मानव-जातिसाथै यो सम्पूर्ण विश्व कहाँबाट आयो ?

यो विश्व (अर्थात् युनिभर्स) कतैबाट यहाँ आएको नभई सधैँ अस्तित्वमा थियो भनी लामो समयदेखि विश्वास गरिन्थ्यो । तर यो सधैँ यहाँ रहेनछ भनी वैज्ञानिक खोजहरूले देखाएका छन् । झन्डै १३.८ अरब वर्षअगि यो विश्व अस्तित्वमा आएको रहेछ ।

यो माथिको अनुच्छेद Evolution and Intelligent Design in a Nutshell नामक पुस्तकबाट साभार गरिएको सम्पादित अंश हो ।

पुस्तक पठन यात्रामा यो मेरो ९४ औँ पुस्तक हो । थोमस वाई. लोसहित पाँच जनाद्वारा लिखित यो एउटा सङ्क्षिप्त कृति हो । १७० पृष्ठको यस कृतिलाई पढेर सिद्ध्याउन मलाई ९ दिन (नोभेम्बर १-९) लाग्यो ।

हामी कहाँबाट आएका हौँ ? सुरुमा जीवको उदय कसरी भयो ? के विश्वको आरम्भ थियो ? यो कसरी अस्तित्वमा आयो ? यी जीवनका महत्त्वपूर्ण प्रश्नहरू हुन् । जसको जवाफ पुस्तकमा पाइन्छ । खगोल विज्ञान, विश्व-उत्पत्तिशास्त्र, रसायनशास्त्र, जीवशास्त्र र जीवाश्म विज्ञानजस्ता क्षेत्रहरूमा पत्ता लगाइएका हालैका खोजहरूले हामीलाई कता डोर्याइरहेका छन् भनी पुस्तकमा उल्लेख गरिएको छ ।

पुस्तकमा जम्माजम्मी ५ ओटा अध्याय छन् । पहिलो अध्यायमा महाविस्फोट र व्यवस्थित विश्वको चर्चा गरिएको छ भने दोस्रोमा जीवको उत्पत्ति र यसमा भएको जानकारीबारे उल्लेख गरिएको छ । पाठ तीन डार्बिनवादी विकासवादसित सम्बन्धित छ जहाँ स्वत: जननका कमी कमजोरी प्रस्ट पारिएको छ । जसरी मुसालाई फसाउने मुसादानीका भागहरूमध्ये कुनै एउटा भएन भने त्यसले काम गर्दैन र त्यसले काम गर्नलाई सबै एकसाथ ठिकठिक ठाउँमा हुनुपर्छ, त्यसै गरी जीवमा पनि त्यस्ता हटाउनै नसक्ने तत्त्वहरू हुन्छन् जसलाई डार्बिनवादी विकासवादद्वारा व्याख्या गर्न सकिँदैन भनी चौथो अध्यायमा अभिलिखित गरिएको छ । पाँचौँ अध्याय ‘क्याम्ब्रिएन विस्फोट’ को बारेमा हो जसलाई जीवशास्त्रको महाविस्फोट भनिन्छ । कैयौँ मुख्य प्राणीहरू छोटो अवधिमा अकस्मात् देखा परेकाले ती क्रमश: विकास भएर आएका हुन सक्दैनन् भनी यहाँ प्रस्ट पारिएको छ ।

मानव-जातिसाथै यो सम्पूर्ण विश्व कहाँबाट आयो भन्ने विषय अनुसन्धानकर्ताहरूका बिचमा विवादित विषय हो । एक थरीले भन्छ कि यी सबै आफसेआफ उत्पन्न भएका हुन् भनी अर्का थरीले भन्छ यी सबैको पछाडि सृष्टिकर्ताको हात छ । खगोल विज्ञान, विश्व-उत्पत्तिशास्त्र, रसायनशास्त्र, जीवशास्त्र र जीवाश्म विज्ञानजस्ता क्षेत्रहरूमा पत्ता लगाइएका हालैका साक्षीहरूले हामीलाई एउटा यस्तो निष्कर्षमा डोर्याएका देखिन्छ कि यी सबै थोक आफै उत्पन्न भएका हुन् भन्ने परिकल्पनालाई अङ्गाल्न मुश्किल छ । त्यसैले सृष्टिकर्ताद्वारा यी सृजना भएका हुन् भन्ने अवधारणा बढी वैज्ञानिक छ ।

Facebook Comments

Powered by Youth Circle