ख्रिस्टाब्द १८७९ मा जर्मन साम्राज्यमा जन्मेका अल्बर्ट आइन्स्टाइन “जिनिअस” शब्दको पर्यायवाची बने । तिनले आधुनिक भौतिकशास्त्रका दुईवटा खम्बामध्ये एउटा खम्बा (सामान्य सापेक्षताको सिद्धान्त) लाई विकास गरे । अर्को खम्बा हो, क्वान्टम यान्त्रिकी । समय, गुरुत्वाकर्षण र पदार्थको शक्तिमा रूपान्तरण (E=mc2) जस्ता विषयमा तिनले क्रान्ति नै ल्याइदिए । १९४० मा अमेरिकाको नागरिकता लिएका आइन्स्टाइनले जीवन कालमा ३०० ओटाभन्दा बेसी वैज्ञानिक शोधपत्र र १५० ओटाभन्दा बेसी वैज्ञानिकेतर शोधपत्र प्रकाशित गरे । तिनले ख्रिस्टाब्द १९२१ मा भौतिकशास्त्रमा नोबेल पुरस्कार हात पारेका थिए ।
परमेश्वरको अस्तित्वमाथि विश्वास गर्नेलाई आस्तिक भनिन्छ भने नगर्नेलाई नास्तिक । नास्तिकवादको पक्षमा दरो रूपमा वकालत गर्ने रिचार्ड डाउकिन्सले आइन्स्टाइन नास्तिक थिए भनी दाबी गरेका छन् ।1 तर यो भौतिक संसारभन्दा परको अस्तित्वमाथि आइन्स्टाइनले विश्वास गरेका थिए भन्ने कुरो काँचझैँ छर्लङ्ग छ ।
इस्राएलका प्रथम प्रधानमन्त्री डेभिड बेन-गुरिन (ख्रिस्टाब्द १८८६-१९७३) आइन्स्टाइनका मित्र थिए । आइन्स्टाइनले “शक्तिको पछाडि केही कुरो हुनैपर्छ” भनी बताएका थिए भनी तिनले अभिलिखित गरेका छन् ।2 प्रतिष्ठित भौतिकशास्त्री म्याक्स बर्नले टिप्पणी गरेका छन्, कि आइन्स्टाइनले “धार्मिक विश्वासलाई बुद्धिहिनताको सङ्केतको रूपमा सोचेनन्, न त अविश्वासलाई बौद्धिकताको सङ्केतको रूपमा लिए ।”3 तसर्थ आइन्स्टाइन नास्तिक थिएनन् । यो कुरो साँचो हो कि तिनी प्रार्थनाको जवाफ दिनुहुने र विश्वमा हस्तक्षेप गर्नुहुने वैयक्तिक परमेश्वरमाथि विश्वास गर्ने मानिसचाहिँ थिएनन् । तर अटल नियमहरूसहित सारा विश्वलाई सृष्टि गर्नुहुने बौद्धिक परमेश्वरमाथि भने तिनको विश्वास रहेको थियो । तिनले असृजित विश्वको असम्भाव्यतालाई महसुस गरेका थिए ।
आइन्स्टाइनका मित्र म्याक्स जम्मेर इस्राएलका भौतिकशास्त्रीसाथै भौतिकशास्त्रका दार्शनिक थिए । परमेश्वर र धर्मबारे आइन्स्टाइनका रचना, वार्तालाप र भाषणहरूबारे लिखित जम्मेरको पुस्तक एउटा बृहत् सर्वेक्षण हो । आफ्नो पुस्तकमा जम्मेरले लेखेका छन्, “आइन्स्टाइन न नास्तिक थिए, न त अज्ञेयवादी नै ।”4 तिनले थपेका छन्, “आइन्स्टाइनले नास्तिकवाद त्याग गरे किनकि तिनले वैयक्तिक परमेश्वरबारे आफ्नो इन्कारलाई परमेश्वरको इन्कारको रूपमा कहिल्यै लिएनन् । यो कठिन तर निर्णायक भिन्नतालाई लामो समयदेखि बेवास्ता गरिएको छ ।”5 आइन्स्टाइनले परमेश्वरमाथि विश्वास गर्थे यद्यपि तिनले विश्वास गरेका परमेश्वरको प्रकृति भने फरक थियो भनी जम्मेरले निष्कर्ष निकालेका छन् । जम्मेरले दाबी गरेका छन्, “आइन्स्टाइन नास्तिक नभएका मात्र होइनन्, तर तिनका रचनाहरूले धेरैलाई नास्तिकवादबाट फर्काएका छन् यद्यपि तिनले कसैलाई धर्मान्तरण गर्ने जमर्को गरेका थिएनन् ।”6 अधार्मिक यहूदी बुबाआमाका छोरा भए तापनि आइन्स्टाइन निकै धार्मिक मानिस थिए । जम्मेरद्वारा लिखित पुस्तकमा आइन्स्टाइनको भनाइलाई उद्धृत गरिएको छ, “मेरा परमेश्वरले नियमहरूको सृजना गर्नुभयो । … उहाँको विश्व मनको चाहद्वारा नभई अटल नियमहरूद्वारा शासित छ ।”7 उही पुस्तकको अर्को ठाउँमा आइन्स्टाइनको इच्छा व्यक्त गरिएको छ, “परमेश्वरले यस संसारलाई कसरी सृष्टि गर्नुभयो भनी म जान्न चाहन्छु । म उहाँका विचारहरू जान्न चाहन्छु ।”8
आइन्स्टाइनले दार्शनिक स्पिनोजाका परमेश्वरमा आस्था राख्थे । “म स्पिनोजाका परमेश्वरमा विश्वास गर्दछु, जसले अस्तित्वमा भएको सुव्यवस्थित सामञ्जस्यतामा आफैलाई प्रकट गर्नुहुन्छ, मानवीय जीवनका भाग्य र गतिविधिहरूमा चासो लिने परमेश्वरमा होइनँ ।”9
निष्कर्षमा, वैज्ञानिक सर आइज्याक न्युटनजस्तै आइन्स्टाइन पनि समर्पित धार्मिक मानिस थिए । पराभौतिक परमेश्वरको अस्तित्वमा विश्वास गर्ने दरिला विश्वासी थिए तिनी । आइन्स्टाइनका अनुसार यो सारा विश्व परमेश्वरले सृष्टि गर्नुभयो र यहाँ अटल नियमहरू छन् ।
सन्दर्भ स्रोतहरूः
- Richard Dawkins, The God Delusion (London Transworld 2006), p.34.
- Quoted in Max Jammer, Einstein and Religion(Princeton, NJ: Princeton University Press. 1999), p.9
- Jammer, p. 96.
- Jammer, p. 96.
- Jammer, p. 150.
- Jammer p. 151.
- Einstein in conversation with W. Hermann in Hermann’s book Einstein and the Poet (USA Branden Press, 1983), p.132; Jammer, p.123.
- Salaman, A Talk with EinsteinThe Listener 54 (1955):370-371; Jammer, p.123.
- In 1929, Einstein was asked by Rabbi Herbert S. Goldsteinwhether he believed in God. Einstein responded by telegram. Jammer, p.49.