एक मात्र परमेश्वरमाथिको विश्वासले ल्याएका रूपान्तरणहरू

संसारका ५५% भन्दा बेसी जनसङ्ख्या एकेश्वरवादी छन् । एक मात्र ईश्वरको अस्तित्वमाथिको विश्वासलाई एकेश्वरवाद भनिन्छ । ख्रिस्टियमत, इस्लाम र यहूदी संसारका तीनवटा मुख्य धर्म हुन् जुन एकेश्वरवादी हुन् । एकेश्वरवादलाई इतिहासकै एकल सर्वाधिक खोज भन्दा फरक नपर्ला ।

यहूदीहरू बहुईश्वरवादी भएका भए तिनीहरू बेबिलोनीहरूजस्तै गाएब भएर जान्थे कि ? ख्रीष्टियानहरूले येशूलाई ग्रिक-रोमी संसारको ‘अर्का’ ईश्वरको रूपमा पुजेका भए तिनीहरूको विश्वास रोमको रहस्यमय धर्ममा बिलिन हुन पुग्थ्यो । बहुईश्वरवादी समाजबाट मुहम्मदले अल्लाहलाई अलग नगरेका भए मुहम्मदको अभियान उजाड-स्थानमा हराउनेथियो । एकेश्वरवादी धारण र खासमा ख्रीष्टियान मूल्य-मान्यताहरूले संसार रूपान्तरण गरिदिए ।

For the Glory of God: How Monotheism Led to Reformations, Science, Witch-Hunts, and the End of Slavery पुस्तकको नाउँ हो । १७ दिन (अगस्ट ३१-सेप्टेम्बर १६) मा १९ घण्टा लगाएर ४९६ पृष्ठको यस कृतिलाई पढेर सकेँ । २०१५ मा प्रकाशित यस पुस्तकका रचनाकार हुन्, रोड्नी स्टार्क । ३० ओटाभन्दा बेसी पुस्तकका लेखक स्टार्क धर्मका समाजशास्त्री हुन् ।

पुस्तकको नामबाटै प्रस्ट छ कि एकेश्वरवादमाथिको विश्वासले सुधारवाद, विज्ञान, बोक्सीवादको निर्मूलन र दासप्रथाको अन्त्यमा डोर्‍यायो । परमेश्वरमाथिको विश्वासले पाश्चात्य जगत्‌को इतिहास र संस्कृतिलाई आकार दियो जसको प्रभाव संसारभरि नै देखिएको छ ।

एकेश्वरवादमाथिको विश्वासले निम्त्याएको पहिलो नतिजा हो: प्रोटेस्टेन्ट सुधारवाद । मण्डली सुधारको प्रयास शताब्दीऔँ अगिदेखि भए तापनि ३१ अक्टोबर १५१७ मा ईश्वरशास्त्री मार्टिन लुथरले जर्मनीको विटेनवर्गस्थित अल सेन्ट्स चर्चको ढोकामा ९५ ओटा थिसिस (बुँदा) टाँसिदिएपछि तत्कालीन सांस्कृतिक मण्डलीमा भुइँचालो ल्याइदिएका थिए । उक्त दिनमा सुधारवादको थालनी भएको थियो ।

एक मात्र परमेश्वरमाथिको विश्वासको कारण आधुनिक विज्ञानको उदय भयो भनी लेखक तर्क गर्छन् । विज्ञानको उदयको लागि ख्रीष्टियान ईश्वरशास्त्र अपरिहार्य थियो । आधुनिक विज्ञानको उदय एसियामा भएन न त अफ्रिकामा । यसको उदय भयो: ख्रीष्टियान युरोपमा । किन ? किनकि पाश्चात्य संस्कृतिमा भएको ख्रीष्टियान विश्वासको अद्वितीय योगदानलाई यसको श्रेय जान्छ । ख्रीष्टियान आस्थाअनुसर यो सम्पूर्ण विश्व परमेश्वरको सृष्टि हो जो तर्कसङ्गत हुनुहुन्छ । यो ख्रीष्टियान धारणाविना विज्ञानको उदय हुन सक्दैनथ्यो । उहाँ तर्कसङ्गत परमेश्वर हुनुभएकोले उहाँको स्वरूपमा सृजित मानव-जाति पनि तर्कसङ्गत छ जसले आफ्नो तर्कको प्रयोग गरी यस भौतिक संसारको खोज-अनुसन्धान गर्न सक्छ भनी बुझियो । सिद्ध परमेश्वरले अटल सिद्धान्तहरूको प्रयोग गरी विश्वको रचना गर्नुभएको छ । ख्रीष्टियानहरूले विज्ञान सम्भव छ भनेर मात्र विश्वास गरेनन् तर यो हुनुपर्छ भनेर पनि मानिलिए ।

एउटा यस्तो समय थियो जुन बेला युरोपका प्राय: सबै शिक्षितहरूले बोक्सी प्रथामाथि विश्वास गर्थे । १४५०-१७५० सम्म बोक्सीको नाउँमा मानव सिकार गरिन्थ्यो । करिब ६०,००० मारिए भनी अनुमान गरिएको छ । शैतानवाद युरोपेली बोक्सीप्रथाको सार थियो । एक मात्र साँचो परमेश्वर अस्तित्वमा हुनुहुन्छ भने अरू कथित देव-देवतालाई पुज्नु गलत हो भन्ने तथ्य प्रस्ट हुन्छ । बोक्सी प्रथा क्रमश: हट्दै गयो ।

दासप्रथाको उन्मूलन एकेश्वरवादमाथिको विश्वासले निम्त्याएको चौथो नतिजा हो । व्यापक रूपमा अभ्यास गरिएको यस कुप्रथालाई हटाउन ख्रीष्ट येशूका अनुयायीहरूले उल्लेखनीय योगदान पुर्‍याएका छन् । लेखक लेख्छन्, “तीनवटा महान् एकेश्वरवादी धर्मसहित संसारका सबै धर्ममध्ये दासप्रथा पापिष्ठ थियो र यसको उन्मूलन गरिनुपर्छ भन्ने अवधारणा केवल ख्रिस्टियमतमा उदय भयो । … एक पटक किन्न सक्ने सबै समाजका लागि दासप्रथा झन्डै विश्वव्यापी थियो । … पश्चिमी जगत्‌मा मात्र उल्लेखनीय नैतिक विरोधको उदय भयो जसले यसको उन्मूलनमा डोर्‍यायो ।” ख्रीष्टियान दृष्टिकोणमा दासप्रथा केवल प्रथा थिएन, यो त पाप थियो । न दार्शनिकहरू न बाइबलेतर विचारकहरूले दासप्रथालाई नैतिक दृष्टिकोणबाट अमानवीय देखे । ख्रीष्टियान विश्वासलाई अङ्गाल्ने पुरुष र स्त्रीहरूले दासप्रथाको  विरोध गरी यसलाई निर्मूलन गरे किनकि यो पाप थियो ।

एक मात्र परमेश्वरमाथिको विश्वासको कारण संसारमा महान् परिवर्तनहरू देखा परे जसमध्ये चारवटालाई पुस्तकमा सबिस्तार वर्णन गरिएको छ ।

Facebook Comments

Powered by Youth Circle