पावलद्वारा गलातीहरूलाई लिखित पत्रअनुसार येशू समयको पूर्णतामा जन्मनुभयो, “तर समयको पूर्णतामा परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो । उहाँ एउटी स्त्रीबाट जन्मनुभयो, तथा व्यवस्थाको अधीनमा जन्मनुभयो” (गलाती ४:४) । अर्को पत्रमा व्यक्त उही लेखकको भनाइअनुसार येशू ठिक समयमा मर्नुभयो, “किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो” (रोमी ५:६) । येशू “समयको पूर्णतामा” मात्र जन्मनुभएन तर “ठीक समयमा” पनि मर्नुभयो ।
येशू ख्रिस्टियमतका संस्थापक हुनुहुन्छ जो करिब ४ ख्रिस्टपूर्वमा जन्मनुभयो । साढे तेत्तिस वर्ष यस धरतीमा रहनुभई उहाँ यस ग्रहबाट बिदा हुनुभयो । यस धरतीमा मानवीय चोलामा येशूको प्रवेश र यस धरतीबाट उहाँको बिदाइ ठिक समयमा भएको थियो भनी बाइबलले बताउँछ । येशू किन करिब दुई हजार वर्षअगि आउनुभयो ? किन त्योभन्दा अगाडि आउनुभएन ? किन त्योभन्दा पछाडि आउनुभएन ?
हामी सीमित मानव-जाति भएकाले तोकिएको समयमा काम फत्ते गर्न हामी चुक्छौँ । हामी कहिले ढिलो हुन्छौँ त कहिले छिटो । तर परमेश्वरले कहिल्यै ढिलो गर्नुहुन्न, न त छिटो । उहाँले सधैँ ठिक समयमा काम गर्नुहुन्छ । उहाँले हामीले चाहेका समयमा नगर्नुहोला तर उहाँको आफ्नो समयमा भने अवश्य गर्नुहुन्छ । उहाँले येशूलाई ठिक समयमा यस पृथ्वीमा पठाउनुभयो । विभिन्न दृष्टिकोणबाट येशूको जन्म, मृत्यु र पुनरुत्थान ठिक समयमा भएको थियो ।
१. सञ्चारको दृष्टिकोणबाट येशूको आगमन ठिक समयमा भएको थियो
३५०० ख्रिस्टपूर्वतिर अर्थात् आजभन्दा ५,५०० सय वर्षअगि लेखन कला दृष्यमा आएको देखिन्छ । त्यस बेला चित्रद्वारा मनका कुरा लेखेर अभिव्यक्त गरिन्थ्यो । हाल यस्तो तरिकालई चित्रलेखन (pictograph) भनिन्छ । आजको जस्तो भाषाको विकास भएको अवस्था थिएन । माटोलाई अलि–अलि भिजाइन्थ्यो अनि तिखो ढुङ्गो वा सिङ्कोजस्ता लेख्ने सामग्रीले कोरेर वस्तुको प्रतिनिधित्व गर्ने सङ्केत बनाइन्थ्यो । सुकेपछि त्यो कडा हुन्थ्यो र त्यसका चित्रहरू सजिलैसित बुझिन्थ्यो । तर यस्तो साङ्केतिक माध्यमद्वारा भाषाले जस्तै धेरै कुरा व्यक्त गर्न सकिँदैनथ्यो । यस्तो लेखन शैलाका आफ्नै सीमाहरू थिए ।
येशू ख्रीष्ट समयको यस कालखण्ड अर्थात् ५,५०० वर्षअगि आउनुभएको भए उहाँको स्वभाव र शिक्षाजस्ता जटिल धारणाहरूलाई लेखेर व्यक्त गर्न असम्भव हुन्थ्यो । अर्कोतिर, सुकेपछि माटोमा लिखित चित्रलाई सच्याउन सकिँदैनथ्यो । यो कुटुक्क भाँचिन्ने खालको हुन्थ्यो र प्रायः टुक्रिन्थ्यो । गरुङ्गो हुने भएकोले यसलाई ओसारपसार गर्न कठिन हुन्थ्यो ।
५०० वर्षपछि (अर्थात् ३००० ख्रिस्टपूर्वतिर) स्वर वर्णजस्ता ध्वनिसङ्केतहरूको विकास गरी सञ्चारलाई अलि सहज बनाइयो तर वर्णमालाको विकास नभइसकेकोले लिखित अभिव्यक्तिमा अझै कठिनाइ थियो । अर्कोतिर, माटोमा लेख्नुका बेफाइदाहरू ज्युँकातियुँ थिए ।
तर पपाइरसको प्रयोगसँगै लेखन कलाले फड्को मार्यो । कम गहिराइ भएका तलाउसाथै नदीहरूको नजिकै उम्रने एक प्रकारको निगालोलाई पपाइरस भनिन्थ्यो । यो विरुवा खास गरी मिश्रको नील नदीको छेउछाउमा उम्रन्थ्यो । प्राचीन समयका मानिसहरूले भित्र खोक्रो भएको यस विरुवाको कटनी गर्थे र यसलाई लामो पारेर बिच भागमा चिरी समतल बनाउँथे । समतल बनाइएका टुक्राहरूलाई तिनीहरूले त्यस समयमा उपलब्ध गमले जोड्ने काम गर्थे । निगालका धेरै टुक्रालाई गाँसेपछि आधुनिक कागजमा जस्तै गरी त्यसमा लेख्न सकियोस् भन्ने हेतुले ढुङ्गाले थिचेर यसलाई राखिन्थ्यो । यसरी निर्माण भएको लेख्ने सामग्रीलाई पपाइरस भनिन्थ्यो । वास्तवमा अङ्ग्रेजी शब्द paper को उदय यही पपाइरस (papyrus) शब्दबाट भएको हो । अङ्गार, पानी र गम मिलाएर मसी तयार गरिन्थ्यो अनि कुनै तिखो सिन्को वा प्वाँखको कलम वा कलमजस्तै उपकरणले मसीमा चोपी लेख्ने गरिन्थ्यो ।
लेख्नका लागि यी सामग्रीहरू निकै मदतगार भए तापनि संसार अझै पनि पक्का वर्णमालाको प्रतीक्षामा थियो । वर्णमालाको कुरा गर्दा फोनिसियाली वर्णमाला उत्कृष्ट प्रयास थियो । करिब १०५० ख्रिस्टपूर्वतिर यसको सुरु भएको देखिन्छ । यसमा २२ ओटा व्यञ्जन वर्ण थिए भने कुनै स्वर वर्ण थिएन । प्राचीन संसारमा यो व्यापक रूपमा प्रयोग गरिएको वर्णमाला थियो । परिष्कृत गरी अन्य केही संस्कृतिहरूले पनि यसको प्रयोग गरे ।
येशू यो समय अर्थात् ३,००० वर्षअगि आउनुभएको भए तापनि तत्कालीन संसारका ज्ञात भूभागहरूमा सञ्चार गर्न अझै पनि कठिन हुनेथियो । लेखन कलाले उल्लेख्य फड्को मारेको भए तापनि धेरैजसो मानिसले फोनिसियाली वर्णमालाको प्रयोग गर्दैनथ्ये । यो स्थापित वर्णमाला भए तापनि कैयौँ मानिस यसबारे अनभिज्ञ नै थिए ।
८०० ख्रिस्टपूर्वतिर आइपुग्दा ग्रिकहरूले आफ्नो वर्णमालामा स्वर वर्णहरू थपे र त्यसको एक सय वर्षपछि इट्रुस्कानीहरूले केही ग्रिक वर्णहरूको आकार परिवर्तन गरी ग्रिक वर्णमालामा परिमार्जन गर्ने काम गरे । रोमीहरूले इट्रुस्कानीहरूमाथि जित हासिल गरेपछि तिनीहरूले इट्रुस्कानी वर्णमाला प्रयोगमा ल्याए । १०० ख्रिस्टपूर्वतिर आइपुग्दा यो रोमी साम्राज्यकै वर्णमाला बन्यो । रोमीहरूले जित हासिल गरेका अधिकांश भूभागहरूमा यही वर्णमालाको प्रयोग गरी तिनीहरूले स्थानीयहरूलाई पढ्न र लेख्न सिकाए ।
ग्रिक भाषा रोमीहरूले अङ्गीकार गरेका अर्को महत्त्वपूर्ण सञ्चार सामग्री थियो । रोमीहरूले अधिकांश भूभागमाथि कब्जा जमाएका भए तापनि ग्रिक भाषा र संस्कृतिको प्रभाव व्यापक थियो । कोइने ग्रिक भनेर चिनिने ग्रिक भाषाको सामान्य स्वरूपले साम्राज्यभरिका व्यापारसाथै नागरिक कारोबारहरूमा आधिपत्य जमाएको थियो । गैरयहूदीहरूसित कुराकानी गर्दा यहूदीहरूले समेत यही भाषाको प्रयोग गर्थे ।
ग्रिक सभ्यताको प्रभावको नतिजास्वरूप संस्कृति, दर्शनशास्त्र, सङ्घ-संस्था, कला, नाटक, साहित्य, वास्तुकला, विचारसाथै भाषामा संसार ग्रिकमय बन्यो । ग्रिक भाषा यति व्याप्त थियो कि जनसाधारणहरू पनि यस भाषासित निकै परिचित थिए । ग्रिक सम्पर्कको भाषा बन्यो । बाबेलको धरहराको समयदेखि इतिहासमा पहिलो पटक संसार एउटै भाषाद्वारा एकीकृत भएको थियो । संसारको एउटा कुनादेखि अर्को कुनासम्म एउटै भाषामा आफ्नो विचार व्यक्त गर्न सकिन्थ्यो ।
यसरी सञ्चारको दृष्टिकोणबाट सारा दुनियाँ एउटै हुँदा येशूको आगमन भयो । फलस्वरूप सुसमाचारीय सन्देश कुनाकाप्चामा पुर्याउन सहज भयो ।
(क्रमश: …)