आज म ४१ वर्ष पूरा गरी ४२ औँ वर्षमा प्रवेश गरेँ । ३ मार्च १९८० मा मेरो शारीरिक जन्म भएको थियो तर मेरो आत्मिक जन्मको मिति भने मलाई थाहा छैन । तर एउटा कुरो भने पक्का छ कि १९ वर्षभन्दा अगावै मैले येशूमा ‘नयाँ जन्म’ पाएको थिएँ । उहाँमा नयाँ सृष्टि बनेसँगै मैले उहाँबाट एकपछि अर्को आशिष् पाएको छु । आज जन्मदिन मनाइरहँदा म ७ ओटा बुँदामा ती आशिष्हरूको उल्लेख गर्न चाहन्छु ।
१. लेख्न नजान्नेलाई उहाँले लेखक बनाउनुभयो
मैले लेख-रचना लेख्नेथिएँ भनेर कहिल्यै कल्पना गरेको थिइनँ, पुस्तक लेख्ने कुरो त झन् धेरै परको कुरो थियो । नेपालमा २ र भारतमा ४ गरी ६ वर्षे आवासीय बाइबल अध्ययन पूरा गरेर २००५ मा नेपाल फर्केसँगै लेख लेख्ने कार्यको थालनी भयो । विविध ख्रीष्टियान पत्र-पत्रिकाहरूमा दर्जनौँ लेखहरू छापिएपछि २०११ मा एकै साल २ ओटा पुस्तक प्रकाशित भए । तेस्रो पुस्तकको प्रकाशनको लागि २०१४ कुर्नुपर्यो । २०१८, १९ र २० मा एक-एकवटा पुस्तक छापिए । यसरी हालसम्म ६ ओटा पुस्तक बजारमा आइसकेका छन् भने सातौँ पुस्तकमा काम जारी छ । यी मेरा हालसम्म प्रकाशित कृतिहरू हुन्:
(१) बाइबल, विज्ञान र परमेश्वर
(२) प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू
(३) प्रेरक प्रसङ्गहरूः ख्रीष्टियान जगत्मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह
(४) येशू को हुनुहुन्छ ?
(५) इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह
(६) कठिन प्रश्नहरू सरल जवाफहरूः बाइबलका १५१ ओटा कठिनाइ तथा विरोधाभासको व्याख्या (भाग १)
यी पुस्तकहरूका अतिरिक्त, यो साइटमा प्रकाशित यो ५४८ औँ लेख हो ।
२. अङ्ग्रेजी नजान्नेलाई उहाँले अनुवादक बनाउनुभयो
म अङ्ग्रेजीमा लद्दू विद्यार्थी थिए । कक्षा १ र ८ मा गरी दुई पटक फेल भएँ । म यति कमजोर थिएँ कि १२ वर्ष स्कुल अध्ययन गर्दा पनि म आई वान्ट टु इट राइस भन्नेजस्ता सामान्य वाक्य पनि मौलिक रूपमा व्यक्त गर्न सक्दिनथेँ । तर प्रवेशिका परीक्षा उत्तीर्ण भएपछि बाइबल स्कुल प्रवेश गरेसँगै अङ्ग्रेजी सिक्ने प्रेरणा मिल्यो । सतत मेहनतपश्चात् अङ्ग्रेजी किताब पढेर बुझ्न सक्ने मात्र भइनँ, तर अनुवाद गर्न पनि थालेँ । हालसम्म मैले ६६ ओटा पुस्तक–पुस्तिकासाथै ३० ओटाभन्दा बढी रचना अनुवाद गरिसकेको छु । अर्को शब्दमा भन्नुपर्दा, झन्डै १७ लाखवटा शब्द अनुवाद गरिसकेछु ।
३. ह्रस्व-दीर्घ नजान्नेलाई उहाँले सम्पादक बनाउनुभयो
स्कुलमा म नेपाली विषयमा कमजोर विद्यार्थी नभए तापनि ह्रस्व-दीर्घ अर्थात् हिज्जेको ज्ञान भने थिएन भन्दा अत्युक्ति नहोला । मलाई याद भएसम्म ‘पानी’ लेख्दा ‘नी’ दीर्घ लेखिन्छ र ‘पनि’ लेख्दा ‘नि’ ह्रस्व लेखिन्छ भन्नेचाहिँ थाहा थियो । म व्याकरणमा कमजोर विद्यार्थी थिएँ । काल, पक्ष, वाच्य, पदवर्ग, भाव, कारकजस्ता शब्दहरू नौला नभए तापनि व्याकरणमा तिनको प्रयोग र महत्त्वबारे थोरै मात्र ज्ञान थियो । बाइबल स्कुल नेपाली व्याकरण सिकाइने शिक्षालय नभए तापनि मैले भने नेपाली व्याकरण साथमा लिएर गएको मात्र थिइनँ, तर स्वअध्ययन पनि गर्थें । पछि आफूले लेखेका लेख-रचना, पुस्तकसाथै अनूदित कृतिहरू आफैले सम्पादन गर्न थालेँ । फलत: विर्णविन्यासको क्षेत्रमा उल्लेखनीय फड्को मारियो । हालसम्म १५५ ओटा पुस्तक–पुस्तिकासाथै सैयौँ लेख-रचना सम्पादन गरेर भ्याइसकेछु । तिनमा ३० लाखवटा भन्दा बेसी शब्द छन् ।
४. पढ्न नरुचाउनेलाई उहाँले पाठक बनाउनुभयो
स्कुले जीवनमा पाठ्यपुस्तक पढ्न त करै लाग्थ्यो । पत्र-पत्रिका विरलै पढिन्थ्यो । अन्य पुस्तकहरू पढ्ने बानी थिएन । स्कुलमा लाइब्रेरी थियो होला तर यादै छैन! बाइबल स्कुलमा प्रवेश गरेसँगै पाठ्यपुस्तकबाहेक अन्य पुस्तकहरू पढ्न सिकेँ । २०१५ भन्दा अगाडि पनि पुस्तकहरू त पढिए तर कुनै अभिलेख राखिनँ । तर उक्त सालबाट आफूले पढेका पुस्तकहरूको अभिलेख राख्न थालेँ । आज १०९ औँ पढ्न सुरु गरेँ । अध्ययनका अतिरिक्त म हरेक दिन कम्तीमा १ घण्टा किताब पढ्नमा बिताउँछु ।
५. बोल्न डराउनेलाई उहाँले प्रशिक्षक बनाउनुभयो
स्कुलमा चार जना मानिसको बिचमा उभिएर बोल्ने तागत थिएन । डरले थरथर काँप्थेँ । वक्तृत्वकलामा भाग लिनु मेरो लागि पहाड चढे बराबर हुन्थ्यो । बाइबल स्कुलमा प्रवचन-शास्त्र अध्ययन गरेपछि मानिसहरूका बिचमा बोल्ने साहस मात्र आएन, तर तरिका पनि सिकेँ । बाइबल स्कुलका सैयौँ विद्यार्थीलाई सिकाउने काम मात्र गरेको छैनँ, तर सैयौँको भिडमा पनि प्रचार गर्न सकेँ । यसका अतिरिक्त, नेपालका ७ ओटै प्रदेशमा पुगी ३३ ओटा जिल्लाका २,००० भन्दा बढी मानिसलाई पनि तालिम दिन सकेँ र यो क्रम जारी छ ।
६. झगडालु परिवारमा जन्मेकोलाई उहाँले सुन्दर परिवार दिनुभयो
बुबाको पेन्सनपश्चात् आमाले उही बैङ्कमा सरकारी जागिर खानुभयो । बुबाका विविध सकारात्मक गुणहरू भए तापनि उहाँ जँड्याहा हुनुहुन्थ्यो । घरमा अक्सर झगडा पर्थ्यो । यहाँसम्म कि कहिलेकाहीँ त आमाले हामी ससान दाजुभाइलाई मध्यरातमै उठाएर अर्को घरतिर कुदाउनुपर्थ्यो । तथापि येशूमा नयाँ जन्म पाउनुभएपछि बुबा कुलतबाट मात्र फर्कनुभएन, तर दीर्घायुसम्म बाँचेर यस धरतीबाट बिदा हुनुभयो । आज परमेश्वरले मलाई प्यारी पत्नी र तीन प्रिय छोरीसहितको परिवार दिनुभएको छ र हामी शान्तिसित बस्छौँ ।
७. अनन्त विनाशमा गइरहेकोलाई उहाँले अनन्त जीवन दिनुभयो
येशूबाट प्राप्त सबैभन्दा ठुलो आशिष् हो, अनन्त जीवन । म अनन्त विनाशको खाडलमा लम्किरहेको थिएँ तर आफ्नो अपार अनुग्रहमा उहाँले मलाई त्यसबाट छुटकारा दिई कहिल्यै नाश नहुने अनन्त जीवन दिनुभएको छ । मैले उहाँलाई चुनेको थिइनँ, तर उहाँले मलाई चुन्नुभयो । जुन दिन मैले येशूमाथि विश्वास गर्ने निर्णय गरेँ, त्यो मेरो जीवनकै सबैभन्दा महत्त्वपूर्ण निर्णय थियो ।
निस्सन्देह, उहाँले मलाई यीबाहेक स्वास्थ्य, सुरक्षा, प्रसन्नता, असल मित्रहरू, शिक्षा, बस्ने घर आदिजस्ता अन्य मनग्गे आशिष्हरू पनि दिनुभएको छ । उहाँका आत्मिकसाथै भौतिक दुवै थरीका आशिष्को निम्ति म उहाँप्रति सदा आभारी छु । येशूको आगमनको एउटा उद्देश्य मानव-जातिलाई प्रशस्तताको जीवन दिनु थियो (यूहन्ना १०:१०) र मैले व्यक्तिगत रूपमा यसको अनुभव गर्दै छु ।
मैले येशूमा नयाँ जन्म नपाएको भए के हुन्थ्यो होला ? समय बितिसकेकोले यस्ता प्रश्नहरूको जवाफ कल्पनामै सीमित हुने भए तापनि एउटा कुरो भने पक्का छ कि मैले अनन्त जीवनलगायत यी मनग्गे आशिष्हरू पाउनेथिइनँ । “परमप्रभुमा भरोसा राख्ने मानिसले आशिष् पाउनेछ” (हितोपदेश १६:२०) भन्ने वचन सोलोमनको समयमा मात्र साँचो थिएन, तर तपाईं र मेरो समयमा पनि उत्तिकै साँचो छ ।