पोल्यान्ड युरोपको पूर्वमा पर्ने एउटा देशको नाउँ हो । यो दोस्रो विश्वयुद्ध हुनुअगिको कुरो हो । एक जना घुमन्ते पुस्तक बिक्रेताबाट पोल्यान्डको पूर्वमा अवस्थित ग्रामीण गाउँको एक जना मानिसले एउटा बाइबल प्राप्त गर्यो । उसले बाइबललाई पढ्यो अनि ऊ ख्रीष्टियान भयो । आफूमा मात्र सीमित नगरी उसले त्यो बाइबल अरूहरूलाई पनि पढ्न दियो । त्यसले अकल्पनीय नतिजा लिएर आयो । त्यो एउटा बाइबल पढेर अरू दुई सय जना मानिस विश्वासी बने । बाइबल स्वरूपमा निर्जीव भए तापनि यसले सजिव वस्तुले जस्तै काम गरी मानिसहरूको हृदयलाई छुन्छ ।
ती बिक्रेताको नाउँ थियो, मिखाएल बिलेस्टर । तिनी १८९६ मा जन्मेका थिए । ख्रिस्टाब्द १९४० को ग्रीष्म ऋतुमा मिखाएल पुन: त्यो गाउँमा आए । ती विश्वासीहरू भेला भए, आराधना गर्नको लागि र तिनको वचन सुन्नको लागि । साधारणतया तिनले मानिसहरूलाई गवाही बाँड्न अनुरोध गर्थे तर यस पटक तिनले सल्लाह दिए, “तपाईंहरूले गवाही बाँड्नुको साटो बाइबल धर्मशास्त्रबाट कण्ठस्थ गर्नुभएका पदहरू सुनाउनुभयो भने राम्रो हुन्छ ।”
एक जना मानिस उठ्यो र उसले भन्यो, “सायद हामीले तपाईंको अनुरोधलाई गलत किसिमले बुझ्यौँ । तपाईंको भनाइको अर्थ पदहरू कि अध्यायहरू ?” छक्क पर्दै बिलेस्टरले प्रश्न गरे, “के तपाईंको भनाइको अर्थ यहाँ यस्ता मानिसहरू छन् जसले बाइबलका अध्यायहरू कण्ठस्थ सुनाउन सक्छन् ?”
हो, तिनीहरूले त्यही भन्न खोज्दै थिए । ती गाउँलेहरूले अध्यायहरू मात्र होइनन्, बाइबलका सिङ्गै पुस्तकहरूलाई पनि कण्ठस्थ पारेका थिए । तेर्ह जनालाई मत्ती र लूकाको सुसमाचार अनि उत्पत्तिको आधा भाग कण्ठस्थ आउँथ्यो । एक जनाले पूरै भजनसंग्रहलाई दिमागमा राखेको थियो । सबैले कण्ठ पारेका खण्डहरूलाई एकत्रित गर्दा ती दुई सय जनाले झन्डै पूरै बाइबललाई दिमागमा राखेका थिए । त्यो एउटा बाइबललाई एउटा घरदेखि अर्को घरमा अनि हरेक आइतबार सङ्गतिको दिनमा ल्याउँदा त्यो थोत्रो बाइबल यसरी च्यातिसकिएको थियो कि त्यसका अक्षरहरूलाई मुश्किलैले पढ्न सकिन्थ्यो । बाइबलको वचनलाई हृदयमा राख्नु कति आनन्दको कुरो हो!