सापेक्षताको सिद्धान्त साँचो हुनको लागि यो विश्व फैलिएको हुनुपर्छ भन्ने तथ्य बाहिर ल्याए ।

एडविन पावेल हब्बललाई इतिहासकै एक सर्वाधिक महत्त्वपूर्ण खगोलविद्‌को रूपमा आदर गरिन्छ ।[vii] १९२७ मा यी अमेरिकी खगोलविद्ले विश्वको फैलावटलाई वास्तवमै अवलोकन गरे । अमेरिकाको क्यालिफोर्नियास्थित माउन्ट विलसन वेधशालामा राखिएको १०० इन्च टेलिस्कोपबाट हेर्दा तिनले तारापुञ्जहरू हामीबाट टाढिँदै गएका पाए । तिनको अवलोकनबाट पनि यो सम्पूर्ण विश्व एउटा बिन्दुबाट सुरु भएको थियो भन्ने आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्त पुष्टि हुँदै थियो ।

१९२९ मा वैज्ञानिक आइन्स्टाइन आफै हब्बलको दूरदर्शक यन्त्रबाट हेर्न माउन्ट विलसन वेधशाला गए । तिनले जे देखे त्यसलाई पत्याउन तिनलाई गार्‍हो भयो । सामान्य सापेक्षताको सिद्धान्तले अपेक्षा गरेअनुरूप नै विश्व (युनिभर्स) फैलिरहेको देखे तिनले । सैद्धान्तिक साक्षीले मात्र नभई अवलोकनीय साक्षीले पनि आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्त साँचो भएको पुष्टि गरिदियो । आफ्नै आँखाले देखेपछि विश्व अनन्त छ भन्ने धारणालाई तिनले अङ्गाल्न सकेनन् । अवलोकनीय साक्षी तिनको चाहनाको विपरीत देखियो ।

आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्त परमेश्वरको अस्तित्वको लागि आज पनि एउटा दरिलो साक्षीको रूपमा खडा छ ।  तिनको यो धारणाको प्रारम्भ नै विश्व अनन्त छ भन्ने धारणाको अन्त्य थियो । आइन्स्टाइनको सामान्य सापेक्षवादअनुसार सम्पूर्ण समय, सम्पूर्ण अन्तरिक्ष र सम्पूर्ण पदार्थको प्रारम्भ छ । [viii]

निष्कर्षमा बिसौँ शताब्दीको विज्ञानले तपाईं र मलाई यो विश्व अनन्त नभई यसको निश्चित बिन्दुमा आरम्भ भएको छ भन्ने सत्यतातर्फ डोर्‍याएको छ । सुरुमा वैज्ञानिक आइन्स्टाइनले आफ्नै खोजको यस नतिजालाई स्वीकार गर्न नचाहे तापनि अवलोकन गरेपछि यो विश्व अनन्त छैन भन्ने धारणामा तिनी पूर्णत: विश्वस्त हुन पुगे । बाइबलमा हजरौँ वर्ष पहिले लेखिएको सत्यता पनि यही नै थियो, “आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” (उत्पत्ति १:१) । यो विश्व अनन्त नभई यसको आरम्भ भएको थियो भन्ने तथ्यमा बाइबल र अहिलेको विज्ञान पूर्णत: मेल खान्छ ।

 

सन्दर्भ स्रोतहरू:

[i] https://en.wikipedia.org/wiki/Albert_Einstein Accessed on 19 June 2020

[ii] कमल अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (काठमाडौँ: सामदान प्रकाशन, ख्रिस्टाब्द २०१९), पृ. सं. ८६ ।

[iii] https://en.wikipedia.org/wiki/Arthur_Eddington Accessed on 19 June 2020

[iv] Quoted in Hugh Ross, The Creator and the Cosmos (Colorado Sprints: NavPress, 1995), 57.

[v] https://en.wikipedia.org/wiki/Alexander_Friedmann Accessed on 19 June 2020

[vi] https://en.wikipedia.org/wiki/Willem_de_Sitter Accessed on 19 June 2020

[vii] https://en.wikipedia.org/wiki/Edwin_Hubble Accessed on 19 June 2020

[viii] Normal L. Geisler & Frank Turek (2004), I don’t Have Enough Faith to be an Atheist (Kindle Edition).

Facebook Comments

Powered by Youth Circle