अलिस्टर म्याकग्रेथ— नास्तिकबाट ख्रीष्टियान बनेका वैज्ञानिक

२३ जनवरी १९५३ मा उत्तरी आएरल्यान्डमा जन्मेका अलिस्टर म्याकग्रेथ झगडालु नास्तिकको रूपमा हुर्केका थिए । तिनी नास्तिकवादमा लाग्नुका खास गरी दुईवटा कारण थिए । पहिलो, तिनले स्कुलमा विज्ञानसित सम्बन्धित विषयहरू लिएर पढेका थिए । दोस्रो, ख्रिस्टाब्द १९६० को दसकमा मार्क्सवादी बन्नु प्रचलित थियो ।

विज्ञानको इतिहास र दर्शनशास्त्रबारे पढेपछि तिनले महसुस गर्न थाले कि विज्ञान तिनले सोचेजस्तै सिधा थिएन । पछि तिनी रसायनशास्त्रको अध्ययनको लागि अक्सफोर्ड विश्वविद्यालयमा भर्ना भए । क्रमश: तिनले पत्ता लगाए कि नास्तिकवाद पनि विश्वासमा नै अडेको रहेछ । अर्को भाषामा भन्नुपर्दा, नास्तिकवाद कसैले कुनै कुरोमाथि गर्ने विश्वास रहेछ; यो कुनै प्रमाणित कुरो रहेनछ । नास्तिकवादमाथि विश्वास गर्नलाई मजबुत आधार नभएको पनि तिनले आविष्कार गरे । तिनले व्यक्त गरेका छन्, “मैले महसुस गर्न थालेँ, कि नास्तिकवाद कम सन्तुष्टप्रद साक्षीको आधारमा आश्रित रहेछ । एक पटक दरिलो, निर्णायक र निश्चायक देखिएका तर्कहरू बढ्दो मात्रामा दोषयुक्त, काम-चलाउ र अनिश्चित देखिए ।”[i]

म्याकग्रेथले ख्रीष्टियान ईश्वरशास्त्रलाई गहनतापूर्वक अनुसन्धान गरे । नास्तिकवादको तुलनामा ख्रिस्टियमत बेसी बौद्धिक अनुशासन भएको पाए तिनले । यी आविष्कारहरूले तिनलाई नास्तिकवादबाट ख्रीष्टियान विश्वासतर्फ रूपान्तरित हुन आकर्षित गर्‍यो र तिनले ख्रीष्टियान विश्वासलाई अङ्गाले ।[ii]

हाल ६६ वर्षका म्याकग्रेथ वैज्ञानिक, ईश्वरशास्त्री, बौद्धिक इतिहासकार र ख्रीष्टियान रक्षाशास्त्री हुन् । अक्सफोर्ड विश्वविद्यालयमा ऐतिहासिक ईश्वरशास्त्र पढाएका तिनी २००५ सम्म अक्सफोर्डकै विक्लिफ हलका प्रिन्सिपल थिए ।[iii] ऐतिहासिक ईश्वरशास्त्र, सुव्यवस्थित ईश्वरशास्त्र, विज्ञान र धर्मबिचको सम्बन्धसाथै रक्षाशास्त्रको लागि म्याकग्रेथ परिचित छन् । तिनको बुझाइमा विज्ञान र धर्म परस्पर-विरोधी छैनन् । दानिएल डेनेट, पिटर अटकिन्ससाथै क्रिस्टोफर हिचेन्सजस्ता परिचित नास्तिकहरूसित वादविवाद गरिसकेका[iv] तिनी ईश्वरशास्त्रबारे लिखित कतिपय लोकप्रिय पाठ्यपुस्तकहरूका लेखक पनि हुन् ।

परमेश्वरको अस्तित्वको पक्षमा वकालत गर्ने म्याकग्रेथले भनेका छन्, “आत्मिक रूपमा, परमेश्वर मेरो अस्तित्वको अक्सिजन हुनुहुन्छ ।”[v] स्वस्थ समाजको नैतिक जगको लागि धार्मिक विश्वासको आवश्यकता छ भन्ने म्याकग्रेथका तीन दर्जनभन्दा बेसी कृति प्रकाशित भइसकेका छन् । २०१० मा म्याकग्रेथ “२० सर्वाधिक प्रतिभाशाली ख्रीष्टियान प्राध्यापकहरू” को सूचीमा परेका थिए ।[vi]

म्याकग्रेथका उत्कृष्ट पुस्तकहरूमा द ट्वाइलाइट अफ एथेइज्म, द डाउकिन्स डेलुसन्स?, अ साइन्टिफिक थियोलोजी आदि पर्दछन् ।[vii] म्याकग्रेथ अक्सफोर्ड विश्वविद्यालयका जीवशास्त्रीय प्राध्यापकसाथै नास्तिकवादका सर्वाधिक प्रभावशाली पक्षपोषक रिचार्ड डाउकिन्सका कडा आलोचक हुन् ।[viii] तिनको मूल्याङ्कनअनुसार डाउकिन्स ख्रीष्टियान ईश्वरशास्त्रबारे लाजमर्दो तरिकाले अनभिज्ञ छन् ।[ix] तीनवटा विद्यावारिधि प्राप्त गर्न सफल वैज्ञानिक म्याकग्रेथ नव नास्तिकवादको कडा विरोधी हुन् । जोअन्ना कोलिकटसित बिहे गरेका तिनी दुई सन्तानका पिता हुन् ।

 

सन्दर्भ स्रोतहरूः

[i]   https://www.thepoachedegg.net/2015/05/alister-mcgrath-atheism-i-began-to-realize-rested-on-a-less-than-satisfactory-evidential-basis.html Accessed 29 September 2019

[ii]   कमल अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (काठमाडौँ: सामदान प्रकाशन, ख्रिस्टाब्द २०१९), पृ. सं. ३३ ।

[iii] https://en.wikipedia.org/wiki/Alister_McGrath Accessed 29 September 2019

[iv] https://en.wikipedia.org/wiki/Alister_McGrath#Views Accessed 29 September 2019

[v]   https://www.beliefnet.com/news/science-religion/2005/08/breaking-the-science-atheism-bond.aspx Accessed 29 September 2019

[vi] अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह, पृ. सं. ३३ ।

[vii] https://en.wikipedia.org/wiki/Alister_McGrath Accessed 29 September 2019

[viii] https://www.theopedia.com/alister-mcgrath Accessed 29 September 2019

[ix] https://en.wikipedia.org/wiki/Alister_McGrath#Views Accessed 29 September 2019

Facebook Comments

Powered by Youth Circle