क्रूसमा टाँगिनुभएका येशूको शिरमाथि लिखित INRI को अर्थ के हो ?

संसारमा येशूका विविध चित्रहरू पाइन्छन् । तपाईंले ती तस्बिरहरूमा येशूको शिरमाथि INRI लेखिएको एउटा शब्द देख्नुहुन्छ । यसको पूरा रूप के हो र यसको अर्थ के हुन्छ ?

येशूको जन्म र मृत्युको समयमा उहाँलाई यहूदीहरूका राजा भनिएको छ । उहाँ बेथलेहेममा जन्मनुभएपछि पूर्वबाट आएका बुद्धिमान् मानिसहरूले यसो भन्दै सोधखोज गरे, “यहूदीहरूका राजा भई जन्‍मने कहाँ हुनुहुन्‍छ ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्‍यौं र उहाँलाई दण्‍डवत्‌ गर्न आएका छौं” (मत्ती २:२) । उहाँलाई क्रूसमा टाँगिदा उहाँको शिरमाथि दोष-पत्र पनि टाँसिएको थियो, “पिलातसले एउटा दोष-पत्र पनि लेखे, अनि क्रूसमाथि टाँसिदिए । त्‍यसमा यही लेखिएको थियो, ‘नासरतको येशू, यहूदीहरूको राजा ।’ अब धेरै यहूदीहरूले यो दोष-पत्र पढ़े, किनभने येशू क्रूसमा टाँगिनुभएको ठाउँ सहरको नजिकै थियो । यो हिब्रू, ल्‍याटिन र ग्रीक भाषामा लेखिएको थियो” (यूहन्ना १९:१९-२०) ।

पिलातसले येशूको केरकार गर्दा प्रश्न गरे, “‘के तिमी यहूदीहरूका राजा हौ ?’ येशूले भन्‍नुभयो, ‘तपाईं नै त्‍यसो भन्‍नुहुन्‍छ'” (मत्ती २७:११) । येशू क्रूसमा टाँगिनुहुँदा सिपाहीहरूले यसो भन्दै उहाँको गिल्ला गरे, “तँ यहूदीहरूका राजा होस्‌ भने आफूलाई बचा” (लूका २३:३७) ।

यसरी हामी देख्छौँ कि पूर्वबाट आएका बुद्धिमान् मानिसहरू, राजनीतिक अगुवा पन्तियस पिलातस र रोमी सिपाहीहरूद्वारा येशूलाई ‘यहूदीहरूका राजा’ भनी सम्बोधन गरिएको छ ।

INRI ल्याटिन भाषाको एउटा सङ्क्षिप्त शब्द हो जसको पूर्ण रूप हुन्छ— एइसुस, नाजरेनस रेक्स युदाएरोम (Iesus Nazarenus, Rex Iudaeorum) । यसको नेपाली अनुवाद हुन्छ— नासरतको येशू, यहूदीहरूको राजा । येशूलाई क्रूसमा टाँगिदा दोष-पत्रमा ‘नासरतको येशू, यहूदीहरूको राजा’ भनेर नै लेखिएको थियो ।

क्रूसमा टाँगिएको व्यक्तिको शिरमाथि व्यक्तिको नाउँ लेख्नु सामान्य चलन थियो । येशू यहूदीहरूका राजा हुनुहुन्थ्यो भनी उहाँले दाबी गर्नुभएको थियो भनी पिलातसले उहाँलाई दोष लगाई मृत्युदण्डको आज्ञा दिएका थिए । वास्तवमा जुन कथित अपराधको लागि उहाँलाई क्रूसमा टाँगी दोष-पत्रमा जे लेखियो, त्यो दोषारोपण मात्र नभएर साँचो भनाइ पनि हो किनकि येशू यहूदीहरूका राजा मात्र नभएर सबै जातिका राजा हुनुहुन्छ, “उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्‍छ” (प्रकाश १७:१४) ।

Facebook Comments

Powered by Youth Circle