नयाँ करारका अगिल्ला चार ओटा पुस्तकहरू अर्थात् मत्ती, मर्कुस, लुका र युहन्ना येशूको बारेमा लेखिएका जीवनी हुन् जसमा उहाँले गर्नुभएका कार्यहरू र भन्नुभएका वचनहरू अभिलिखित छन् । चार ओटा सुसमाचारहरूमा दशांशको बारेमा येशूले भन्नुभएका केवल तीन ओटा सन्दर्भ पाइन्छन्: लुका १८:१२; मत्ती २३:२३ र लुका ११:४२ । यी तीन ओटामध्ये पछिल्ला दुई ओटा खण्ड एउटै अभिव्यक्तिका दुई ओटा सन्दर्भ हुन् । तसर्थ येशूले दुई पटक दशांशको बारेमा बोल्नुभएको हामी पाउँछौँ । “सत्यको वचनलाई ठिकसँग प्रयोग गर्ने” (२ तिमोथी २:१५) खोजकर्ताझैँ ती दुई ओटै खण्डलाई तिनको सन्दर्भमा गएर हेरौँ ।
पहिलो खण्ड: “म हप्तामा दुई पल्ट उपवास बस्तछु । मैले पाएका सबै थोकको दशांश म दिन्छु” (लूका १८:१२) ।
यो येशूले भन्नुभएको फरिसी र कर उठाउनेको दृष्टान्तको अंश हो र माथिको अभिव्यक्ति फरिसीको हो । फरिसीलाई मोसीय व्यवस्थाको ज्ञान मात्र थिएन तर त्यसले यसको पालना पनि गर्दथ्यो । यसको पालनाको कारण त्यसले आफूलाई अरूभन्दा श्रेष्ठतर ठान्यो । तर यी दुईको मूल्याङ्कन गर्नुहुँदा येशूले कर उठाउनेलाई श्रेष्ठतर देख्नुभयो । येशूका अनुसार कर उठाउनेचाहिँ फरिसीभन्दा “धर्मी ठहरिएर आफ्नो घरतिर लाग्यो” (लुका १८:१४) । यो पूरै दृष्टान्तमा येशू फरिसको स्वधार्मिकतावाद र पाखण्डवादको पर्दाफास गर्दै हुनुहुन्छ ।
दोस्रो खण्ड: “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू पुदिना र सुप र जिराको दशांश दिन्छौ, तर व्यवस्थाका गहकिला विषयहरू अर्थात् न्याय, दया र विश्वासको अवहेलना गरेका छौ । तिमीहरूले दशांश दिने काम गर्नुपर्नेथियो अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नुपर्नेथियो” (मत्ती २३:२३) ।
मत्ती २३ अध्यायलाई ‘धिक्कारको अध्याय’ भनेर चिनिन्छ । किनकि यस अध्यायमा येशूका ७ ओटा धिक्कारहरूलाई उल्लेख गरिएको छ । यहाँ येशू शास्त्री र फरिसीहरूको आलोचना गर्नुहुन्छ । मत्ती २३:२३ तीमध्ये चौथो धिक्कारको अंश हो ।
पुरानो करारअनुसार इस्राएलीहरूले अन्न, दाखमद्य, तेल र गाईबस्तुको दशांश दिनुपर्थ्यो (व्यवस्था १४:२२-२९) । तर धार्मिक अगुवाहरू यति परसम्म पुगे कि तिनीहरूले पुदिना, सुप र जिराको समेत दशांश दिन्थे । येशूले धार्मिक अगुवाहरूको अभ्यासको तारिफ मात्र गर्नुभएन तर त्यसमा लाग्न उत्साहसमेत दिनुभयो । येशूले दशांशसम्बन्धी पुरानो करारको आज्ञाको आलोचना गर्नुभएन न त गर्न मिल्थ्यो किनकि उहाँ त्यही व्यवस्था पूरा गर्न आउनुभएको थियो । तर व्यवस्थाले अपेक्षा गरेको अझै गहकिला विषयहरू अर्थात् न्याय, दया र विश्वासमा धार्मिक अगुवाहरू चुकेका थिए । येशूले परमेश्वरले मानिसबाट अपेक्षा गर्नुभएको तीन ओटा प्राथमिक कर्तव्यहरू उल्लेख गर्नुभयो जसको विषयमा मीका ६:८ मा लेखिएको छ, “परमप्रभुले तँबाट के चाहनुहुन्छ ? केवल यति, ठिकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्वरसित विनम्र भएर हिँड्नू ।”
लेवी ११ अध्यायमा शुद्ध र अशुद्ध प्राणीहरूको सूची दिइएको छ । चार खुट्टे पखेटा भएका सबै किरा तिनीहरूका निम्ति अशुद्ध थिए (लेवी ११:२३) । यहुदीहरूले यस्ता आज्ञाहरूलाई कडाइका साथ पालन गर्थे । पानीमा भुसुनाजस्ता ससाना किरा हुन सक्ने भएकोले धार्मिक यहुदीहरू यति होसियार हुन्थे कि तिनीहरूले पानी पिउनुभन्दा पहिले कपडाले छान्ने गर्थे । झुक्केर पनि अशुद्ध प्राणी तिनीहरूको मुखभित्र नपरोस् भन्ने तिनीहरूको चाहना हुन्थ्यो । येशूले यही प्रसङ्गलाई आफ्नो उखानमा उल्लेख गरी उँटसित जोड्नुभएको हो, “तिमीहरू भुसुना चाल्दछौ, तर उँटलाई चाहिँ निलिहाल्दछौ” (मत्ती २३:२४) । फरिसीहरू भुसुना चाल्नुजस्ता कम महत्त्वका कुराहरू गरेर व्यवस्था उल्लङ्घन नगर्न निकै सतर्क हुन्थे जब कि न्याय, दया र विश्वासजस्ता ठुला पापहरू (उँटलाई निल्नु) लाई भने तिनीहरूले बेवास्ता गर्दै थिए ।
महत्त्वहीन विषयलाई महत्त्वपूर्ण ठानेकाले र महत्त्वपूर्ण विषयलाई महत्त्वहीन ठानेकाले येशूले शास्त्री र फरिसीहरूको भर्त्सना गर्नुभयो । ससाना कुराहरूमा सावधान हुन पुगेका तिनीहरूले प्राथमिक कुराहरूलाई कहिल्यै सम्बोधन गरेनन् । तिनीहरूले महत्त्वपूर्ण क्षेत्रलाई बेवास्ता गरी महत्त्वहीन क्षेत्रलाई प्राथमिकतामा राखे । तिनीहरूले दुवै विषयको कार्यान्वयन गरेका हुनुपर्थ्यो तर गरेनन् । त्यसैले येशूको भनाइअनुसार तिनीहरू अन्धा अगुवा थिए ।
के येशूले “दशांश दिनुपर्छ” भनेर आज्ञा दिनुभयो ? नयाँ करारको अभ्यासको रूपमा येशूले कहिल्यै पनि “दशांश दिनुपर्छ” भनेर सिकाउनुभएन न त यसको कतै अनुमोदन गर्नुभयो । मत्ती २३ मा येशू आफ्ना अनुयायीहरूसित नभई यहुदी अगुवाहरूसित बोल्दै हुनुहुन्छ । उहाँको मुख्य सन्देश दशांश दिनुपर्छ भन्ने बारेमा होइन । धार्मिक अगुवाहरूको विधिवाद, स्वधार्मिकतावाद र पाखण्डवादप्रति येशूको आलोचना नै मत्ती २३ को मुख्य विषय हो ।
दशांश यहुदी व्यवस्थाको हिस्सा थियो । हामीले पुरानो करारको ‘दशांश’ सम्बन्धी व्यवस्थालाई नयाँ करारमा लाद्यौँ भने पुरानो करारका अन्य व्यवस्थालाई नमान्नुपर्ने कारण के हुन सक्ला ? निस्सन्देह, चर्चका अगुवाहरू विश्वासीहरूलाई दशांशको लागि अभिप्रेरित गर्नमा पूर्णत: स्वतन्त्र छन् । तर तिनीहरू न पुरानो करार, न मलाकी न त मत्ती २३ को आधारमा त्यसो गर्न स्वतन्त्र छन् । चर्चलाई दिनुपर्छ भन्ने कुरामा कुनै आशङ्का छैन । करकाप वा कुनै नियममा रहेर भन्दा पनि ‘स्वेच्छापूर्वक’ दिएर आफ्नो चर्चलाई सहयोग गर्न अभिप्रेरित गरौँ । कुनै सुत्रमा रहेर भन्दा पनि राजीखुसीले दिऔँ; उद्धारचित्तले दिऔँ । “अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम देओस्, इच्छा नभई होइन, न त करकापमा परेर । किनभने खुसीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ” (२ कोरिन्थी ९:७) ।