लेविस नास्तिकबाट आस्तिक हुँदै कसरी नयाँ सृष्टि बने ?

ख्रिस्टाब्द १९५५ मा सी. एस. लेविसको आंशिक आत्मकथा प्रकाशित भयो । शीर्षक Surprised by Joy: The Shape of My Early Life हो । यस कृतिमा आफ्नो बाल्यावस्थादेखि ख्रीष्टियान आस्थासम्म तिनको विश्वासको चर्चा गरिएको छ । पुस्तकमा तिनको जीवनका घटनाहरूबारे उल्लेख गरिएको भए तापनि यो अन्य आत्मकथाभन्दा बेग्लै छ । लेविस कसरी नास्तिकवाददेखि आस्तिकवाद हुँदै ख्रीष्टियान विश्वासम्म आइपुगे भनी पुस्तकमा चर्चा गरिएको छ ।

पुस्तक पठन यात्रामा यो मेरो १०८ औँ पुस्तक हो । यसका लेखक स्वयम् सी. एस. लेविस हुन् । १९४ पृष्ठको यस कृतिलाई पढेर सिद्ध्याउन मलाई ६ दिन (२५ फेब्रुअरी-२ मार्च) मा साढे नौ घण्टा लाग्यो । यो १९५५ मा छापिएको भए पनि मैलेचाहिँ २०१५ को संस्करण पढेँ ।

लेविस ख्रीष्टियान परिवारमा जन्मेका थिए र तिनको परिवार चर्च अफ आएरल्यान्डमा जान्थ्यो । धार्मिक परिवारमा हुर्के तापनि मण्डलीका दिक्कलाग्दा सेवाहरू र संसारमा विद्यमान दुष्ट्याइँको कारण १५ वर्षको उमेरमा तिनी नास्तिक बने । नास्तिकवादको पक्षमा तिनको तर्क थियो, “यदि परमेश्वरले यस संसारको रचना गर्नुभएको थियो भने हामीले देखेजस्तै यो संसार यति कमजोर र दोषी नहुनुपर्थ्यो ।” तिनी ख्रीष्टियान नहुन खोजेका थिए । आफ्नो धर्मान्तरणलाई जोसपूर्वक विरोध गरे तापनि तिनी सफल भएनन् । अन्ततः आफ्ना सहकर्मीसाथै मित्र जे. आर. आर. टोल्किनका गहकिला तर्कहरूबाट प्रभावित भई लेविस विस्तारै ख्रीष्टियान विश्वासतर्फ फर्के र ३३ वर्षको उमेरमा तिनले येशूलाई प्रभुको रूपमा स्वीकारे अर्थात् तिनी ख्रीष्टियान बने ।

सी. एस. लेविसको पूरा नाउँ हो— क्लाइभ स्ट्याप्लेस लेविस । सम्भवत: तिनी बिसौँ शताब्दीका सर्वश्रेष्ठ रक्षाशास्त्री थिए । रक्षाशास्त्रीले ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्दछ । परिवार र मित्रहरूका बिचमा ‘ज्याक’ भनेर चिनिएका लेविस उपन्यासकार, कवि, साहित्यिक समालोचक, निबन्धकारसाथै ख्रीष्टियान रक्षाशास्त्री थिए । आख्यान र आख्यानेतर दुवै क्षेत्रमा कलम चलाएका तिनी ख्रीष्टियानसाथै गैरख्रिस्टियान जगत्‌का अनमोल स्रष्टा हुन् ।

लेविसको जन्म २९ नोभेम्बर १८९८ मा बुबा अल्बर्ट जेम्स लेविस र आमा फ्लोरेन्स अगस्टा लेविसबाट आएरल्यान्डको बेलफास्टमा भएको थियो । वारेन हामिल्टन नाउँका तिनका एक दाजु थिए । विविध स्कुलमा पढेका लेविसलाई स्कुले ठिटाहरूले दुर्व्यवहार गर्थे । १९१६ मा अक्सफोर्डमा भर्ना भएपछि तिनले आफैलाई उत्कृष्ट विद्यार्थी साबित गरे । तर आफ्नो पढाइलाई थाती राखी तिनी १९१७ मा पहिलो विश्व युद्धमा ब्रिटिस सेनामा सहभागी भए । युद्धको क्रममा फ्रान्समा घाइते भए र परिणामस्वरूप तिनी इङ्गल्यान्ड नै फर्के ।

अक्सफोर्डक्याम्ब्रिजजस्ता विश्वप्रसिद्ध कलेजहरूमा पढाएका लेविसका प्रसिद्ध कृतिहरूमा मेएर क्रिस्चियानिटी, क्रोनिकल्स अफ नार्निया, मिराकल्स आदि पर्दछन् । ७० भन्दा बेसी पुस्तकका लेखक लेविसले साहित्यका विविध विधाहरूमा कलम चलाएका छन् । वार्षिक रूपमा तिनका कृतिहरू बिस लाखको सङ्ख्यामा बिक्री हुन्छन् । तिनका पुस्तकहरू तिसवटाभन्दा बेसी भाषामा अनुवाद भइसकेका छन् । तिनका कृतिहरूका कथावस्तुहरू रङ्गमञ्चमा उतारिएका छन्; टेलिभिजनमा देखाइएका छन्; रेडियोबाट प्रसारण गरिएका छन् र चलचित्रको पर्दामा प्रदर्शन गरिएका छन् । ख्रीष्टियान विश्वासको पक्षमा लेखिएको तिनको कृति मेएर क्रिस्चियानिटीलाई पढेर कैयौँ मानिसले आफ्नो जीवन प्रभु येशूमा सुम्पेका छन् ।

तर्क र विश्वासलाई वैरीको रूपमा नभई साखको रूपमा देख्ने लेविसको बुझाइमा तर्क विश्वासतर्फ डोर्‍याउने एउटा उपयुक्त मार्ग हो । आफू एङ्गलिकन भए तापनि तिनले प्राय: सबै ख्रीष्टियान सम्प्रदायका आधारभूत ख्रीष्टियान शिक्षाहरूको पक्षमा तार्किक रूपमा वकालत गरे ।

Facebook Comments

Powered by Youth Circle