के दुई हजार वर्षअगि येशूको आगमन ठिक समयमा थियो ? (भाग २)

झन्डै दुई हजार वर्षअगि मानवीय चोलामा येशूको आगमन विविध दृष्टिकोणबाट ठिक समयमा भएको थियो । गएको लेखमा तपाईंले सञ्चारको दृष्टिकोणबाट यस ग्रहमा उहाँको प्रवेश ठिक समयमा भएको थियो भनी पढ्नुभयो भने यहाँ हामी भौगोलिक दृष्टिकोणबाट ठिक समयमा थियो भनी हेर्ने छौँ ।

२. भूगोलको दृष्टिकोणबाट येशूको आगमन ठिक समयमा भएको थियो     

प्राचीन रोमको इतिहासको बारेमा अध्ययन गर्दा, आठौँ शताब्दी ख्रिस्टपूर्वमा यसको स्थापना भएदेखि ख्रिस्टाब्द पाँचौँ शताब्दीमा यसको पतन नभएसम्म इतिहासकारहरू यसलाई तीनवटा चरणमा विभाजन गर्छन्: रोमी राज्य (७५३-५०९ ख्रिस्टपूर्व), रोमी गणतन्त्र (५०९-२७ ख्रिस्टपूर्व) र रोमी साम्राज्य (२७ ख्रिस्टपूर्व-ख्रिस्टाब्द ४७६) ।

किँवदन्तीअनुसार मंगललाई युद्धका देवताको रूपमा पुजिन्थ्यो जसका रोमुलुस र रेमुस नाउँ गरेका दुई जुम्ल्याहा छोरा थिए । ७५३ ख्रिस्टपूर्वमा तिनीहरूले अल्बा लोङ्गाका रोजालाई पराजित गरेसँगै रोमको स्थापना भएको थियो । यसरी आठौँ शताब्दी ख्रिस्टपूर्वमा अर्थात् आजभन्दा २,८०० वर्षअगि रोमको स्थापना भएको थियो ।

रोम सुरुमा राजतन्त्रात्मक राज्य भए तापनि सातौँ क्रूर राजा लुसियस टार्किनस सुपरबस सत्ताच्युत भएपछि ५०९ ख्रिस्टपूर्वमा गणतान्त्रिक रोमको स्थापना भयो । यो एउटा सहर-राज्य मात्रै थियो । २६४ ख्रिस्टपूर्वअगि रोमले इटालीका सम्पूर्ण प्रायद्धीपमाथि कब्जा गरिसकेको थिएन ।

इतिहासको यस कालखण्डमा येशूको आगमन भइदिएको भए उहाँको जीवनी र सन्देश अस्पष्ट भाषा र यहूदी जातिमा मात्र सीमित हुनेथियो । तर पछिल्लो समयमा भौगोलिक रूपमा रोमको विस्तारले येशूको शुभ सन्देशको फैलावटमा टेवा पुर्‍यायो ।

शक्तिशाली सहर-राज्य कार्थेजसित दुईवटा युद्ध लडेपछि १४९ ख्रिस्टपूर्वसम्म आइपुग्दा रोमले सिसिली, पश्चिम भूमध्यसागर र स्पेनको अधिकांश भूभागमाथि कब्जा जमायो । त्यसको तीन वर्षपछि अर्थात् १४६ सम्ममा रोमले कार्थेजमाथि पनि जित हासिल गर्‍यो । यो जितसँग उसले उत्तरी अफ्रिकाको भूभागमाथि पनि नियन्त्रण जमायो । रोमले माकेडोनियाका राजा फिलिप पाँचौँलाई पनि पराजित गर्‍यो र वर्तमान समयमा ग्रिस, उत्तरी म्याकेडोनिया, बुल्गेरिया, अल्बानिया, सर्बिया र कोसोभे भनेर चिनिने क्षेत्रहरूमाथि अधिकार जमायो ।

पछिल्ला वर्षहरूमा वाणिज्यदूत (कन्सुल) हरूले साम्राज्यमाथि शासन गर्थे । फलत: सत्ताको निम्ति शक्ति सङ्घर्ष, हत्यासाथै राजनीतिक नाटक अस्वाभाविक गतिविधिहरू थिएनन् । अधिकांश समय रोम नाम मात्रको गणतन्त्र थियो र नेतृत्व अक्सर विभाजित र विवादस्पद हुन्थे । तर २७ ख्रिस्पूर्वमा गायस अक्टाभियस नाम गरेका रोमी राजनीतिज्ञ तथा सैनिक अगुवाले अन्य सबै सङ्घर्षरत् अगुवालाई पराजित गरे र तिनी रोमका एक मात्र अगुवा अर्थात सम्राट् बने । अगस्टस पनि भनेर चिनिने तिनी रोमी साम्राज्यका प्रथम सम्राट् बने । २७ ख्रिस्टपूर्वदेखि शासन गरेका तिनले ख्रिस्टाब्द १४ मा आफ्नो मृत्यु नहुञ्जेलसम्म सम्राट् बनी नेतृत्व गरे । तिनलाई मानव इतिहासकै एक प्रभावशाली अगुवाको रूपमा हेरिन्छ ।

अगस्टसले नाटकीय रूपमा आफ्नो साम्राज्यको विस्तार गरे । तिनले मिश्र मात्र कब्जा गरेनन् तर भूमध्यसागर वरिपरिका क्षेत्रहरूमाथि पनि जित हासिल गरे । तिनीभन्दा अगिका मिश्री, फारसी र ग्रिक साम्राज्यको तुलनमा तिनले रोमी साम्राज्यलाई विशाल बनाए । रोमी साम्राज्यको पराकाष्ठामा अधिकांश युरोप, एसिया माइनर, बाल्कन्स, मध्य पूर्व, उत्तर अफ्रिकाका तटीय क्षेत्रहरू, भूमध्यसागरसाथै कालो समुद्र उही अर्थतन्त्र, सेना र भाषाद्वारा एकीकृत थिए ।

इतिहासकार लूकाअनुसार तिनै कैसर अगस्टसको शासनकालमा येशू जन्मनुभयो, “ती दिनमा कैसर अगस्‍टसले तिनको सारा साम्राज्‍यमा जनगणना लिनू भन्‍ने हुकुम जारी गरे । … नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए । मरियम गर्भवती थिइन्‌ । … तिनले आफ्‍नो जेठो छोरो जन्‍माइन्” (लूका २:१-७) ।

२७ ख्रिस्टपूर्वभन्दा अगि येशू आउनुभएको भए ‘ज्ञात संसार’ मा उहाँको प्रभाव निकै कम हुनेथियो र प्रचार-प्रसारको दृष्टिकोणबाट निकै सुस्त हुनेथियो । रोमले एउटै प्रणालीद्वारा विशाल साम्राज्य खडा गरेकोले पर-परको सिमानासम्म येशूको शुभ सन्देश फैलन पायो । परमेश्वरले आफ्नो काम ठिक समयमा गर्नुहुन्छ । यसरी सञ्चारको दृष्टिकोणबाट मात्र नभई भूगोलको दृष्टिकोणबाट हेर्दा पनि झन्डै दुई हजार वर्षअगि येशूको देहधारण ठिक समयमा भएको थियो ।

(क्रमश: …)

Facebook Comments

Powered by Youth Circle