खजुरे आइतबारदेखि इस्टर सन्डेसम्मको समयावधिलाई पवित्र हप्ता भनिन्छ । खजुरे आइतबारको दिन येशू गधाको बच्चा अर्थात् पाजीमाथि चढेर यरुसलेम प्रवेश गरेसँगै यो हप्ताको सुरु हुन्छ । उहाँ मरेकाहरूबाट जीवित हुनुभएको अनुगामी आइतबारसम्म लम्बिएको यस हप्तावधिमा विविध घटनाहरू घटे जसको विषयमा मत्ती २१-२७; मर्कुस ११-१५; लुका १९-२३ र युहन्ना १२-१९ मा सविस्तार ढङ्गमा वर्णन गरिएको छ । यही हप्तामा येशू मानवजातिका पापको लागि स्वेच्छापूर्वक क्रुसमा जानुभएकोले यसलाई ‘वेदनाको हप्ता’ पनि भन्ने गरिन्छ । यस हप्तामा परमेश्वरले महान् कार्यहरू गर्नुभएकोले पूर्वीय ख्रिस्टियमतमा यसलाई ‘महान् हप्ता’ पनि भनिन्छ ।
ख्रीष्टियन आस्थामा यस हप्तालाई सबैभन्दा पवित्र हप्ताको रूपमा लिइन्छ । प्राय: सबै थरीका ख्रीष्टियानहरूले यसलाई मनाउँदै आएका छन् । पवित्र हप्ता ‘अस्थिर पर्व’ हो किनकि वर्षैपिच्छे यो फरक फरक मितिमा पर्छ ।
यो पृथ्वीमा येशूको जीवनको अन्तिम हप्ता थियो । यस हप्तामा येशूको अन्तिम भोज, क्रुसारोहण, दफन र पुनरुत्थानजस्ता महत्त्वपूर्ण घटनाहरू भएका थिए । येशूका मृत्यु, गडाइ र पुनरुत्थान ख्रीष्टियन आस्थाको आधार हो । उहाँको बलिदानले नयाँ करारको शुभारम्भ गर्यो जसको विषयमा परमेश्वरले प्रतिज्ञा मात्र गर्नुभएको थिएन तर पुरानो करारमा विभिन्न अगमवक्ताहरूले भविष्यवाणी पनि गरेका थिए । पवित्र हप्तामा धेरै भविष्यवाणीहरू पूरा भए । क्रुसतर्फको उहाँको हरेक कदममा मानवजातिप्रति उहाँको प्रेम प्रतिबिम्बित हुन्छ । “पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो । उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो” (१ कोरिन्थी १५:३-४) ।
सुरु सुरुमा गुड फ्राइडे र पवित्र शनिबारलाई बिदाको रूपमा मनाउने गरिन्थ्यो । पछि यहुदाले येशूलाई धोका दिएको सम्झनामा बुधबार पनि थपियो । तेस्रो शताब्दीदेखि हप्ताका अन्य दिनहरूलाई पनि बिदाको रूपमा मनाउन थालियो । चौथो शताब्दीमा अभिलिखित ‘प्रेरितीय संविधान’ नामक ख्रीष्टियन पुस्तकहरूको सङ्कलनमा पवित्र हप्ताको बारेमा सबैभन्दा प्रारम्भिक सङ्केत पाइन्छ । पवित्र हप्ताका घटनाहरूलाई तल क्रमैसँग देखाइएको छ ।
खजुरे आइताबार: येशू विजयसाथ यरुसलेममा प्रवेश गर्नुभयो (मत्ती २१:१-११; मर्कुस ११:१-११; लुका १९:२८-४०; युहन्ना १२:१२-१६) ।
पवित्र सोमबार: येशूले अञ्जीरको बोटलाई सराप दिनुका साथै मन्दिर शुद्ध पार्नुभयो (मत्ती २१:१२-१३,१८-१९; मर्कुस ११:१२-१४,१५-१७; लुका १९:४५-४६)
पवित्र मंगलबार: श्रापित अञ्जीरको बोट सुक्यो (मत्ती २१:२०-२२; मर्कुस ११:२०-२१) । येशूले व्यवस्थाका धर्मगुरु तथा शास्त्रीहरूको भर्त्सना गर्नुभयो (मत्ती २३) र अन्त्यको समयको विषयमा सबिस्तार ढङ्गमा भविष्यवाणी गर्नुभयो जसलाई जैतुने प्रवचन भनेर चिनिन्छ (मत्ती २४-२५; मर्कुस १३; लुका २१:५-३६) ।
जासुसी बुधबार: बेथानीमा येशूलाई महङ्गो अत्तरले अभिषेक गरियो (मत्ती २६:६-१३; मर्कुस १४:३-९) । साथै, यहुदा इस्करियोत येशूलाई धोका दिन राजी भयो (मत्ती २६:१४-१६; मर्कुस १४:१०-११; लुका २२:१-६) ।
पवित्र बुधबार: येशू र उहाँका चेलाहरूले अन्तिम भोज खानुभयो (मत्ती २६:१७-३०; मर्कुस १४:१२-२५; लुका २२:७-२०; युहन्ना १३:१-१७) ।
गुड फ्राइडे: येशू क्रुसमा टाँगिनुभयो र मर्नुभयो (मत्ती २७:३२-५६; मर्कुस १५:२१-४१; लुका २३:२६-४९; युहन्ना १९:१७-३७) । सूर्योस्तमा शबाथको आरम्भ हुनुअगि येशूलाई दफन गरियो (मत्ती २७:५७-६१; मर्कुस १५:४२-४७; लुका २३:५०-५६; युहन्ना १९:३८-४२) ।
पवित्र शनिबार: येशूको मृत शरीर चिहान रह्यो । रोमी सिपाहीहरूले उहाँको चिहानमा पहरा दिए (मत्ती २७:६२-६६) ।
इस्टर सन्डे: पुनरुत्थानको आइतबार पनि भनेर चिनिने यस दिनमा येशू मरेकाहरूबाट जीवित हुनुभयो (मत्ती २८:५-६; मर्कुस १६:६; लुका २४:५-७; युहन्ना २०:१-१८) । चेलाहरूकहाँ गई यो शुभ खबरको घोषणा गर्न येशूले स्त्रीहरूलाई आज्ञा दिनुभयो (मत्ती २८:८-१०; मर्कुस १६:७; लुका २४:९-११; युहन्ना २०:१८) ।
वर्तमान समयमा पवित्र हप्तामा विभिन्न चर्चहरूले विशेष सेवाहरू सञ्चालन गर्छन् । संसारका तीन ओटै विशालतम ख्रीष्टियन सम्प्रदाय अर्थात् रोमन क्याथोलिक, पूर्वीय अर्थोडक्स र प्रोटेस्टेन्टले चर्चमा यी सेवा सञ्चालनमा ल्याउँछन् । पवित्र हप्ताको हरेक दिन विश्वासीहरू सेवाहरूमा उपस्थित भई धर्मशास्त्रबाट सिकेर आत्मिक लाभ लिन सक्छन् । यस्ता सेवाहरूले इतिहासभरि विश्वासीहरूलाई ख्रीष्टियन जीवनमा अगाडि बढ्न मदत पुर्याएका छन् ।