संसारमा ख्रिस्टियन योगदान

दुई हजार वर्षभन्दा बढी समयदेखि ख्रिस्टियन आस्था संसारको नैतिक, बौद्धिक, सांस्कृतिक र सामाजिक संरचनालाई प्रभावित तुल्याउने एउटा परिवर्तनकारी शक्तिको रूपमा रहेको छ । येशू ख्रीष्टको शिक्षामा जरा गाडेको ख्रिस्टियन आस्थाले प्रेम, करुणा, सत्य र प्रत्येक मानवको आन्तरिक महत्त्वलाई जोड दिन्छ । मानिसहरूलाई परमेश्वरसँगको सम्बन्धतर्फ डोर्‍याउने यसको मुख्य लक्ष्य भए तापनि यसको प्रभाव चर्चका पर्खालहरूभन्दा धेरै टाढा टाढासम्म फैलिएको छ । विश्वविद्यालय र अस्पतालहरूको स्थापनादेखि दासप्रथाको उन्मूलन अनि विज्ञान र मानव अधिकारको उन्नतिसम्म ख्रिस्टियनहरूले समाज विकासमा निरन्तर योगदान पुर्‍याएका छन् । यस आलेखले मुख्य मुख्य क्षेत्रहरूको अन्वेषण गर्दछ जहाँ ख्रिस्टियन विश्वासले संसारलाई गहिरो र दिगो तरिकाले प्रभाव पारेको देखिन्छ ।

१. शिक्षा र साक्षरता

ख्रिस्टियन आस्थाको सबैभन्दा स्थायी योगदान भनेको शिक्षा र साक्षरताको प्रवर्द्धनमा यसको भूमिका हो । बाइबल पढ्ने र बुझ्ने इच्छाले प्रारम्भिक ख्रिस्टियनहरूलाई केवल अभिजात वर्गमा मात्र नभई सबै मानिसमा साक्षरता प्रवर्द्धन गर्न प्रेरित गर्‍यो । मध्य युगका मठाश्रमहरू हस्तलिखित पाण्डुलिपिहरूमार्फत शास्त्रीय ज्ञानको संरक्षण गर्ने सिकाइका केन्द्रहरू बने ।

अक्सफोर्ड, क्याम्ब्रिज, हार्बड र येललगायत विश्वका अति नै प्रतिष्ठित उच्च शैक्षिक संस्थाहरू मूलत: ईश्वरशास्त्रीय र सामान्य शिक्षा प्रदान गर्न ख्रिस्टियनहरूले स्थापना गरेका थिए । दुर्गम क्षेत्रहरूमा विद्यालयहरू निर्माण गर्न ख्रिस्टियन मिसनरीहरू नै अग्रगामी भए ।  प्रायः अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका ठाउँहरूमा औपचारिक शिक्षा सुरु गर्नेहरू येशूका अनुयायीहरू नै थिए । १८ औँ शताब्दीमा सन्डे स्कुल अभियानले गरिब बालबालिकामा साक्षरता र नैतिक निर्देशन ल्यायो । धेरै राष्ट्रमा सार्वजनिक शिक्षा प्रणालीको जग बसाल्ने काम पनि यही अभियानले गरेको थियो ।

२. विज्ञान र नवीनता

प्रचलित गलत धारणाहरूको विपरीत ख्रिस्टियन आस्थाले विज्ञानको प्रगतिमा महत्त्वपूर्ण भूमिका खेलेको छ । आधुनिक विज्ञानका धेरै अग्रगामी विचारकहरू भक्त ख्रिस्टियनहरू नै थिए जसानुसार प्राकृतिक संसारको अध्ययन गर्नु भनेको परमेश्वरको महिमा गर्ने र उहाँको सृष्टि बुझ्ने तरिका हो । जोहानेस केप्लर, सर आइज्याक न्युटन, ब्लेज पास्कल, रोबर्ट बोयल, माइकल फाराडे र ग्रेगर मेन्डेल जस्ता वैज्ञानिकहरूले आआफ्नो बलियो व्यक्तिगत विश्वास कायम राख्दै भौतिक विज्ञान, रसायन विज्ञान, गणित र आनुवंशिकी जस्ता क्षेत्रहरूमा अभूतपूर्व खोजहरू गरे ।

यसबाहेक, जुन वैज्ञानिक विधिले अवलोकन, प्रयोग र तर्कलाई महत्त्व दिन्छ यसका दार्शनिक जराहरू विश्वदृष्टिमा गडिएका हुन्छन् जसले विश्व (अर्थात् युनिभर्स) लाई तर्कसङ्गत र व्यवस्थित रचनाको रूपमा हेर्छ । यो विश्वदृष्टि ख्रिस्टियन आस्थाशास्त्रको नतिजास्वरूप व्युत्पन्न भएको हो ।

३. स्वास्थ्य सेवा र चिकित्सा

बिरामी र पीडितहरूको हेरचाह गर्ने ख्रिस्टियन आस्थाको प्रतिबद्धताले रोमी साम्राज्यमा अगिल्ला अस्पतालहरूको निर्माणको नेतृत्व गर्‍यो । ख्रिस्टियन विश्वासअनुसार जस्तोसुकै अवस्थामा भए तापनि प्रत्येक व्यक्तिले परमेश्वरको स्वरूप धारण गरेको हुन्छ अनि ऊ करुणा र हेरचाहको योग्य छ । आदि मन्डली पिताहरूले विश्वासीलाई महामारीको समयमा बिरामी र मर्नेहरूको हेरचाह गर्न आग्रह गरे । अक्सर आफ्नो ज्यानै जोखिममा हालेर तिनीहरू यस प्रक्रियामा लागिपर्थे ।

एक भक्त ख्रिस्टियन फ्लोरेन्स नाइटिङ्गेलले क्रिमिया युद्धको समयमा आधुनिक नर्सिङमा क्रान्तिकारी परिवर्तन ल्याइन् । ख्रिस्टियन मिसनरीहरूले दुर्गम गाउँहरूमा चिकित्सा सेवा सुरु गरे, क्लिनिक र अस्पतालहरू स्थापना गरे अनि स्थानीय चिकित्सा कर्मचारीहरूलाई तालिम दिए । आज पनि विश्वभर धेरै अस्पताल र स्वास्थ्य सेवाका सञ्जालहरू सन्त वा ख्रिस्टियन सम्प्रदायहरूको नाममा राखिएका छन् र यो तिनीहरूको विश्वासमा आधारित उत्पत्तिको प्रमाण हो ।

४. मानव अधिकार र सामाजिक सुधार

सबै मानिस परमेश्वरको स्वरूपमा सृष्टि गरिएका छन् भन्ने विश्वास मानवीय प्रतिष्ठा र अधिकारको अवधारणाको आधार हो । यस धर्मशास्त्रीय सत्यताले ख्रिस्टियन अगुवाहरूलाई अन्यायलाई चुनौती दिई सामाजिक सुधारलाई प्रवर्द्धन गर्न प्रेरित गर्‍यो । उल्लेखनीय कुरो के छ भने आफ्नो ख्रिस्टियन विश्वासबाट प्रेरित भएर विलियम विल्बरफोर्सले ब्रिटिस दासप्रथाको उन्मूलन गर्ने अभियानको अगुवाइ गरेका थिए । संयुक्त राज्य अमेरिकामा ह्यारिएट टुबम्यान र फ्रेडरिक डगलस दुबै ख्रिस्टियन विश्वासबाट प्रेरित थिए र तिनीहरूले  दासप्रथा अन्त्य गर्न अथक प्रयास गरे ।

२० औँ शताब्दीमा ख्रिस्टियन अगुवा मार्टिन लुथर किङ्ग जुनियरले न्याय, प्रेम र समानताका बाइबलीय सिद्धान्तहरूमा आधारित रहेर अमेरिकामा नागरिक अधिकार आन्दोलनको नेतृत्व गरे । एलिजाबेथ फ्राई जस्ता ख्रिस्टियन सुधारकहरूले जेलको अवस्था सुधार गर्न काम गरे भने अरूले श्रमाधिकार, बालाधिकार र महिला मताधिकारका लागि अभियान चलाए ।

५. परोपकार र दया

छिमेकीप्रतिको प्रेम ख्रिस्टियन आस्थामा एउटा केन्द्रीय आज्ञा हो र यस नैतिकता आज्ञाले संसारको सबैभन्दा व्यापक परोपकारी प्रयासहरूलाई प्रेरित गरेको छ । भोकाहरूलाई खाना खुवाउनेदेखि लिएर घरबारविहीनहरूलाई आश्रय दिनेसम्म ख्रिस्टियनहरूले मानव आवश्यकताप्रति निरन्तर प्रतिक्रिया दिएका छन् । द साल्भेसन आर्मी, वर्ल्ड भिजन, सामरिटन पर्स, क्याथोलिक राहत सेवाहरू र कम्प्यासन इन्टरनेसनल जस्ता सङ्घसंस्थाहरूले जाति, धर्म वा राष्ट्रियताको पर्वाह नगरी सहायता प्रदान गर्छन् ।

ख्रिस्टियन परोपकारी संस्थाहरूले तत्काल आवश्यकताहरू मात्र पूरा गर्दैनन् तर शिक्षा, सफा पानी, कृषि विकास र व्यावसायिक तालिममार्फत प्रणालीगत गरिबीलाई सम्बोधन गर्न पनि काम गर्छन् । अनगिन्ती चर्चले स्थानीय खाद्य बैङ्क, अनाथालय, सङ्कट गर्भावस्था केन्द्र र परामर्श सेवाहरूलाई सहयोग गर्छन् ।

६. कला, सङ्‍गीत र साहित्य

इतिहासका केही सबैभन्दा बहुमूल्य कलाका लागि प्रेरणा प्रदान दिँदै ख्रिस्टियन आस्थाले कलामा गहिरो प्रभाव पारेको छ । माइकल एन्जेलोद्वारा चित्रित सिस्टिन चर्चको छत र दा भिन्चीको प्रभुभोज ख्रिस्टियन कलाका प्रतिष्ठित उदाहरण हुन् । संसारका विशाल चर्च भवनहरू जस्ता पवित्र वास्तुकलाले विश्वभरका आगन्तुकहरूलाई आश्चर्य र प्रेरणा दिन्छन् ।

सङ्‍गीतमा जोहान सेबास्टियन बाक, जर्ज फ्रेडरिक ह्यान्डेल र लुडविग भ्यान बिथोभेन जस्ता सङ्‍गीतकारहरूले ख्रिस्टियन विषयवस्तुमा आधारित रहेर उत्कृष्ट रचनाहरू उत्पादन गरे । ख्रिस्टियन साहित्यले विश्वव्यापी विचारलाई पनि प्रभावित तुल्याएको छ । डान्टेको डिभाइन कमेडीदेखि जोन मिल्टनको प्याराडाइज लस्ट अनि सी.एस. लुइसको क्रोनिकल्स अफ नार्नियासम्म प्रत्येक रचनाले कथामार्फत समृद्ध ईश्वरशास्त्रीय अन्तर्दृष्टि प्रदान गर्दछ ।

७. नैतिकता, कानुन र न्याय

बाइबलीय नैतिकताले पश्चिमी कानुनी प्रणालीलाई गहिरो गरी प्रभाव पारेको छ । कानुनको शासन, कानुनको सामु समानता र मानव जीवनको अन्तर्निहित मूल्य जस्ता अवधारणा यहुदी तथा ख्रिस्टियन शिक्षामा आधारित छन् । दस आज्ञामध्ये अधिकांशत: अर्थात् हत्या, चोरी, झुटो शपथ विरुद्ध भएका निषेधाज्ञाहरू आधुनिक कानुनका ठेलीहरूमा प्रतिबिम्बित छन् ।

समाजले कमजोर ठान्ने एकल महिला, अनाथ, गरिब र उत्पीडित वर्गलाई कसरी हेरचाह गर्नुपर्छ भन्ने नैतिक ढाँचा पनि ख्रिस्टियन आस्थाले नै प्रदान गरिदियो जसले मानव अधिकारको रक्षा गर्ने र सामाजिक जिम्मेवारीलाई प्रवर्द्धन गर्ने कानुनलाई प्रोत्साहन गर्दछ ।

८. शान्ति र मेलमिलाप

ख्रिस्टियन सुसमाचारको केन्द्रमा क्षमा र मेलमिलापको सन्देश पाइन्छ । यो परमेश्वर र मानिसबिचको मेलमिलाप हो । ख्रिस्टियन अगुवाहरूले शान्ति स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका छन् । दक्षिण अफ्रिकी प्रधान बिसप डेसमन्ड टुटुले रङ्गभेद कुरीतिपछि स्थापित सत्य र मेलमिलाप आयोगमा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

यातना शिविरबाट बचेर फर्केर आएपछि नाजी पहरेदारलाई क्षमा गर्ने कोरी टेन बुमका जस्ता कथाहरूले ख्रिस्टियन अनुग्रहको अलौकिक शक्तिलाई अग्रस्थानमा ल्याउँछन् । समुदायहरूको पुनर्निर्माण गर्न र उपचारलाई प्रवर्द्धन गर्न ख्रिस्टियन संस्थाहरूले प्रायः द्वन्द्वग्रस्त क्षेत्रहरूमा सेवा गर्छन् ।

९. विश्वव्यापी मिसन र सांस्कृतिक विकास

ख्रिस्टियन मिसनरीहरूले सुसमाचार प्रचार गर्नुभन्दा बेसी काम गरेका छन् अर्थात् तिनीहरूले वर्णमाला सिर्जना गरेर हजारौँ भाषामा बाइबल अनुवाद गर्नुका अतिरिक्त धेरै समुदायमा साक्षरता, शिक्षा, स्वास्थ्य सेवा र कृषिबारे ज्ञान ल्याएर भाषाहरू संरक्षण गर्ने काम गरेका छन् । यसो गर्दा तिनीहरू प्रायः शिशुहत्या, सतीप्रथा, नरभक्षण र जातीय भेदभाव जस्ता स्थानीय अन्यायहरू विरुद्ध उभिए । अनगिन्ती तरिकाले ख्रिस्टियन मिसनहरूले समाजको सांस्कृतिक र नैतिक विकासमा योगदान पुर्‍याएका छन् र यो कुरो विशेष गरी अविकसित क्षेत्रहरूमा लागु हुन्छ ।

१०. प्रेरणा र आशा

अन्ततः, ख्रिस्टियन आस्थाले संसारभरका अरबौँ मानिसलाई अर्थ र आशा प्रदान गरेको छ । येशू ख्रीष्टमार्फत मुक्तिको सन्देश अर्थात् क्षमा, उद्‍देश्य र अनन्त जीवनको सन्देशले जीवन र समुदायहरूलाई परिवर्तन गरेको छ । इतिहास एउटा दिशातिर अगाडि बढ्दै छ अनि मानव जीवन पवित्र र मूल्यवान् छ भन्ने विश्वासबाट ख्रिस्टियनहरू प्रेरित छन् ।

दुख, सतावट वा निराशाको समयमा ख्रिस्टियन सन्देशले सान्त्वना र शक्ति ल्याएको छ । प्राचीन रोमबाट सताइएका चर्चदेखि बन्द मुलुकहरूका आधुनिक विश्वासीहरूसम्म ख्रीष्टको आशाले साहस, सेवा र बलिदानलाई प्रेरित गरिरहेको छ ।

ख्रिस्टियन विश्वासले निर्विवाद रूपमा संसारको भलाइका लागि उल्लेखनीय योगदान पुर्‍याएको छ । शिक्षा, विज्ञान, स्वास्थ्य, मानव अधिकार, कला र परोपकार जस्ता हर क्षेत्रमा यसको प्रभाव देख्न पाइन्छ । आफ्नो उत्कृष्ट अवस्थामा ख्रिस्टियन आस्थाले नम्रहरूलाई माथि उठाएको छ, टुटेकाहरूलाई निको पारेको छ, कमजोरहरूको रक्षा गरेको छ र मानवतालाई सत्य, न्याय र अनन्त आशातर्फ डोऱ्याएको छ । संसारले नयाँ नयाँ चुनौतीहरूको सामना गरिरहेको बेला ख्रिस्टियन विश्वासबाट जन्मेका मूल्यमान्यता र दृष्टिकोण सधैँ जस्तै महत्त्वपूर्ण र सान्दर्भिक छन् ।

थप जानकारीका लागि : https://kamaladhikari.com.np/2257/

Facebook Comments

Powered by Youth Circle