आफ्ना नास्तिक आमाबाबुद्वारा अविश्वासीको रूपमा विलियम राम्सेलाई हुर्काइएको थियो । उन्नाइसौँ शताब्दीमा तिनले जर्मनीको ऐतिहासिक स्कुलबाट शिक्षा पाएका थिए । परिणामस्वरूप कट्टरवादीहरूले भनेजस्तै प्रेरितको पुस्तक पहिलो शताब्दीमा नभई दोस्रो शताब्दीको मध्यतिर लेखिएको थियो भनी तिनलाई सिकाइएको थियो । त्यसमा तिनी निकै विश्वस्त थिए । तर तिनलाई प्रमाण चाहिएको थियो ।
बाइबलको ऐतिहासिक विवरण गलत थियो भन्ने कुरामा राम्से निश्चित थिए । तिनले बाइबललाई दन्त्यकथाहरूको पुस्तक भन्थे । बाइबललाई अप्रमाणित गर्ने उद्देश्यले नै तिनले पुरातत्त्वविद्या भन्ने विषय पढे । आवश्यक वैज्ञानिक सामग्रीहरू र शिक्षासहित तयार भएपछि तिनी एसिया माइनर र प्यालेसटाइनतर्फ लागे, खास गरी प्रेरितको पुस्तकलाई काल्पनिक विवरणको रूपमा पुष्टि गर्नको लागि ।
२५ वर्षसम्म तिनले एसिया र मध्यपूर्वमा जोडतोडसाथ खोजी गरे । नयाँ करारको ऐतिहासिक सच्चाइ र साक्षी देखेर राम्से तीन छक परे । तिनका खोजहरूले बाइबललाई अप्रमाणित गर्नुको साटो पुष्टि गरेका भेट्टाए तिनले । तिनले बाइबलका ससाना विवरणहरूमा पनि सत्यता भेट्टाए । अन्तमा आफू ख्रीष्टियान भएको घोषणा गरी तिनले बौद्धिक वृत्तमा भुइँचालो ल्याइदिए ।
राम्से विख्यात् पुरातत्त्वविद् र नयाँ करारको विद्वान् कहलाइए । डेढ दर्जनभन्दा बेसी कृतिका लेखक राम्से एसिया माइनरको इतिहास र नयाँ करारको अध्ययनमा आफ्नो समयका प्रमुख विद्वान् बने । पावल र लूकाको सेवाकार्यको समयमा पहिलो शताब्दीको मण्डलीको विकासबारे हाम्रो ज्ञानमा तिनले अत्यधिक प्रकाश छर्ने काम मात्र गरेका छैनन्, तर ख्रीष्टको जन्मअगि र पछिका शताब्दीहरूमा ग्रिस र एसियाका राजनीतिकसाथै सामाजिक बुझाइबारे हाम्रो ज्ञानलाई पनि वृद्धि गरिदिएको छ ।
ख्रिस्टाब्द १८५१ मा स्कटल्यान्डमा जन्मेका राम्से परिवारमा कान्छा छोरा थिए । तिनी ६ वर्ष पुग्दा तिनका पिताको मृत्यु भएको थियो । तिनका दाजु र अर्का नातेदारले तिनको अध्ययनको लागि मदत पुर्याएका थिए ।
मनग्गे इनाम र आभुषण प्राप्त गरेका राम्सेले आफ्नो अनुसन्धानपश्चात् तेस्रो सुसमाचार र प्रेरितको पुस्तकका लेखक लूकाको बारेमा यसो भनेका थिए, “[लूका] पहिलो शताब्दीका ‘क’ वर्गका इतिहासकार हुन् ।”